Author: Dwarika Pokhrel

  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडक बत्ती’

    टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडक बत्ती’

    काठमाडौँ, २० मङ्सिरः काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ ।

    टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिवद्धता पुरा भएको बताउनुभयो । उहाँका अनुसार सामाखुशीदेखि झोर, नयाँ बसपार्कदेखि भत्केको पुल, साउथ वेस्टन कलेजदेखि धापासी हाइट र दाहालगौँडादेखि ग्रीनल्याण्ड क्षेत्रमा सडकबक्ति जडान गरिएको छ ।

    टोखा नगरपालिकाले २०८१ पुस २४ गते टोखाभित्रका मुख्य सडकमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबक्ति जडान गर्न नेपाल विद्युत्् प्राधिकरणसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार टोखामा सडकबत्ति जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने उल्लेख गरिएको थियो । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्ने उल्लेख छ ।

    सडकबक्ति जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिदकार्य सम्पन्न तथा निर्माणकार्यको सुपरिवेक्षणलगायतकार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख थियो । नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबक्ति जडित खम्बामा नयाँ स्मार्ट सडकबक्ति जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबक्ति उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबक्तिको प्रयोग गरेवापतको रकम मासिक रूपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख थियो ।

  • ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् ।

    ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक र एक उत्कृष्ट टिभी ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मानसहित पुरस्कृत गर्नुभएको हो । त्यस्तै महानगरमा लामो समय काम गरेर अनिवार्य अवकाश भएका ६ जना महिला स्वास्थ स्वयंसेविका र २० जना टोल स्वास्थ्य उत्प्रेरकलाई नगल  एक लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

    स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताउनुभएको हो ।

    “तपाईंहरुको कारणले ललितपुर महानगरको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम भएको छ, हामी तपाईंहरुको कामको प्रशंसा गर्न चाहन्छु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधान गर्न तीन महिनाभित्र एउटा कार्यविधि निर्माण गर्नेछौँ, ७५३ स्थानीय तहमध्ये हामीले उत्कृष्टस्तरको काम गरेका छौँ, ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने नगरपालिका भनेर चिनिन्छ, स्वास्थ्य क्षेत्रमा प्राप्त सुझावलाई ग्रहण गरेर कार्यान्वयन गर्छौँ, हामी बोल्ने मात्रै हैन, बोलेको कुरा काम गरेर देखाउन सक्छौँ ।” उहाँल भन्नुभयो ।

    ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले धेरै चर्चा गर्नेभन्दा पनि जनताको हीतमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका रूपमा ललितपुर महानगर प्रमुखको भूमिका रहेको भन्दै ललितपुर महानगरले उत्कृष्ट काम गरिरहेको धारणा राख्नुभयो । उहाँ ललितपुर महानगरले मानव संशाधनको विकास, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थको विकासमा अनुकरणीय काम गरेको भन्दै शारदा नगरपालिकाल पनि ललितपुर महानगरको समन्वय र सहयोगमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बताउनुभयो ।

    कार्यक्रममा महानगरको सामाजिक विकास समितिका संयोजक प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले धेरै वडामा खुला आकाशमुनि बसेर भिटामिन ए खुवाउनु परेकोमा अवदेखि २९ वटै वडामा टेवल, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने बताउनुभयो ।

    ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वयंसेवकको योगदानले स्थानीय समुदायदेखि विश्वले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने भन्दै सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न र आमसर्वसाधारणको स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन महत्त्वपूर्ण काम भएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कारण मातृमृत्युदर, बालमृत्युदरमा कमी आएको भन्दै महिला स्वास्थ स्वयंसेविकाको योगदानले सुरक्षित मातृत्वको लागि अतुलनीय योगदान भएको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका महानगरको स्वास्थ क्षेत्रको मेरुदण्ड भएको धारणा राख्नुभयो ।

     जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ स्वयंसेविकाको योगदानले नेपालले स्वास्थ क्षेत्रमा दक्षिण एसियामा नै उत्कृष्ट स्थान हासिल गर्न सकेको धारणा राख्नुभयो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • आज उँधौली पर्व मनाइँदै

