Blog

  • पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

    पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

    एएफपी : पाकिस्तानको उत्तरपश्चिममा साम्प्रदायिक झडपका क्रममा कम्तीमा १६ जनाको मृत्यु भएको छ, जसमा तीन महिला र दुई बालबालिकासमेत समावेश छन्।

    खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि चल्दै आएको झगडा यो घटनाको मुख्य कारण बनेको हो। यस क्षेत्रका दुई सम्प्रदायबीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ।

    कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, शनिबार सुन्नीहरूको एउटा समूह अर्धसैनिक सुरक्षासहित यात्रा गरिरहेका बेला आक्रमणमा परेको थियो। उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको जनाएको छ।

    जुलाईदेखि सेप्टेम्बरसम्मका झडपहरूमा दर्जनौं मानिसहरूको मृत्यु भएको जानकारी छ, र हाल आदिवासी परिषद्ले युद्धविरामको आह्वान गरेपछि मात्र अवस्था केहि शान्त भएको उल्लेख गरिएको छ।

    अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्न प्रयास गरिरहेका छन्। यद्यपि, परम्परागत आदिवासी नियमहरूको पालना गर्ने कारणले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरू हुने सम्भावना रहेको बताइएको छ।

    पाकिस्तानमा सुन्नी मुस्लिम समुदायको बाहुल्यता छ, जसले गर्दा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ।

  • यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

    आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

    असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

  • दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

    दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

    काठमाडौँ, २७ असोजः बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

         त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

         यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

    यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २७ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

     जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

    यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा


    विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो ।

    घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो ।

    राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ । राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाउनुभयो ।

    बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताउनुहुन्छ । राजधानी, ठूला शहर र सदरमुकाम केन्द्रित बसोवास गर्नेको सङ्ख्या बढिरहेको उहाँले सुनाउनुभयो । यसैले गर्दा पनि यस वर्षको विजयाशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।

  • ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

    सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’’ विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए ।

    सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो । केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

  • विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

    विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

    काठमाडौँ, २६ असोज : बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ ।

    बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो । बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उहाँले दिनुभयो ।

    अभियानकर्मीले उठाएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रुपमा हुँदै आएको छ ।

    बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।

  • प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

    प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ


    काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गर्नुभयो ।

    प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डाेल्मासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरुलाई दसैंको टीका प्रदान गर्नुभएको थियो ।

    आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिनुभयो । सो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

  • राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

    राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने


    काठमाडौँ, २६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ ।
    उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
    विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

    राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

    राष्ट्रपतिले दाइका हातबाट टीका लाउने
    राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।

    राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ ।

    सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

  • विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

    विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल


    पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ ।

    विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताउनुभयो ।

    “देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”

    पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गर्नुभएको छ ।

    विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताउनुभयो ।

    दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनःस्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
    पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को बिकल्प छैन भन्दै उहाँले भन्नुभएको छ, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकलाई पुनःस्थापना एवं पुनःवास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”

    अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।