Blog

  • थाइल्याण्ड, कम्बोडियालगायत देश जाँदा सावधानी अपनाउन आग्रह

    थाइल्याण्ड, कम्बोडियालगायत देश जाँदा सावधानी अपनाउन आग्रह

    सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

    आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ ।

    पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने/गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ ।

    रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ ।

    “वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।

  • शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको औपचारिक अनुरोध

    शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको औपचारिक अनुरोध

    ढाका । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई औपचारिक अनुरोध गरेको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’मार्फत यो अनुरोध गरिएको बताए । “हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ,” तौहिद हुसेनले पत्रकारहरूलाई भने ।

    अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा ६ सयभन्दा बढी मानिसको मृत्यु भयो ।

    ७६ वर्षीया हसिना भारत भागेपछि सेनाले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो ।

    यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएकी थिइन् ।

    युनाइटेड किङडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएकी थिइन् ।

    “सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भन्नुभयो…उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उहाँले यो षड्यन्त्र सुरु गर्नुभयो किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन…यो एक योजनाबद्ध षड्यन्त्र थियो,” हसिनाले दाबी गरेकी छिन् ।

    उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताइन् ।

    “आज बंगलादेश कठिन समयबाट गुज्रिरहेको छ । फासीवादी सरकारअन्तर्गत बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बंगलादेश जलिरहेको छ… आज, बंगलादेश नष्ट भइरहेको छ,” उनले भनिन् ।

    पदच्यूत प्रधानमन्त्रीले बंगलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख गर्दै भनिन्, “उनीहरूले चिन्मय कृष्ण दासलाई गिरफ्तार गरे र उहाँको बचाउ गर्न कुनै प्रकारको वकिल हुन नसक्ने बताए । यो कस्तो न्याय हो ? यसले प्रमाणित गर्छ कि बंगलादेशमा कानुन र व्यवस्था छैन ।”

    अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यागमनको प्रभावबारे चिन्तित छन् ।

  • भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण

    भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण


    काठमाडौँ, ८ पुसः नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

    बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई आज यहाँ आयोजित एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागतपत्र उहाँहरूलाई हस्तान्तरण गर्नुभएको हो ।

    बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका– १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

    बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो ।

    नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैंकप्रति आभार व्यक्त गर्नुभएको थियो ।

    आवास हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

    अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा व्यापक क्षति भएको थियो ।

  • भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

    भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर


    काठमाडौँ, ८ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

    यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

  • अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि

    अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि


    काठमाडौँ, ८ पुस: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।
    युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ ।

    केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

     केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    प्रस्तुत विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।

  • सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

    सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित


    मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।

    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उहाँरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा तथा प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा.राम प्रसाद शर्मा, डा.नविन लागेजु, डा.समृद्धि कार्की, डा.अन्जली तण्डुकार र प्रदिन ताम्राकार हुनुहुन्छ ।

  • टरिगाउँ विमानस्थल विस्तारको प्रयास

    टरिगाउँ विमानस्थल विस्तारको प्रयास


    दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।

    आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो ।

    उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो ।

    पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ

  • जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान


    काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिनुभएको हो ।

    शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो । “यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपिएलको जित हो । यस खेलमा तपाईँहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईँहरु हिरो हो । नायक र महानायक हो । म तपार्ईँहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”
    आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उहाँले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराउनुभयो ।

    विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

    सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभएको थियो । उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

  • मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

    मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने


    भरतपुर (चितवन), ७ पुसः मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

    स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

    नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

    यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।

  • पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

    पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु


    पर्वत, ७ पुस : स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।

    फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

    ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् ।

    अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।