बिर्तामोड – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले विधान संशोधनको विषयमा ब्यापक छलफल गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस झापाले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले संविधान संशोधन आवश्यक भए पनि बहकिएर भन्दा पनि गम्भीर छलफल गर्नु पर्ने बताए । उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्ने भए समानुपातिक र समावेशीलाई कहाँ र कसरी सम्बोधन गर्ने त्यस विषयमा प्रष्ट हुनुपर्छ ।’
यसैगरी नेपाली कांग्रेस चलायमान बनाउनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यतातर्फ अब विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको पनि उनले बताए ।
विगतमा कांग्रेस पार्टी भित्रको आन्तरिक एकता मजबुत नहुँदा मुलुकले पनि दुःख पाएको टिप्पणी गर्दै गिरीले नेपाली कांग्रेस पार्टीलाई नयाँ तरिकाले चलायमान बनाउनका लागि सबै एक हुुन पनि आग्रह गरे । ‘चुनावमा म कुनसमूहबाट लडे त्यो सबैलाई प्रष्ट छ, तर मलाई पार्टीले खटाउँदा मैले सबै कांग्रेस बराबर देख्छु, चारतारा देख्छु, विपी, गणेशमान, गिरीजाबाबु र किशुनजीलाई मात्रै देख्छु,’ उनले भने।
पूर्व मंत्री गिरीले सहकारी पीडितहरुलाई राहत दिन तत्काल कदम चाल्न माग पनि गरे। सरकारले सहकारी ठगहरि विरुद्ध कारवाही गर्नुका साथै पीडितहरुलाई राहत दिन पनि प्राथमिकता दिनु पर्ने उनले बताए। रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको विषयलाई अदालतले निरुपण गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।
सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन् ।
सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ । जलवायु–प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौँ उपत्यकासम्म तहसनहस पारेको छ ।
मङ्गलबार दिउँसो अस्ट्रेलियाको मनमोहक सिड्नी हार्बरमा नयाँ वर्षको पूर्वसन्ध्याको समारोह सुरु हुँदा धेरै दर्शकहरू बितेको १२ महिनालाई पछाडि छोड्न पाउँदा राहत महसुस गरिरहेका थिए ।
“स्पष्ट रूपमा विभिन्न ठाउँमा धेरै युद्ध र अशान्ति चलिरहेको छ”, ३२ वर्षीय बीमा कर्मचारी स्टुअर्ट एडवड्र्सले सिड्नीको जलक्षेत्रमा भीड बढ्दै गर्दा भन्नुभयो, “यदि यी सबै कुराहरू आफैँ समाधान हुन्थे र मिल्थे भने संसारका लागि राम्रो हुन्थ्यो ।”
‘विश्वको नयाँ वर्षको राजधानी’ भनिने यस शहरले मध्यरातमा आफ्नो प्रख्यात अपेरा हाउस र हार्बर ब्रिजबाट नौ टन आतसबाजी छोड्नेछ । आतसबाजी हेर्न शहरको किनारमा दश लाखभन्दा बढी दर्शक जम्मा हुने अपेक्षा गरिएको छ ।
“सबै सुन्दर रङहरू देखेर र अद्भुत अस्ट्रेलियामा यति धेरै मानिससँग यो परिस्थितिमा रहन पाउँदा आनन्द लिँदैछु”, ७१ वर्षीय सेवानिवृत्त नर्स रुथ रोसेले भन्नुभयो ।
टेलर स्विफ्टले यस वर्ष आफ्नो इरास भ्रमण समाप्त गर्नुभयो, पिग्मी हिप्पो मो देङ भाइरल भयो र १६ वर्षीया फुटबल प्रतिभा लामिन यमलले स्पेनलाई युरो जित्न मद्दत गर्नुभयो ।
पेरिस ओलम्पिकले जुलाई र अगस्टमा केही हप्ताका लागि विश्वलाई एकजुट ग¥यो । खेलाडीहरूले सेन नदीमा पौडी खेले, आइफेल टावरको छायाँमा दौडे र भर्साइल दरबार बाहिरको सजाइएको लनमा घोडा चढे ।
– चुनावी उथलपुथल –
यो चुनावको विश्वव्यापी वर्ष थियो । निर्वाचनमा ६० भन्दा बढी देशमा करोडौँ मानिसले मतदान गरे । भ्लादिमिर पुटिन व्यापक रूपमा नक्कली मानिएको रूसी मतदानमा विजयी हुनुभयो भने बङ्गलादेशमा विद्यार्थी विद्रोहले सत्तारूढ प्रधानमन्त्रीलाई हटायो ।
तथापि डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा फर्काउने नोभेम्बर ५ को प्रतिस्पर्धा जत्तिको कुनै पनि मतदान नजिकबाट हेरिएको थिएन ।
मेक्सिकोदेखि मध्यपूर्वसम्म कमान्डर–इन–चिफका रूपमा ट्रम्पको पुनरागमनले पहिले नै तरङ्ग सिर्जना गरेको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चीनलाई आर्थिक पीडा दिने धम्की दिनुभएको छ भने ‘२४ घन्टा’ भित्र युक्रेन युद्ध रोक्ने आफ्नो क्षमताको घमण्ड गर्नुभएको छ ।
– आशा र त्रास –
बशर अल–असद सिरियाबाट भागेपछि, इजरायल दक्षिणी लेबनानमा प्रवेश गरेपछि र हिजबुल्लालाई लक्षित गर्ने हत्याको लहरमा परिमार्जित इलेक्ट्रोनिक्स विस्फोट भएपछि मध्यपूर्वभर उथलपुथल फैलियो ।
