न्युयोर्क, १५ माघ । अमेरिका चीनको नयाँ एआई कम्पनी डीपसीकलाई लिएर तनावमा छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको कम लागतको एआई मोडल डीपसीकको उदयलाई अमेरिकी उद्योगहरूका लागि चेतावनीको रूपमा वर्णन गरेका छन्। साथै, यो टेक मोडल ल्याएपछि अमेरिकाको टेक स्टकमा पनि ठूलो गिरावट आएको छ।
मियामीमा रिपब्लिकन कंग्रेसनल रिट्रीटमा बोल्दै ट्रम्पले भने डिप सिकको प्रक्षेपणले अमेरिकाले द्रुत रूपमा विकसित एआइ क्षेत्रमा प्रतिस्पर्धामा पुनः फोकस गर्नुपर्ने आवश्यकतालाई प्रकाश पारेको छ। अवरोधको बावजुद ट्रम्पले सुझाव दिए कि डिपसिकद्वारा सिर्जना गरिएको शॉकवेभले सिलिकन भ्यालीलाई थप कुशलतापूर्वक नवप्रवर्तन गर्न प्रेरित गर्न सक्छ। उनले भने, ‘म भन्न चाहन्छु कि यो सकारात्मक हुन सक्छ किनभने अर्बौं र ट्रिलियन खर्च गर्नुको सट्टा तपाईले कम खर्च गर्नुहुन्छ र आशा छ कि तपाईले सोही समाधान निकाल्नु हुनेछ।’
एआई सेमिकन्डक्टर बजारमा प्रभुत्व जमाउने अमेरिकी चिपमेकर एनभिडियाको बजार मूल्यमा झन्डै ६०० बिलियन डलरको गिरावट आएपछि राष्ट्रपति ट्रम्पको यो टिप्पणी आएको हो, जसले टेक स्टकहरूमा व्यापक गिरावट ल्याएको छ । एनभिडियाको गिरावटले चिनियाँ स्टार्ट अपहरूबाट आउने लागत प्रभावी प्रगतिहरूसँग प्रतिस्पर्धा गर्न अमेरिकी फर्महरूमा बढ्दो दबाबलाई प्रतिबिम्बित गर्दछ।
हांग्जोमा आधारित स्टार्टअपद्वारा विकसित डिपसिकले लगानीको एक अंशमा अग्रणी अमेरिकी एआई मोडेलहरूको प्रदर्शनसँग मेल खाएको छ। यसको विमोचनले एआईमा चीनको बढ्दो प्रतिस्पर्धात्मकतालाई हाइलाइट गर्दछ, जुन क्षेत्र अमेरिकाले ऐतिहासिक रूपमा प्रभुत्व जमाएको थियो ।
गत हप्ता आफ्नो दोस्रो कार्यकालको उद्घाटन पछि ट्रम्पले अमेरिकामा एआई पूर्वाधारलाई सुदृढ गर्न ५०० बिलियनको पहल घोषणा गरेका थिए ।
उता, अमेरिका मात्र होइन, जापान पनि त्रसित छ। जापानी टेक दिग्गज सफ्टबैंक र ओपनएआई, च्याटजिपीटी पछिको कम्पनीको नेतृत्वमा यो उद्यमले विश्वव्यापी एआई दौडमा अमेरिकाको स्थिति बलियो बनाउने लक्ष्य राखेको छ। एनभिडिया कर्प, एडभान्टेस्ट कर्प, र चिप उपकरण निर्माता डिस्को कर्प लगायत जापानी सेमीकन्डक्टर कम्पनीहरूको सेयर सोमबार पनि घट्ने क्रम जारी छ।
झापा जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताउनुभयो । हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उहाँको भनाइ छ । “उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने विश्वास छ ।”
गत वर्ष एग्रोले वितरण गरेको बीउबाट बढी धान उत्पादन गरेका ११ जना कृषकलाई सम्मानसमेत गरिएको छ । तिलरुपा बराल, बोलप्रसाद दङ्गाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्तकुमार ढुङ्गेल, टङ्कनाथ धमला, दुर्गा लामिछाने, यशोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुङ्गेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घ कचनकवलकी अध्यक्ष उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले एग्रोबाट उपलब्ध बीउको प्रयोगबाट उत्पादनमा वृद्धि भएको अनुभव सुनाउनुभयो । यस्ता कार्यले कृषकलाई सहयोग हुनुका कृषिमा आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ ।
किसानको मेहनतले मात्र उत्पादन वृद्धि नहुने भएकाले उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक परिणाम आउने स्थानीय लक्ष्मी बजगाईंले बताउनुभयो । सरोकार भएका निकायले कृषि कर्ममा लागेकालाई प्राविधिक, अनुदानलगायत सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाँके जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । अयोगको नवनियुक्त अध्यक्ष घननाथ खनालले कार्यालय स्थापनापछि जिल्ला समन्वय समितिमा कार्यभारसमेत सम्हाल्नुभएको छ ।
अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने उल्लेख गर्दै पालिकाबाट अहिलेसम्म ४४ हजार पाँच सय २३ भूमिसम्बन्धी समस्या आएकाले ती समस्याको अध्ययन गरी समाधानका उपाय खोजिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसको विस्तृत अध्ययन गरेपछि सङ्ख्या बढ्न पनि सक्छ, त्यसपछि पुर्जाका लागि आयोगले सिफारिस गर्न सक्छ ।” समस्या पहिचान र समाधान प्रक्रियामा सबैको साथ र सहकार्य जरुरी रहेकामा जोड दिँदै उहाँले नयाँ नापजाँचको काम केही महिनापछि सुरु हुने जानकारी दिनुभयो ।
अध्यक्ष खानलले यही फागुन ७ गतेदेखि सबै स्थानीय तहका वडामा कर्मचारी पुग्ने जानकारी दिँदै कर्मचारी व्यवस्थापनको काम पनि दु्रुत गतिमा अघि बढाइएको बताउनुभयो ।
