Blog

  • मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

    मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

    काठमाडौँ, १३ फागुन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

    समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, सवारी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    “मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औँल्याएको भए पनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको छ”, राष्ट्र बैंकले भनेको छ ।

    अर्धवार्षिक समीक्षाबाट मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशतमा यथावत राखिएको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशत यथावत छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था संशोधन भएको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा केही सहुलियत पाएका छन् । असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गरिएको छ । त्यस्तै ‘नन् डेलिभरेबल फरवार्ड’ को हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गर्ने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।

    अर्धवार्षिक समीक्षामार्फत सवारीसाधनको ऋण मूल्य अनुपात (लोन भ्यालु रेसियो) संशोधन गरिएको छ । यसअघि विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई समान ६० प्रतिशत कायम गरिएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिले सजगतापूर्वक लचिलो कार्यदिशा अवलम्बन गरेको बताउँदै आएको छ । यो नीतिले आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको छ । यद्यपि चालु आर्थिक वर्षको माघ मसान्तसम्मका वित्तीय तथा मौद्रिक सूचकहरूले भने बाह्य सूचकबाहेक अन्य अधिकांश सूचक खराब अवस्थामा रहेको देखाउँछन् ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलोत्रय मासमा आर्थिक वृद्धि तीन दशमलव चार प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यसवर्ष धान उत्पादन चार दशमलव ०४ प्रतिशतले बढेको अनुमान छ । निर्माण र उत्पादनमूलक उद्योगको कमजोर वृद्धिदरलाई अझै सुधार गर्न सकिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएका यी क्षेत्रले अझै गति लिन सकेको छैनन् । यद्यपि, जलविद्युत् उत्पादनमा हुँदै गएको वृद्धि, वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।

    आर्थिक वर्ष २०८१/८२ को छ महिनासम्मको कर्जा प्रवाह विश्लेषण गर्दा आर्थिक गतिविधि विस्तारको क्रममा रहेको देखिएको राष्ट्र बैंकको दाबी छ । “चालु आर्थिक वर्षको छ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक उत्पादन क्षेत्रतर्फ ८ दशमलव चार प्रतिशत अर्थात् रू ६८ अर्ब ४१ करोड, उपभोग्य क्षेत्रतर्फ पाँच दशमलव आठ प्रतिशत अर्थात रू ५८ अर्ब ४० करोड कर्जा लगानी भएको छ”, राष्ट्र बैंकले भनेको छ, “त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ चार दशमलव आठ प्रतिशत अर्थात् रू ४८ अर्ब ३४ करोड र निर्माण क्षेत्रतर्फ सात दशमलव सात प्रतिशत अर्थात् रू १५ अर्ब ९४ करोडले कर्जा विस्तार भएको छ ।”

    चालु आर्थिक वर्षको छ महिनासम्ममा औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको छ । गत असोजको बाढी तथा पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा उत्पन्न व्यवधान तथा भारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई कात्तिक र मङ्सिरमा बढ्दोक्रममा रहेको मुद्रास्फीति पुसमा केही कम भएको राष्ट्र बैंकले जनाएको छ ।

  • पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

    पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

    काठमाडौँ, १३ फागुन : महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

    पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।

    सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताउनुभयो ।   

    पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं  कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ । 

    मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उहाँले सुनाउनुभयो । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।

    नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भएको सदस्य सचिव थापाले जानकारी दिनुभयो । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम गरिएको उहाँले बताउनुभयो । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ ।

    पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ ।

    सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी पर्वलाई सहज रूपमा व्यवस्थापन गर्न लागिएको छ ।  यसमा कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक सङ्घ सङ्गठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ । 

    भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स तयारी अवस्थामा राखिएको कोषले जनाएको छ ।

    मन्दिर परिसरमा रहेको धर्मशालामा साधुसन्तका लागि बस्ने व्यवस्था गरिएको छ । तिलगङ्गासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । 

    भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको र मन्दिर परिसरलाई सिँगारिएको छ ।  