खाना, आश्रय र औषधिको घट्दो भण्डारले मानवीय सङ्कटलाई अझ अन्धकारमय बनाएको गाजाको निरन्तर युद्धबाट नागरिकहरू थकित भए ।
“सन् २०२४ सबैभन्दा कठिन वर्ष थियो”, विस्थापित बासिन्दाहरूको ठूलो सङ्ख्या अहिले भीडभाड भएका पालहरूमा बस्न बाध्य देइर अल–बलाहबाट वफा हज्जाजले भन्नुभयो, “मैले वर्षको सुरुदेखि नै मेरा बुबा र नजिकका साथीहरूसहित धेरै प्रियजनहरू गुमाएँ, सुरक्षा र शान्ति फर्कियोस् र युद्ध अन्ततः अन्त्य होस् ।”
लामो समयदेखिका शासक असदलाई इस्लामवादी विद्रोहीहरूले अपदस्थ गरेपछि सिरियामा नयाँ वर्ष नजिकिँदै गर्दा आशा र त्रास थियो ।
“सुरक्षा अवस्थाका कारण हामी यस वर्ष बाहिर जान हिचकिचाएका थियौँ, तर हामीले आफ्नो डरलाई जित्ने र आफ्नो बानी परिवर्तन नगर्ने निर्णय गर्यौँ”, ३४ वर्षीया वकिल माराम अयुबले राजधानी दमास्कसबाट भन्नुभयो ।
फेब्रुअरीमा युक्रेनमाथि रूसको आक्रमणले आफ्नो दुःखद तीन वर्ष पूरा गर्दैछ । पूर्वी क्षेत्रमा कमजोर हतियार भएको युक्रेनले अब महत्त्वपूर्ण सैन्य सहयोग घटाउन दृढ देखिएको ट्रम्प प्रशासनको सामना गर्नुपर्ने छ ।
किएभको सडकमा शिक्षक कातेरिना चेमेरिजले ‘युक्रेनका लागि अन्ततः शान्ति प्राप्त होस्’ र ‘मानिसहरू मर्न नपरोस्’ भन्ने चाहना राख्नुभयो ।
– पुनरागमन, फुटबल, उत्सव –
एआईको प्रगति र उच्च मुद्रास्फीति घट्ने अनुमान गरिएको सन् २०२५ मा अझै धेरै आशाजनक कुराहरू छन् ।
ब्रिटपप ब्याड ब्वाइज ओएसिसले लामो प्रतीक्षित पुनर्मिलन गर्नेछ भने के–पप मेगास्टार बिटिएस दक्षिण कोरियामा सैन्य सेवापछि स्टेजमा फर्कनेछ ।
फुटबल प्रेमीहरूले संयुक्त राज्य अमेरिकामा आयोजना हुने नयाँ ढाँचाको ३२ टिम सहभागी क्लब विश्वकप हेर्न पाउनेछन् ।
भारतको पवित्र नदी किनारमा हुने भव्य कुम्भ मेला उत्सवमा ४० करोड तीर्थयात्रीको अपेक्षा गरिएको छ । यसलाई पृथ्वीमा मानवताको सबैभन्दा ठूलो जमघट भनिएको छ ।
बेलायतको मौसम सेवाले सन् २०२५ का लागि पहिले नै विश्वव्यापी उच्च तापक्रमको पूर्वानुमान गरेको छ । सेवाले अहिलेसम्मकै सबैभन्दा तातो वर्षहरूमध्ये एक हुने सम्भावना रहेको बताएको छ ।
तर विद्युतीय सवारी साधनको बिक्री बढ्दै जाँदा र नवीकरणीय ऊर्जाको वृद्धिसँगै जलवायु परिवर्तनमा हिमनदीको प्रगतिले अन्ततः गति लिनसक्ने आशाको किरण देखिएको छ ।
टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ ।
पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न , उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।
लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरु भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे । ‘जित्नेहरुको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत् आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यथार्थ उजागर गरेका छ्न्’ उपाध्यायले भने ‘आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’
चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ । गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्रलाई नै प्रमुख अतिथि बनाएर लोकापर्ण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उक्त उपन्यासको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे । ‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्यूँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्,’ थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौं ।’
गगन फाउण्डेशनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल तथा कालुप्रसाद काफ्लेले उपन्यासबारे बोलेका थिए । कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीबाट संकलन गरेको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो । टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपालीले बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् ।
आख्यानकार स्वर्गीय थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।
राँझा (बाँके), १६ पुसः बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ”, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भन्नुभयो, “कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।”
