सोलुखुम्बु, २४ माघः जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।
कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”
आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।
भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उहाँको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् ।
आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
दमौली (तनहुँ), २४ माघः पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ ।
उहाँले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको बताउनुभयो । “ व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ । त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो,“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’हरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ ।”
बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाइ गरिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको छ । हालै भएको अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
यदि कसैले नियम उल्लङ्घन गरेको पाइएमा रु पाँच हजारसम्म जरिवाना गरिने अध्यक्ष थापाले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
काठमाडौँ, २४ माघः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २५ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
तुलसीपुर (दाङ), २४ माघः पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताउनुभयो ।
“अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ”, उहाँले भन्नुभयो, “छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।” अहिले पनि कहिलेकाहीँ दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको पुनले बताउनुभयो ।
छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् ।
मुलुकमा तीन ‘गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू–भागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिडी बनाइएको छ ।
यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।
नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ ।
पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ ।
“यस क्षेत्रको व्यवस्थापनका लागि पहल भइरहेको छ । अब अत्यावश्यक पूर्वाधार विकास र प्रचारप्रसार भएका पर्यटन प्रवर्द्धन हुनाका साथै त्यसबाट स्थानीयवासी लाभान्वित हुने थियौँ”, स्थानीय प्रवीर पुनको भनाइ छ ।
भक्तपुर, २४ माघः भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै दृश्यले उहाँको नजर तान्यो ।
उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।
नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुग्नुभएका उहाँले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गर्नुभयो ।
एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनुभयो । अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गर्नुभयो ।
अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराउनुभएको थियो । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुग्नुभएको थियो । उहाँले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण सर्नुभयो ।
आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गनुभयो । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आउनुभएको थियो । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गर्नुभएको थियो ।
मङ्गलबार नेपाल आउनुभएका उहाँहरू काठमाडौँस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।
लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छ” उहाँले भन्नुभयो,“पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।” पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उहाँले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताउनुभयो ।
दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उहाँको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताउनुभयो ।
“यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो” उहाँले भन्नुभयो, “दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।”
दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उहाँको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेका उहाँको भनाइ छ । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उहाँले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताउनुभयो ।
“जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किमी कालोपत्रको तयारी भएको छ” उहाँले भन्नुभयो, “गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।” दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताउनुभयो ।
यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।
एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी ) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।
म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।
तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।
मुम्बई, २१ माघ । प्रियंका चोपडा अहिले भारतमा महेश बाबुसँग उनको आगामी फिल्म एसएसएमबी २९ मा काम गरिरहेकी छिन्। आफ्नो व्यस्त कार्यक्रमका बाबजुद पनि अभिनेत्रीले आफ्नो भाइ सिद्धार्थ चोपडाको विवाह समारोहमा सहभागी हुन शुटिङबाट केही समय निकालेकी छिन ।
फेब्रुअरी २ मा प्रियंका चोपडा मुम्बई फर्किदै गर्दा एयरपोर्टमा देखिएकी थिइन् । पापाराजीले सेयर गरेको भिडियोमा एयरपोर्टबाट बाहिरिने क्रममा अभिनेत्रीलाई टाढाबाट क्लिक गरिएको थियो । अभिनेत्रीले मिठो मुस्कानका साथ पापाराजीहरूलाई मायालु भावमा स्वागत गरिन र उनीहरूका लागि पोजसमेत दिइन । देसी गर्ल गाडी फर्केर धेरै खुसी देखिन् र छोड्नु अघि फोटोग्राफरहरूलाई खुसी साथ हात हल्लाइन्। उनको भर्खरको बाहिरी यात्राको लागि पीसीले सबै सेतो पोशाकमा अनौपचारिक लुक देखाइकी थिइन । उनले मिल्दो शर्ट्स र त्यसमाथि घुँडा टेकेको सेतो ब्रालेट रोजेकी थिइन्।
अभिनेत्री अहिले महेश बाबुसँगको आगामी फिल्म एसएसएमबी २९ को सुटिङमा व्यस्त छिन् । एसएस राजामौलीले निर्देशन गर्दैछन् । यी तीनको पहिलो सहकार्य हुन लागेको यो चलचित्रले फ्यानमा उत्साह थपेको छ । यो फिल्म प्रियंकाका लागि फरक किसिमको प्रोजेक्ट हुने प्रोजेक्टमा विचार गरिरहेको विकास नजिकको स्रोतले हामीलाई बताएको छ । यसको सुटिङ अप्रिल २०२५ मा सुरु हुने तालिका छ र २०२६ को अन्त्य सम्ममा पूरा हुने अपेक्षा गरिएको छ। यो टाइमलाइन हेर्दा फिल्म २०२७ वा २०२९ मा रिलिज हुनेछ ।
अर्कोतर्फ, प्रियंकाका भाइ सिद्धार्थ चोपडा र उनको मंगेतर नीलम उपाध्यायले गत वर्ष अगस्टमा रजिस्ट्री समारोह र इन्गेजमेन्ट पार्टीसहित आफ्नो विवाहपूर्व उत्सव मनाएका थिए । यस विशेष कार्यक्रममा प्रियंका र अन्य जोडीका नजिकका साथीहरू र परिवारका सदस्यहरू उपस्थित थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै, राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका छन् ।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूकाे उपस्थिति थियो ।
वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।
काठमाडौं – ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा गत सोमबार सम्पन्न भएको छ ।
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो । ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ का विभिन्न विधाहरुमा विजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छन् । रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पारेकी हुन । उनले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन् । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगाएत धेरै सफलताहरु हात पार्न सफल भएकी छन् । रियालाई वरिस्ठ गायिका शर्मिला गुरुङ,वरिस्ठ गायक इन्द्र जिसिले बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरेका थिए ।
अवार्ड वितरणपछि विजेताहरुले अझै यस क्षेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन् । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसवर्ष पनि अवार्ड कार्यक्रम भएको हो ।
अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो । सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक/गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक/गायिका , सर्वोत्कृष्ट गायक/गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक/गायिकालगाएत रहेका थिए ।
माघ १३ गते भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित अवार्ड वितरण सम्पन्न भएको हो ।
नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले वि.स. २०७० सालमा स्थापना भएको सुजन म्यूजिक प्रा.लि. नेपाली गीत, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो ।
नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीकी अध्यक्ष राना मगरले बताइन् ।