काठमाडौँ, १८ पुसः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दोधारा चाँदनी (कञ्चनपुर), १८ पुस : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताउनुभयो । “नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, अहिलेसम्म भेरिएसन भएको छैन,” इन्जिनियर पाण्डेयले भन्नुभयो, “भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।” उहाँले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताउनुभयो ।
“नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुन्छ ।”
गत भदौ अन्तिम साता महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर गाइडबन्ड भत्काएको छ । गाइडबन्ड कटान हुँदा रु नौ करोडको क्षति भएको इन्जिनियर पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले अब तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजनासँगै प्रधानमन्त्री कार्यालयसम्म पत्र पठाएको छ ।
महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडा र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके बस्ती नै जोखिममा पर्ने स्थानीयहरू बताउँछन् ।
भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले समयमा गाइडबन्ड निर्माण हुन नसके १३ नम्बर वडाका एक हजार एक सय बढी स्थानीय विस्थापित हुने बताउनुभयो । “गत भदौको बाढीले महाकाली नदी बस्तीतर्फ सोझिएको छ,” उहाँले भन्नुभयो, “सरकारले तत्काल भुजेला खोला र गाइडबन्ड निर्माणको काम गर्नुपर्छ, नभए बर्सातमा ठूलो जोखिम छ ।”
भदौ अन्तिम साता महाकालीमा भीषण बाढी आएको थियो । त्यसबेला बाढीले महाकाली नदी बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडा प्रभावित बनेका थिए । भीमदत्त नगरपालिका–१२ का वडाअध्यक्ष भूपेन्द्रसिंह रावलले तत्काल काम सुरु गर्न नसके अर्को बाढीले गत वर्षको भन्दो ठूलो क्षति हुन सक्ने बताउनुभयो ।
“हामी त अहिलेदेखि नै त्रासमा बस्नुपर्ने अवस्था आएको छ, त्यसकारण पुल निर्माण कम्पनीले तत्काल काम सुचारु गरोस्,” उहाँले भन्नुभयो, “सरकारले आयोजनामा देखिएको समस्या समाधान गरी ठूलो क्षति हुनबाट रोक्नुपर्छ ।” पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुलसँगै निर्माण हुने अन्य संरचना निमार्ण हुन बाँकी छन् ।
लमजुङ, १८ पुस : विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार पाँच सय ६७ पुरुष र दुई सय ८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार नौ सय ३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताउनुभयो ।
कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा नौ हजार ६ सय १९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा एक सय २२ देशका नागरिक यस पदमार्गमा आएका थिए ।
त्यस्तै, स्न २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ र पाँच हजार पाँच सय ३६ महिला रहेका केन्द्रले जनाएको छ । स्न २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ विदेशी पर्यटक बढी आएका थिए । सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका दुई हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ पर्यटक बढी आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए ।
त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।
साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ ।
काठमाडौँ, १८ पुसः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
काठमाडौँ, १८ पुस : ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ ।
साङ्गीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको सुरुआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसङ्गीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।” उहाँले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो ।
‘हुनेछः द सङग अफ होप’मा शब्द रचनासँगै सङ्गीत समूहका ‘ड्रम’ वादक सुनिल थापाले दिनुभएको छ । गीतको श्रव्यदृश्यको निर्देशन र कथा केदार भुसालले तयार गर्नुभएको हो । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा, ‘बास गिटार’मा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा हुनहुन्छ ।
‘कन्दरा ब्यान्ड’को ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रूमाल’लगायत गीत नयाँ पुस्तामाझ लोकप्रिय छन् ।
राँझा (बाँके), १८ पुस : बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।
गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।
“धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताउनुभयो । “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नभुयो ।
मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताउनुभयो ।
“गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”
पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्ने रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
पूर्व पश्चिम राजमार्गको दलदलेदेखि करिब २५ किलोमिटरको उत्तरतर्फ रहेको रुद्रपुर गढी पुग्नेको सङ्ख्या अहिले दिनहुँ बढ्न थालेको हुप्सेकोट गाउँपालिका–५, का अध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा हिजोआज रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । एक हजार नौ सय ३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली जान नसक्नेहरू धेरै जसो रुद्रपुर गढी पुग्ने गरेको उहाँको भनाइ छ ।
देवचुलीको यात्रा केही लामो हुने गरेपछि छोटो दूरीको पदयात्रामा रमाउन चाहनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको हो । धौवादीको हुरहुरेबाट करिब एक घण्टाको पैदल यात्रा गरी रुद्रपुर गढी पुग्न सकिन्छ । छोटो दूरीको यात्रा भएपछि यहाँबाट जिल्लाको रमणीय पहाडी फाँट, उत्तरतर्फ हिमाली शृङ्खला र दक्षिणतर्फका बस्तीहरूको समेत अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । यति मात्र नभएर रुद्रपुर डाँडाको टुप्पोमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढीको अवलोकनसमेत गर्न सकिने हुँदा पदयात्रामा निस्कनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो ।
“रुद्रपुरको यात्रामा निस्कनेहरूले रमणीय दृश्य त देख्न पाउँछन् नै, सँगै ऐतिहासिकस्थलको समेत अवलोकन गर्न पाउने हुँदा यहाँ आउनेहरू अहिले बढ्न थालेका छन्,” अध्यक्ष रानाले भन्नुभयो । समुन्द्र सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको सेन वंशीय राजा रुद्र सेनको गढी आफैँमा ऐतिहासिक महत्व बोकेको स्थानका रूपमा समेत रहेको छ । सेन वंशीय राजा रुद्र सेनले विसं १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । तर अहिले गढी भएको स्थान झारपातले भरिएको भने संरक्षण अभावमा यहाँको संरचना नष्ट हुँदै गएको छ । यहाँ रहेको दरबारको भग्नावशेषलगायतका संरक्षणको अभाव देखिएको छ ।
रुद्रपुर गढीसम्म पुग्नका लागि धेरैजसो ढलानसहितको पदमार्ग निर्माण गरिएको छ । हुप्सेकोट गाउँपालिकाले पदमार्ग र केही स्थानमा विश्रामस्थलहरू निर्माण गरेको छ । तर पूर्ण रूपमा पदमार्ग निर्माण हुन अझै बाँकी रहेको छ । पदमार्गसहित थप विश्रामस्थल, खानेपानीको व्यवस्थापन र रुद्रपुर गढीको संरक्षण, गढी क्षेत्रमा गढीको इतिहाससहितका परिचय सामग्री राख्ने हो भने यस क्षेत्रको आकर्षण थप बढ्ने पदयात्रामा पुग्नुभएका कावासोतीका वीरेन्द्र पराजुलीले बताउनुभयो ।
“रुद्रपुर गढी रमणीय लाग्यो, तर थप यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ, गढी क्षेत्रको परिचय सामग्री राख्ने र यसको सरसफाइ मात्र गर्ने हो भने थप राम्रो हुने थियो,” पदयात्रामा आउनेको सङ्ख्या बढ्ने थियो,” पराजुलीले भन्नुभयो ।
काठमाडौँ, १७ पुसः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
जानकी (बाँके), १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारतलगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न सञ्चारमाध्यमको अहम भूमिका हुने बताउनुभयो । अध्यक्ष गिरीले मानव बेचविखन विश्वव्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।