उहाँका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ ।
म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भन्नुभयो, “नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।”
नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ ।
कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ । डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ ।
होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताउनुुभयो ।
नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ ।
होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिनुभयो ।
जलेश्वर (महोत्तरी), १६ पुसः पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो ।
शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।
जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो । चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।
जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।
काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्कनुभएको थियो ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।
बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिनुहुन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।
दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुज कृष्ण बानियाँले राससलाई जानकारी दिनुभयो । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित हुन नहुने सरोकार भएकाहरू बताउँछन् ।
काठमाडौँ, १६ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भने भाउमा वृद्धि भएको छ । यस्तै, बहराइन दिनारको भने भाउ घट्दा केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।
निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ नौ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
डडेल्धुरा, १६ पुसः सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् ।
तीनै तहका सरकारले आआफ्नो क्षेत्राधिकारमा रहेर काम गरिरहेका भए पनि विगतमा पछाडि परेका सुदूरपश्चिमजस्ता क्षेत्रलाई लक्षित गरी विशेष नीति अङ्गीकार नगर्दा सङ्घीयताबाट बढी लाभ लिने अवस्था अझै बन्न नसकेको सरोकार भएकाहरूको भनाइ छ ।
डडेल्धुराको पर्शुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशका स्थानीय तह प्रमुखहरूको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को उद्घाटन समारोहमा सहभागी वक्ताले सो कुरा बताएका हुन् ।
विभिन्न विषयमाथिको विमर्शका क्रममा वक्ताहरूले सामाजिक, आर्थिक, स्रोतको उपलब्धता र भौगोलिकलगायत विविधतालाई सम्बोधन गर्न समानुपातिक विकासका निम्ती सङ्घीयता ल्याइए पनि व्यवहारमा कार्यान्वयन नभएको जिकिर गरेका छन् ।
‘नीतिका कुरा संवाद’मा संविधानविद् एवं प्रशासनिक सङ्घीयताका जानकार काशीराज दाहालले संविधानले स्थानीय तहले तीन सय दुई वटा काम गर्ने भनेर औँल्याए पनि त्यसको कार्यान्वयनका लागि स्रोतको समन्यायिक वितरण नहुँदा समस्या भइरहेको बताउनुभयो । आवश्यकता र समस्याका हिसाबले सुदूरपश्चिमजस्ता क्षेत्रहरू राज्यको प्राथमिकतामा पर्नुपर्ने भए पनि त्यसो नहुँदा समस्या समाधान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
“सङ्घीयता ल्याउनुको मुख्य उद्देश्य हिजोका भाषिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, स्रोतको अभावमा अविकास भएका स्थानका समस्या सम्बोधन गर्न हो । विविधतायुक्त मुलुकमा तिनलाई संरक्षण गर्दै समान अवसर प्रदान गरी समानुपातिक विकास गर्ने भनेर यो व्यवस्था ल्याइएको हो । अहिले प्राकृतिक स्रोतसाधन, राजस्व बाँडफाँटका नीतिले समानुपातिक विकासको अवधारणालाई सम्बोधन गर्न नसकेको गुनासो छ”, दाहालले भन्नुभयो, “तथ्याङ्कमा आधारित विकासलाई प्राथमिकता दिनुपर्नेमा त्यसो हुन नसक्दा धेरै समस्या समाधानमा कठिनाइ भइरहेको छ । बसाइँसराइ, त्यसले निम्त्याएका समस्या, आर्थिक अवसर र स्रोतको उपलब्धता, त्यसका नकारात्मक प्रभाव, अविकासका कारण पलायन भइरहेका युवा र अन्य सूचकाङ्कले पनि सुदूरपश्चिमजस्ता क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी लगानीको आवश्यकता छ तर त्यसो नहुँदा कसरी समानुपातिक विकास हुन्छ ?”
