काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् ।
पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन लागेका हुन् ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।
कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन्।
सो प्रशिक्षण कार्यक्रमलाइ कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।
काठमाडौं, १८ माघ । के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ।
आखिर, किन महिलाहरूले ठूला पर्स वा झोलाहरू बोकिरहेका हुन्छन जबकि पुरुषहरूले आफ्नो खल्तीमा सबै कुरा राख्न सक्छन् । यस प्रश्नको जवाफ खोज्नको लागि थोरै इतिहास र फेसन प्रवृत्तिहरू हेरौं।
इतिहासको भूमिकाः
वर्किङ क्लास र जिन्सः जिन्सको जन्म अमेरिकामा मजदुर वर्गका लागि भएको हो। त्यतिबेला महिलाहरूले प्रायः घरको काम गर्थे र पुरुषहरूले खेत र कारखानामा काम गर्थे। पुरुषहरूलाई आफ्ना उपकरणहरू र अन्य वस्तुहरू समात्न ठूला खल्तिहरू चाहिन्थ्यो , त्यसैले तिनीहरूको जीन्समा गहिरो खल्तिहरू बनाइयो।
महिलाको फेसनः बिस्तारै जिन्स महिलाको फेसनको हिस्सा बन्यो, तर सुरुमा महिलाहरूको जीन्सको डिजाइन पुरुषको डिजाइन जस्तै थियो। यद्यपि, समयको साथ जीन्स अधिक स्टाइलिश र महिलाहरूको लागि उपयुक्त भयो।
खल्तीको उद्देश्यः पुरुषको खल्तीको मुख्य उद्देश्य चीजहरू राख्नु थियो भने महिलाको खल्तीको मुख्य उद्देश्य सजावट मात्रै थियो।
फेसनको प्रभावः
शारीरिक संरचनाः महिलाको शरीरको संरचना पुरुषभन्दा फरक हुन्छ । गहिरो खल्तीले महिलाको शरीरलाई असंतुलित देखाउन सक्छ र तिनीहरूको बटमहरू फ्ल्याबी देखाउन सक्छ।
फेसन ट्रेन्डः फेसन ट्रेन्ड परिवर्तनले महिलाको जिन्सको पकेटको साइजलाई पनि असर गरेको छ। स्किनी जिन्स र टाइट फिटिङ जीन्सको आगमनसँगै पकेटको साइज पनि सानो हुन गएको हो ।
फेसनः फेसनको दृष्टिकोणबाट यो विश्वास गरिएको थियो कि महिलाको जीन्समा ठूलो खल्ती राम्रो देखिँदैन तसर्थ, महिलाहरूलाई थप राम्रो र आकर्षक देखाउन साना र सजावटी खल्तीहरू बनाउन थालियो ।
मार्केटिङको प्रभावः
पर्स र झोलाः ठूला र सुन्दर झोलालाई महिलाको फेसनको हिस्सा बनाउन जिन्सको पकेटलाई सानो बनाउन थालिएको हो ।
मार्केटिङ टेक्निकः सानो गोजी भएका कारण महिलाहरूले सधैं पर्स वा झोला बोक्नुपर्छ। जसका कारण जिन्स मात्र नभई अधिकांश महिलाको लुगामा या त खल्ती हुँदैन वा निकै सानो हुन्छ ।
तर, अहिले बजारमा महिलाका लागि धेरै जिन्स पनि उपलब्ध छन्, जसको खल्ती गहिरो हुन्छ । अहिले धेरै लुगामा पकेट पनि बनाइने गरेको छ ।
काठमाडौं, १८ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ ।
संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ ।
सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रीपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेकाे अध्यादेशहरू सदनका दुबै बैठकमा प्रस्तुत हुनेछन् ।
अधिवशेन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत यसअघि जस्तै दलीय आधारमा शिर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्नुहने कार्यसूचि रहेको छ ।
काठमाडौं, १८ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन टोली सङ्कटा क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको फाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहीबार भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए ।
त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । पेनाल्टीमा सङ्कटा राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे ।
यस्तै बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।
प्रतियोगिताको विजेता टोली सङ्कटाले रु २६ लाख तथा उपविजेता बागमतीले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ । बागमतीको टिमले पाएको १३ लाख पुरस्कार राशिको भने भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नोर्वु शेर्पाले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको नगद पुरस्कार आकर्षक डालोमा राखेर नगर्दै प्रदान गरिएको हो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए । विजेताहरुलाई नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरील, नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, भोटेकोशी गाउँ पालिका अध्यक्ष पाङ नोर्वु शेर्पा, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए । माघ १० गतेदेखि सुरु भएको कांग्रेस सभापति कप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । उपाधिसँगै पाउनुपर्ने पुरस्कार रकम खेलाडी र टिमले नगदै डालोमा राखेर पाएपछि खुसी देखिएका थिए ।
