अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गर्नुभएको हो ।
बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भन्नुभएको छ, “म अमेरिकी जनतालाई त्यस दिन आ–आफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गर्दछु ।”
उहाँले अगाडी थप्नुभयो, “म हाम्रो दुःखमा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण विश्व समुदायलाई शोकको यस घडीमा उक्त पवित्र कार्यमा हामीसँग सामेल हुनका लागि आग्रह गर्दछु ।”
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार निधन भएको हो ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।
कार्टर सेन्टरले सामाजिक सञ्जाल एक्समा उहाँको मृत्युबारे पुष्टि गर्दै लखेको छ, “हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो।”
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।
सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भयो । त्यहाँ उहाँ र उहाँकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
“हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो”, कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्यो । उहाँको आफ्नो परिवारबीच शान्तिपूर्वक निधन भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताउनुभयो ।
बाइडेनले रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई अरूका लागि उदाहरणका रूपमा कार्टरको कामलाई उद्धृत गर्नुभयो ।
“यस देशका सबै युवाका लागि उद्देश्य र अर्थको जीवन बिताउनुको अर्थ के हो भनेर खोज्ने जो कोहीले राम्रो जीवन, सिद्धान्त, विश्वास र नम्रताका मानिस जिमी कार्टरलाई अध्ययन गर्नुहोस्”, बाइडेनले विज्ञप्तिमा भन्नुभयो ।
बाइडेनले आइतबार साँझ कार्टरको बारेमा कुरा गर्दै यसलाई ‘दुःखद दिन’ तर ‘अविश्वसनीय मात्रामा राम्रा सम्झनाहरू फिर्ता ल्याउने’ भन्नुभयो । “म जिमी कार्टरसँग ५० वर्षभन्दा बढी समयदेखि समय बिताउँदै आएको छु”, बाइडेन भन्नुभयो ।
उहाँले सन् २०१५ मा आफ्नो छोरा ब्युको क्यान्सरबाट निधन हुँदा पूर्वराष्ट्रपतिले आफू र आफ्नी पत्नी जिललाई सान्त्वना दिएको सम्झना गर्नुभयो । कार्टर आफैँलाई पछि क्यान्सर भएको थियो ।
वासिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न आदेश दिनुभएका बाइडेनले भन्नुभयो, “जिमीलाई यस रोगको विनाशबारे राम्ररी थाहा थियो ।”
व्यापारी, नौसेना अधिकारी, सुसमाचार प्रचारक, राजनीतिज्ञ, वार्ताकार, लेखक, काठकर्मी, विश्वका नागरिक कार्टरले एउटा यस्तो बाटो बनाउनुभयो जसले अझै पनि राजनीतिक धारणाहरूलाई चुनौती दिन्छ र राष्ट्रको सर्वोच्च कार्यालयमा पुग्ने ४५ जना पुरुषमध्ये उहाँ एक हुनुहुन्छ ।
कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गर्नुभयो । आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभयो र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभयो ।
“मेरो विश्वासले माग गर्दछ– यो वैकल्पिक होइन, मेरो विश्वासले माग गर्दछ कि म जे गर्न सक्छु, म जहाँ छु, जब सक्छु, जबसम्म म गर्न सक्छु, मैले फरक पार्ने प्रयास गर्नुपर्दछ”, कार्टरले कुनै बेला भन्नुभएको थियो ।
काठमाडौँ, १५ पुसः सरकारले तीन वटा ऐन संशोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार यो अध्यादेश जारी गर्नुभएको हो ।
अध्यादेशमार्फत सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ संशोधन गरिएको छ भने राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज भएको छ ।
अध्यादेशले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने व्यवस्था ल्याएको छ । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र हुनेछ । यस्ता सहकारी संस्थालाई तोकिएको आधारमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरिएको छ भने एक वर्षभित्र प्राधिकरणमा दर्ता भइसक्नुपर्नेछ ।
अध्यादेशको व्यवस्थाअनुसार एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुनसक्ने छैन । यो व्यवस्था लागू हुँदाका बखत एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थाको सदस्य भएको व्यक्ति एक वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ । त्यसैगरी, कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन ।
अध्यादेशले सहकारी संस्थाहरुमा व्यक्तिगत बचत तथा ऋणको सीमासमेत तोकेको छ । “एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा रू ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको संस्थामा रु २५ लाखसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको संस्थामा रु १० लाखसम्म मात्र बचत राख्न सकिनेछ”, अध्यादेशमा भनिएको छ, “तर यो व्यवस्था हुँदाको बखत कायम रहेको व्यक्तिगत बचतलाई दुई वर्षभित्र कानुनले तोकेबमोजिम कायम गरिसक्नुपर्नेछ ।”
त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाको प्राथमिक पुँजी कोषको १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सकिने छैन । सहकारी संस्थामा रु १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनुपर्नेछ । स्रोत नखुलाएको बचत रकम सहकारी संस्थाले स्वीकार गर्न नहुने व्यवस्था अध्यादेशमा राखिएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋण कारोबारको सूचना आदानप्रदान गर्नुपर्नेछ ।
“कर्जा सूचना केन्द्रले सदस्य सहकारी संस्थाको कर्जा प्रवाहमा वस्तुगत उद्देश्य र उपयुक्तता कायम गर्न त्यस्तो सहकारी संस्थाले प्रवाह गरेको ऋणको सूचना पनि प्राप्त गर्न सक्नेछ”, अध्यादेशमा भनिएको छ, “सहकारी संस्थाले रु १० लाखभन्दा बढी ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ र समयमा ऋण नतिर्ने ऋणीको नाम प्रत्येक तीन महिनामा अनिवार्य रुपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।” त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सुरक्षित सदस्य संस्थाको रुपमा सदस्यता लिनुपर्नेछ ।
सहकारी क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न तथा नियमन र अनुगमनका लागि अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सकिने व्यवस्था ल्याइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरणको स्थापना गरिएको हो ।
प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ भने उक्त प्रतिवेदन सरकारले सङ्घीय संसद्को सम्बन्धित समितिमा पेस गर्नेछ । प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने हुने व्यवस्था अध्यादेशमा राखिएको छ ।
