Blog

  • एकता महाधिवेशनका लागि घलेको नेतृत्वमा मूल आयोजक समिति घोषणा

    एकता महाधिवेशनका लागि घलेको नेतृत्वमा मूल आयोजक समिति घोषणा

    काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ।

    आइतबार भएको आरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३-५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका २ जना प्रतिनिधिसहित १८० सदस्यीय मूल आयोजक समिति बनाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।

    सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, बद्री केसी समूहले भने घले नेतृत्वको समितिलाई असहयोग गर्दै आएका छन् । तर, घलेले कानुनविद्हरूका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् ।

    सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भने भएका छैनन् । यस्तै सहजीकरणको लागि नेपाल सरकारको प्रतिनिधिको रूपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए ।

    उनीहरू स्वतः मूल आयोजक समितिमा रहेका छन् । यस्तै एसिया प्रशान्त क्षेत्र, अमेरिकाज क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति बनाइएको छ । यसैगरी यसअघि नै कार्यविधि बनाइसकेको समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसअनुसार राष्ट्रिय समन्वय परिषद् महाधिवेशन सहजीकरण उपसमितिको संयोजकमा विनोद कुँवर तथा सदस्य सचिवमा लोक दाहाल रहेका छन् ।

    यसैगरी क्षेत्रगत समन्वय समितिहरू अन्तर्गत युरोप क्षेत्रमा सदस्यहरू चिन्तामणि सापकोटा,थर्क सेन,चित्र सुवेदी,प्रेम गुरुङ तथा अमेरिकाज क्षेत्रमा बुद्धि सुवेदी, बीआर लामा, अन्जनी राज भट्टराई, कृष्ण पोखरेल सदस्य रहँदा मध्यपूर्व क्षेत्रमा ठाकुर ढुङ्गाना, आर सी पन्त, भवानी तिमल्सिना, एसिया प्यासिफिक क्षेत्रमा खगेन्द्र न्यौपाने, बलराम श्रेष्ठ, प्रकाश धमला, नरेन्द्र बस्नेत, ओसियाना क्षेत्रमा कृष्ण गिरी, केशव कँडेल सदस्य चयन भएका छन् ।

    यसैगरी कुल आचार्यको नेतृत्वमा आर्थिक, जानकी गुरुङको नेतृत्वमा डेलिगेट्स मेम्बर सीप र रविना थापाको नेतृत्वमा प्रचार प्रसार र विधान उपसमिति बनाइएको छ । यस्तै सबै पक्षसँग एकताका लागि जीवा लामिछानेसहितको अर्को समन्वय समिति बनाइएको छ । विशेष गरी एनआरएनएको विवादमा गत चैत २१ मा सर्वोच्चले एकता महाधिवेशन गर्न फैसलापछि अर्को पक्ष आफूहरूलाई काम गर्न रोक लगाउने परराष्ट्रको चैत अन्तिम साताको पत्राचारविरुद्ध सर्वोच्च गएको थियो । जसअनुसार सर्वोच्चले ११ औँ महाधिवेशनबाट नेतृत्वमा आएका बद्री केसी नेतृत्वको एनआरएनएलाई काम गर्न गत साउनमा बाटो खुला गरेको थियो ।

    सोही फैसलापछि केसी पक्षले आफूहरूले आधिकारिकता पाएको भन्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा घलेले एकताको महाधिवेशनको मिति घोषणा गरेसँगै केही अन्यौलता समेत उत्पन्न भएको छ ।

    यस्तै केसीले पनि आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् । तर, अनुसार चैत २१ गते फैसला भएको राजेश शमशेर राणाको मुद्दामा निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता सरोजकृष्ण घिमिरेले दोस्रो फैसला आए पनि पहिलो फैसला खारेज नभएकाले एकताको महाधिवेशन गराउने जिम्मेवारी घलेको समितिलाई नै भएको बताएका छन् । 

  • अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर

    अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर

    काठमाडौँ, २८ माघः नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ  १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ  ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ  ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०३ रुपैयाँ  ४७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ  ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ  ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ  ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ  १२ पैसा निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै

    आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै


    काठमाडौँ, २८ माघः आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।

    यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो ।

    विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।

  • बङ्गलादेशमा पूर्व शासनका समर्थकहरूविरुद्ध कडा कारबाही

    बङ्गलादेशमा पूर्व शासनका समर्थकहरूविरुद्ध कडा कारबाही

    पूर्व नेता शेख हसिनाको अपदस्थ शासनसँग सम्बन्धित गिरोहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि बङ्गलादेशले आइतबार ठूलो सुरक्षा अभियान सुरु गरेको छ ।

