Blog

  • राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै 

    राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै 

    काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।

    त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो। त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।

    आज हुने निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ । मुलुकमा करवृद्धि, अनुदान र कल्याणकारी योजनामा ​​कटौतीका कारण अझै पनि धेरै जनता समस्यामा छन् । धेरै विश्लेषकहरु यस पटकको चुनावमा आर्थिक सुधारका लागि मतदाता चिन्तित हुने भएकाले चुनावमा द्वन्द्व देख्न सक्ने विश्वास गर्छन् ।

    राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन् ।

    स्थानीय समय अनुसार बिहान ७ बजेदेखि अपराहन्न ४ बजेसम्म देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनका लागि १७ मिलियन मतदाता मतदानका लागि योग्य रहेको बताइएको छ । श्रीलंकामा १८ बर्ष पुगेर दर्ता गरेका नागरिकले मतदान गर्न पाउने संबैधानिक व्यवस्था छ ।

    पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शिर्ष दुई उम्मेदवार मध्ये एक;लाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

    श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।
      
     
     
     

  • चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन सुरु

    चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन सुरु

    काठमाडौं ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

    कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

    कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । 

    विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । 

    कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ ।

    कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । 

  • प्रधानमन्त्री ओली आज न्युयोर्क प्रस्थान गर्दै

    प्रधानमन्त्री ओली आज न्युयोर्क प्रस्थान गर्दै

    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओली आज न्युयोर्क प्रस्थान गर्ने भएका छन् ।

    संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गर्ने भएका हुन् ।

    उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

  • दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित

    दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित


    काठमाडौं ।
    नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ ।

    जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

    नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

    जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो ।
    लिग-२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । 

  • आज संविधान दिवस विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै

    आज संविधान दिवस विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै


    काठमाडौं ।
    आज संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

    संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

    ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ । संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ ।

    यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ । 

  • आजदेखि सोह्र श्राद्ध सुरु

    आजदेखि सोह्र श्राद्ध सुरु

    काठमाडौं ।

    दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ ।

    असोज कृष्णपक्षको प्रारम्भसँगै बुधबारदेखि हिन्दु परम्पराको पितृ पक्ष सुरु भएको हो ।

    यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्र श्राद्ध पनि भन्ने गरिन्छ ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरमा आइतबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । यस अवसरमा आफ्ना पूर्वजहरूको मृत्युमा तिथिअनुसार श्राद्ध गर्ने परम्परा रहिआएको छ ।

  • आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले दिए ३ ठाउँमा उजुरी

    आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले दिए ३ ठाउँमा उजुरी


    काठमाडौं ।
    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् ।

    डा. राउत आफू र पत्नीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै राज्यका तीन निकायमा उजुरी गरेका हुन् ।

    शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

    राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।

  • आज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

    आज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै


    काठमाडौं ।
    आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

  • भारतद्वारा प्रशोधित पाम तेल भन्सारमा शुल्क वृद्धि

    भारतद्वारा प्रशोधित पाम तेल भन्सारमा शुल्क वृद्धि

    काठमाडौं ।
    भारतले पाम, सोयाबिन र सूर्यमुखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको छ ।

    भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    कर बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गर्दा साढे ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो ।

  • परराष्ट्रमन्त्री आरजु राणा सोमबार क्यानडा जाँदै

    परराष्ट्रमन्त्री आरजु राणा सोमबार क्यानडा जाँदै


    काठमाडौं ।
    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छन्। महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिन उनी क्यानडा प्रस्थान गर्ने भएकी हुन्।

    क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उनी त्यता जाने भएकी हुन्।

    सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जानेछन्।