काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।
मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।
११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी रहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी रहेको छ ।
उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी रहेको छ ।
सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी रहेको छ।
आयोगका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ जसमा एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्नेछ ।
काठमाडौँ, २६ मङ्सिर : बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिनुभयो । “सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ”, अधिकारीले भन्नुभयो, “गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।”
अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ”, लामाले भन्नुभयो, “यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुङ्गा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ ।”
आम्दानी पनि बढ्यो
सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले रु एक करोड १७ लाख आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको रु पाँच महिनामै रु एक करोड ८० लाख आम्दानी गरिसकेको छ ।
“सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ”, पोखरेलले भन्नुभयो, “अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।”
म्याग्दी, २६ मङ्सिर : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको सङ्गम हो । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।
“संसारको सातौँ (८१६७) मिटर अग्लो धवलागिरि हिमाल यही मुदीगाउँ समेटिएको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रवर्द्धनमा जुटेका छौँ ।”
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए ।
मुदीगाउँभित्रका गल्लीमा सरसफाइ, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ । मुदीगाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु प्वाइन्ट (दृश्य अवलोकन)स्थल बनाइएको छ । भ्यु प्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्ती, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित मुदीका अधिकांश घर परम्परागत शैलीका ढुङ्गे छन् । मुदीका करिब दुई सय ५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुरख्र्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने चलन छ ।
मुदीदेखि धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा वैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैँसीपालन गर्ने गोठालाको दिनचर्या र जीवनशैली अध्ययन गर्न सकिन्छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि जिप चल्छन् ।
मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जालीले सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि पाहुना आउन थालेका बताउनुभयो ।
“पाहुनालाई घरायसी वातावरणमा खानेबस्ने व्यवस्था मिलाउनका लागि आठ–दश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाएको हो”, उहाँले भन्नुभयो, “लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरेको छु ।”
उक्त होमस्टेमा एक दिनमा २० देखि ३० जना सहजै बास बस्न सक्छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु र पन्छी पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताउनुभयो ।
मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धवलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थालाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
काठमाडौँ, २६ मङ्सिर : निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको छ सदस्यीय समिति गठन गरिएको छ ।
सो समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्ने आयोगको तयारी छ । आयोगले त्यसका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा जानकी तुलाधरसहितका आयोगका पदाधिकारी, गृहसचिव रामेश्वर दङ्गाल, प्रमुख तथ्याङ्क अधिकृत मधुसुदन बुर्लाकोटीबीच छलफल भएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।
कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनामा सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढङ्गले कार्य गर्ने प्रतिबद्धता गरिएको छ ।
यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयका लागि प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताउनुभयो ।
यसैगरी, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासका लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्पे्रषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने पनि प्रतिबद्धता जनाइएको छ ।
काठमाडौँ, २४ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, २४ मङ्सिरः निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।
नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।
मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।
महोत्तरी २४ मंसिर । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।
पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो ।
प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताउनुभयो । सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ ।
सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताउनुभयो । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उहाँले बताउनुभयो ।
काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।
निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।
राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।
यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।
मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।
महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।
निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।
राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।
राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।
राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन ।
मुस्ताङ, २० मङ्सिरः अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताउनुभयो ।
वडाध्यक्ष गुरुङले भन्नुभयो, “धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।” घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताउनुभयो ।
यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाइइ छ ।
यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिनुभयो । लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताउनुभयो ।
“माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।”
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माणलगायतका काम पुरै रोकिएका वडाध्यक्ष विष्टको भनाइ छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइ बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका सञ्चालनमा रहेका र भन्सार कार्यालयसमेत सञ्चालनमा रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ, छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, घमी र सुर्खाङका प्रहरी एकाइहरु हिउँदयामसमेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । “भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाइलाई तल झाछौँ, चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाइलाई तल झार्ने कुनै योजना छैन”, प्रहरी निरीक्षक बस्यालले भन्नुभयो ।