कार्यक्रममा सङ्घीय सांसदहरू सूर्य ढकाल, दिपा शर्मा, लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, वैजनाथका अध्यक्ष प्रकाशबहादुर शाही, खजुराका अध्यक्ष डम्बरबहादुर विक, नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवा उपाध्यक्ष शाहिदा बानो, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा माओवादीका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत व्यक्तिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
मध्यविन्दु (नवलपरासी), १२ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ ।
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
यस वर्ष जिल्लामा एक हजार एक सय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो । गत वर्षभन्दा यस वर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको प्रमुख तिवारी जानकारी दिनुभयो ।
“गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा एक हजार दुई सय ८३ मेट्रिकटन उत्पादन भएको थियो,” उहाँले भन्नुभयो, “आव २०७९/८० मा एक हजार दुई सय ८५ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।”
जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । प्रतिहेक्टर १.०८ मेट्रिकटनले उत्पादन हुने गरेको तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।
“तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ,” उहाँले भन्नुभयो, “तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।”
असीदेखि ९० दिनमा तोरी खेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका छन् ।
बर्सौँदेखि तोरी खेती लगाउँदै आउनुभएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताउनुभयो । “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ,” उहाँले भन्नुभयो, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ ।”
काठमाडौँ, १२ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ ।
राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
इलाम, १२ माघः सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो । “ अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।” उहाँले भन्नुभयो, “कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।”
उहाँको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गर्नुभएको दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गर्नुभयो । राईले भन्नुभयो,“फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ । ”
उहाँले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलिका रुपमा बिक्री हुन्छ । उहाँलाई माघ धान्न मुस्किल छ । भन्नुभयो,“फलभन्दा बढी बियाँ बिक्री हुन्छ । अचार बनाउन कोसेलिका रुपमा नेपाल र ईन्डियामा खपत भइरहेको छ । भारतबाट दैनिक पचास केजीको माघ छ । देशभरिबाट हाल ३० केजी बियाँको माघ छ । तर, न फल–न बियाँ दुबैको माघ पुरा गर्न सकिएको छैन । ”
अकबरे मात्र होइन राईले यसवर्ष छ रोपनी जमिनमा काँक्रा खेती लगाउनुभएको थियो । उहाँले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गर्नुभयो । ‘काँक्राको फल चैँ बेच्दिन । यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ ।’ उहाँले भन्नुभयो । काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ । काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन् । “जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ ।” उहाँले भन्नुभयो, “एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ । बारी सुद्ध गर्नु र खेतीलाई अग्र्यानिक बनाउँदा समस्या समाधान हुन्छ । ”
याम अनुसारको खेती गरेर मनग्गे आम्दानी लिइरहनुभएका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफिको समेत व्यवसायीक खेती गरिरहनुभएको हो । “पाँच मन(प्रति मन ४० केजी) आलु रोपेका छौँ ।’ मदनकी श्रीमती चन्द्रमाया राईले भन्नुभयो, ‘नौ रोपनीमा दुई सय ५० बोट कागती छन् । पोहोर साल एक लाख २० हजारको बेचेका थियौँ । यो वर्ष एक लाख ८० जत्तिको हुन्छ होला । कागती केजीको दुईले बिक्दैछ । ”
