थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।
“दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।”
बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।
पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।
गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।
वासिंगटन डिसी, १४ फागुन । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड ट्रम्पको अधिकतम दबाब नीति अन्तर्गत अमेरिकाले त्यस्ता नेटवर्कहरू माथि निरन्तर कारबाही जारी राखेको छ ताकि इरानको कमाइको माध्यमलाई रोक्न सकियोस् । सोही नीति अन्तर्गत भारतका ४ कम्पनि प्रतिबन्धमा परेका हुन् ।
अमेरिकी वित्त विभागले भन्यो, ‘आज प्रतिबन्ध लगाइएकाहरूमा युएई र हङकङका तेल दलालहरू, भारत र चीनका ट्याङ्कर सञ्चालक र प्रबन्धकहरू, इरानको नेसनल इरानी आयल कम्पनी र इरानी आयल टर्मिनल कम्पनीका प्रमुखहरू छन्। यिनै कम्पनिका कारणले इरानको अस्थिर गतिविधिलाई आर्थिक सहयोग प्राप्त भएको छ ।’
यूएस विदेशी सम्पत्ति नियन्त्रण र राज्य विभागका अनुसार यी ४ भारतीय कम्पनीहरूको नाम हो– फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर), अस्टिनशिप म्यानेजमेन्ट प्रालि (दिल्ली–एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर)।
यी चारमध्ये ३ कम्पनीलाई इरानी तेल र पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न जहाजको व्यावसायिक तथा प्राविधिक व्यवस्थापनका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ भने इरानी पेट्रोलियम ढुवानीमा संलग्नताका कारण कस्मोस लाइन्सलाई प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्ध लगाइएको कम्पनी वा देशको प्रतिबन्ध सीमित वा पूर्ण रूपमा समाप्त भएको देशसँगको आर्थिक सम्बन्ध हुन्छ। प्रतिबन्धहरूमा आयात–निर्यात रोक्न, सम्पत्ति फ्रिज (जफत) गर्ने, देश वा देशहरूको संगठनको बैंकिङ प्रणालीमा प्रतिबन्ध लगाउनेजस्ता गतिविधिहरू समावेश हुने गरेको छ ।
विदेश सम्बन्ध परिषद्का अनुसार प्रतिबन्धको दायरा निकै फराकिलो हुन सक्छ। यसमा प्रतिबन्धित देशसँगको कुनै पनि प्रकारको व्यापारिक गतिविधिमा प्रतिबन्ध लगाउन सकिने छ । यसबाहेक कुनै व्यक्ति वा कम्पनीलाई लक्षित गरेर पनि प्रतिबन्ध लगाउन सकिने प्रचलन रहेको छ ।
पेरिस, १४ फागुन । एक अमेरिकी किशोरीलाई उनको नवजात शिशुलाई होटलको झ्यालबाट बाहिर फालेकी छिन् ।
नबजात शिशुलाइ होटेलको झ्यालवाट फाल्दा मृत्यु भए पछि हत्याको आरोपमा पक्राउ गरिएको छ ।
नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
उनले नवजात शिशुलाई सोमबार पेरिसको एन्ड्रोइसमेन्ट होटलको दोस्रो तल्लाको झ्यालबाट फ्याँकेकी थिइन । अभियोजकको कार्यालयले भन्यो, ‘तर, नवजात शिशुलाई आपतकालीन हेरचाहमा लगिए पनि उनी बाँच्न सकेनन ।’ ‘ति आमा, एक अमेरिकी नागरिक हुन्, जोयुरोपमा यात्रा गर्ने युवा वयस्कहरूको समूहको हिस्सा थिइन,’ अभियोजकको कार्यालयले भन्यो, ‘एक नाबालिगको हत्याको अनुसन्धान सुरु भएको छ।
एरोन्डिसमेन्टका प्रवक्ताका अनुसार बच्चा होटल नजिकैको रद्दीको टोकरीमा जिउँदै फेला परेको थियो र उनलाई पेरिसको बाल अस्पताल, नेकरमा लगिएको थियो तर अस्पतालमा पुगे पछि शिशुको मृत्यु भयो ।
किभ, १४ फागुन । अमेरिका र युक्रेन प्राकृतिक स्रोत र पुनर्निर्माणका लागि सम्झौता गर्न सहमत भएका छन्।
स्रोतहरूलाइ उदृत गर्दै यसअघिका केही अस्वीकार्य सबै कुरा हटाइए पछि प्राकृतिक स्रोत र पुनर्निमाणमा युक्रेन र अमेरिका बिच सम्झौता गर्नका लागि सहमत भएको सिएनएनले जनाएको छ।
‘यो अब यो सम्झौताले युक्रेनको सुरक्षा र शान्तिमा कसरी योगदान पुर्याउँछ भनेर स्पष्ट रूपमा ब्याख्या गर्नेछ’ एक युक्रेनी अधिकारीले भने । तर, अमेरिकाले युक्रेनको सम्झौताका सर्तहरूमा सहमति भएको छ कि छैन भन्ने पुष्टि गरेको छैन।
यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब आगामी दिनमा वाशिंगटनको यात्रा गर्ने अपेक्षा गरिएको छ। ‘जेलन्सकी शुक्रबार आउँदैछन् भन्ने सुनिएको छ, पक्कै पनि यो मसँगको सम्बाद ठीक हुनेछ, यदि उनले चाहन्छन भने मसँग हस्ताक्षर गर्न तयार छु, म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ओभल अफिसबाट भने।
युक्रेनको पुनर्निर्माण कोषमा अमेरिकी संलग्नता रहने र त्यसको बदलामा युक्रेनले दुर्लभ खनिजहरूमा अमेरिकालाइ पहुँच प्रदान गर्ने सम्झौतामा सहमत हुन युक्रेन तयार रहेको बताइएकाे छ । स्रोतले भन्यो कि जेलन्सकीले अमेरिकीकाे मस्यौदामा समावेश गरिएको सुरक्षा ग्यारेन्टीको भने विरोध गरेका थिए। पछिल्लो मस्यौदामा युक्रेनको सुरक्षा सम्बन्धी केही शब्दहरूमा अस्पष्ट रहेको थियो ।
वार्तासँग परिचित युक्रेनी स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘सम्झौताको बारेमा केही बुदाँहरू काँटछाँट गरे पछि वार्ता हुनेछ र अमेरिकी र युक्रेनी राष्ट्रपतिहरूले व्यक्तिगत रूपमा सुरक्षा ग्यारेन्टीहरू छलफल गर्न सक्छन्।’
सम्झौताको पहिलो प्रस्तावमा ट्रम्प प्रशासनले युक्रेनको दुर्लभ खनिजहरूमा ५०० बिलियन सेयर दिनु पर्ने सर्त राखेको थियो तर सुरूमा जेलेन्स्कीले अस्वीकार गरेका थिए । जेलेन्स्कीले सम्झौताको त्यो संस्करण स्वीकार नगरे पनि अमेरिकाले भने कुनै फरक नपर्ने जवाफ दिएकाे थियो । ‘ यसमा कुनै अमेरिकी बाध्यताहरू थिएनन् जबकि युक्रेनले सबै उपलब्ध गराउने अपेक्षा गरिएको थियो’ स्रोतले भन्यो । तर, त्यस यताको छलफलमा युक्रेन र अमेरिकाका सहमतिको नजिक पुगेको संकेत देखिएको छ ।
सोमबार ह्वाइट हाउसको भ्रमणको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि राष्ट्रपति जेलेन्स्कीसँग काम गर्ने ट्रम्पको निर्णयको प्रशंशासमेत गरेका थिए । उनले यो पनि भनेका थिए कि दुर्लभ र महत्वपूर्ण खनिजहरूमा अमेरिका र युक्रेनका लागि धेरै महत्त्वपूर्ण रहेको छ, मलाइ विश्वास छ यस सम्झौतालाई निष्कर्षमा पुर्याउनका लागि ट्रम्पले सफलता हासिल गर्नेछन् ।
काठमाडौं, १४ फागुन । जब शरीरमा प्रोटिनको कमी हुन्छ तव तपाइको शरिर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिदाँ धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह दिन्छन्।
तर, मासु र अन्डा नहुदाँ शाकाहारी खानावाट पनि प्रोटिन पाइन्छ भन्ने कुरा जान्नु पनि उत्तिकै जरूरी छ । उसो भए जानौं न त, कुन खानेकुराहरू बढी मात्रामा प्रोटिनयुक्त रहेका छन, जसलाई तपाईंले आफ्नो खानपिनमा प्रोटीन परिपुर्तिका लागि समावेश गर्न सक्नुहुन्छ।
त्यसैले ढिलो नगरी जानौं ती सुपर फूडका बारेमा, जसले मधुमेहका बिरामी र रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने छन्।
सोयाबिन सोयाबिन प्रोटिनको स्रोत प्रमुख मानिन्छ किनभने जसवाट तपाईले १०० ग्राममा लगभग २९ ग्राम प्रोटीन प्राप्त गर्न सक्नुहुन्छ।
