Blog

  • तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति

    तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति


    काठमाडौँ, १५ पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार÷ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसार/ल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।

    “तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

    यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्ष पुस १६ गते (पुस शुक्ल प्रतिपदाको दिन) हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् ।

    “हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उहाँले भन्नुभएको छ ।

  • आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

    आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै


    काठमाडौँ, १५ पुसः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।

    ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

    ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

  • थप एक नेपालीमा मङ्किपक्स पुष्टि

    थप एक नेपालीमा मङ्किपक्स पुष्टि


    काठमाडौँ, १५ पुसः थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आउनुभएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो ।

    उहाँले भन्नुभयो, “थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।”

    गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किनुभएको थियो । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

    मङ्किपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, ¥याल, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

  • राष्ट्रिय सभा गृहमा पीएल सिंहको पूर्ण कदको शालिक राखिने

    राष्ट्रिय सभा गृहमा पीएल सिंहको पूर्ण कदको शालिक राखिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ । आइतबार (पुस १४) प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।  

    वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको २०८१ पुस १ गते निधन भयो । वि. सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उहाँ नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उहाँले सहरलाई स्तरोन्नति गराउनुभएको हो । उहाँको कार्यकाल २०५३ चैत २४ गतेसम्म रह्यो ।   

    वैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरुपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरुको सुविधा सम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनलेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

    वैठकमा योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९÷०८० का लागि गरिएको मूल्याङ्कनमा महानगरपालिकाले ८२.७५ अङ्क प्राप्त गरेको विवरण पेश गर्नुभयो । यो प्रारम्भिक प्रतिवेदनलाई वैठकले अनुमोदन गरेको छ । 

    यस्तै वडा वर्गीकरणमा वडा नंं. १२ लाई मझौला वडा बनाउने निर्णय गरेको छ । वडालाई यसअघि सानो वडामा राखिएको थियो ।  

  • सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तरराष्ट्रिय कार्य समिति गठन

    सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तरराष्ट्रिय कार्य समिति गठन

    काठमाडौँ – प्रवासमा बस्ने नेपालीहरुको संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को पहिलो अन्तरराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न भएको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ।
    २९ सदस्यीय कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन। साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ।
    कानुनका विज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा यूएनडिओ नामको संस्था स्थापना गरिएको थियो। त्यसपछि दर्ता प्रक्रियाको लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लाग्यो। त्यस पछि जुलाई ३०, २०२३ आइतबारका दिन सर्वोच्च अदालतले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडिओ) नामको सँस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको थियो। सोही आदेश पछि परराष्ट्र मन्त्रालयले उक्त संस्था दर्ता गरेको थियो । तर गैरआवासीय नेपाली संघ र यूएनडिओ बीच भने धेरै कुरा फरक छन्।

    एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी उक्त संस्था गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा यूएनडिओको स्थापना गरिएको थियो। दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मूलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन्।

    यूएनडिओले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्ने, नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्ने साथै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउने जनाएको छ।

    विधान अनुसार संस्थाको अन्तरराष्ट्रिय महाधिवेशन हरेक ३/३ बर्षमा नेपालमा भौतिक रुपमा उपस्थित भएर आयोजना गरिनेछ।

    यहि डिसेम्बर २८-२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीनवर्ष अर्थात २०२४-२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। महाधिवेशनले अल्पकालीन र दिर्घकालिन योजना समेत पारित गरेको छ।

  • हेल्प नेपाल नेटवर्कले मनायो २५ औं वार्षिकोत्सव

    हेल्प नेपाल नेटवर्कले मनायो २५ औं वार्षिकोत्सव

    काठमाडौँ – नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्क, ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ ।

    शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक भव्य समारोहमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरे ।

    यस्तै, डा. रुइतले मानव सेवा आश्रम हेटौँडाका समाजसेवीहरू रामजी अधिकारी र सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी) की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे ।

    सोही अवसरमा सम्पन्न विश्व भेलाले अष्ट्रेलिया निवासी व्यवसायी तथा समाजसेवी डिला खरेललाई संस्थाको ग्लोबल कोअर्डीनेटर चयन गरेको छ।. त्यस्तै भेलालेअष्ट्रेलिया निवासी वैज्ञानिक डा राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अष्ट्रेलिया), हर्ष गौतम (अष्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन ) तथा लक्ष्मण शर्मा
    रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ। इ रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ।

    सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ।

    “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो।
    नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।

    नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरुलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

    त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बाल गृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
    सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरुलाई पनि नेटवर्कले मानवीय सहायता पु-याउँदै आएको छ।

  • टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

    टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह


    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ ।

    ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।”

    ट्रम्पले सन् २०१७÷०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गर्नुभएको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गर्नुभएको थियो ।

    चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो ।

    अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।

    ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गर्नुभएको छ । समयक्रमसँगै, ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढ्नुभएको छ । उहाँले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गर्नुभएको छ ।

    ब्लुमबर्गसँगको कुराकानीमा उहाँले भन्नुभएको छ, “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।

    उहाँले भन्नुभयो, “यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।”

    मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्मा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो ।

    ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो ।

  • अमेरिका: आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च

    अमेरिका: आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च


    न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

    सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

    ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, “यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।

    जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ ।

    सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बनने गरेका रिपोर्टमा उल्लेख गरिएको छ।

    ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन् ।

    अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् ।

  • एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री

    एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री


    काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

    नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ महानगर कमिटीद्वारा आज वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।

    कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगत्को कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

    त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगर कमिटीका सदस्य सहभागी हुनुहुन्थ्यो ।

  • चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।

    डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । गीतमा रिकेश गुरुङको एरेन्ज छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।

    प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

    टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ । पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । जसले गीतलाई राम्रो बनाउन सहयोग गरेको छ । बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ । यो गीतले सिनेमाको कथा भन्न सहयोग गर्नेछ ।

    पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।

    चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

    चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।

    यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

    चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।