उहाँहरुले एभोकाडो लगाउनुभएको तीन वर्ष भयो । चन्द्रमायाले भन्नुभयो, “१३ रोपनीमा तीन सय बोट एभोकाडो छ । तर, उत्पादन दिन थालेको छैन । अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ ।” अन्य खेती गर्न भ्याईनभ्याई हुने राई दम्पतिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिनुभएको छ । “चियामा अलिक अलमल हुन्छ । धाईरहनु पर्छ । त्यै भएर अरुलाई दिएको । उनिहरुले ठेक्का बुझाउँछन् । ”मदन भन्नुहुन्छ, “अब कफि लगाउने योजनामा छु । चार सय बिरुवा ल्याइसकेँ । जम्मा एक हजार रोप्ने तयारी छ । यो चैँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने ।”
मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ । अब, बाँदर पन्साउन उहाँले टमाटर र बन्दा कोपीको खेती लगाउँदै हुनुहुन्छ । “फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतङ्क हेर्नुछ ।” उहाँको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । “अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन् । अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन्, ”उहाँले भन्नुभयो ।
घरमा मदन र उहाँकी श्रीमती चन्द्र मात्र बस्नुहुन्छ । बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन् । छोरी स्वेच्छा इलाम विव्ल्याँटेस्थित प्राइम बैँककी कर्मचारी हुनुहुन्छ । छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । “धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन् । सिस्टममा गएर काम गर्दा ५०–५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन । तर, काम चैँ सिस्टममा गर्नुपर्यो ।” मदन भन्नुहुन्छ, ‘“वर्षमा खर्च कटाएर १२–१४ लाख बचत हराउँदैन ।’ राईको गोठमा दुई माउ गाई छन् । ‘गाईको मल मुत्रले खेती अग्र्यानिक बनाउँन सहयोग मिल्छ । गोबरभन्दा गहुँद बढी उपयोगी हुन्छ ।’” उहाँले भन्नुभयो । उहाँ कृषक मात्र होइन कृषि विज्ञ पनि हो । नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उहाँले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउनुहुन्छ ।
सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यवसायीक किसानलाई प्रोत्साहित गर्दै आएको छ । विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । किसान लक्षित थुप्रै अनुदानका कार्यक्रम छन् । यहीँ रहेर व्यवसायीक खेती गर्ने मदन जस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताउनुभयो । “ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यवसायीक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिईरहेका छौँ । ”उहाँले भन्नुभयो, “सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो । यहाँका सबै किसान मेहेनती हुनुहुन्छ ।”
बरहथवा (सर्लाही), १२ माघः चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।
बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।
सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहनु भएको छ । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उहाँले गुनासो गर्नुभयो । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उहाँले बिस्तरा बनाउनुभएको छ । त्यसैमा उहाँको १० दिनको शिशु पनि सुताउनुभएको छ ।
दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उहाँकी सासु जितनी देवी माझीले बताउनुभयो । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भन्नुभयो, “माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।”
जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभयो । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाउनु भएकी उहाँलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताउनुभयो । चिसोले रातभरि शिशु रोएर नसुत्ने उहाँले दुखेसो पोख्नुभयो । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उहाँको भनाइ थियो ।
पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुग्नुभएको छ । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताउनुभयो । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भन्नुभएको उहाँले सुनाउनुभयो । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उहाँको दुखेसो छ ।
बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरहनु भएको छ । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उहाँले भन्नुभयो, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उहाँले गुनासो गर्नुभयो ।
चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उहाँले सुनाउनुभयो । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहनुभएको छ । सिजन सकिएपछि घर आउने उहाँको तयारी रहेको विनाले बताउनुभयो । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उहाँ गुनासो गर्नुहुन्छ ।
