Blog

  • महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

    महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर


    डुम्रे (तनहुँ), ७ पुस : स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहिचान र यससम्बन्धी चेतना दिन शिविर सञ्चालन गरिएको हो ।

    मिलन योग साधना केन्द्र, मिलन टोल विकास सस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकको अभावमा यहाँका बिरामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता भएकाले सहज रूपमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य तथा स्थानीय केशबहादुर सुनारले जानकारी दिनुभयो ।

    शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुपा पनेरुको नेतृत्वमा डा गरिमा गौतम, डा कोमल शाहलगायतको टोलीले प्रसूति तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउँदै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले घरआँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा बिरामीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविर सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”

    योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताउनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ । व्यास नगपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादुर आले, मिलन योग साधना केन्द्रका अध्यक्ष कृष्णबहादुर थापालगायतले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेलाबेलामा हुने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरबाट लाभ पुग्ने बताउनुभयो । शिविरमा एक सय २१ महिलाले स्वास्थ्य सेवा लिएका थिए ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, ७ पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४  पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

  • पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

    पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई


    काठमाडौँ, ६ पुसः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

    जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

    जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

    सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

    साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।

    प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

  • कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


    काठमाडौँ, ६ पुस : कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

    यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • बाजुरामा पाँच रेक्टरको भूकम्प

    बाजुरामा पाँच रेक्टरको भूकम्प


    बाजुरा,६ पुस : जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

    पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

  • ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली

    ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली

    काठमाडौँ, ६ पुसः  प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।

    संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ,  “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”

    ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुहुँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गर्नुभएको छ । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उहाँले भन्नुभएको छ । 

    मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु-याउनुपर्ने बताउनुभएको छ ।   

  •  आज विश्व ध्यान दिवस मनाइँदै

     आज विश्व ध्यान दिवस मनाइँदै

    काठमाडौँ, ६ पुसः संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।

    डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।  

    राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।  

    नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभयो ।

    यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

  • रौतापोखरीमा पर्यटकको सङ्ख्यामा वृद्धि

    रौतापोखरीमा पर्यटकको सङ्ख्यामा वृद्धि

    गाईघाट । उदयपुरको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

    रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्यालोकन गर्न कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेको रौता माई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताउनुभयो ।

    उहाँका अनुसार हाल दैनिक रौता क्षेत्र पर्यटकले भरिभराउ हुन थालेको छ । चिताएको पुग्ने धार्मिक विश्वासका साथ रौता पञ्चकन्या देवीको पूजा तथा आराधना गर्न र हिमश्रृङला हेर्न मौसम सफा भएसँगै पर्यटक बढेको रौतामाई–४ का पूर्व वडाअध्यक्ष पाण्डब राईले बताउनुभयो ।

    रौताबाट उत्तर दिशातर्फ एकैपटक अवलोकन गर्न सकिने सात वटा हिमाल र पहाडी जिल्ला, भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, सोलु र ओखलढुङ्गासहित देखिने रौताका होमस्टे सञ्चालक हर्क सिजाली मगरले बताउनुभयो ।

    त्यसैगरी तराईका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, झापा, सुनसरी र मोरङसहित सप्तकोशी नदीसमेत यस क्षेत्रबाट अवलोकन गर्न सकिन्छ । यहाँ विभिन्न विद्यालयहरुले विद्यार्थीलाई वनभोजका लागि समेत ल्याउने गरेका छन् । 

    मङ्सिसर लागेसँगै दैनिक पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय र होमस्टेमा व्यापार बढेको स्थानीय होमस्टे सञ्चालक गङ्गा माया मगरले बताउनुभयो । रौता क्षेत्रमा आउने पर्यटकमध्ये दैनिक बास बस्नेको सङ्ख्या हाल दैनिक १० देखि २५ जनासम्म आउन थालेका छन् ।

    समुद्री सतहदेखि दुई हजार मिटरको उचाईमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीको अगाडि रौता पञ्चकन्या देवीको मन्दर रहेको छ । पोखरी आसपासमा जङ्गल भएपनि यस क्षेत्रको पोखरीमा खसेका रुखका पात चराले टिपेर अन्यत्र लाने विश्वास गरिन्छ । जसका  कारण पोखरी सफा रहने गरेको स्थानीयबासी बताउँछन् ।

    रौतामाइ–४ आँपटारका ७८ वर्षीय जगतबहादुर राईका अनुसार रौता पोखरीको पानी हरियो वा निलो रङगको देखिने गरियो भने गाउँघरमा अन्न बाली धेरै उत्पादन हुने किम्वदन्ती छ । यदी पानीको रङ बदलेर पहेँलो देखियो भने गाउँघरमा रोग व्याधी, दुःख बिमार फैलने विश्वास गरिन्छ । पोखरीको पानी स्वच्छ हुँदा देशमा शान्त हुने झै झगडा नहुने किम्वदन्ती छ ।

    यहाँ परेवा, हाँस, कुखुरा वा पाठी भोग दिएर पूजा गरिने र कतिपयले नरिवल र दुध चढाएरसमेत रौता पञ्चकन्या देवीको पूजा गर्ने गर्छन् ।

  • एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

    एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुदैँछ ।

    कीर्तिपुरस्थति त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस आमने  सामने हुँदैछन् ।

    जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबिच उपाधि भिडन्त हुन लागेको हो ।

    सुदूरपश्चिमले ८ मध्य ७ खेल जितेको छ, एकपटक मात्र सो टिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । 

    उता, जनकपुर २ पटक सुदूरपश्चिमसँग क्रमशः ७२ रन र ८ विकेटले पराजित भएको थियो ।

    तर, आज दुबै टोली एक आपसमा तेस्रो पटक भिडदैँ छन् । 

    फाइनल खेल साढे १२ बजे सुरुहुने छ ।

    प्ले अफमा जानु अघि १२ अंकका साथ शीर्ष स्थानमा सुदुरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो ।

    आज हुने फाइनल बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् । 

  • पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन

    पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन


    बर्दघाट सुस्तापश्चिम (नवलपरासी) ५ पुसः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।

    पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । दुई वर्ष पहिला निर्माण भएको भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताउनुभयो ।

    उहाँका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशÞद्धार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ । रु ४० लाख लागतमा गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

    गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ । यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो । खानेपानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्धार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भन्नुभयो ।