Blog

  • जाडोमा ‘मर्निङ वाक’ घाम लागेपछि मात्रै उपयुक्त

    जाडोमा ‘मर्निङ वाक’ घाम लागेपछि मात्रै उपयुक्त

    काठमाडौं । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानि हुनसक्ने विज्ञहरुको भनाइ छ ।

    एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।

    वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताउनुभयो । “जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कँदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ,” उनले भने, “विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।”

    तुलाधारका अनुसार काठमाडौंजस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।

    “राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्,” तुलाधारले भने,“नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”

    सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ ।

    “जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ,” तुलाधारले भने, “इँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।”

    वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा बिहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताइन् ।

    जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्त्वका रूपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

    मुटुरोगीलाई बढी असर

    मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ,” उनले भने । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।

    उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयाघात र मस्तिष्काघात समेत हुनसक्ने डा. शर्माको भनाइ छ । “चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ,” उनले भने ।

    जनस्वास्थ्यविद् डा. समीर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयाघातजस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिए ।

  • चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

    चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

    काठमाडौँ, १० पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ । 

    ‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले पर्व÷त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी÷धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।

    शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।  

    चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ । उहाँले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना पुनः व्यक्त गर्नुभएको छ ।

  • चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

    चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

    काठमाडौँ, १० पुसः राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

    ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

    इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ । 

    राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

  •  येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

     येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

    काठमाडौँ, १० पुसः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।

    आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो ।  

    उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।

    दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । 

    हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । 

    महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।

    पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

  • यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, १०  पुसः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

    त्यस्तै, केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

    केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १०  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३  पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

         केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । 

    दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६  पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

         राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

         यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

  • जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

    जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

    धरान (सुनसरी), १० पुसः जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । 

    धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्नुहुन्छ । उहाँले भक्का बेच्न सुरु गर्नुभएको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट  घरखर्च जुटाउने गरेको उहाँले सुनाउनुभयो । 

    उहाँले भक्का प्रतिगोटा रु २० दरले बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उहाँले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन् ।

    धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाउनुभयो । “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”

    धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो सुरु भएपछि  भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”

    चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उहाँको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उहाँले सुनाउनुभयो । 

    उहाँका अनुसार दैनिक औसतमा रु  चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उहाँको भनाइ छ । 

    धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उहाँका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।

  • मासु र मदिरा नचल्ने माङ्सेबुङ

    मासु र मदिरा नचल्ने माङ्सेबुङ

    इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । 

    यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज  केहेरसिंह योङहाङले सुनाउनुभयो । उहाँका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।

    माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ । 

    करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ । 

    गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज  केहेरसिंह योङहाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ । 

    किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर) ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । 

    किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ । 

    माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो । 

    धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए । 

    गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताउनुभयो ।

  • जुम्लामा लोप हुँदै तरबार नाच

    जुम्लामा लोप हुँदै तरबार नाच

    जुम्ला, ९ पुसः शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो ।

    परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् । पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन्। 

    तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

    “स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन । युवावर्गले पनि रुचि देखाएका छैनन् । पुर्खाको सम्पत्तिका रूपमा रहेको तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ”, सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्माले भन्नुभयो । ।

    जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन् । 

    सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।

    खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताउनुभयो । आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले सयको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभासमारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताउनुभयो । “अहिले सबैका हातहातमा मोबाइल छन् । आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

  • रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

    रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा


    पथरी (मोरङ), ९ पुसः जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उहाँमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ ।

    स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आउनुभएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पका बारेमा दोधारमा हुनुहुन्छ ।

    नेपालमा फरक तथा नौलो खेती सुरु गर्नुभएका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने वनस्पति हो भन्नुभयो । आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र दोधार छाएको उहाँले बताउनुभयो ।

    रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी दिनुभयो । “अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ । अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ ।”

    सुब्बाले छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गर्नुभएको थियो । अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती हुनुभएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्कनुभयो । भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