    आज उँधौली पर्व मनाइँदै

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

    किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउनुहुन्छ ।

    किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

    भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

    वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

    उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

    खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

  • धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    सिरहा, १८ मङ्सिरः सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहनुभएको थियो ।

          पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उहाँको घरपरिवारका आँखा चार दिनसम्म पनि  ओभाएको सकेको छैन । अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि विपन्न मुसहर परिवारमाथि बज्रपात परेको छ ।

          करिब १४ क्विन्टल धान जलेर खरानी भएपछि सदाय परिवारको वर्षभरिको अन्नको जोहो गर्ने सपना पनि खरानी भएको छ । मानो रोपेर मुरी उब्जाएको त्यो अन्नसँग वर्षभरि पेट पाल्ने आशा पनि थियो । खडेरीका बेला अतिरिक्त पैसा तिरेर सिँचाइ गरी दुई दिन लगाएर छोरा–बुहारीसहित काटेको धान भित्र्याउन नपाउँदै मध्यरातमा कसैले आगो लगाएपछि धानसँगै यो परिवारको सपना पनि जलेको हो ।

          “खडेरीका बेला अतिरिक्त रकम तिरेर छिमेकीको बोरिङबाट सिँचाइ गरेँ । दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै एकैरातमा खरानी बनाइयो”, एकछिन आवाज अवरुद्ध गर्दै सदायले भन्नुभयो, “अब हामी के खाएर बस्ने ? हामीले कसको के बिगारेका थियौँ र ? गरिबको हातले उब्जाएको अन्नको के दोष थियो ? नाति, छोराबुहारीसहित पाँच जनाले वर्षदिन खाने अन्न नै जलाइदिएर हामी गरिबमाथि ठूलो अन्याय गरे ।”

          सदायकी श्रीमती भुल्लीदेवी सदायका अनुसार १३० वटा बोझा (बिटा) बनाएर त्रिपाल बिछ्याई धानको कुन्यू लगाइएको थियो । आठ कट्ठा खेतको करिब १६ क्विन्टल धान भित्र्याउन नपाउँदै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

          बाबुआमासँग बस्दै आएका कान्छा छोरा लाले सदाय पनि दुःख गरेर फलाएको धान भित्र्याउन नपाउँदै शत्रु लागेको बताउनुहुन्छ । “साँझ पर्न लागेकाले कुन्यू बनाएर १३० बोझा राखेका थियौँ । भोलिपल्ट बोरामा हालेर घर ल्याउने तयारी थियो, तर बिहान पुग्दा एक गेडा धान पनि बाँकी रहेन । मान्छेले कसरी यस्तो गर्न सक्छ ? यो प्रश्नले रात–दिन सताइरहेको छ”, उहाँले भन्नुभयो,“त्यो १६ क्विन्टल धान अन्न मात्र थिएन, त्योसँग वर्षभरिको पराल, गुइँठा, चामल, चाडपर्व, छोरोको शैक्षिक खर्च जस्ता थुप्रै योजनाहरू जोडिएका थिए ।”

          सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।

          जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगेर कागजी प्रमाणसहित सूक्ष्म अनुसन्धान गरिरहेको छ । “धनगढीमाईस्थित इलाका प्रहरी कार्यालयमा कुर्वा गाउँका आशङ्का गरिएका पाँच जनालाई बोलाई सोधपुछ गरिएको छ र उनीहरूलाई दैनिक हाजिरीमा राखिएको छ”, उहाँले भन्नुभयो ।

          धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साह विपन्न मुसहर परिवारले उब्जाएको धानमा गरिएको आगजनीलाई अक्षम्य अपराध भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो–जसले गरे पनि गरिबको पेट जलाउनु अक्षम्य अपराध हो । जस्तोसुकै रिसइवी भए पनि खाने अन्न जलाउनु हुँदैनथ्यो । प्रहरीले जसरी भए पनि अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”

          वडाध्यक्ष साहका अनुसार नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले घटनाको भोलिपल्ट घटनास्थल निरीक्षण गरेको थियो । त्यस क्रममा नगरप्रमुख महतोले पीडितलाई उचित राहत उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

