Blog

  • पूर्वमा गल्फ कोर्समा आकर्षण बढ्दै

    पूर्वमा गल्फ कोर्समा आकर्षण बढ्दै

    धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । 

    धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताए । उनका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध छन् । 

    सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय छन् । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उनले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गरे ।

    उनले भने , “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।” 

    आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिनुभयो । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उनले बताए । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उनको बुझाइ भनाइ छ । 

    धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिनुभयो । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उनले बताए । 

    “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स क्लब विस्थापित भयो”, राजुले भने, “विस्तारै धरानका स्थानीयहरू गल्फप्रति आकर्षित हुँदै गएपछि नयाँ सदस्य बनाएर पुनःसञ्चालन गरिएको हो ।” गल्फ खेलले धरानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको दाबी छ । 

    सदस्य राजुले यहाँ अहिले धेरैजसो विदेशी पर्यटक गल्फ खेल्न आउने गरेका जानकारी दिए । इङ्ग्ल्याण्ड, इटाली, फ्रान्स, अष्ट्रेलिया, सिङ्गापुर, युकेलगायत देशका पर्यटक यहाँ गल्फ खेल्न आउने गरेका उनले बताए । 

    राजुले भने, “नेपालमा गल्फ कोर्स क्लब थोरैमात्रामा छन्, जसमा पूर्वमा धरानमा मात्र रहेको गल्फ कोर्स पूर्वको गहना जस्तै बनेको छ । यहाँ सबैभन्दा सस्तोमा खेल खेलाइँदै आइएको छ ।” उनले गल्फको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो । 

     गल्फ खेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ । शान्त रूपमा खेलिने भएकाले यो खेललाई ‘माइन गेम’ भनेर चिन्ने गरिन्छ । गल्फ खेल्दा शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने खेलाडीहरूको अनुभव छ । खेलाडी राजुले गल्फ खेल्दा ढाड दुख्ने, जोर्नी नसासम्बन्धी बिरामीका लागि लाभदायी हुने बताए । उनले भने , “गल्फ खेल्न अरु खेल जस्तो उमेरको हदबन्दी रहँदैन । सबै उमेर समूहकाले यो खेल खेल्नु लाभदायक हुन्छ ।”

    विसं २०८० फागुनमा धरान गल्फ कोर्समा ‘ड्राइभिङ रेञ्ज र पार्किङस्थल’ निर्माण गरेपछि प्रभावकारी व्यवस्थापन भएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इञ्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेञ्ज र पार्किङले यहाँ आउने खेलाडीको व्यवस्थापनमा सहज बनाएको क्लबका सदस्य राजुले बताए । 

    क्लबका अध्यक्ष हरिबहादुर राईले नेपालमा पनि गल्फ उत्कृष्ट खेलका रूपमा विकास हुँदै आएको बताए । उनले भने , “गल्फ खेल्नका लागि विभिन्न ठाउँबाट धरान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।” रासस

  • जन्ममिति फरक परेपछि बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा मुद्दा दायर

    जन्ममिति फरक परेपछि बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा मुद्दा दायर

    काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालले नारिकतामा पटकपटक जन्ममिति परिवर्तन गरी तोकिएको समयभन्दा बढी सरकारी सेवामा रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुने समय विसं २०८० साउन १६ गते भए पनि हालसम्म पनि सेवामा रहेको पाइएको आयोगले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सिल्वालको नागरिकतामा जन्ममिति विसं २०३२ फागुन २४ गतेको नेपाली नागरिकतामा प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ ।

    यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकताको २०६६ वैशाख १७ गते जारी भएको प्रतिलिपिमा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख छ । यस्तै, त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको शैक्षिक प्रमाणपत्रमा फरकफरक जन्ममिति उल्लेख रहेको आयोगको अनुसन्धानबाट खुलेको छ ।   

    सरकारी सेवामा प्रवेश गर्दा सिल्वालले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा ट्रान्सक्रिप्टको जन्ममिति अर्थात् २०१५ साउन १५ उल्लेख गरी २०४३ साउन १ मा शाखा अधिकृतको नियुक्ति पाएको देखिन्छ । सोही जन्ममितिका आधारमा निजामती किताबखानाबाट निजले निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको पाइएको आयोगले जनाएको छ । उनले नेपाल सरकारको सचिव पदबाट २०७३ साउन १५ गते ५८ वर्षे उमेर हदबाट अनिवार्य अवकाश पाएका थिए ।

    यस्तै, कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न दिएको आवेदनमा झुटो विवरण दिइ जन्ममिति २०१८ कात्तिक २४ अर्थात् सन् १९६१ नोभेम्बर ९ कायम गरेको देखिएको छ । आफ्नो वास्तविक जन्ममितिभन्दा करिब तीन वर्ष उमेर घटाएर कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको भेटिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार २०८० साउन १५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहोदा नपाउनेमा जानीजानी सो पदमा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर पुष्टि भएको छ ।

    सो कसुरका लागि कैद तथा जरिवानाका साथै सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको लाभ सुविधाबापतको रकम रु ३६ लाख ६२ हजार जफत तथा असुल गर्न पनि आयोगले माग दाबी गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

  • समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः प्रचण्ड

    समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः प्रचण्ड


    काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

    नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले समाजवादीको भ्रुण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताउनुभएको हो ।

    विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको भ्रुण रोप्ने काम गरिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रुण रोप्ने काम गरिएको छ ।’

    २०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उहाँले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताउनुभयो । ‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।’