यस बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उहाँहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताउनुभयो ।
त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उहाँले बताउनुहुन्छ । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सिता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियमित नियति रहेको उहाँ सुनाउनुभयो ।
बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् । व्यवस्थित बस्ने बाससमेत नभएका आफूहरूको लागि जाडो काल बनेर आउने गरेको स्थानीय मनवा देवी माझीले दुखेसो पोख्नुभयो । गत वर्ष जाडोमा केही सामाजिक सङ्घ संस्थाले दिएका न्यानो कपडाको भरमा जाडो छलिरहेको उहाँको भनाइ थियो । “पहिला पाएको केही ओढ्नेले यस वर्ष पनि चिसो छेक्दै छु ।” उहाँले भन्नुभयो, “यस पटक पाएको छैन्, चिसो धेरै भयो भने निन्द्रा लाग्दैन । रात भरी आगो तापेर जागै बस्छु ।”
स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ । गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन् । तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेका उहाँको गुनासो छ । आफू सबै ठाउँबाट चपेटामा परेको भन्दै विपन्न मुसहर परिवारले कष्टपूर्ण तरिकाले चिसोको करहबाट बाच्ने उपाय गरिरहेको उहाँले बताउनुभयो ।
यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिनुभयो । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उहाँको गुनासो थियो ।
“यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उहाँले भन्नुभयो, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरूसमेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । सुरुमा पालिकाले १०÷१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उहाँले बताउनुभयो ।
आगलागीबाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसिरहनु भएको छ । आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । भने, रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताउनुभयो ।
लुम्बिनी, ११ माघः राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।
आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।
यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।
विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो ।
विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ ।
सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’
सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ । यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ । अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ । सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउनुहुन्छ । यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न हुनुहुन्थ्यो । दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताउनुभयो ।
अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै
प्रधानमन्त्री ओलीले आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने बताउनुभयो ।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताउनुभयो ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।
काठमाडौँ, ११ माघः उद्योगी व्यवसायीले भन्सार जाँचपाससम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।
व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व सङ्कलनलाई उच्च प्राथमिकता दिएकोे अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व सङ्कलन गर्न सक्ने बताएका हुन् ।
भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासङ्घमा बिहीबार आयोजित ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।
अर्थसचिव डा रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्नेगरी नै नीतिगत सुधार गर्दै आइरहेको धारणा राख्नुभयो । उहाँले भन्सारको प्रमुख उद्देश्य राजस्व सङ्कलन नभई व्यापार सहजीकरण र निर्यात प्रवर्द्धन नै भएको बताउनुभयो । “देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी व्यसायीहरूलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर लागेका छौँ । सरकारले नीतिगत सुधार पनि गर्दै आइरहेको छ । पछिल्ला नीतिगत सुधार त्यसैको लागि आएका हुन्”, उहाँले भन्नुभयो ।
