Blog

  • नेपाल पत्रकार महासंघको चुनाव आज

    नेपाल पत्रकार महासंघको चुनाव आज

    नेपाल पत्रकार महासङ्घको निर्वाचन आज शुक्रबार हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो ।

    आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् ।

    प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन् ।

    यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतया: मैदानमा देखिएका छन् ।

    महिला उपाध्यक्षमा नीतु पण्डित र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

    यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।

    यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

  • बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

    बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई


    काठमाडौँ, २८ मङ्सिर : सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ ।

    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा पर्नुभएको छ ।

    बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनुभएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • लोप हुँदै लालुपाते

    लोप हुँदै लालुपाते


    चैत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ ।

    जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो ।

    तीन–चार वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो ।

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो ।

  • शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा

    शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा


    काठमाडौँ, २८ मङ्सिर : मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।

    यस्तै, चालु खाता रु एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब छ करोडले बचतमा रहेको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु एक अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु तीन अर्ब ६५ करोड रहेको थियो ।

    चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छभने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८ दशमलव तीन प्रतिशत र तीन प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छभने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।

    यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः शून्य दशमलव नौ प्रतिशत र दुई दशमलव नौ प्रतिशतले वृद्धि भएको छभने अन्य मुलुकबाट भएको आयातमा पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस्, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    कुल वस्तु व्यापार घाटामा शून्य दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६० अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा तीन दशमलव तीन प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ५७ अर्ब २४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ५३ अर्ब ८४ करोड बराबरको भएको थियो ।

  • प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

    प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान


    ढोरपाटन (बागलुङ), २८ मङ्सिर : परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।

    धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठवटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो ।

    किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिनुभयो । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, सङ्घ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ ।

    काठेखोला गाउँपालिका–८ लेखानीस्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दूधको गुणस्तर बढाउन लागेको बताउनुभयो । दूधको गुणस्तर बढेपछि उचित मूल्य पाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दूधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताउनुभयो ।

    काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादक किसान सुरेश कँडेलले आधुनिक उपकरणको प्रयोग गर्न थालेपछि पशुचौपाया निरोगी हुँदै गएपछि दूध उत्पादन पनि बढेको बताउनुभयो । आफूले सोलार वाटर हिटर प्राप्त गरेपछि भैँसीलाई समय–समयमा तातोपानीले नुहाइदिएपछि निरोगी भएको सुनाउँदै धुँवारहित गोठ बनेको उहाँको भनाइ छ ।

    कँडेलले भन्नुभयो, “पहिले गोठमै कुँडो पकाउनुपथ्र्यो, धुँवाले गर्दा वस्तुभाउ बिरामी पर्थे, दाउराको खपत बढी हुन्थ्यो, तर अहिले सोलारबाट पानी तताउन थालेपछि समयको बचतसँगै घरगोठ धुँवारहित बनेको छ, यसले मान्छेको स्वास्थ्यमा समेत असर गरेको छैन भने दूध पनि पहिलेको तुलनामा केही बढी उत्पादन हुन थालेको छ ।”

    धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले किसानलाई प्रविधिसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले आधुनिक उपकरण अनुदानमा सहयोग गरेको बताउनुभयो । किसानले उपकरणको प्रयोग गर्न थालेपछि दूध उत्पादनमा थप मद्दत पुगेको उहाँको भनाइ छ । प्रविधिको प्रयोग गरेको छोटो समयमै उनीहरूको व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष थापाले बताउनुभयो ।

  • पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

    पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो


    काठमाडौँ, २८ मङ्सिर : चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु पाँच खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

    त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

    यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

    काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस


    काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

    आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

    आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ ।

    जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

    शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

  • हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

    हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया


    कञ्चनपुर, २७ मङ्सिरः कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।

    यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो ।

    “बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उहाँले भन्नुभयो । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो ।

    खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उहाँले भन्नुभयो,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।”

    विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफँैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उहाँ भन्नुहुन्छ,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।”

    रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उहाँले जानकारी दिनुभयो । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भन्नुभयो ।

  • त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन

    त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन


    काँक्रेविहार (सुर्खेत), २७ मङ्सिरः जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेको छ तर उसले पनि दुई वर्षभन्दा बढी समयदेखि काम गर्न सकेको छैन ।

    भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ । तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा एक सय मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो । रु १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो ।

    क्याराभान कन्ट्रक्सनबाट रु १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ । यसले एक सय छ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो । पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् ।

    जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले पुल निर्माणमा तदारुकता नदेखाए अब कारबाही गरेर अगाडि बढाइने बताउनुभयो । हाल दुई ठाउँका पिल्लर केही मात्र निर्माण गरी बाँकी काम अलपत्र छ । पटकपटक ताकेता गर्दा पनि ठेकेदार काम गर्न नआएको उहाँले बताउनुभयो ।

    त्रिवेणाीदेखि इलसम्मको सडक निर्माणकार्य भने अन्तिम चरणमा पुगेको सापकोटाले जानकारी दिनुभयो । उक्त सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्नेछ । १० किलोमिटर लामो सडक निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको कामले समस्या हुँदै आएको छ ।

    आयोजना निर्माणका लागि रु १४ अर्बको ठेक्का लगाइसकिको छ । अब ठेक्काको अन्तिम मूल्याङ्कनको काम जारी रहेको हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले ठेकेदारको लापरबाहीका कारण काम समयमा हुन नसकेको भन्दै आक्रोष व्यक्त गर्नुभयो । अब अन्तिमपटक छलफल गरेर बाँकी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । क्याराभानका ठेकेदारलाई बोलाउदासमेत बैठकमा नआएको मन्त्री बुढाको सचिलवालयका सूचना प्राविधिक सहायक टेकबहादुर शाहीले जानकारी दिनुभयो ।