उहाँले संविधान बनाउनुभन्दा प्रशानिक र वित्तीय सङ्घीयतासँग जोडिएका विषयलाई ठूलो र जटिल विषय बनाउन खोजेकाले समस्या थप बढ्दै गइरहेको धारणा राख्नुभयो ।
ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक)का कार्यकारी निर्देशक डा केके श्रेष्ठले जलावायु परिवर्तन, विश्वव्यापी परिस्थितिलगायत कारण उपलब्ध स्रोत घट्दै गइरहेकाले यसबाट सुदूरपश्चिमले थप सङ्कटको अवस्था समना गर्नुपर्ने अवस्थातर्फ सचेत गराउनुभयो ।
“यहाँ सम्भावना भए पनि विगतदेखि समस्या छन् । जलवायु परिवर्तनले नेपालसहित मुलुकभित्रका सुदूरपश्चिमजस्ता क्षेत्र थप जोखिममा छन्, तिनलाई सम्बोधन गर्ने स्रोत घट्दो क्रममा छ । सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य कार्यान्वयनमा चुनौती छ । सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति भएमा स्रोत जुटाउन थप समस्या हुनेछ, त्यसको मारमा यही क्षेत्र पर्ने हो । त्यसैले अहिलेदेखि नै हाम्रा स्रोतसाधनको सही सदुपयोग गरौँ”, उहाँले भन्नुभयो ।
नगरपालिका सङ्घ सूदूर पश्चिमका अध्यक्ष वीरेन्द्र भट्टले जनताको नजिक रहेको स्थानीय सरकारले पर्याप्त स्रोतसाधनको अभावमा जनताका आशा पूरा गर्न नसकिरहेको गुनासो गर्नुभयो । “जनताको सम्पूर्ण आशा स्थानीय तहमाथि छ, ती आशा पूरा गर्न हामीसँग स्रोतसाधन छैन । आफ्नो आन्तरिक आम्दानी नहुने पालिकाहरूले कसरी जनआकाङ्क्षा सम्बोधन गर्नु ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकारले काम गर्न भने पनि अन्तिममा वित्तीय समानीकरण अनुदानको रकम कबुल गरेअनुसार उपलब्ध गराउँदैन । यसले आन्तरिक आम्दानी कमजोर भएका सुदूरपश्चिमका अधिकांश पालिकाले समस्या भोग्नुपरेको छ ।”
सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका पूर्वनेता डा रणबहादुर रावलले सुदूरपश्चिमले अझै सङ्घीयताको लाभ लिन नसकेको धारणा राख्नुभयो । उहाँले रोजगारीको अभावमा यहाँका ८५ प्रतिशत परिवारका युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य भएका, बसाइँसराइले पहाडी क्षेत्र खाली हुन थालेका र प्रचुर सम्भावना भए पनि यहाँको विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । डा रावलले सङ्घीय सरकारले कम्तीमा १० वर्षसम्म हरेक आर्थिक वर्ष रु ५० अर्ब सुदूरपश्चिममा पूर्वाधार विकासका लागि मात्रै छुट्याउनुपर्ने माग गर्नुभयो ।
बूढीगङ्गा नगरपालिका बाजुराका नगरप्रमुख रामबहादुर बानियाँले पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति रहेको सुदूरपश्चिममा वर्षौंदेखि अगाडि बढ्छ भनिएका योजना अझै सुरु नभएका र सुरु भएका योजना समयमा नबनेको भन्दै त्यसको दोष कसले लिन्छ भनेर प्रश्न गर्नुभयो ।
सुदूरका सुइना (सपना)
नेपाल लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत सुशील भट्टले सुदूरको विकासका लागि वर्षांैदेखि सपना देख्न थालिएको र अब त्यो सपनालाई पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा सपना साकार गर्न कोरेका विकासका रेखालाई फराकिलो बनाउन सबै तहका सरकार लाग्नुपर्ने बताउनुभयो ।
“नेपालमा योजनाबद्ध विकासको छ दशक भयो । त्यसक्रममा सुदूरपश्चिममा पनि रणनीतिक सडक, बुडरबाट जोगबुडा सडक, सेती लोकमार्ग, पश्चिम सेती जलविद्युत् आयोजनालगायत महत्वका पूर्वाधार निर्माणको सपना देखिएको छ”, भट्टले भन्नुभयो, “विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले परम्परागत विकासको विधिभन्दा माथि उठेर नवीन ढङ्गले यहाँको विकासबारे सोचौँ । लाभ र लागतको विश्लेषण गरेर सरकार र निजी क्षेत्रको सहकार्यमा कार्यान्वयनयोग्य योजनामा लगानी गरौँ, जसले हाम्रो सपना साकार हुनेछ ।”