यस्तै उहाँले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले भारतसँगको व्यापारमा पनि समस्या आउने गरेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा हुन लागेको नेपाल–भारत ‘कस्टम म्युचुअल एग्रिमेन्ट’ले ती समस्या समाधान हुने धारणा राख्नुभयो । अर्थसचिव डा घिमिरेले अहिले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेको बताउनुभयो । “नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकका लागि भन्सारले राजस्व मात्र सङ्कलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति शृङ्खलालाई व्यवस्थित गरी लगानी प्रवर्द्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु हुँदैन”, भन्नुभयो ।
अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्सन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसद्मा टेबल हुन लागेको विषय सराहनायोग्य रहेको बताउनुभयो । यस्तै उहाँले प्रविधिसँगै भौतिक पूर्वाधारहरूको पनि व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान रहने भएकाले निर्माणाधीन आइसिपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला र महत्त्वपूर्ण भन्सार कार्यालयमा थप पूर्वाधारको विस्तारमा समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवर्द्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्नेगरी नै भन्सार प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार सङ्गठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्नेगरी नै अगाडि बढिरहेको बताउँदै आर्थिक अनुुशासनको पक्षमा सबै इमान्दार हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार क्षेत्रमा व्यवसायीले भोग्नुपरेका समस्या र सहजीकरणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियोभने व्यवसायीहरूले भन्सार सुधारका विषयमा सुझाव दिनुभएको थियो । अन्तर्राष्ट्रिय भन्सार सङ्गठनले २०२५ लाई ‘दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल उद्देश्यका साथ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै छ । यो दिवस हरेक वर्ष जनवरी २६ मा मनाउने गरिन्छ ।
काठमाडौँ, ११ माघ : सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताउनुभयो ।
“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उहाँले भन्नुभयो, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताउनुभयो । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उहाँले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । “हामीबीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनिभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ”, उहाँले भन्नुभयो ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उहाँले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गर्नुभयो ।
सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ थियो ।
“हालसालै डिसेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ”, सभामुख घिमिरले भन्नुभयो, “उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्गप्रशस्त गरेका छन् ।”
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गर्दै गत वर्ष विविध चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै चीनले उत्कृष्ट प्रगति गरेको बताउनुभयो । साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा, विशेषगरी अध्यक्ष सी चिनफिङको मार्गदर्शनमा चीनले जटिल अन्तर्राष्ट्रिय अवस्थाको बीचमा आफ्नो आर्थिक विकासलाई सुनिश्चित गरेको जानकारी गराउनुभयो ।
राजदूत चेनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन–नेपाल रणनीतिक सहकारी साझेदारीलाई अगाडि बढाउँदै बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न, सहयोग ढाँचा सम्झौतामा हस्ताक्षर गर्नुभएको उल्लेख गर्नुभयो । यसले विकास र समृद्धिको दिशामा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको उहाँको भनाइ थियो ।
“दुई देशका बीचमा, त्रि–आयामिक कनेक्टिभिटी नेटवर्क निर्माणले गति लिइरहेको छ, १४ परम्परागत सीमा व्यापार नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् र हप्तामा ४८ वटा सिधा हवाई उडान सञ्चालनमा रहेका छन्”, उहाँले भन्नुभयो, “दुई देशका मित्रहरू एकअर्कालाई पर्यटनका लागि घुम्न आउने, नेपालमा लगानी गर्न र व्यापार गर्नका लागि धेरै चिनियाँ उद्यमीहरू आउने र बढीभन्दा बढी नेपाली सामान चीनमा निकासी हुने गरेको देख्दा हामी खुसी छौँ ।”