Author: Dwarika Pokhrel

  • दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

    दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

    दोधारा चाँदनी (कञ्चनपुर), २७ कात्तिकः भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किनुभएको हो ।

    कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बन्नुभएको छ । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गर्नुभएका उहाँ अहिले डेरी मालिक बन्न सफल हुनुभएको छ ।

    रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँ दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आउनुभएको छ ।

    “भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भन्नुभयो, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।”

    सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गर्नुभयो । त्यही लगन र परिश्रमले उहाँलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बन्नुभयो । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आउनुभएको छ । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उहाँले कामदार राख्नुभएको छ ।

    “दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,” उहाँले भन्नुभयो, “अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।” 

    यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोड्नुभएको छ । “दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भन्नुभयो, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।” 

    पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गर्नुभएका रानाको सफलता लोभलाग्दो छ । उहाँ अहिले समाजमा उदाहरणीय व्यक्ति बन्नुभएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २७ कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८३  पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ १४  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

    गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ  विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो ।

    “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भन्नुभयो, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”

    गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।

    शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ । मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

  • सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

    सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

    सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।

    विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उहाँले बताउनुभयो ।

    खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताउनुभयो । उहाँका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो । यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उहाँको भनाइ छ ।

    सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

    बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताउनुभयो । “विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ”, उहाँले भन्नुभयो, “यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन ।”

    फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिनुभयो ।

    “सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ”, विभागका निर्देशक गौतमले भन्नुभयो ।

    सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताउनुभयो । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उहाँको भनाइ छ ।

    सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताउनुभयो ।

    उहाँका अनुसार आगामी वसन्तयाम (स्प्रिङसिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ । काजीले भन्नुभयो, “यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तरराष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ ।”

    सरकारद्वारा अनुमति प्राप्त

    सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिनुभयो ।

    विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको  साथ रहेको उक्त समूहको नेतृत्व लिनुभएका शेर्पाले बताउनुभयो ।

    विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ । “सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ”, पर्यटन विभागका निर्देशक गौतमले भन्नुभयो । यो मार्ग सञ्चालनमा ल्याउनसके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ ।

    यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ ।”

    स्थानीय र अन्तरराष्ट्रिय सहकार्यको नमुना

    यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गर्नुभएको छ । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिनुभएको शेर्पाले उल्लेख गर्नुभयो ।

    फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहनुभएको छ । “यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो”, इरोडले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन् । “यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ”, उहाँले भन्नुभयो ।

    चार लाख अमेरिकी डलरको अनुमानित लागत

    यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताउनुभयो । बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहनुभएको उहाँको भनाइ छ ।

    शेर्पाले भन्नुभयो, “मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।”

    नयाँ बाटोः कम जोखिम, बढी सुरक्षा

    नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताउनुभयो ।

    उहाँका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ ।

    अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भन्नुभयो, “यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।”

    यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताउनुभयो ।

    अन्तरराष्ट्रिय ध्यान पुनःसगरमाथातर्फ 

    यो परियोजनाले अन्तरराष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् ।

    पर्यटनमा हुने सम्भावित प्रभाव

    यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ ।

    सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भन्नुभयो, “यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।”

    इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म

    तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भन्नुभयो, “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।”

    यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भन्नुभयो, “यो केबल चढाइ होइन, इतिहाससँगको पुनःसम्बन्ध हो ।”

  • शान्ति पुनःस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

    शान्ति पुनःस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

    राँझा (बाँके), २५ कात्तिकः मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

    नेपालगञ्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । चदाराले ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको बताउँदै एक जनालाई पुनःस्थापनाका लागि अन्य संस्थामा पठाइएको उल्लेख गर्नुभयो ।

    संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताउनुभयो ।

    उहाँले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गर्नुभयो ।

    शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनविरुद्धको अभियानमा सबै एकजुट भएर सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूहरूले सीमित जिल्लामा कार्यक्रममाफैत अभियान सञ्चालन गरिएको भन्दै यसबाट केहीमात्रामा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले मानव बेचबिखनविरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    उक्त कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, शान्ति पुनःस्थापना केन्द्रका सल्लाहकार युवराज शर्मा, गङ्गा अधिकारी, गीता थारुलगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    शान्ति पुनःस्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

  • बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

    बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

    ढोरपाटन (बागलुङ), २५ कात्तिकः जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

    घिमिरेका अनुसार दसैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेको बताउनुभयो । “सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्”, उहाँले भन्नुभयो, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।”

    डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।

  • लोप हुँदै गोरुगाढा

    लोप हुँदै गोरुगाढा

    इनरुवा (सुनसरी), २५ कात्तिकः दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा(बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ । 

    जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताउनुभयो । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उहाँको भनाइ छ ।

    बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान रामवृक्ष मेहताले किसानले पनि कम प्रयोग गर्न थालेका उल्लेख गर्नुभयो ।

    पहिला घरमा ओसार्नेदेखी सामग्री ल्याउन तथा बिहेबारीमा जन्ती जान, गर्भवतीको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनका रूपमा रहेको गोरुगाडा अहिले देखिन छाडिसकेको स्थानीयवासीले बताएका छन् । किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाडा पछिल्लो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात् प्रविधिको प्रयोग बढ्दै गएपछि प्रयोग घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २४ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

    त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २३ पैसा र बिक्रीदर नौ रुपैयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

     विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।

    विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । २०३३ सालमा बिपीसँगै राष्टिूय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

    तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

    विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

  • ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    कर्णाली, २३ कात्तिक : कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ ।

    कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।

    उहाँले शून्य भोकमरी अभियानलाई टेवा पुर्‍याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको जनाउनुभयो । मन्त्री शाहले भन्नुभयो, “कर्णालीमा खेतीयोग्य जमिन कम छ । यद्यपि कम जमिनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सक्ने गरी सरकारले लागेको छ ।”

    सार्वजनिक प्रतिवेदनले सूचाङ्कमा उल्लेख भएका बुँदाहरुले कर्णाली प्रदेश सरकारको नीति निर्माणमा सहयोग पुर्‍याउने जनाउँदै उहाँले कृषिसँग सम्वद्ध कर्मचारीहरु र कृषकहरुले यसले विशेष मद्दत पुग्ने बताउनुभयो । यो प्रतिवेदनमा उल्लेख विषयवस्तुहरु स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेशका सचिव र कृषि विज्ञहरुले अनिवार्य अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ ।

    लिबर्डका कार्यक्रम प्रमुख लक्ष्मण खत्रीले विगत सात वर्षदेखि लिबर्डले नेपालमा भोकमरी सूचाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको जनाउँदै नेपालमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको उल्लेख गर्नुभयो । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शून्यमा झार्न सकिने उहाँको भनाइ छ ।

    “यसमा तीनै तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “खाद्य असुरक्षा हटाउन कर्णाली र सुदूरपश्चिममा कृषि र पोषणसम्बन्धी हामीले कार्यक्रम सञ्चालन गरिरहेको छौँ । कार्यक्रम लागू भएका ठाउँमा केही सुधार आएको छ ।” 

    वेल्ट हङ्गर हिल्फेका देशीय निर्देशक साकिव नावीले कुरा गर्ने र योजना बनाउने मात्रै नभई कार्यान्वयन गर्नेगरी तीनवटै तहका सरकारले काम गर्नसके भोकमरी शून्यमा झार्न सकिने बताउनुभयो ।

    विज्ञ विकास देउजाले विश्वभर विभिन्न राजनैतिक द्वन्द्वका कारण भोकमरी शून्यमा झार्ने लक्ष्य हासिल हुन चुनौती रहेको बताउनुभयो । विश्वमा नेपाल मध्यम रहेको जनाउँदै उहाँले यही गतिमा काम गर्दै जाँदै भोकमरी शून्यमा झार्न विश्वलाई अँझै सय वर्ष लाग्ने बताउनुभयो । नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कूल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उहाँको भनाइ थियो ।

    पोषणविज्ञ सोमाकुमारी रानाले भोकमरीको सूचाङ्कमा विश्वका १२३ देशमध्ये नेपाल ७२औँ स्थानमा रहेको बताउनुभयो । सन् २०१६ देखि यहाँसम्म आउदाँ खाद्य सुरक्षामा खासै सुधार नआएको जनाउँदै उहाँले भन्नुभयो, “नेपालमा अहिले पनि हरेक आठ जनामा एक जना भोकै हुन्छ । हरेक पाँच जना बालबालिकामा एक जनाले खान नै पाउँदैन । कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन् । यस्तो अवस्था अन्त्य गर्न सबै निकाय जुट्नुपर्छ ।”

    वेल्टहंगरहिल्फे, कन्सर्न वल्र्डवाइड र आइएफएचभीले विश्व, क्षेत्रीय र राष्ट्रियस्तरमा भोक तथा कुपोषणको स्थिति मापन र मूल्याङ्कन गर्न वार्षिक रुपमा ‘ग्लोबल हंगर इन्डेक्स’ प्रतिवेदन जारी गरिँदै आएको बताइएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीहरुले शून्य भोकमरी अभियानलाई सहयोग पुग्ने कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

    कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवद्वय सञ्जीवकुमार कर्ण र शङ्कर शाह, बुढीगङ्गा नगरपालिका बाजुराका नगरप्रमुख रामबहादुर बानिया, बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन, युनिसेफ बहुक्षेत्रीय पोषण योजनाका पोषण अधिकृत शेरबहादुर दहितसँग लिबर्डका रिता गुरुङले सुदूरपश्चिम र कर्णालीको रेथानेबाली, पोषण, खाद्य सुरक्षा, बनेका नीति एवं ऐन र भएका सफल अभ्यासका बारेमा छलफल सत्र सञ्चाल गर्नुभएको थियो ।