काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुदै छ । दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्ने छ । आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
काठमाडौँ, १६ फागुन : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
दाङ, १६ फागुन : तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो । रु ७५ लाख लागतमा उक्त ट्याङ्की निर्माण गरिएको थियो ।
जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको छ । “न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्”, स्थानीय देवराज वलीले भन्नुभयो, “हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अच्चमित भएका छौँ ।” मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्याङ्की निर्माण भएको हो ।
त्यहाँबाट केही दिन पानी तानिएको थियो । स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताउनुभयो । “हामीले केही समय पानी ट्याङ्कीमा राख्यौँ”, उहाँले भन्नुभयो, “तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन ।” धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाएकामा स्थानीयले नमान्दा समस्या भएको उहाँको भनाइ छ ।
खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने उल्लेख छ । सचिव राकेश बस्नेतले सभामा पेस गरेको प्रतिवेदनमा सोही ट्याङ्की पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गर्नुभएको हो । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त हुनुहुन्थ्यो ।
मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गर्नुभएको छ । रू नौ लाख लागतमा उहाँले केराखेती गर्नुभएको थियो । उहाँ पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै हुनुहुन्थ्यो ।
तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पुर्याँदा उहाँहरू निरास हुनुभएको छ । केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उहाँहरूले जानकारी दिनुभयो ।
उहाँ दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुनुहुन्छ । दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।
गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ । स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।
सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताउनुभयो ।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो । इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उहाँले बताउनुभयो । करिब रू एक करोड बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताउनुभयो ।
एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ । हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गर्नुभयो । सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका छन् ।
उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए । “यो एनआरएनएको जग हाल्ने अवसर हो। हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो। हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं। यो कमिटिको एकदमै बलियो म्यान्डेट छ। कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो,” उनले भने । ” हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रुपमा चलेको छ। समस्या सदस्यतामा छ। समस्या प्रतिनिधि छनोटमा छ। सर्वोच्चले समस्या पहिल्यायो। त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला ग-यौं। अब नयाँ विधानमा यो कुरा राख्नु प-यो। बढीभन्दाबढी साथीहरु काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ। तपाईंहरुको सहभागिता विना यो सम्भव छैन,” उनले भने ।
अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म १० ओटा बैठक गरिसकेको बताए । “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ। रात दिन काम गरौँ। हामीले कति दुख ग-यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा, होटेलमा गएर पनि बैठक ग-यौं। अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई रोक्न सक्दैन,” उनले भने ।
आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन प्रधानमंत्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताए । “हाम्रो एकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ? सामाजिक सुरक्षा कोषमा हामीले गरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ। अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार एकताको सूत्रमा जोडिन म आग्रह गर्छु,” उनले भने ।
उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको बताए। “तपाईंहरुको केही समस्या छ भने हामीलाई जानकारी दिनोस्। राम्रोसंग टीओआर हेर्नोस् । हामीहरुसंग एमओयु गर्नोस्,” कुँवरले भने । उहाँले परराष्ट्र मन्त्रालयले बनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने र मतदान गर्न सक्ने बताए । उनले एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल (www.nrnahlc.com) मा गएर सदस्य बन्न पनि आग्रह गरे ।
उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाइन् । उनले आवेदकहरुलाई भिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गरिन् ।
उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मे महिनामा काठमाडौँमा हुन गइ रहेको अधिवेशन नै एकमात्र वैधानिक अधिवेशन भएको बताइन् । उनले संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिल पनि गरिन् ।
अन्तरक्रियामा सहभागी एनआरएन अगुवा तथा पदाधिकारीहरुले एनआरएनएका सबै पक्षलाई एकता अधिवेशनमा भाग लिन र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुरुप संघको केन्द्रीय सचिवालयको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गरेका थिए । उनीहरुले सदस्यता निवेदनका लागि बुझाइएका कागजातहरु गोप्य र सुरक्षित रहने व्यवस्था गर्न पनि आग्रह गरे। सहभागीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिएका थिए । कार्यक्रमको संचालन उच्चस्तरीय समितिका सदस्यद्वय रबीना थापा तथा जानकी गुरुङले गरेका थिए ।
सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले अहिलेसम्म गरेका कामकारवाही तथा आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनको तयारीको बारेमा जानकारी दिन जुम बैठक आयोजना गरेको थियो।
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ ।
रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।
बेइजिङ । वालनट कोडिङ (Walnut Coding), युवा सिकाइका लागि अग्रणी अनलाइन कोडिङ शिक्षा प्रदायक, र सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागबीच युवा कोडिङ शिक्षा प्रवर्द्धन गर्न सहकार्य सम्झौता भएको छ।
यस साझेदारीले कम्पनीको पाठ्यक्रम गुणस्तर सुधार गर्ने र नवीनतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ, जसले विद्यार्थीहरूलाई भविष्यका विज्ञान तथा प्रविधिका नेताहरूका रूपमा विकसित हुन आवश्यक सीप प्रदान गर्नेछ।
यस साझेदारीमार्फत, सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागले वालनट कोडिङसँग मिलेर यसको पाठ्यक्रमको स्तरवृद्धि गर्नेछ। यस पहलले पाठ्यक्रम योजना, सामग्री विकास, र नवीन शिक्षण पद्धतिहरू समेट्नेछ, जसले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक प्रयोग तथा समस्या समाधान क्षमतासमेत प्रदान गर्नेछ।
नयाँ पाठ्यक्रमले समस्या समाधान क्षमताको अभिवृद्धि र सैद्धान्तिक ज्ञानलाई व्यवहारिकतासँग जोड्न विशेष जोड दिनेछ। सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञानमा रहेको विशाल अनुभव र वालनट कोडिङको युवा कार्यक्रम सिकाइमा रहेको दक्षतालाई संयोजन गरेर, यस साझेदारीले कोडिङ पाठ्यक्रमलाई वैज्ञानिक दृष्टिकोण, व्यवस्थित संरचना, र व्यवहारिक प्रयोगका लागि उपयुक्त बनाउन मद्दत गर्नेछ। कार्यक्रम उद्योग मापदण्डहरूसँग मेल खाने गरी निर्माण गरिएको छ र विभिन्न उमेर समूहका विद्यार्थीहरूको सिकाइ आवश्यकताहरू पूरा गर्न अनुकूल बनाइएको छ।
वालनट कोडिङका सह-संस्थापक वाङ युहाङले भने, “वालनट कोडिङ सधैं प्रविधिमार्फत शिक्षालाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ। सिङ्ह्वासँगको हाम्रो सहकार्यले युवा कोडिङ शिक्षामा नवीनता ल्याउनेछ र प्रविधि विकासलाई निरन्तर सहयोग प्रदान गर्नेछ। हामी विश्वास गर्छौं कि यो साझेदारीले भविष्यका विज्ञान तथा प्रविधि नवाचारका नेताहरूलाई विकास गर्न मद्दत गर्नेछ।”
यस साझेदारीले सरकारले हालै प्रस्तुत गरेको शिक्षा सुधारसम्बन्धी नयाँ रूपरेखासँग पनि मेल खान्छ। उक्त रूपरेखाले प्राथमिक तथा माध्यमिक विद्यालयमा वैज्ञानिक शिक्षा सुदृढ गर्ने, नवाचार प्रवर्द्धन गर्ने, र विज्ञान तथा कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाका लागि नयाँ संरचना निर्माण गर्ने आवश्यकतामा जोड दिन्छ।
यस सहयोगमार्फत, दुबै पक्षले आफ्ना स्रोतसाधन तथा विशेषज्ञता मिलाएर युवा कोडिङ शिक्षालाई अझ व्यवस्थित, प्रभावकारी, र प्रविधिमैत्री बनाउने प्रयास गर्नेछन्। यसले सम्पूर्ण युवा कोडिङ शिक्षाको स्तरवृद्धि गर्न योगदान दिनेछ।
सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागबारे
सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभाग सन् १९५८ मा स्थापना गरिएको थियो। ६० भन्दा बढी वर्षको विकासपछि, यो विभाग विश्वभर कम्प्युटर विज्ञानका क्षेत्रमा अत्यधिक प्रभावशाली बनेको छ। यसले चीनको कम्प्युटर उद्योगको विकास र राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
वालनट कोडिङबारे
वालनट कोडिङ चीनमा कोडिङ शिक्षाको अग्रणी कम्पनी हो। सन् २०१७ मा स्थापना भएको यस कम्पनीले Scratch, Python, र C++ जस्ता विभिन्न विषय समेट्ने रोचक तथा अन्तरक्रियात्मक कोडिङ सिकाइ पाठ्यक्रमहरू प्रदान गर्दछ। वालनट कोडिङका पाठ्यक्रमहरूले अनुकूलन योग्य सफ्टवेयर, स्पष्ट सिकाइ लक्ष्य, र व्यक्तिगत मार्गदर्शन प्रदान गर्छन्। फेब्रुअरी २०२४ सम्म, वालनट कोडिङसँग ७.२ मिलियन भुक्तानी गर्ने प्रयोगकर्ताहरू थिए।
हेटौँडा (मकवानपुर), १४ फागुनः हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गर्नुभएको छ ।
वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गर्नुभएका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहनुभएको छ ।
साउदी अरबमा छँदा गाडी चलाउनुभएका उहाँले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाउनुभयो । ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उहाँ गाउँ फर्कनुभयो । गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गर्नुभएका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउनुहुन्छ । मोबाइलमा भिडियो हेरेकै भरमा उहाँले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको उल्लेख गर्नुभयो ।
तिमल्सिनाले हाते रु आठ लाख लगानी गर्नुभएको छ । उहाँले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक सुरु भएको यस उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।
उहाँले उद्योग सुरु गर्दा पहिलो महिनामा जम्मा रु ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । विशेष गरेर लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न सुरु गरेको हुँ ।”
काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन सुरु गर्नुभएका उहाँलाई अहिले भ्याइनभ्याई छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उहाँसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उहाँ लाग्नुभएको छ ।