    सदाय परिवारले पनि यो पीडालाई केवल अन्न जलन मात्र होइन, विपन्नतामाथि भएको निर्मम प्रहारको रूपमा लिएको छ । यो परिवार घटनामा जोडिएका व्यक्तिलाई कारबाही, सम्बन्धित निकायबाट तत्काल राहत र न्यायको पर्खाइमा छ ।

  •  कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

     कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

    काठमाडौं, ९ मङ्सिरः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ ।

    यही नोभेम्बर १०–२१ तारिखसम्म आयोजना भएको सम्मेलनको निष्कर्षमा सहमति हुन नसक्दा निर्धारित समय लम्बिएको हो । सदस्य राष्ट्रहरूबीच जीवाष्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्यायलगायत विषयमा सहमति हुन नसक्दा एक दिन समय लम्बिएको थियो ।

    सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हकअधिकार तथा जीवाष्म इन्धन अन्त्यको मागसहित विशाल प्रदर्शन गरेका थिए । अन्तिम साता सम्मेलनस्थलमा भएको आगलागीले केही समय कार्यक्रम सञ्चालनमा अवरोधसमेत पुगेको थियो ।

    यस सम्मेलनमा देखिएको विश्वभरबाट रहेको सहभागिता, छलफल र निष्कर्ष हेर्दा उपलब्धि औसत रहेको जानकारहरूको भनाइ छ । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिका पेरिस सम्झौताबाट बाहिरिएको घटनाले पनि सम्मेलन तुलनात्मक रूपमा उत्साहजनक देखिएन ।

    अर्कोतर्फ रुस–युक्रेन युद्धले सम्पूर्ण युरोप र रुसबीच देखिएको ध्रुवीकरण, इजरायल–गाजा भयानक युद्धको भर्खरै समाप्तीलगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको द्वन्द्वका बीच यो सम्मेलन भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमोन स्टिलले सम्मेलन समापनमा सम्बोधन गर्दै यस वर्ष एउटा देश पछाडि हटेको विषयले ठूलो ध्यान खिचेको बताउनुभयो । उहाँका अनुसार तीव्र राजनीतिक हावाहुरीबीच पनि १९४ देशहरू जलवायु सहयोगका पक्षमा ठोस र अविचल समर्थनसहित ऐक्यबद्ध रूपमा उभिएका छन् ।

    उहाँले सम्मेलनमा एक दशमलव पाँच डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा राष्ट्रहरू एकसाथ उभिएका भन्दै पेरिस सम्झौता प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । कार्यकारी सचिव स्टिलले हालको भू–राजनीतिक तनाव, विभाजन र जलवायु अस्वीकारले अन्तरराष्ट्रिय सहकार्यलाई असर पारे पनि १९४ देशहरूको ऐक्यबद्धता जलवायु कार्यका लागि महत्वपूर्ण आशाको स्रोत भएको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “हामी अहिले जलवायु लडाईं जितिरहेका छैनौँ, तर हामी निःसन्देह अझै पनि यसमा छौँ र लडिरहेका छौँ ।” सम्बोधनमा उहाँले जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार रूपान्तरणको मार्ग अपरिवर्तनीय भइसकेको छ । नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी जीवाष्म इन्धनको भन्दा दोब्बर भएको तथ्यले यसलाई पुष्टि गर्छ ।

    कार्यकारी सचिव स्टिलले कोप–३० ले अगाडि सारेको कार्यसूचिअन्तर्गत स्वच्छ विद्युत् ग्रिडका लागि एक ट्रिलियन डलर, सयौँ मिलियन हेक्टर वन, भूमि तथा महासागर संरक्षण तथा पुनःस्थापना र ४० करोडभन्दा बढी मानिसलाई जलवायु–प्रतिरोधसक्षम बनाएको प्रगति उल्लेख गर्नुभयो ।

    दैनिक जीवनमा बढ्दो महँगी, प्रदूषण, जलवायु–विपद्का जोखिम र ऊर्जा मूल्य वृद्धिजस्ता चासोहरूलाई यस सम्मेलनले सम्बोधन गर्न सुरु गरेको उल्लेख गर्दै उहाँले दुष्प्रचारले विश्वव्यापी जलवायु प्रयासलाई कमजोर पारेको चेतावनी दिनुभयो । सम्बोधनमा उहाँले धेरै मुलुकहरूले जीवाष्म इन्धनको निर्भरता घटाउने, वित्तीय योगदान बढाउने र जलवायु–विपद्को प्रतिक्रिया क्षमता विस्तार गर्ने मागलाई समर्थन गरेको बताउनुभयो ।

    यद्यपि सबै विषयमा अपेक्षित जति छिटो प्रगति नभएको स्वीकार गर्दै कार्यकारी सचिव स्टिलले कोप–३० ले मार्ग स्पष्ट बनाइदिएको बताउनुभयो । अबको प्राथमिकता राष्ट्रिय जलवायु योजना (एनडिसिज) हरूको शीघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्नेछ । कार्यकारी स्टिलले सम्मेलनमा प्रस्तुत ‘मुटिराओ’ (सामूहिक प्रयासको भावना) अब भविष्यका वर्षमा पनि निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

    जलवायु विज्ञ मञ्जित ढकालले विश्व भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका घटनामा उल्लेख्य वृद्धि, पेरिस सम्झौताको १० वर्षलगायत विषम परस्थितिमा भएको कोप–३० सम्मेलन भएको बताउनुभयो । यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रहेर सम्मेलनमा सहभागी राष्ट्रहरुले सहकार्य गरी जलवायुका असर समाधान गर्ने एकमत देखिएको सन्देश दिन सफल भएका उहाँले बताउनुभयो । 

    त्यस्तै, अतिकम विकसित राष्ट्रहरुले उठाएको अनुकूलन सहयोग तीनगुणा बढाउनुपर्ने विषय समेटिएको विषय सकारात्मक छ भने अर्काेतिर नेपाल, भूटान कीजिगिस्तानलगायत मुलुकहरूले उठाएको हिमालका विषय समेट्नुपर्ने भन्ने आवाजलाई एक हदसम्म सम्बोधन भएको छ । कार्बन उत्सर्जन घटाउने विषयमा भने तेल उत्पादन गर्ने राष्ट्रहरुको दबाबका कारण ठोस उपलब्धि हुन नसकेको विज्ञ ढकालले उल्लेख गर्नुभयो । 

    नेपालका लागि कति उपलब्धिमूलक ?

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिनुभएका कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारका अनुसार सम्मेलनमा नेपालले आफ्ना मुद्दा उजागर गर्ने सन्दर्भमा फलदायी भएको छ । उहाँले सम्मेलनको मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको थियो ।

    विश्वव्यापी बढ्दो तापक्रमलाई नियन्त्रण गर्न १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य साकार पार्न उदाउँदो अर्थतन्त्रसहित सबै पक्षहरूले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा उहाँको जोड थियो । मन्त्री डा परियारले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादको सन्दर्भ स्मरण गराउँदै युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई तुरुन्तै समावेश गराउन आग्रह गर्नुभएको थियो ।

    जलवायु परिवर्तनका असरबाट प्रभावित नेपालजस्ता मुलुकका लागि जलवायु वित्तमा वृद्धि, सहज पहँुच, प्रक्रिया सरलीकरण र प्रविधि हस्तान्तरणजस्ता विषयमा पनि नेपालले जोड दिएको थियो ।

    त्यस्तै, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कोप–३० सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा नेपालका तर्फबाट वक्तव्य दिँदै पृथ्वीको सुरक्षाका लागि सबैले मिलेर कार्य गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हिमालय क्षेत्र नेपालको पहिचान मात्र नभई अर्बौं जनताका लागि जैविक विविधता, स्वच्छ हावा र पानीका प्रमुख स्रोत भएको बताउँदै यसको सुरक्षाका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो ।

    सचिव डा मिश्रले नेपालमा जलवायु सङ्कट तीव्र बन्दै गएको उल्लेख गर्दै यस वर्षमात्र बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको अवगत गराउनुभएको थियो ।

    वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले सम्मेलनमा नेपालका जलवायुका मुद्दा उजागर गर्ने, संरक्षण र अनुकूलनमा भएका राम्रा अभ्यास तथा प्रयासका बारेमा विश्वजगतलाई अवगत गराउने काम भएको बताउनुभयो ।

    उहाँका अनुसार सम्मेलनमा नेपालले जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६, जलवायु वित्त, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायलगायतका विषयका मुद्दा उठाएको थियो ।

    नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको छ । पेरिस सम्झौताअनुसार विश्वसमुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरे पनि सन् २०५० भन्दा पहिले हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

    साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान अध्ययनले गरेका छन् । तसर्थ यस विषयको संवेदनशीलतालाई बुझेर हिमाल संरक्षणका लागि प्रभावकारी कदम चाल्न समयमै विश्वको ध्यान जान जरुरी छ ।

  • ‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

    ‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

    काठमाडौँ, ९ मङ्सिरः सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको छ ।

    भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि यस किसिमका बसोबास भएका समुदायको उचित व्यवस्था गर्ने उद्देश्यले जिल्लाका स्थानीय तहसँग समन्वय गरी लगत तयार गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार लगत लिँदा दोहोरो गणना हुनसक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको छ ।

    मन्त्रालयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सिफारिस गर्दा स्थानीय तहलाई प्रभावकारी रूपमा अध्ययन तथा मापदण्डको प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । भूमिहीन सुकुम्बासीको व्यवस्थापन राज्यको दायित्व भएको बताउँदै उहाँले सरकारले सुकुम्बासी व्यवस्थापनका क्रममा ‘भूमिहीन दलित’ लाई प्राथमिकता राख्ने उल्लेख गर्नुभयो ।

    “सामान्यतया ‘भूमिहीन सुकुम्बासी’ र ‘अव्यवस्थित बसोबासी’ लाई ‘सुकुम्बासी’ भन्ने गरिए पनि कानुनी “पमा फरक छ । देशभर कहीँकतै जमिन नभएका परिवार तथा परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई ‘सुकुम्बासी’ भनिन्छ”, प्रवक्ता वाग्लेले भन्नुभयो ।

    देशको कुनै पनि स्थानमा जमिन भएर पनि अन्यत्र कतै दशकौँदेखि आवादी गरी बसेका जग्गा जमीन उनीहरूको नाममा दर्ता नभएका परिवारलाई अव्यवस्थित ‘बसोबासी’ भनिन्छ । उनीहरूको जमिनलाई सरकारले मूल्याङ्कन गरी तोकिएको राजस्व लिएर जग्गा धनी पूर्जा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

    लामो समयदेखि बसेका उनीहरूलाई यसरी व्यवस्थित गर्दा सरकारलाई धेरै राजस्व प्राप्त हुने जनाइएको छ । यस्ता बसोबासी व्यवस्थापन गर्दा जङ्गल तथा सार्वजनिक स्थल अतिक्रमण गरी बनाइएका बस्ती उनीहरूलाई दिइने छैन ।

  • पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

    मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

    योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण÷आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिनुभयो ।

    योजना प्रमुख कुँबरले भन्नुभयो पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।”

    मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

    यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

    देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ ।

    मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिनुभयो ।

    यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ ।  त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

    यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

  • चुनाव अगावै कांग्रेस महाधिवेशन गर्न बेलायतस्थित बुद्धिजीवीहरुले कांग्रेस नेतृत्वलाई गरे आग्रह

    चुनाव अगावै कांग्रेस महाधिवेशन गर्न बेलायतस्थित बुद्धिजीवीहरुले कांग्रेस नेतृत्वलाई गरे आग्रह

     बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भै कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।

    शुक्रबार  एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित  हुने वाचा गर्नु पर्ने एवं  नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्ने जनाएका छन्।

    “विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई  नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औं महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौं।  परिवर्तनलाई आत्मसात नगरी तथा  शुद्धिकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छंदैछ,  हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय  एकता र सार्वभौमिकता माथि नै खलल  पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा  केन्द्रीय समितिका सबै  सदस्यज्यूहरुलाई जति सक्दो चाडो अग्रगामी निर्णय  गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौं।  यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरुलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

    ” सुशासन  तथा भ्रस्टाचार अन्त्यको माग सहित गत  सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न संदेश दिएको हाम्रो ठम्याइ छ।  नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय संग हामी ऐक्यबद्धता जनाउँछौं।  यद्यपि  नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात गर्न  मूलधारका प्रमुख दलहरुले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ।  २००७ साल देखि नै  नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो पार्टी नै यस पटक रक्षात्मक स्थितिमा देखिएको छ।  कांग्रेसका नेता कार्यकर्ताहरुको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरुमा तोडफोड  र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

     नेपाल विद्यार्थी संघका पूर्व महामंत्री  विश्व आदर्श पण्डित, डा सम्पूर्णानन्द ढुंगाना, गजेन कटुवाल, डा बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट,  इ राम राज शर्मा, शान्त विनोद लामिछाने,  बिजन भट्ट, वेदराज पराजुली लगायतद्वारा जारी विज्ञप्तिमा बी पी कोइरालाजस्ता नेताहरुले नेतृत्व गरेको कांग्रेस  पार्टीले थप अलमल नगरी यथाशिघ्र देशलाई निकास दिने गरी निर्णय गर्न आग्रह पनि गरिएको छ।

    प्रेस विज्ञप्ति

    सुशासन  तथा भ्रस्टाचार अन्त्यको माग सहित गत  सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न संदेश दिएको हाम्रो ठम्याइ छ।  नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय संग हामी ऐक्यबद्धता जनाउँछौं।  यद्यपि  नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात गर्न  मूलधारका प्रमुख दलहरुले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ।  २००७ साल देखि नै  नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो पार्टी नै यसपटक रक्षात्मक स्थितिमा देखिएको छ।  कांग्रेसका नेता कार्यकर्ताहरुको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरुमा तोडफोड  र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौं।

    जननायक बी पी कोइराला जस्ता नेताहरुले नेतृत्व गरेको यो पार्टी अहिले समयमै निर्णय लिन नसकी अलमल गरिरहेको देखिन्छ।  जनताको स्पन्दन बुझ्न र देशलाई निकास दिन नसक्ने पार्टीलाई इतिहासले पाखा लगाई दिन्छ भन्ने हेर्न हामी टाढा जानु पर्दैन,  नेपालमै थुप्रै उदाहरणहरु छन् । देशमा केही भएको छैन भन्ने जस्तो गरी स्थितिको गम्भीरता नबुझ्नु वा नबुझे जस्तो गर्नु उपयुक्त होइन।  विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित  हुने वाचा गर्नु पर्छ। नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्छ।

    त्यसैले विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई  नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औं महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौं।  परिवर्तनलाई आत्मसात नगरी तथा  शुद्धिकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छंदैछ,  हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय  एकता र सार्वभौमिकता माथि नै खलल  पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा  केन्द्रीय समितिका सबै  सदस्यज्यूहरुलाई जति सक्दो चाडो अग्रगामी निर्णय  गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौं।  यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरुलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौं।

    जय नेपाल !

    विज्ञप्ति जारी गर्नेहरु:

    श्री विश्व आदर्श पण्डित – पूर्व महामन्त्री, नेपाल विद्यार्थी संघ

    डा सम्पूर्णानन्द ढुंगाना – अध्यक्ष, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

    इ. राम राज शर्मा – महासचिव, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

    गजेन कटुवाल – पुर्व केन्द्रिय अनुशासन समिति सदस्य, नेपाल विद्यार्थी संघ

    डा. बच्चु कैलाश कैनी,  प्राध्यापक, डार्टफोर्ड युके

    डा. चण्डिका भट्ट – पूर्व वरिष्ठ उपाध्यक्ष, नेपाल शिक्षक संघ

    बिजन भट्ट – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

    शान्त विनोद लामिछाने, पूर्व महासमिति सदस्य तथा पूर्व उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति युके

    वेदराज पराजुली, शिक्षाविद् तथा पूर्व महासमिति सदस्य