    “भारतीय सेनामा हुँदा शान्तिसेना जाँदा देखेको सावर सुपको फल उत्पादन गर्न धेरै सङ्घर्ष गर्नुपर्‍यो । आफन्तको सहयोगमा अमेरिकाबाट बीउ मगाएर सुरु खेती सुरु गरेको थिएँ । अहिले बैंकिङ प्रक्रिया बन्द हुनु, रेलमार्गका कारण जग्गा फुकुवा नहुनुलगायत कारणले ऋणको भार मात्र थपिएको छ”, सुब्बाले भन्नुभयो ।

    अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताउनुभयो । दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उहाँले जानकारी दिनुभयो । सावरसुपको फल प्रतिकिलो रु दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हँुदै आएको उहाँले उल्लेख गर्नुभयो ।

    व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिनुभयो । फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्नो उर्भर जीवन भारतीय सेनामा बित्यो, सबै सम्पत्ति फार्ममा छ । बैंकले ऋण लिने प्रक्रिया बन्द गरेपछि अहिले समस्यामा छु ।”

    सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो । ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी उपयोग गरिन्छ । नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको बताउनुभयो ।

    भारतीय सेनामा रहँदा अफ्रिका पुग्नुभएका उहाँले त्यहाँ देखेर सावरसुपको बिरुवालाई अहिले आफ्नो बारीमा हुर्काइरहेको बताउनुभयो । यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने भनाइ राख्नुभयो ।

    बीउबाट ४५ बिरुवा उमार्नुभएका सुब्बाले अहिले आधुनिक प्रविधिमार्फत एक सय ५० बिरुवा बनाएको जानकारी दिनुभयो । पाँच प्रकारका विभिन्न स्वाद पाइने सावरसुपको फलसँगै पात पनि चियामा प्रयोग हुने उहाँले बताउनुभयो । बिरुवालाई ‘एयर ल्यायरिङ’ र ‘ग्राफ्टिङ’ प्रविधि अपनाएर बिरुवा उत्पादन गरेको बताउँदै उहाँले बिरुवा बिक्री भने नगरेको उल्लेख गर्नुभयो ।

    “आफ्नै बारीमा बिरुवा हुर्काएर अझ व्यावसायिक बन्ने प्रयासमा सुब्बा लाग्नुभएको छ”, पथरी शनिश्चरे–१ का वडाध्यक्ष नैना राईले बताउनुभयो । केही बिरुवा वडालाई निःशुल्क वितरण गर्नुभएको भन्दै भविष्यमा बिरुवा बिक्री गर्ने सोचसहित सुब्बाले योजना बनाइरहनुभएको उहाँले जानकारी दिनुभयो ।

    क्यान्सरबाट बर्सेनि नेपाली पीडित बनिरहेको अवस्थामा यो फलको सेवनबाट क्यान्सर रोग नियन्त्रणमा सहयोग पुग्ने विभिन्न अध्ययनले देखाएको सुब्बाले बताउनुभयो । पछिल्लो समय सावरसुपका बारेमा थाहा पाएर फार्ममा बिरुवा, पात र फल किन्नहरू आउने उहाँले जानकारी दिनुभयो । नयाँ खेती सुरु गरेकाले स्थानीय तथा सङ्घीय सरकारसँग खेती व्यवस्थापनको विकल्पसहित आर्थिक, प्राविधिक सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

    बङ्गुर र कुखुराबाट उत्पादित मलले साग तथा अन्य तरकारी उत्पादन गर्दै आएको सुब्बाको भनाइ छ । “नेपाली बजारमा यो नयाँ किसिमको फल भएकाले यसलाई तराईका क्षेत्रमा विस्तार गर्नसके, यसको थप अध्ययन गरी महत्वबारे सबैलाई जानकारी दिनसके यसप्रति अन्य कृषको पनि आकर्षण बढ्ने थियो”, उहाँले भन्नुभयो, “यसका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तथा सङ्घीय सरकार, अन्य सरोकार भएका निकायले सहयोग र समन्वय गर्नुपर्छ ।”

  • चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला

    चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला


    टक्सार (भोजपुर), ९ पुसः जिल्लाको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ एक गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।

    गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेदेखि पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना गरिने दिएको हो ।

    ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनुहुने टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले बताउनुभयो ।

    बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ । एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।