Blog

  • महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औंचित्य स्थापित भएको छ : प्रधानमन्त्री

    महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औंचित्य स्थापित भएको छ : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औंचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

    कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औंचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताएका हुन् ।
    हिजो छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।

    ‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।’

    प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।
    कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

  • हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

    हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

    मकवानपुर, १९ पुसः हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

    विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडाँैबाट हेटौँडा सिमेन्टलाई दैनिक आठ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताउनुभयो ।

    उहाँले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने राससलाई जानकारी दिनुभयो । 

    केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युत्बाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भए पनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताउनुभयो । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक दुई–तीनपटक विद्युत् ऊर्जा कटौती हँुदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उहाँले जानकारी दिनुभयो ।  

    उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गर्नुभयो । 

    जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा तीन–चार पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा रु एक अर्ब ५० करोड लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो । 

    उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । 

    उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा एक हजार दुई सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।

  • एन्फा महिला लिगमा पुलिसको सानदार जीत

    एन्फा महिला लिगमा पुलिसको सानदार जीत

    काठमाडौं, १९ पुस । नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो ।

     पुलिस आज खेलेको आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको छ ।

    पुलिसलाई सहज जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले दुई दुई गोल गरेका थएि भने एक गोल पूजा रानाले गरेकी थिइन ।

    जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै वालिङ पुछारमा झरेको छ ।
     

  • किम जोङकी बहिनी देखिइन् पहिलो पटक सन्तानसँग

    किम जोङकी बहिनी देखिइन् पहिलो पटक सन्तानसँग

    पोङयाङ, १९ पुस । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक आफ्ना सन्तानसँग देखिएकी छन् । 

    जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली मिडियामा प्रकाशित भएको छ । किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रामक टिप्पणीका लागि परिचित छन् ।

    कोरियन सेन्ट्रल टेलिभिजन (केसीटिभी) ले प्रमुख रूपमा एउटा भिडियो क्लिप देखाएको छ, जसमा बहिनी किम एक बालक र बालिकासँग देखिन्छन्। उनी नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा कार्यक्रममा जाँदै थिइन्। कोरियाली सञ्चारमाध्यममा भनिएको छ कि किम आफ्ना सन्तानको साथमा थिइन् ।

    किम यो जोङ एक दशकदेखि सार्वजनिक रूपमा विवाहको औंठी लगाएर देखिएकी त थिइन तर सरकारी मिडियाले किम यो जोङलाई आमाको रूपमा देखाएको भने यो पहिलो पटक हो। सरकारी मिडियाले सामान्यतया शीर्ष अधिकारीहरूको पृष्ठभूमि र व्यक्तिगत जीवनको बारेमा जानकारी प्रदान गर्दैन।

    तर, किम जोङ  पनि पछिल्ला वर्षहरुमा खुलेर बोल्न थालेका छन् । उनले आफ्नो र आफ्नो पार्टीको नीतिगत असफलता स्वीकार गरेका छन् । यो सम्भव छ कि किम यो जोङले कुनै दिन आफ्ना छोराछोरीहरूलाई उनीहरूको वंशको आधारमा सरकारमा विशेष पद दिनेछन्।

    उसले आफ्नो पदको प्रयोग उसलाई बढावा दिन पनि यो गरेको हुन सक्ने अनुमान गरिएको छ । किम यो जोङ आधिकारिक रूपमा डब्लुपिके केन्द्रीय समिति प्रचार र आन्दोलन विभागको उप निर्देशकको रूपमा सेवामा कार्यरत रहेको प्रारम्भिक जानकारी दिइएको छ ।
     

  • पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिदैँछ उपग्रह

    पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिदैँछ उपग्रह

    नयाँदिल्ली, १९ पुस । भारतको अन्तरिक्ष अभियान इसोरोले सन २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ । 

    आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत–अमेरिका बिच अहिलेसम्मको सबैभन्दा महँगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो । 

    भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सीधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ ।

    इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी संचार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सीधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो हो कि यसका लागि कुनै विशेष ह्यान्डसेट वा टर्मिनल आवश्यक पर्दैन। यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण हुनेछ, जसलाई इशरोका वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडद्वारा कार्यान्वयन गर्दैछ ।