    “पतित स्वेच्छाचारी शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरी उनीहरूलाई गम्भीर रूपमा घाइते बनाएपछि अभियान सुरु भएको हो”, सरकारी विज्ञप्तिमा भनिएको छ ।

    सन् २०२४ अगस्टको विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिना अपदस्थ भएपछि सत्तामा आएको अन्तरिम सरकारका गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले यसलाई ‘अपरेसन डेभिल हन्ट’ नाम दिनुभएको छ ।

    “दानवहरूलाई जरैदेखि उखेल्न नसकेसम्म यो जारी रहनेछ”, चौधरीले पत्रकारहरूलाई भन्नुभयो । केही दिनको अशान्तिपछि व्यापक सुरक्षा अभियानहरू सुरु भएका हुन् ।

    बुधबार ढाकामा भीडले हसिनाको दरबारमा आक्रमण गर्दा उहाँ भागेको छ महिनापछि प्रदर्शनकारीहरूले उत्खनन यन्त्रहरू प्रयोग गरेर उहाँको परिवारसँग जोडिएका भवनहरू भत्काएका थिए ।

    मानवता विरुद्धको अपराधको मुद्दाको सामना गर्न गिरफ्तारी वारेन्टको अवहेलना गर्नुभएकी ७७ वर्षीया हसिना छिमेकी भारतबाट निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टको प्रतिक्रियामा विरोध प्रदर्शन सुरु भएको थियो ।

    भत्काइएका भवनहरूमा हसिनाका दिवङ्गत पिता तथा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको सङ्ग्रहालय र पुरानो घर समावेश छन् ।

    अन्तरिम सरकारले हिंसाको जिम्मेवारी हसिनालाई दिएको छ । शुक्रबार अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि शान्तिको आह्वान गर्नुभयो ।

    “विधिको शासनलाई सम्मान गर्नु नै हामीले मिलेर निर्माण गरिरहेका नयाँ बङ्गलादेशलाई फासीवादी शासनअन्तर्गतको पुरानो बङ्गलादेशबाट छुट्याउने कुरा हो”, युनुसले एक विज्ञप्तिमा भन्नुभयो, “हसिना शासनको विरुद्ध उठेर त्यसलाई पल्टाएका नागरिकहरूका लागि… एक अर्काको नागरिक र मानव अधिकारको सम्मान र कानूनअन्तर्गत काम गर्ने हाम्रा सिद्धान्तहरूप्रतिको हाम्रो प्रतिबद्धता अडिग छ भन्ने कुरा आफैँलाई र विश्वभरका हाम्रा मित्रहरूलाई प्रमाणित गर्नु अत्यावश्यक छ ।”

    केही घन्टापछि हसिनाविरुद्धको विद्रोह भड्काउन श्रेय दिइएको प्रदर्शनकारी समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनका सदस्यहरूमाथि ढाकाको गाजीपुर जिल्लामा आक्रमण भएको थियो ।

    मुखर र शक्तिशाली समूहले त्यसयता कारबाहीको माग गरेका थिए । समूहका सदस्यहरू सरकारी मन्त्रिमण्डलमा छन् ।

  • प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

    प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने


    इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने जानभएको छ ।
    इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजिप्टले प्यालेस्टाइनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न सम्मेलन आयोजना गर्नेछ ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजा पट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने र तटीय क्षेत्रमा अमेरिकी नियन्त्रण स्थापित गर्ने योजनाविरुद्ध इजिप्टले क्षेत्रीय समर्थन जुटाइरहेका बेला ‘आकस्मिक अरब शिखर सम्मेलन’ हुन लागेको हो ।

    इजिप्टले प्यालेस्टाइनलगायत अरब मुलुकहरूसँग हालैका दिनहरूमा उच्च स्तरमा व्यापक परामर्श गरेपछि प्यालेस्टिनी मुद्दासम्बन्धी पछिल्लो गम्भीर घटनाक्रमलाई सम्बोधन गर्न शिखर सम्मेलनको अनुरोध गरेको थियो।

    सम्मेलनका लागि इजिप्टले हाल अरब लिगको अध्यक्षता गरिरहेको बहराइनसँग समन्वय पनि गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