    सदस्य सचिव थापाले पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि यहाँ फर्किने वातावरण बनाउने सम्पूर्ण बन्दोबस्त गरिएको बताउनुभयो । मन्दिर दर्शनमा आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् सोमबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्थासमेत गरेको छ ।

  • अब पार्टीभित्र अन्याय हुन दिन्न : शेखर कोइराला

    अब पार्टीभित्र अन्याय हुन दिन्न : शेखर कोइराला

    नेपालगन्ज – नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्।

    कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।

    नेता डा.कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’

    उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए।

    व्यक्ति बलियो होइन, संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए।

    निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन्।

    पन्ध्रौं महाधिवेशनका लागि सभापति लड्ने उद्देश्य साथ कोइराला देश दौडाहामा छन्। उनी केही समयअघि सभापति शेरबहादुर देउवाको सुदूरपश्चिम क्षेत्रको भ्रमण गरेका थिए।

  • ग्रीस र स्वीडेन पठाइदिने बहानामा लाखौं ठग्ने दुई जना पक्राउ

    ग्रीस र स्वीडेन पठाइदिने बहानामा लाखौं ठग्ने दुई जना पक्राउ

    काठमाडौं- वैदेशिकर रोजगारीको लागि ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय इन्द्रबहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुंगेधारा बस्ने ४६ वर्षीय विशुनदयार चौधरी रहेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

    बेरोजगार युवायुवतीलाई ग्रीस पठाउने र आकर्षक तलबको लोभ देखाएर केसीले तीन जनाबाट २४ लाख रुपैयाँ रकम ठगी गरेको आचार्यले बताए।

    यता, चौधरीले स्वीडेन पठाइदिने भन्दै एक जनाबाट ४ लाख ४० हजार रुपैयाँ ठगी गरेको आचार्यले बताए।

    विदेश पठाइदिने भनेर रकम संकलनपछि उनीहरू सम्पर्कविहीन भएका थिए। रकम बुझ्नेहरू सम्पर्कमा नआएपछि पीडित प्रहरीमा पुगेका थिए।

    केसी र चौधरीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

  • मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

    मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

    काठमाडौँ । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए ।

    लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।

    इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए ।

    इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी भएका छन् ।

  • राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने

    राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने

    काठमाडौं । राष्ट्रिय सहरी नीति २०८१ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन्। आइतबार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको प्रदेश र स्थानीय तहका प्रतिनिधि रहेकाे सहरी विकास समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। 

    ‘नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भएकाे फाेहाेरमैला राष्ट्रिय नीति ०७९ र राष्ट्रिय शहरी नीति २०८१ काे बारेमा जानकारी भयाे। यी नीतिहरू कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरियाे,’ बैठकपछि सार्वजनिक निर्णयमा भनिएको छ।

    बैठकमा सातै प्रदेशबाट मन्त्रीहरू, नगरपालिका र गाउँपालिका संघका प्रमुख, उपत्यका मेयर्स फाेरमका अध्यक्ष, सहरी विकास मन्त्रालयअन्तर्गतका विभागका प्रमुखहकाे सहभागिता थियाे। 

    बैठकमा बागमति सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक, नगर विकास काेषा ऐन २०५३ काे संशाेधनका लागि तयार भएकाे विधेयक, फाेहाेरम‌ला व्यवस्थापन सम्बन्धि कानुनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक र शहरी विकाससम्बन्धि कानूनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयकमाथि छलफल भएकाे थियाे। स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरूले शहरी विकास मन्त्रालयले तीन तहकाे सरकारबिचकाे समन्वय तथा अन्तरसम्बन्धका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

