Blog

  • सिक्टा सिँचाइ आयोजना : १९ वर्षमा भौतिक प्रगति ४२ प्रतिशत

    सिक्टा सिँचाइ आयोजना : १९ वर्षमा भौतिक प्रगति ४२ प्रतिशत

    बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष ०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरु भएको थियो । आयोजना सुरु भएको १९ वर्षपछि आव ०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।

    सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड रुपैयाँ र ०७९ भदौ २६ गते अन्तिमपटक आव ०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको छ । उनले भने, “आव २०६१–६२ मा सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरु भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं ०६४ मंसिर ३ गते पहिलोपटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड रुपैयाँ पुर्‍याइएको थियो ।

    आयोजना सुरु भएदेखि चालू आवको मंसिरसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इन्जिनियर अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार चालू आवका लागि एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म २३ करोड रुपैयाँ खर्च भएको छ ।

    इन्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

    पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “४२ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ,” इन्जिनियर पोखरेलले भने, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”

    पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इन्जिनियर पोखरेलले बताए । उनका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालू आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।

    ३३ हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ ।

    त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।

    राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।रासस

  • गाउँभरि केराखेती, बजारको अभाव

    गाउँभरि केराखेती, बजारको अभाव


    म्याग्दी, १९ पुस : एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।

    हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयो । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”

    खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउनुभयो । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो ।

    प्रति १२ कोसा (दर्जन) रू एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताउनुभयो । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जनमात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।

    खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उहाँले बताउनुभयो ।

    बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताउनुभयो ।

    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

  • हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

    हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा


    सोलुखुम्बु, १९ पुस : पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

    कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ । अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताउनुभयो ।

    चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । “अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस–माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ”, होटल व्यवसायी जाङ्मु शेर्पाले भन्नुभयो ।

    खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उहाँले बताउनुभयो ।

    करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

    सुरक्षामा प्रहरी तल्लीन

    पर्यटकको आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी सुरक्षामा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति, सुरक्षाका लागि खुम्बु क्षेत्रको प्रहरी युनिटलाई सक्रिय गराइएको छ । अफसिजन पर्यटकको आगमन बाक्लिएसँगै प्रहरीलाई मोबाइल गस्तीसहित सुरक्षा व्यवस्थामा चुस्त गरिएको छ ।

    “खुम्बुमा अफसिजन विदेशी पर्यटकको सङ्ख्या बढेको भन्ने सूचना आएसँगै नेपाल प्रहरीलाई थप सक्रिय गराएका छौँ, विदेशी पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सगरमाथा क्षेत्रअन्तर्गतका सबै प्रहरी युनिटलाई ब्रिफिङ गराई सक्रिय गराइएको छ, शान्ति सुुरक्षाका सवालमा हामी कुनै कमी हुन दिनेछैनौँ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


    काठमाडौँ, १९ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

    केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ ।

    साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ ।

    त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ ।

  • तरकारीको मूल्य कति ?

    तरकारीको मूल्य कति ?


    काठमाडौँ, १९ पुसः कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३५, गोलभेँडा सानो (भारतीय) रु ४५, गोलभेँडा सानो (तराई) रु ४५, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु १००, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ३४, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

    यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग, रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ७०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ८०, सजीवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १०५, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

    यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ९०, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर रु १४०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

  • प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट आजदेखि

    प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट आजदेखि


    बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।

    प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्काे खेल डोटी र बझाङ खेल्नेछन् ।

    दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ ।

    पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।

    समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

  • बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

    बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

    चैनपुर (बझाङ), १९ पुसः मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।

    बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उहाँले बताउनुभयो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।

    बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

  • सभापति कप फुटबल माघ दोश्रो साता

    सभापति कप फुटबल माघ दोश्रो साता


    नेपाली काँग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ ।

    प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीबार सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
    सोही अवसरमा समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।

    शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष÷महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
    संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरुको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए । यि प्रतियोगितहरु भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने छ ।

  • नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

    नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

    नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।

    नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ । 

  • होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

    होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

    काठमाडौँ, १८ पुस : नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । 

    तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो ।

    डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटलमध्ये एक हजार एक सय २१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ ।

    कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    तथ्याङ्कअनुसार रु १० करोडभन्दा बढी स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट सङ्ख्या चार सय ९३ छन् । तीमध्ये बागमतीमा दुई सय १४ छन् । रु एक करोडदेखि रु १० करोडसम्म सम्पत्ति भएका होटल आठ हजार सात सय ३२ छन् । रु दुई लाखभन्दा कम लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार पाँच सय २१ छन् ।

    तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये एक लाख ३७ हजार सात सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति रु चार खर्ब १८ अर्ब ६२ करोड हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार तीन सय २७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा रु एक खर्ब १४ अर्ब लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या एक लाख पाँच हजार चार सय ५९ रहेको छ ।