    शुक्रबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीले जोर्डन, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) लगायत क्षेत्रीय साझेदारहरूसँग प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबर्जस्ती विस्थापन गर्ने कार्यको विरोध गर्न सक्रियता देखाउनुभएको थियो ।

    गत हप्ता ट्रम्पले गाजामा अमेरिकी प्रशासनको अवधारणा अघि सार्दै गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई इजिप्ट र जोर्डनजस्ता अन्य स्थानमा पुनस्र्थापित गरेपछि ध्वस्त क्षेत्रलाई ‘मध्यपूर्वको रिभेरा’का रूपमा पुनः निर्माण गर्ने परिकल्पना गरिएको थियो ।

    उक्त टिप्पणीले विश्वव्यापी प्रतिक्रिया निम्त्याएको छ र अरब देशहरूले इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राज्यसँग दुई–राज्य समाधानमा जोड दिँदै प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गरेका छन् ।

  • ‘चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित’

    ‘चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित’

    काठमाडौँ, २७ माघ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्दै भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताउनुभयो । 

    उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “यद्यपि, सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन, तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुनिश्चितताले आर्थिक गतिविधि वृद्धि भई यसवर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ ।” उहाँले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्डअनुरुप लेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शीता र विश्वसनीयता बढेको बताउनुभयो । 

    समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले आर्थिक वृद्धिको परिचालकका रुपमा रहेको पूँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा भने उल्लेख्य सुधार हुन सकेको बताउनुभयो । 

    अर्थमन्त्री पौडेलले चालु आवमा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा रू १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान गरिएको जानकारी गराउनुभयो । यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो । 

    चालुतर्फ रू १० खर्ब २९ अर्ब ३० करोड अर्थात विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ रू दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख अर्थात विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । 

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रू १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख, वैदेशिक अनुदानतर्फ रू ३६ अर्ब ६२ करोड ८६ लाख र वैदेशिक ऋणतर्फ रू एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ । 

    अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई रू ३४ अर्ब ८९ करोड २२ लाख र स्थानीय तहलाई रू  एक खर्ब ५० अर्ब २६ करोड ८ लाख वित्तीय हस्तान्तरण भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६ दशमलव १७ प्रतिशत र स्थानीय तहमा ४८ दशमलव १० प्रतिशत हस्तान्तरण भएको छ । 

    समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५ दशमलव २८ प्रतिशत हस्तान्तरण भएको छ । अर्थमन्त्रीका अनुसार समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई १५ प्रतिशतले रू ३२ अर्ब २७ करोड ९० लाखका दरले जम्मा रू ६४ अर्ब ५५ करोड ८० लाख बाँडफाँड गरी पठाइएको छ । जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो ।

  • सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

    सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

    काठमाडौँ, २७ माघ : राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो । 

    सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो । 

    विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ । 

    यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन् । 

    विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ । 

    यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ । गलत मनसायले सामजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग  वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ ।

    उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ । 

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ । आव २०८०/८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ । 

  • फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर: टेक वन’ रिलिज हुने

    फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर: टेक वन’ रिलिज हुने

    काठमाडौं । सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए ।

    यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन् । वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको बताए । जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनले जनाए ।

    नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् । प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।

    यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

  • स्वास्थ्यमन्त्री पौडेल कीर्तिपुर अस्पतालका  जलनपीडित बिरामीको उपचारबारे लिए जानकारी

    स्वास्थ्यमन्त्री पौडेल कीर्तिपुर अस्पतालका  जलनपीडित बिरामीको उपचारबारे लिए जानकारी


    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।

    मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    काठमाडौं २८ कमलपोखरीस्थित एक म:म: आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरुको उपचार अवस्थाबारे जानकारी लिंदै मन्त्री पौडेलले बिरामीहरुका गुनासा सुने ।

    मन्त्री पौडेलले अस्पतालका अधिकारीहरुसँग अन्र्तक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे । सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौं, मन्त्री पौडेलले भने, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।

    उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।

    मन्त्री पौडेलले भने, जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौं ।
    मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भैरहेको छ ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चोधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।

    करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

  • प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

    प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन


    काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

    प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु रहनुहुनेछ । यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।

    विसं। २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।

    यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।
    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गर्नुभयो ।

    “यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।”