    मन्त्री सिंहले संघीयता बलियाे बनाउन तीन तहका सरकारबिचमा समन्वय र अन्तरसम्बन्ध मजबुत बनाउनुपर्ने बताए। उनले स्थानीय तह र प्रदेशका तर्फबाट सकारात्मक धारणा आएकाे भन्दै आगामी दिनमा सहरी विकाससँग जाेडिएका  विषयलाई सबैले अपनत्व लिने गरि अघि बढाउने धारणा राखे। सहरी विकास समितिकाे पहिलाे बैठक ०८० फागुन १६ मा बसेकाे थियाे भने आइतबार दाेस्राे पटक बैठक बसेकाे हाे।

  • शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई एनआरएनएको सचिवालय प्रयोग गर्न दिन सर्वोच्चको निर्देशन (पत्र सहित)

    शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई एनआरएनएको सचिवालय प्रयोग गर्न दिन सर्वोच्चको निर्देशन (पत्र सहित)

    काठमाडौँ – सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएको छ।

    सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले एनआरएनए सचिवालयलाई दोश्रो पत्र पठाएको हो ।

    निर्देशनालयले उच्चस्तरीय समितिको बैठकमा उपस्थित नहुने सदस्यहरुलाई उपस्थित गराउनका साथै एमआइएस सिस्टम, कागजात, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामग्री, दस्तावेजहरु लगायत पुरै कार्यालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्नको लागि निर्देशन दिएको छ । सात दिनभित्र फैसला कार्यान्वयन निर्देशनालयको पत्र बमोजिम कार्यान्वयन नगरेमा अदालतको अवज्ञा गरेको र कार्यपालना समेत नगरेको भनि प्रतिवेदन सम्मानित अदालतमा पेश गरिने व्यहोरा पत्रमा खुलाईएको छ ।

    फैसला कार्यान्वयन निर्देशनालयले अदालतको फैसला बमोजिम सहजीकरण गर्नको लागि परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका अधिकृतलाई समेत उच्चस्तरिय समितिको बैठकमा सहजिकरण गरि उपस्थिति जनाउन छुट्टै पत्र पठाई निर्देशन दिएको छ ।

    पत्रमा सम्मानित सर्वोच्च अदालतको आदेश र फैसलाहरुको अपव्याख्या नगर्न चेतावनी पनि दिइएको छ।

    सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले २०८० चैत २१ गते परमादेश जारी गर्दै एनआरएनएलाई एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । सो आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा गत मंसिर ४ गते बसेको उच्चस्तरीय समितिको पहिलो बैठकले आगामी मे ३-५ तारिखमा काठमाडौँमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ। तर सर्वोच्चको गत साउन २२ गतेको अर्को फैसलाले आफुहरुलाई काम गर्न बाटो खुला गरि दिएको दावी गर्दै बद्री केसी समूहले आउँदो अक्टोबर महिनामा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ।

    उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले सर्वोच्चको पछिल्लो पत्र पछि अब कुनै भ्रममा नपर्न र संघको आगामी मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता सम्मेलनमा भाग लिन सबै एनआरएनहरुलाई आग्रह गरिन्। उनले अर्को पक्षलाई पनि हठ त्यागी अदालतको फैसलाको सम्मान गर्न र एकताको लागि सहकार्य गर्न अपिल गरिन्। उनले सदस्यता वितरण गरी निर्वाचनको काम सुरु गर्न सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई आग्रह पनि गरिन्।

    यसैगरी एनआरएन अभियन्ता आर के शर्माले सर्वोच्च अदालतको परमादेश मान्नुबाहेक अर्को विकल्प नरहेको भन्दै सबैको भावनाअनुसार आउँदो मे महिनामा एकताको महाधिवेशनमा भाग लिन आग्रह गरेका छन्। उनले विश्वभरका ८० लाख गैरआवासीय नेपालीको बलमा एनआरएनए अभियानमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको भन्दै नागरिकताको कार्यान्वयनसिहतका थप विषयमा उपलब्धि हासिल गर्नका लागि एकताबाहेक अर्को विकल्प नरहेको पनि जनाएका छन् ।

    संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, कुमार पन्त, भवन भट्ट, बद्री केसी, कुल आचार्य समेत सदस्य रहेको उच्चस्तरीय समितिको अहिले सम्म १० ओटा बैठक बसी सकेका छन्। तर बद्री केसी भने कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

    हेर्नोस् फैसला कार्यान्वयन निर्देशनालयको पत्र:

  • बिहान उठे पछि के गर्ने के नगर्ने ? ज

    बिहान उठे पछि के गर्ने के नगर्ने ? ज

    काठमाडौं, ९ फागुन । बिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । 

    त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । त्यसैले बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुदैँन । । यस लेखमा हामी तपाईलाई विहान उठेपछि के काम गर्ने र के नगर्ने भन्ने बारेमा विस्तृत जानकारी दिनेछौँ ।

    ढिलो उठ्नुः

    ढिलो उठ्नुले तपाईको दिनभर असर पार्न सक्छ। जब तपाईं ढिलो उठ्नुहुन्छ। त्यसैले आफ्नो काम पूरा गर्न कठिनाइको सामना गर्न सक्छ। यस कारणले गर्दा तपाई तनाव महसुस गर्न सक्नुहुन्छ र तपाईको सम्पूर्ण दिन बिग्रन सक्छ। त्यसैले बिहान सबेरै उठ्ने प्रयास गर्नुहोस् र आफ्नो दिन राम्रोसँग सुरु गर्नुहोस्।

    मोबाइल फोनको अत्याधिक प्रयोगः

    यदि तपाई बिहान उठ्ने बित्तिकै मोबाइल फोन प्रयोग गर्न थाल्नुहुन्छ । त्यसैले यसले तपाईको आँखा र दिमागलाई हानी पुर्‍याउँछ। यसले टाउको दुख्ने, आँखा दुख्ने र थकान निम्त्याउन सक्छ। मोवाइल फोनको अत्याधिक प्रयोगले पनि निन्द्रा नलाग्ने हुन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै मोबाइल फोनको प्रयोग कम गर्नुहोस् र आफ्नो दिनको सुरुवात राम्रोसँग गर्नुहोस्।

    बिहानको खाजा खानेः

    बिहानको खाजा नगर्दा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन । यसले ऊर्जा र थकानको कमी हुन सक्छ। यसले मधुमेह र मुटु रोग जस्ता समस्या पनि निम्त्याउन सक्छ । त्यसैले बिहानको खाजा खानु पर्छ ।

    व्यायाम गर्नेः

    हरेक व्यक्तिले बिहान व्यायाम गर्नुपर्छ । यसबाट तपाई मोटोपना, मधुमेह र मुटुरोग जस्ता समस्याबाट बच्न सक्नुहुन्छ। व्यायाम नगर्दा तपाईलाई तनाव र थकान पनि लाग्छ, जसलाई मानिसहरूले अक्सर बेवास्ता गर्छन्। त्यसैले, बिहानै व्यायाम गर्नुहोस् र आफ्नो शरीरलाई स्वस्थ राख्नु होस्।

    योजना बनाउनेः

    तपाईंसँग हरेक दिनको लागि योजना हुनुपर्छ ताकि तपाईंको दिन फलदायी होस् र तपाईंले आफ्नो लक्ष्यहरू प्राप्त गर्न हरेक दिन कदम चाल्नु हुन्छ। यसो गर्नाले तपाईको मुड ताजा रहन्छ र तपाई दिनभर हल्का महसुस गर्नुहुन्छ।

  • संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

    संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

    काठमाडौं, ९ फागुन । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।

    संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

    जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

    उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उधोग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ । 

    साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवम मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति (अर्धवार्षिक) को वारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
     

  • भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा

    भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा

    काठमाडौं – एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर ठिमी बोडे डेरा गरी बस्ने ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे नगरपालिका-४ घर भई बोडे नै बस्ने ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन्।

    दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो।

    उनीहरूको साथबाट एक किलो नक्कली सुन बरामद भएको आचार्यले बताए। 

    ‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’

    धनजित यसअघि ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरबाट पक्राउ परेका व्यक्ति हुन्। उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।