Blog

  • भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्

    पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । 
    
    यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ । गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइकामा यस वर्ष घटेको छ । “हामीले लिएको तथ्याङ्कअनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडाच्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ”, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भन्नुभयो ।
    
    पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ ।
    
    पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी÷ बोकाको बिक्री घटेको बताउनुभयो । माग कम भएपछि आफूहरुले आयातसमेत घटाएको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “अघिल्ला वर्षमा हामीले आठ÷नौ हजारजति खसीबोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन । पहिलाकोभन्दा आधामात्र ल्याएका छौँ ।”
    
    पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन् । दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन् ।
    
    पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रुपमा च्याङ्ग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो ।
    
    “सुरुआतमै  रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन”, उहाँले भन्नुभयो । पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो ।
    
    अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन । “पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कमा हुर्किएकाले समस्या देखिएको छैन”, पशुचिकित्सक विकले भन्नुभयो ।
    
    नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ । “जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ”, पाण्डेले भन्नुभयो । दसैँको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ ।
  • आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उहाँले भन्नुभयो ।

    देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताउनुभयो ।

    यस्तै, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ । 

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

    राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

    आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।

    फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

  • पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र कोष बिच सहमति पत्रमा हस्ताक्षर

    पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र कोष बिच सहमति पत्रमा हस्ताक्षर

    काठमाडौँ । पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गर्नुभएको हो ।

    सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले भन्नुभयो, ‘यस्ता सार्वजनिक महत्वका स्थानको संरक्षण, प्रवर्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो ।’

    ‘धर्मशाला मन्दिर हो । सम्पत्ति कोषको हो ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो ।’

    ‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रुपमा लिएका छौँ ।’ कोषका कार्यकारी निर्देशक जोशीले भन्नुभयो, ‘महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौँ ।’

    पशुपति गौशाला महानगरपालिकाको वडा नं.८ क्षेत्रमा पर्छ । कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

    गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन् । यसका लागि वडा नं. ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहनुहुनेछ ।

  • वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना

    वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना


    वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ ।

    छदिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा खेल हुनेछ । जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ ।

    जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ

  • रेस्लर भगवतीको कीर्तिमान वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश 

    रेस्लर भगवतीको कीर्तिमान वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश 

    रेस्लिङ क्षेत्रमा “युनिका” उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरिएको छ। 

    भगवती खड्काले नेतृत्व गरेको नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकामा रहेको ५,६४४ मिटर उचाइको कालापत्थरमा रेस्लिङ प्रतियोगिता आयोजना गरेको थियो। यो विशेष रेस्लिङ खेल गत जेठ १६ (मे २९) मा ‘एभरेष्ट डे’ का अवसरमा सम्पन्न भएको थियो । त्यहाँ भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच प्रतिस्पर्धा भएको थियो। उक्त भिडन्तमा भगवती विजयी बनेकी थिइन्। 

    भगवती खड्काले यति उचाइमा रेस्लिङ खेलको आयोजना विश्वमै पहिलोपटक भएको जानकारी दिँदै, यसका कारण आफ्नो नाम वर्ल्ड बुक अफ रेकर्ड्स मा समावेश भएको बताइन्। यो खेलमार्फत भगवतीले आफ्नो बाल्यकालदेखि देखेको विश्व कीर्तिमान बनाउने सपना पूरा भएको महसुस गरेकी छन्।

    उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् भने अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले खेलको समन्वय र सहजीकरण गरेका थिए। 

    वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे। भगवतीले आगामी दिनमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स मा पनि आफ्नो नाम दर्ता गराउन पहल भइरहेको जानकारी दिएकी छन्।

  • आश्विन शुक्ल षष्ठी:  कात्यायनीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल षष्ठी:  कात्यायनीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । 

    कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

    नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

    दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । 

    दुवै दिन सूर्योदय कालमा चौँथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 

    नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

           दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।  काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

    राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।

  • गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

    गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

    डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो ।

    तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।

    डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।

  • रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    रामेछापको खाँडादेवी गाउँपालिका–३ भीरपानीमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। काठमाडौँबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित अमारेतर्फ जाँदै गरेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

    दुर्घटनामा परी सिन्धुली, सुनकोसी गाउँपालिका–६ की १७ वर्षीया युवती युनिषा श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। उनलाई उपचारका लागि सिन्धुली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

    घटनामा घाइते भएका अन्य यात्रुहरूको उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा पठाइएको छ। बसमा ३५ जना सवार थिए, र प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

  • हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

    हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, २३ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  विश्व हुलाक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताउनुभयो । 

      “सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ”, मन्त्री गुुरुङले सन्देशमा भन्नुभएको छ । 
    उहाँले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभएको हो ।

    उहाँले चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ । 

    मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।”

    विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

    संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका एक सय ५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।  

    विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।  

    दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो । 

  • अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

    अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

    काठमाडौँ, २३ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

    साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । 

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।