पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।
मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।
भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए ।
काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।
नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ।
एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिनेछ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्। महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्ने जनाइएको छ।
एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरेका छन्। उनले भने, “नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णयअनुसार हामीले सदस्यता खुला गरेका छौं। यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समिति चुन्ने ऐतिहासिक अवसर पाउनेछन्। त्यसैले, गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न सबैलाई सदस्यता लिन अपिल गर्दछु।”
“आगामी मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक सुशासन सुनिश्चित गर्नेछ। नयाँ विधान तथा नेतृत्व निर्माण गर्न हामी सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक छ,” उनले भने।
सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ। समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
सम्बन्धित जानकारी तथा सदस्यता आवेदनका लागि www.nrnahlc.com मा जान सकिने छ।
न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
मंगलबार इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले अपहरण गरेका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।
नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।” रिजालले थपे, हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ।
किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।”
रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।” आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाई जितोस्। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,” आफ्नो मन्तव्यमा रिजालले भने।
रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए। उनीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।
सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो ।
उहाँले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।
मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उहाँले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गर्नुभयो ।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताउनुभयो ।
उहाँले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधँै प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो ।
राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।
वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।
यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो ।
उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिनुभएको थियो ।
काठमाडौँ, २ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्री दर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ १० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
फिक्कल (इलाम), २ फागुन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट भएको छ ।
जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चुलाचुलीले ५८, सन्दकपुरले ५७ दशमलव नौ, फाकफोकथुमले ५६ दशमलव तीन, रोङले ५४ दशमलव नौ, माङसेबुङले ५४ र माईजोगमाईले ४६ दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।
सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवं तालमेल र सरोकारवालाको सहयोगका कारण आयोगको कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।
काठमाडौँ, २ फागुन : काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ ।
कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो ।
‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।
अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।
काठमाडौँ, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितोरुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गर्नुभएको हो ।
“तपाईँहरुले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईँहरुलाई छ । अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईँहरुलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।”, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “समयमा सेवा दिने कुरामा तपाईँहरु चुक्नु हुँदैन । अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस सङ्गठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न । यस्तो होस् कि तपाईँबाट सरक्क सेवा पाएको मान्छेले खुसी भएर तपाईँलाई निजामति सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस् ।”
प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गर्नुभयो । उहाँले संसद्मा थोरै सिट भएर पनि ठुला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेहरुबाट चेतेर एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भएको स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न आग्रह गर्दै आगामी निर्वाचनसम्म यही सत्ता समीकरण रहने पुनः स्पष्ट गर्नुभयो । उहाँले दुई दलको सहमति बमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाएपनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने बताउँदै स्थायी सरकारका रुपमा रहेको कर्मचारी वर्गले विश्वासका साथ देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको झण्डा माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्वहरुले कुनै गतिविधि गर्न थालेमा भने देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि संघीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूहरुलाई नरहेको स्पष्ट गर्नुभयो ।
वासिंगटन डिसी, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजाका सबै बन्धकहरूलाई रिहा गर्न शनिबार दिउँसोको समयसीमा दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई कडा चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई रिहा गर्ने समयसिमा तोकेका हुन् । उनले चेतावनीको भाषामा भने, ‘नत्र त्यसको परिणाम भोग्नुपर्नेछ र स्थिति निकै खराब हुनेछ ।’ साथै, समयसिमा कटाएमा उनले इजरायल–हमास युद्धविराम रद्द गर्न पनि आह्वान गर्नेछन्।
हमासले इजरायली बन्धकहरूको रिहाई रोक्ने धम्की दिएपछि ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो। हमासको कदमलाई डरलाग्दो भन्दै ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग युद्धविरामको अन्तिम नतिजा के हुन्छ भन्ने निर्णय इजरायललाई दिने बताए।
‘तर जहाँसम्म मेरो कुरा छ, शनिबार राति १२ बजेसम्म सबै बन्धक रिहा भएन भने त्यो युद्दबिराम रद्द हुन सक्नेछ, नर्कका ढोकाहरू खुल्नेछन्। बाँकी सबै बन्धकहरूलाई रिहा अब हुनुपर्छ’ ट्रम्पले भने, ‘ति सबै बन्दी हामी फिर्ता चाहन्छौं।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दृढ अडानलाई दोहोर्याउँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले थुनामा रहेका तीनै जनालाई फिर्ता गरेपछि हमासद्वारा बन्धक बनाएका सबै इजरायलीहरूलाई तत्काल रिहा गर्न आह्वान गरेका थिए ।
रुबियोले ट्वीटरमा लेखेका छन्, ‘बन्दीहरू ४९० दिन पछि, एली, ओर र ओहाद अन्ततः इजरायलमा घर पुगेका छन्। संयुक्त राज्यका राष्ट्रपतिले स्पष्ट गरिसकेका छन्, हमासले अब सबै बन्धकहरूलाई रिहा गर्नुपर्छ ।’
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गर्नुभएको छ ।
गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।
“रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उहाँले भन्नुभयो ।
नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गर्नुभयो । “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, भव्यताका साथ स्वागत गर्न आतुर छु”, उहाँले भन्नुभयो ।
कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।
नगरप्रमुखले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यद्वय रुपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराहीलगायत हुनुहुन्छ ।
कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो ।
सांस्कृतिक र ऐतिहासिक रूपमा दुई देशबीचको सम्बन्ध बलियो भएको प्रष्ट पार्दै यो सम्मेलनले सम्बन्ध अझै कसिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताउनुभयो ।
रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
महानगरका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पानेजु सङ्घका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत सङ्कलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथ’को भूमिका विषयक कार्यपत्र र डा विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।