काठमाडौँ, १६ माघː राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
“सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
काठमाडौँ, १७ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
गलकोट (बागलुङ), १७ माघः बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।
उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८÷७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी रु नौ सय ५० का दरले बेच्दा कृषकले रु तीन करोड ९९ लाखको कारोबार गरेका थिए । आर्थिक वर्ष ०७९÷८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको एक सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।
बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।
मङ्गलबारे (इलाम), १७ माघ : इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउनुभयो । उहाँले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिनुभयो ।
“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भन्नुभयो,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।”
उहाँले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाउनुभयो । “सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भन्नुभयो ।
धूपीको तेल प्रतिकिलोग्राम रु दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो रु छ हजार, मेन्थाको तेल प्रतिकिलो रु सात हजार र धसिंगरेको तेल प्रतिकिलो रु सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहनुभएको छ । “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।
गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताउनुभयो ।
यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।
काठमाडौं, १५ माघ । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा । हो, केराको बोक्रा फोहोर होइन, बरु यसले तपाईको छालाको धेरै समस्या हटाउन मद्दत गर्छ। यसमा पाइने पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट गुणले तपाईको छालालाई निखार्ने मात्र नभई यसलाई स्वस्थ र जवान राख्न पनि मद्दत गर्छ ।
आज यस लेखमा हामी तपाईलाई केराको बोक्राका फाइदाहरू बताउनेछौं र छालाको समस्याबाट छुटकारा पाउन यसको प्रयोग गर्ने तरिका जानि राख्नेछौं।
केराको बोक्राका अचम्मका फाइदाहरूः
डन्डीफोर हटाउनः
केराको बोक्रामा एन्टिब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले डन्डीफोर कम गर्न मद्दत गर्छ। यसले छालाको अतिरिक्त तेल र फोहोर हटाएर पिम्पलको समस्यालाई नियन्त्रण गर्छ।
छालाको चमकः
केराको बोक्रामा पाइने पोटासियम, भिटामिन सी र एन्टिअक्सिडेन्टले छालालाई पोषण दिन्छ र यसलाई सुधार गर्छ। यसले छालाको निरसपन घटाएर चम्किलो बनाउँछ। केराको बोक्रा प्रयोग गर्दा अनुहारमा फरक चमक आउँछ।
डार्कसर्कल कम गराउनः
यदि तपाई आँखा मुनि कालो घेराबाट हैरान हुनुहुन्छ भने केराको बोक्रा प्रयोग गर्नुहोस् । यी डार्क सर्कल कम गर्न धेरै लाभदायक छन्। यसमा पाइने पोषक तत्वले छालालाई हाइड्रेट गर्छ र कालो घेरालाई हल्का बनाउन मद्दत गर्छ।
चाउरीपनामा कमीः
केराको बोक्राले अनुहारको चाउरीपना कम गर्न पनि मद्दत गर्छ। यसको प्रयोगले छालाको बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ। यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी एजिङ गुणले छालालाई कडा बनाउँछ र चाउरीपना कम गर्छ।
जलन र चिलाउनबाट राहतः
यदि तपाइँ आफ्नो छालामा चिलाउने, जलन वा कुनै प्रकारको एलर्जीको अनुभव गर्दै हुनुहुन्छ भने केराको बोक्रालाई प्रभावित क्षेत्रमा लगाउनुहोस्। यसले तपाईंलाई तत्काल राहत दिन मद्दत गर्छ। यसबाहेक यसबाट कुनै हानि हुने छैन।
केराको बोक्रा कसरी प्रयोग गर्ने ?
छालामा सीधा लगाउनुहोसः
केराको बोक्राको भित्री भाग प्रभावित क्षेत्रमा बिस्तारै लगाउनुहोस्। यसलाई १०–१५ मिनेटको लागि छोड्नुहोस् र त्यसपछि मनतातो पानीले धुनुहोस्। यो विधि डन्डीफोर र कालो घेरा हटाउनका लागि धेरै प्रभावकारी हुनेछ।
फेस मास्क बनाउनुहोस्ः
केराको बोक्रालाई पिसेर त्यसमा मह र कागतीको रस मिसाएर प्याक तयार गर्नुहोस्। यो प्याक अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस्। यो मास्कले छालालाई चम्किलो र टोन गर्न मद्दत गर्दछ।
कालो दागमा लगाउनुहाेसः
केराको बोक्रालाई सानो टुक्रामा काट्नुहोस् र अनुहारको कालो दागहरूमा लगाउनुहोस् । यसलाई १०–१५ मिनेटको लागि छोड्नु होस् र त्यसपछि यसलाई पानीले सफा गर्नुहोस्। नियमित प्रयोगले कालो दागहरू हल्का हुन थाल्छन्।