    आफूहरुले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौं । तर पार्टी एकताबद्ध नहुँदा र आम कार्यकर्ता र जनताको पंक्तिमा विश्वास डगमगाउँदै जाँदा हामीले गरेका राम्रा काम जनतामा स्थापित गर्न सकिएन ।’

    यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरु हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो ।

    आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो ।

    ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ ।’

    सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो ।

    ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’

    उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’

  • पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

    पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली


    झापा, २४ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ ।

    झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।
    
    प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ताजपुरिया समुदायको हक, हित र उन्नतिका पक्षमा उठाइएका माग सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरूले उठाउनुभएको मागउपर आवश्यक सुनुवाइ भई यथाशक्य छिटो सम्बोधन गरिने विश्वास दिलाउँदछु ।”  
    
    कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो । देशभर करिब २१ हजार जनसङ्ख्याको ताजपुरिया समुदायका मानिसको बसोबास पूर्वी नेपालको झापा र मोरङ जिल्लामा रहेको पाइन्छ । 
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

  • ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

    ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

    काठमाडौँ, २३ मङ्सिर : भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ ।

    श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन् । प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास–संस्कृति र पाँचौँ खण्डमा अनुसूची समावेश गरिएको छ । स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएका छन् । तत्व दर्शन खण्डमा विभिन्न विद्वानका २५ लेख समावेश गरिएको छ । उपासना खण्डमा १८ लेख, इतिहास–संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ ।

    पशुपति क्षेत्रका स्थापित देवीदेवता, गुह्येश्वरीपीठ, पशुपति क्षेत्रका जात्रापर्व, रामायणमा भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्र, भगवान् श्री पशपतिनाथको मन्दिर र परिसर क्षेत्रको सङ्क्षिप्त परिभ्रमण, नेपालमा पाशुपत धर्मको विकास, सर्वधर्मसमभावका प्रतीक भगवान् श्रीपशुपतिनाथ, पशुपति क्षेत्रको धार्मिक पर्यटन, श्रीपशुपतिनाथको पुजारी परम्परा, प्राचीन नेपालमा पाशुमत, त्वं शङ्करोऽसि भुवनत्रयशङ्करत्वात्, पशुपति क्षेत्रका केही प्राचीन शिवलिङ्ग, वेदमा रुद्र र पशुपति, पुराणमा पशुपति–चिन्तन, नेपाली स्थापत्यविधामा श्रीपशुपति मन्दिर, विश्व सम्पदाको रूपमा श्रीपशुपति मन्दिर, पशुपति परिसरका देवीदेवता, वाग्मती र पशुपति, शिव महापुराणमा श्रीपशुपतिनाथ, भगवान् श्री पशुपतिथान तथा पशुपति मुद्राजस्ता विषयमा लेख समावेश गरिएको छ ।

    पाँचौँ खण्डमा पाशुपतत्रसूत्रम्, श्रीमच्छङ्काचार्यविरचितम् श्रीपशुपति पूजा विधाननम, पाशुपतदीक्षा, पशुपति क्षेत्रमा अग्निहोत्र परम्परा, पशुपति क्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा, विभिन्न कार्यक्रम एवं गतिविधिको तस्बिर सङ्कलन गर्न पाइने जनाइएको छ । पुस्तक एक हजार एक सय ६४ पृष्ठको छ ।

  • मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन

    मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन

    काँक्रेविहार (सुर्खेत), २३ मङ्सिर : पुष्पलाल राजमार्ग (मध्यपहाडी)अन्तर्गत जाजरकोट खण्ड अझै अधुरै रहेको छ । कुल ८५ किलोमिटर लामो जाजरकोट खण्ड निर्माण पूरा नहुँदा समस्या थपिँदै गएको छ ।

    पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुङ्गिन्छ । कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको छ । यसमा ८० किलोमिटर प्रगति देखिएको आयोजनाका प्रमुख निमित्त योजना प्रमुख इञ्जिनियर अमितकुमार मण्डलले जानकारी दिनुभयो ।

    अठार किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यो काम पनि सोही निर्माण कम्पनीले गरिरहेकामा प्रगति अहिलेसम्म ६३ दशमलव प्रतिशत मात्र रहेको आयोजना प्रमुख मण्डलले बताउनुभयो । काँर्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको छ । यो सडकको ६३ प्रतिशतमात्र प्रगति भएको छ । 

    मन्ताभिर–थलहबजारसम्मको नौ दशमलव ६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको आयोजना प्रमुख मण्डलले बताउनुभयो । उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ । एकतीस किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ । यहाँ यातायातका साधन सञ्चालनमा छन् । 

    सात वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दुःखद भएको स्थानीय राजेन्द्रविक्रम शाहले बताउनुभयो । यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ । भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ । यो सडकले पूर्वीरुकुम, पश्चिमरुकुम हुँदै मध्यजाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ ।  

  • देशभरको मौसम मुख्यता सफा रहने

    देशभरको मौसम मुख्यता सफा रहने


    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ ।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

    त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागले सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • धरानलाई कञ्चनजङ्घा गोल्डकपको उपाधि

    धरानलाई कञ्चनजङ्घा गोल्डकपको उपाधि

    काठमाडौं । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।

    खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले रु तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले रु एक लाख ५१ हजार ८१ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

    विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गरेका थिए । लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेका हुन् ।

    गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए ।  

  • पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

    पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी


    यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ ।

    त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

    जसमा दाहाल चौतारी युनियन नेतृत्वको प्यानलबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।