हरियो केराउ हरियो केराउ एक प्रकारको तरकारी हो, जसमा १०० ग्राममा करिब ९ ग्राम प्रोटिन हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन केराउमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ।
चना चना एक प्रकारको दाल हो, जसको १०० ग्राममा करिब १९ ग्राम प्रोटिन हुन्छ। यसले मांसपेशी बलियो बनाउन पनि काम गर्छ।
बदाम बदाम एक प्रकारको नट हो, जसको १०० ग्राममा लगभग २० ग्राम प्रोटीन हुन्छ। यसले तपाईको शरीरलाई धेरै किसिमले फाइदा पुर्याउँछ।
तोफु एक प्रकारको सोयाबिनको परिष्कृत उत्पादन हो, जसमा १०० ग्राममा लगभग २० ग्राम प्रोटिन हुन्छ।
राजमा राजमा एक प्रकारको दाल हो, जसको १०० ग्राममा तपाईको शरीरले लगभग २२ ग्राम प्रोटिन प्राप्त गर्न सक्छ।
क्वाटी क्वाटी एक बिरुवामा आधारित प्रोटिन हो, जसले १०० क्वाटीमा लगभग २५ ग्राम प्रोटीन हुन्छ।
नटस यी प्रोटिनको राम्रो स्रोत हो । जस्तो कि तपाईको शरीरले ३० ग्राम बदाममा ८ ग्राम प्रोटिन, ३० ग्राम ओखरमा ४ ग्राम प्रोटिन र ३० ग्राम हेजलनटमा ४ ग्राम प्रोटिन पाउन सकिन्छ ।
यो ध्यानमा राख्नु महत्त्वपूर्ण छ कि प्रोटिन आवश्यकताहरू व्यक्तिको उमेर, लिङ्ग र शारीरिक गतिविधिमा धेरै भर पर्ने गर्छ ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् ।
राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए ।
त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।
सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउँदै छन् । उनीहरु नेपाली सेनाका मानार्थ महारथी समेत हुन् ।
काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बिहान तीन बजे नै पशुपतिका चार ढोका खुल्ने
महाशिवरात्रिका अवसरमा बुधबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
म्याड्रिड । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।
त्यस अघि विशेष सुरक्षा सहित राजदूत नेपालले स्पेनको परराष्ट्र मन्त्रालयमा गएर स्पेनको परराष्ट्र मन्त्रालयमा दक्षिण तथा पूर्वी एसिया हेर्ने उप महानिर्देशक गिलेर्मो अंगिरासंग औपचारिक भेटघाट गरेका थिए । प्यालेस द सान्ता क्रुजमा स्पेनको रोयल गार्डले राजदूत नेपाललाई सम्मान गारद अर्पण गरेको थियो। उक्त अवसरमा नेपालको राष्ट्रिय गान पनि बजाइएको थियो।
म्याड्रिडस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेनका नरेश तथा राजदूत नेपालबीच दुइ मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ ।
राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले युवा अवस्थामा पर्यटकको रुपमा नेपालको अनौपचारिक भ्रमणको सम्झना गरे । उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।
राजा फेलिपेले राजदूत नेपालको सफल कार्यकालको कामना गर्दै बितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।
सो अवसरमा राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएका थिए ।
राजदूत नेपालले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको असर बारे चर्चा गर्दै जलवायु परिवर्तनलगायतका समस्या संग जुध्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताए।
उनले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए ।
नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।