    यो मिशन के हो ? 
    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशरो) ले अमेरिकाको एसटी स्पेश मोबाइल कम्पनीको उपग्रह प्रक्षेपण गर्न लागेको हो । यो मिसन विशेष टेक्नोलोजीमा आधारित छ, जसले मोबाइल फोनलाई सिधै उपग्रहहरूमा जडान गर्ने क्षमता राख्नेछ । अमेरिकी कम्पनीले भारतबाट ठूलो सञ्चार उपग्रह प्रक्षेपण गर्न लागेको यो पहिलो पटक हो । भारतले अहिलेसम्म अमेरिकी कम्पनीका साना उपग्रह मात्रै प्रक्षेपण गर्दै आएको थियो ।

    यो प्रविधिको उद्देश्य संसारको जुनसुकै कुनामा, चाहे त्यो पहाड होस्, जङ्गल होस् वा समुद्रको बीचमा मोबाइल नेटवर्क उपलब्ध गराउनु हो । यो अभियान सफल भएमा अब मोबाइल टावर विना पनि कल गर्न र इन्टरनेट सेवा लिनका लागि सहजै उपलब्ध हुने भएको छ । नेटवर्क कभरेज एक प्रमुख चुनौती भएको क्षेत्रका लागि यो क्रान्तिकारी साबित हुने इशरोले जनाएको छ।

    यो प्रणाली कसरी काम गर्नेछ ?
    यो एक ठूलो र उन्नत उपग्रह हो, जुन प्रत्यक्ष देखि बिक्री प्रविधिमा डिजाइन गरिएको हो। यो स्याटेलाइटले फोनमा सिधै सिग्नलहरू पठाउनेछ, जसले गर्दा मोबाइलले कुनै मध्यवर्ती टावर वा नेटवर्क बिना काम गर्नेछ। अर्थात्, तपाईको स्मार्टफोनको लाइन सिधै स्पेसमा जडान हुनेछ। यो मिसन इशरोको लागि अर्को उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष मिशनहरूमा भारतको भूमिकालाई अझ बलियो बनाउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

    एन्टेना आधा फुटबल मैदान बराबर
    यस स्याटेलाइटको एन्टेना करिब ६४ वर्ग मिटरको हुनेछ, जुन आधा फुटबल मैदान बराबर हो ।  यसको तौल करिब ६००० किलोग्राम हुनेछ र भारतको श्रीहरिकोटाबाट इशरोको एलभिएम–३ रकेट (बाहुबली) मार्फत अन्तरिक्षको कक्षमा राखिनेछ।

    यो प्रक्षेपण इशरोको लागि ठूलो उपलब्धि हो किनभने यसले अमेरिकी कम्पनीहरूको भारतको रकेट र प्रक्षेपण प्रणालीमा विश्वास बढाउनेछ। यसअघि एलभीएम–३ ले वेन वेभ स्याटेलाइट तारामण्डललाई दुई पटक सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।

    यसको फाइदा 
     

    विश्वव्यापी नेटवर्क कभरेजः अब दुर्गम क्षेत्रमा पनि नेटवर्क उपलब्ध हुनेछ।
    विपद् व्यवस्थापनमा सहयोगीः  बाढी, भूकम्प वा कुनै पनि विपद्को समयमा मोबाइल टावरले काम नगर्दा यो प्रविधि निकै उपयोगी हुनेछ ।
    सस्तो र पहुँचयोग्य नेटवर्कः मोबाइल नेटवर्क कम्पनीहरूको खर्चमा कमी आउनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुनेछ।

    यो सेवा स्पेसबाट प्रत्यक्ष कलहरू प्रयोग गर्नका लागि कसैले पनि सेवा प्रदायकहरू जस्तो कि ( एयरटेल, भोडाफोन, एनटिसी, एनसेल) जस्ता मोबाइल नेटवर्क उपलब्ध गराउने कम्पनी परिवर्तन गर्न नपर्ने कम्पनीले जनाएको छ। ‘यसका लागि हामी विश्वभरका मोबाइल नेटवर्क अपरेटरहरूसँग काम गरिरहेका छौं,’ इशरोले प्रारम्भिक जानकारी दिदैँ भनेको छ ।

  • कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ?

    कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ?

    काठमाडौं, १९ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।

    जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।

    कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ भन्ने अन्योलमा हुनुहुन्छ भने यो लेख तपाईको लागि हो। 

    केही समय अघि जेएसिसि (जापान कोलाबोरेटिभ कोहोर्ट स्टडी फर इभ्यालुसन अफ क्यान्सर रिस्क) को अध्ययन अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित भएको थियो। यस अध्ययनमा १८ हजार मानिसले सहभागीता जनाएका थिए । १२ वर्षसम्म चलेको यो अध्ययन मार्फत अनुसन्धानकर्ताहरूले कफी वा ग्रीन टी स्वास्थ्यका लागि बढी फाइदाजनक छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए । यस अध्ययनमा शोधकर्ताहरूले पत्ता लगाए कि कफीमा करिब ९५ देखि २०० मिलीग्राम क्याफिन पाइन्छ।

    उही अवस्थामा ग्रीन टीमा क्याफिनको मात्रा ३५ मिलीग्राम हुन्छ। यसको मतलब कफीमा ग्रिन टीको तुलनामा करिब ३ गुणा बढी क्याफिन हुन्छ। अत्यधिक क्याफिनका कारण उच्च रक्तचापको समस्या भएकाहरूका लागि कफीको सेवन हानिकारक हुन सक्छ। जबकि ग्रीन टी मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । साे अध्ययनका अनुसार ग्रीन टीमा पाइने पोलिफेनोल नामक तत्वले क्याफिनको हानिकारक प्रभावलाई हटाएर स्वास्थ्यका लागि बढी फाइदाजनक बनाउँछ ।

    ग्रीन टी र कफी दुबैका अनगिन्ती फाइदाहरू
     

    मुटुका लागि फाइदाजनक हुनुका साथै ग्रीन टीमा अन्य धेरै स्वास्थ्य लाभहरू छन्। यो दैनिक पिउनाले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढ्छ। मस्तिष्क विकासमा सहयोगी साबित हुनेछ। यसको सेवनले मधुमेहलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै कफीका धेरै फाइदा पनि छन् । कफीले ऊर्जाको स्तर बढाउन मद्दत गर्छ। मस्तिष्क कार्य सुधार गर्दछ। यो मुटुका लागि पनि फाइदाजनक हुन्छ तर उच्च रक्तचाप भएमा यसलाई पिउनु हुँदैन ।
     

  • सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फवाट बहस हुने

    सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फवाट बहस हुने

    पोखरा, १९ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फवाट बहस जारी रहनेछ ।

    हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फवाट बहस आज पनि जारी रहने भएको हो । 

    गत बुधवारसम्म सो मुद्दामा प्रतिबादीको तर्फवाट भएको बहस सकिए पछि हिजोवाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो ।

    हिजो जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

    जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

    त्यसो त बुधवारसम्म सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

    सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि हिजोबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । 

    उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी ब्यवस्था मिलाइएको छ ।
     

  • राप्रपा नेपालकाे केन्द्रिय समिति बैठक आजबाट

    राप्रपा नेपालकाे केन्द्रिय समिति बैठक आजबाट

    काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक आज बस्दैँछ ।

    पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको छ ।

    आज देखी काठमाडौंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।

  • अर्थसहित संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

    अर्थसहित संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

    अर्थ समितिसहित आज संघीय संसदका ६ वटा समितिका बैठक बस्दैँछ ।

    संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

    जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिका बारेमा गरी १ वटा अजेन्डामा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।

    उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ । आजको बैठकमा  नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ ।

    साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकू सम्वन्धमा छलफल हुनेछ । जसको बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने 
    विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । ती समितिका बैठक क्रमशः बिहान ११ः३० र बिहान ११ः०० बजेबाट सुरू हुने संसद सचिवालयले जनाएको छ ।
     
     

  • आजको मौसमः तराइमा हुस्सु र कुहिरो कायमै रहने

    आजको मौसमः तराइमा हुस्सु र कुहिरो कायमै रहने

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ।

    दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    राती भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।