त्यस्तै, अध्यादेशमार्फत प्राधिकरणको काम, कर्तव्य र अधिकार तोकिएको छ । “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने गराउने काम प्राधिकरणको हुनेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने, बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमित रूपमा निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिनेलगायतका काम प्राधिकरणले गर्नेछ ।”
त्यस्तै, नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) प्राधिकरणले गर्नेछ । सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा लागू गर्ने–गराउने, प्रदेश र स्थानीय तहका बचत तथा ऋण सहकारी संस्थाको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने गराउने काम प्राधिकरणको रहेको छ ।
प्राधिकरण समक्ष परेको बचत रकम हिनामिना लगायतका उजुरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानुन बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार हुने व्यवस्था अध्यादेशमा राखिएको छ । जसअन्तर्गत कुनै व्यक्तिलाई प्राधिकरण समक्ष उपस्थित गराई बयान गराउने बा जानकारी लिने, साक्षी बुझ्ने, सरकार तथा मातहतका निकाय वा सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात पेस गर्न आदेश दिने, स्थलगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेस गर्न आदेश दिनेलगायतका अधिकार दिइएको छ ।
“प्राधिकरणले यो ऐन वा यसअन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने बचत तथा ऋण सहकारी संस्थालाई रु पाँच लाखदेखि १५ लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐनअन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा रू एक लाखदेखि पाँच लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि लेखि पठाउन सक्नेछ ।”
समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको रू पाँच लाखसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा राखिएको छ । सदस्यले जम्मा गरेको रू पाँच लाखभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभएमा मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्नेछ । धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरेमा त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ । त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आएमा ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्ने अध्यादेशमा उल्लेख छ । समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्ने सिलसिलामा लाग्ने सम्पूर्ण खर्च त्यस्तो संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिने अध्यादेशमा जनाइएको छ ।
अध्यादेशमार्फत नेपाल राष्ट्र बैंक दफा ८८ मा संशोधन गरी कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थासँगै सहकारीसम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भएका सहकारी संस्थाको पनि सूचना लिन पाउने व्यवस्था ल्याइएको छ । त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गरी सहकारी संस्थाहरुलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अधिकार क्षेत्रभित्र ल्याइएको छ ।
अध्यादेशमार्फत राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ । अब राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्ति लगायतको जायजेथा दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्नेछ । हाल बहाल रहेका राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य यो दफा प्रारम्भ भएपछि आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछन् ।
म्याग्दी (बेनी), १५ पुसः म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।
यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटास्थल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले बताउनुभयो ।
‘‘महोत्सवबाट स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन र प्रचारप्रसारमा सघाउन निःशुल्क स्टलको व्यवस्था गरेका छौँ, स्थानीय तहहरुले समेत आ–आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन्, बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको बिक्री तथा प्रचारप्रसार होस् भन्ने हामीले चाहेका छौँ’’–अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिने छ । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने एक सय ३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टलसमेत बुकिङ भइसकेको सङ्घले जनाएको छ । महोत्सवमा विद्यालयको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागिसमेत सातवटा स्टल निःशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाव भएको र खुलामञ्च नजिकै रमाइलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तर्रािष्ट्रयस्तरमा ख्याति प्राप्त व्यक्तिलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेशस्तरिय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बाँस्केटबल प्रतियोगिता, ब्याडमिन्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली, भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका सांस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।
रु १० करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।
काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।
उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
काठमाडौँ, १५ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पार्नुभएको छ ।
नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।
राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
काठमाडौँ, १५ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ ।
निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
काठमाडौँ, १५ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।
तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
तमु ल्होसार/ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ, १५ पुसः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमासुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।
संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
काठमाडौँ, १५ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।