काठमाडौँ । नेपाल विद्यु प्राधिकरणले भारतसँग भएको विद्युत आदान प्रदान सम्झौता सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आयात नहुने बताएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीचको विद्युत आदान–प्रदान सम्झौता अन्तर्गत विद्युत आदान–प्रदान समितिको २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकबाट भएका निर्णयका बारेमा विभिन्न सञ्चार माध्यम एवम् सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको जनाउदै सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आयात नहुने बताएका हुन् ।
सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुने र सञ्चालक समितिको बैठक राख्न खोज्दा विगत लामो समयदेखि बैठक बस्न नसकेको प्राधिकरणले जनाएको छ ।
हाल बिहारको रक्सौल–परवानीपुर र उत्तर प्रदेशको मैनहिया–सम्पत्तिया १३२ के.भी.प्रसारण लाइनबाट पिक समयमा दैनिक करिब १९० मेगावाट विद्युत आयात गरिएको छ । अन्य समयमा भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धाबाट विद्युत आयात हुँदै आएको छ ।
सन् १९८५ देखि कार्यान्वयनमा आएको समितिको बैठक भारतको केन्द्रीय विद्युत प्राधिकरणको सदस्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सहअध्यक्षतामा बस्ने व्यवस्था रहेको उल्लेख गर्दै प्राधिकरणले सोहि बमोजिम बसेको बैठकबाट सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ के.भी. प्रसारण लाइनमार्फत आदान– प्रदान गरिने विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको जनाएको छ ।
प्राधिकरणले विगतका वर्षहरुमा औसत रुपमा ५.५ प्रतिशत मूल्यबृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र बृद्धि हुने व्यवस्था गरिएको उल्लेख गरेको छ ।
प्राधिकरणले भनेको छ- ‘हाल तय गरिएको दर अहिलेसम्मकै सबैभन्दा कम बृद्धि भएको दर हो । आवश्यक परेमा मात्र यस सम्झौता बमोजिम सुखायामका महिनाहरुमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म, र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने छ । हाल तय गरिएको नयाँ दर भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रति युनिट १० रुपैयाँ भा.रु. भन्दा सस्तो रहेको छ । आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ । विद्युत आयात नगरेका कारण तय गरिएको दर या अन्य कुनै जरिवाना तिर्नु पर्ने र लिनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छैन ।’
विगतमा भए गरेका प्रचलन तथा अभ्यास बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा बैठकका एजेण्डाका विषयमा छलफल गरिएको थियो ।
नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक अघिल्लो दिन र विद्युत आदान–प्रदान समितिको बैठक भोलिपल्ट राख्न दुवै पक्षबीच सहमति भएको थियो । सोही बमोजिम तय गरिएको बैठकमा मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधिहरुको पनि सहभागिता थियो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य सोही समयमा भारत भ्रमणमा रहेकोबेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्याण्डेट लिईएको र विगतका वर्षहरुमा पनि यसरी नै दर कायम गर्ने प्रचलन तथा अभ्यास रहेको प्राधिकरणले स्पष्ट गरेको छ ।
उक्त दर नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि मात्र लागू हुने र यसबारेमा निर्णय गर्न दुवै निकाय सक्षम रहेको प्राधिकरणले जनाएको छ ।
सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुने र सञ्चालक समितिको बैठक राख्न खोज्दा विगत लामो समयदेखि बैठक बस्न नसकेको प्राधिकरणले जनाएको छ ।