पहिलो चरणमा दुई सयवटा फ्रेमबाट कागज उत्पादन गरिरहनुभएका तिमल्सिना यतिबेला लगानी बढाएर पाँच सयभन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा हुनुहुन्छ । एउटा केराको बोटबाट औसतमा आधा किलो फाइबर निकाल्न सकिन्छ । त्यसबाट २५ वटासम्म कागज बनाउन सकिन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी (दुई सय पिस) कागज उत्पादन भइरहेको उहाँको भनाइ छ ।
केराको पकेट क्षेत्र भएकाले भविष्यमा यहाँको केराको खम्बा मूल्य निर्धारण गरेर खरिद गर्ने सोच उहाँले बनाउनुभएको छ । यसरी उत्पादन भएको कागजको बजारका लागि भने समस्या छैन । उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले प्राविधिक र मेसिनरी सहयोग गरेको अवस्थामा स्थानीयस्तरमा खेर गइरहेको केराको खम्बाबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
सुरुमा केराको खम्बा र डन्ठा जम्मा गरिन्छ । त्यसपछि त्यसलाई मेसिनमा हालेर फाइवर निकालिन्छ र सुकाइन्छ । फाइवरलाई कास्टिङ सोडामा हालेर बाबियोसहित पाँच घण्टा जति पकाएपछि त्यसलाई तीन–चारपटक पानीले धुनुपर्छ । त्यसपछि त्यसलाई कुटेर, मेसिनमा हालेर मसिनो हुनेगरी लेदो बनाउनुपर्छ र कागज सुकाउने काठको जालीसहितको फ्रेममा आवश्यक कच्चा पदार्थ हालेर पानीबाट छानेर घाममा सुकाउनु पर्दछ । घाम लागेको बेला करिब दुई–तीन घण्टामा सुकेपछि कागज तयार हुन्छ ।
गण्डकी, १४ फागुनः कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्ष दिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताउनुभयो ।
“तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिए पनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।”
भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैँले लगानी गरेको संयोजक पौडेलले बताउनुभयो । उहाँले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उहाँको भनाइ छ ।
बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि रु १८ करोडको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पर्खाइमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै हुनुहुन्छ । “जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन”, उहाँले भन्नुभयो, “स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?”
अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक रु पाँच करोड सञ्चालन खर्च आउने बताउनुभयो । उक्त अस्पतालबाट डायलायसिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँचवटा उपकरण माग गरिएको उहाँले बताउनुभयो । “प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफँैले व्यवस्थापन गर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बागलुङको पश्चिम भेगका मिर्गाैलाका बिरामीलाई लक्ष्य गरी डायलायसिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।”
ग्रामीण क्षेत्रका नागरिकलाई डायलायसिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलायसिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उहाँको भनाइ छ ।
स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँले बताउनुभयो । “यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबीच आपसी सहयोग र सहकार्यको खाँचो छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।”
अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताउनुभयो । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताउनुभयो । “नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भए पनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।”
मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । “यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन”, मन्त्री पाठकले भन्नुभयो ।
सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहे पनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बने पनि सेवा सुरु हुनसकेको छैन । सत्र अस्पताल भवन निर्माणाधीन छन्भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् ।
दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।
दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ।
सियोलले महिलाहरूलाई बढी न्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न गर्न अर्बौँ डलर खर्च गरेको छ।
कोरियाको प्रारम्भिक साङ्ख्यिकीय तथ्याङ्कअनुसार प्रति एक हजार व्यक्तिमा जन्मिने शिशुको सङ्ख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसङ्ख्याको प्रवृत्ति देखाएको थियो ।
प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो।
“सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,” प्रतिवेदनमा भनिएको छ।
जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसांख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताउनुभयो । पार्कले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष भन्दा माथिका मानिसहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३.७ वर्ष रहेको छ ।
तर दक्षिण कोरियाको पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न आवश्यक पर्ने २.१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ ।
सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।
– लगातार गिरावट –
विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका धेरै कारणहरूमध्ये प्रमुख कारण मानिन्छन् । यसले राम्रो तलब आउने रोजगारीका अवसरहरू सुरक्षित गर्न गाह्रो बनाउँछ ।
कामकाजी आमाहरूले आफ्नो पेसालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ।
दक्षिण कोरियाली सरकारले जन्म दर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ।
तर प्रजनन दरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ।
मोनाकोपछि विश्वको दोस्रो सबैभन्दा धेरै वृद्ध जनसंख्या दर भएको देशको अपेक्षाकृत कडा अध्यागमन नियमको अर्थ यो हो कि यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ।