Author: Dwarika Pokhrel

  • आजदेखि निर्वाचन आचारसंहिता लागू

    आजदेखि निर्वाचन आचारसंहिता लागू

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।

    आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

    साथै, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।

    यस्तै, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

  • भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

    भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

    काठमाडौं । हिजो (शनिबार) बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।

    बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।

    पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।
    यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफारिस भएका छन्।

    कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट अगाडि सारिएका छन्। अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी तथा दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार तय भएका छन्।

    कर्णाली प्रदेशका सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेतमा धुर्व शाही र कुलमणि देवकोटा उम्मेदवार छन्।
    कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत र शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया चयन भएका छन्।

    दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार तय भएका छन्।

    लुम्बिनी प्रदेश क्षेत्रका नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार बनेका छन्। रुपन्देहीका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ भने बासुदेव घिमिरे र खिमलाल भट्टराई सिफारिसमा परेका छन्।

    कपिलवस्तुमा विश्राम चौधरी र बिरेन्द्र कडौनिया, दाङमा घनश्याम पाण्डे, बाँकेमा सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियामा सालिकराम अधिकारी र विमला विक उम्मेदवार छन्।

    पाल्पामा नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल तथा गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट सिफारिस भएका छन्।

    गण्डकी प्रदेशको नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर (तिलक) महत क्षेत्री उम्मेदवार छन्।

    गोरखामा आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङमा पृथ्वी सुब्बा गुरुङ, तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल चयन भएका छन्।

    स्याङ्जामा मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्कीमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उम्मेदवार छन्।

    बागलुङमा हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ तथा पर्वतमा पदम गिरी उम्मेदवार बनेका छन्।

    बागमती प्रदेशमा भने सिन्धुलीबाट प्रदीप केसी (कटुवाल) र मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ उम्मेदवार छन्।

    सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, धादिङमा भूमी त्रिपाठी र धनबहादुर घले चयन भएका छन्। नुवाकोटमा बद्री मैनाली र केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला उम्मेदवार छन्।

    चितवनमा कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया तथा भक्तपुरमा सोमप्रसाद मिश्र र महेश बस्नेत सिफारिस भएका छन्। काठमाडौं र काभ्रेका केही क्षेत्रमा उम्मेदवार अध्यक्ष ओलीले टुङ्ग्याउने निर्णय भएको छ।

    मधेश प्रदेशको सप्तरीमा सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी उम्मेदवार छन् भने सिराहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव चयन भएका छन्।

    धनुषामा रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेदवार छन्। महोत्तरी, सर्लाही र पर्साका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ।

    कोशी प्रदेशको पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलाममा काजिमान कागते र सुहाङ नेम्वाङ उम्मेदवार छन्। झापामा रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार सूचीमा छन्।

    संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेर्दन राई, तेह्रथुममा भानुभक्त ढकाल चयन भएका छन्।
    मोरङ, सुनसरी र ताप्लेजुङका केही क्षेत्रमा उम्मेदवार अध्यक्षले टुङ्ग्याउने निर्णय गरिएको छ ।

    पार्टीले छिट्टै बाँकी क्षेत्रका उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाउने पनि उपमहासचिव भट्टले जानकारी दिए ।

  • निर्वाचन आयोगद्वारा कांग्रेसको ‘विशेष महाधिवेशन’ लाई वैधानिकता

    निर्वाचन आयोगद्वारा कांग्रेसको ‘विशेष महाधिवेशन’ लाई वैधानिकता

    निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले उक्त महाधिवेशन कानून र पार्टीको विधानअनुसार भएको ठहर गर्दै नयाँ पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

    आयोगको यो निर्णयसँगै अब नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलित समूहको हातमा पुगेको छ।

    निर्णयका मुख्य बुँदाहरू:

    विशेष महाधिवेशनले पायो मान्यता: आयोगले विशेष महाधिवेशनबाट गरिएका सबै निर्णय र चयन भएका पदाधिकारीहरूलाई आधिकारिक मानेको छ।

    पुरानो समिति अमान्य: शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति अब स्वतः अमान्य भएको छ।

    देउवा पक्षको दावी खारेज: विशेष महाधिवेशन अवैध रहेको भन्दै देउवा समूहले दिएको निवेदनलाई आयोगले अस्वीकार गरिदिएको छ।

    गगन–विश्व समूह आधिकारिक: अब पार्टीका तर्फबाट गरिने प्रत्यक्ष मनोनयन, पत्राचार र अन्य आधिकारिक कामहरू गगन–विश्व समूहले गर्नेछ।

    यसअघि पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर विवाद देखिएको थियो। तर, निर्वाचन आयोगले सबै प्रक्रिया पुगेको भन्दै नयाँ कार्यसमितिलाई नै मान्यता दिएपछि कांग्रेसको आन्तरिक विवादले नयाँ मोड लिएको छ। अब कांग्रेसको सम्पूर्ण जिम्मेवारी नयाँ निर्वाचित टोलीको काँधमा आएको छ।

  • ढोरपाटनमा पर्यटकको चहलपहल

    ढोरपाटनमा पर्यटकको चहलपहल

    बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।

    गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो ।

    पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उहाँको भनाइ छ । यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताउनुभयो । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उहाँको भनाइ छ ।

    “गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भन्नुभयो, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”

    एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताउनुभयो । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उहाँको भनाइ छ ।

    नवलपुरदेखि घुम्न आउनुभएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताउनुभयो । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उहाँले सुनाउनुभयो । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उहाँले सुझाउनुभयो ।

    जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए  । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।

  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

    वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

    यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।

    भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

    दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्।

  • आज विदेशी मुद्राको विनिमयदर कति ?

    आज विदेशी मुद्राको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा निर्धारण छ ।

    यस्तै, राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा कायम गरेको छ।

    आज क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ र बिक्रीदर ११२ रुपैयाँ ४७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ।

    यस्तै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २२ रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    यस्तै, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा रहेको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

  • देशभर मौसम सामान्य, तराईमा हुस्सु, कुहिरोको सम्भावना

    देशभर मौसम सामान्य, तराईमा हुस्सु, कुहिरोको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ।

    कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यस्तै, आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

    आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् ।
    विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।

    उनले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’

    थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने स्पष्ट पारे ।

    थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे ।

    उनले भने,‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ । त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं । माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ । त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ । बाहिर पनि सार्वजनिक छन् ।’

    त्यस्तै,महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ ।

    उनले भने,‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त । सोही अनुसार नै पार्टी चलिरहेको छ । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन ।’

  • आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

    आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

    काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।

    माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ राख्न यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्।

    नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेष गरी थारू समुदायले यस दिनलाई नयाँ वर्ष (माघी) का रूपमा मनाउने परम्परा छ।

    आजको दिन घिउ, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने जनविश्वास रहेको छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायु र हड्डी मजबुत हुने विश्वास छ।

    तराईवासीहरूले माघ १ लाई नहान पर्व का रूपमा मनाउने गर्छन्। बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

    आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको दिन स्नान, दान, जप, तप र ध्यानलाई विशेष पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी स्थानमा विशेष मेला पनि लाग्ने गर्छ।

  • कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा

    कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे।

      “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भने । 

     उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”

    नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए ।

     त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरेका थिए ।

    नयाँ कार्यसमिति यस्तो छ ।

    १, सभापति: गगन कुमार थापा

    २, उपसभापति दुई (२) विश्व प्रकाश शर्मा, पुष्पा भुषाल

    ३, महामन्त्री दुई (२) प्रदिप पौडेल, गुरु राज घिमिरे

    ४ केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त

    ५ केन्द्रीय सह-महामन्त्री (दलित)  (१) प्रकाश रसाईली स्नेही

    ६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती)  (१) बहादुर सिंह लामा

    ७ केन्द्रीय सह-महामन्त्री (खसआर्य)  (१) उदय शम्शेर राणा

    ८ केन्द्रीय सह-महामन्त्री (मधेशी)  (१) मुक्ता कुमारी यादव

    ९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम)  (१) फर्मुल्ला मन्सुर

    १० केन्द्रीय सह-महामन्त्री (थारु)  (१) योगेन्द्र चौधरी

    ११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको)  (१) कर्ण बहादुर बुढा

    १२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५)