अन्नको भण्डार क्षेत्र लम्की, कर्णाली करिडोरबाट उत्पादित विद्युत्को भण्डारण क्षेत्र दोदोधारा, सुक्खा बन्दरगाह, यहाँका औद्योगिक क्षेत्रको विकास गर्न सबै मिलेर अगाडि बढे सुदूरले देखेको सपना पूरा हुने उहाँको भनाइ छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलकुदका माध्यमबाट सदूरपश्चिमले प्रचुर लाभ लिनसक्ने भन्दै प्रदेश र स्थानीय सरकारले यस क्षेत्रमा योजनाबद्ध लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण कैलालीको धनगढीमा गर्ने भनेर आफूले सपना देखेको भन्दै त्यसलाई पूरा गर्न यहाँका सबै सरोकार भएका निकायले आजैदेखि सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
“सुदूरपश्चिममा पर्याप्त खेल प्रर्यटनको सम्भावना छ । काठमाडौँमा भएको एनपिएलमा प्रत्यक्ष अवलोकन गर्ने करिब ७० प्रतिशत दर्शक र ९६ मध्ये २८ वटा खेलाडी सुदूरपश्चिमका हुनुले सदूरपश्चिम खेलमा धेरै अगाडि छ भन्ने देखाएको छ । अब त्यसबाट लाभ लिन सक्नुपर्छ । यस क्षेत्रमा लगानी र ठूला खेल प्रतियोेगिता आयोजना गर्नसके यहाँ रोजगारी सिर्जनामा उल्लेख्य टेवा पुग्नेछ । त्यसका लागि प्रदेश सरकार र कम्तीमा कैलाली कञ्चनपुरका स्थानीय तहले गम्भीर भएर लागेमा मात्रै पनि धेरै काम गर्न सकिन्छ । त्यसका लागि मेरो आग्रह छ”, अध्यक्ष चन्दले भन्नुभयो ।
होटल व्यवसायी, सिद्धार्थ विजनेश गु्रपका अध्यक्ष लक्ष्मण न्यौपानेले गुल्मीबाट आएर आफूले २०५४-५५ सालमा कैलालीको टीकापुरमा सानो लगानीमा सुरु गरेको होटल व्यवसायबाट अहिले देशभर ३२ वटा शाखा विस्तार सम्भव भएको भन्दै सुदूरपश्चिम हरेक दृष्टिले सम्भावनायुक्त रहेको उल्लेख गर्नुभयो । यहाँ हरेक व्यक्ति, निजी क्षेत्र, सरकारलगायत सबै सरोकार भएकाको सकारात्मक पहलकदमी जरुरी रहेको उहाँको भनाइ थियो ।
“अब पनि समस्या मात्र देखाएर हुँदैन । यहाँका सम्भावनालाई व्यवहारमा सम्भव तुल्याउन र समग्र प्रदेश तथा देशले लाभ लिने गरी सकारात्मक पहलकदमीको आवश्यकता छ । भारतसँग नजिक रहेकाले पनि यहाँ धार्मिक, सांस्कृतिक, होटल, खेल, पर्यटन सबै क्षेत्रमा सम्भावना धेरै छन् । त्यसको सही सदुपयोेग गर्न लगानीको खाँचो छ । सरकारले सही नीति लिएमा लगानीसमेत जुटाउन सकिन्छ । यसतर्फ सबै लागौँ”, न्यौपानेले भन्नुभयो ।
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चीनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, “दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।” स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।
“घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्”, पोस्टमा भनिएको छ, “प्रहरीले दिएको जानकारीमा घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी दिइएको छैन।”
राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।
स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्बिरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो।
ब्युरोले सार्वजनिक गरेका अन्य तस्बिरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।
अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक बर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।