    गोपालमान श्रेष्ठ

    ओमकार प्रसाद श्रेष्ठ

    अर्जुन नरसिंह के.सी

    राजेन्द्र कुमार के.सी.

    अर्जुन प्रसाद जोशी

    सुरेश कुमार योङ्या

    चिनकाजी श्रेष्ठ

    सुधिर सिवाकोटी

    भरत शाह

    मधु आचार्य

    अमृत अर्याल

    धुर्व वाग्ले

    देवराज चालिसे

    विनोद चौधरी

    मोहन आचार्य

    उज्वल बराल

     जनक गिरी

     देव प्रसाद तिमिल्सिना

     अजय बाबु सिवाकोटी

     प्रेम बहादुर खड्का

     जयराम लामिछाने

     बसन्त भट्टराई

     प्रदिप शर्मा

     जगत जोशी

     प्रमोदहरी गुरागाई

     डा. केदार नरसिंह के.सी.

     विदुर बस्नेत

     तिर्थ जंग शाही

     भरत खड्का

     सुवास पोखरेल

     शम्भु बुढाथोकी

     धर्मराज गौतम

     टेकराज पौडेल

     तिलक रानाभाट

     राजेन्द्र गोपाल सिंह

    १३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का

     धना खतिवडा

     नानु बास्तोला

     चिनु पोखरेल

     जानकी सिंह

     प्रतिमा गौतम

     गिता सत्याल

     सन्तोषी साउद ऐरी

     दिल कुमारी राई

    १४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला

    १५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य

     अग्नी पौडेल

    १६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही

    १७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव

     बजरंग नेपाली

    १८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल

    १९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ

     रमेश धमाला

    २० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे

    २१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया

     कृष्ण के.सी.

    २२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल

    २३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य

     राम बहादुर कार्की

    २४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का

    २५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही

     नारायण भट्टराई

    २६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल

    २७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल

     नरेन्द्र प्रसाद भट्ट

    २८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ

    २९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई

    ३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार

     छायाँ सुनार

     गंगा सुनार

     लिला नेपाली

    ३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी

     शिव बहादुर सुनार

     धर्म नेपाली दर्जी

     सुर्य बि.क.

     दिनेश सुनार

    ३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी

     प्रमिला राई

     मन कुमारी गुरुङ्ग

     कुशुमदेवी थापामगर

     लिलादेवी बोखिम लिम्बु

     डा. अमिता प्रधान

     छीन्दुल्होमु शेर्पा

    ३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग

     अस्टकुमार कबे

     छन्द बहादुर पहराइ मगर

     नगेन्द्र कुमाल

     शम्भुलाल श्रेष्ठ

     भिम श्रिष

     नरेन्द्र केरुङ

     दिपन श्रेष्ठ

    ३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी

     बाला अधीकारी

     मुना भुषाल

     इन्दिरा कार्की

     विनिता खड्का

     सम्झना खत्री

    ३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार

     मथुरा घिमिरे

     जगदिश चन्द्र उपाध्याय

     विष्णु कुमार कार्की

     विश्वनाथ रिजाल

     केशव भेटुवाल

     कमल भुषाल

    ३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा

     चन्द्रकला कुमारी यादव

     गोमा अन्सारी

     निलम साह

    ३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)

     राम पल्टन शाह

     नागेन्द्र शाह

     राधेश्याम पाठक

     सनिल कुमार यादव

     रामरुप प्रसाद

     केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम

    ३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी

     अब्दुल सत्तार

    ४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी

     सुनिता राना

    ४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी

     गोपाल दहित

    ४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह