Author: Dwarika Pokhrel

  • ‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै

    ‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै


    तानसेन (पाल्पा), १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

    पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिणी)मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

    पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो ।

    मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताउनुभयो । उहाँका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

    यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

    मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवान्को रथयात्राक लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

  • उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

    उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

    काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

         सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

         उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

         उहाँले भन्नुभयो, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।”

         वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

         उहाँले भन्नुभयो, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

         उहाँले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गर्नुभयो । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

         ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

         वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ ।

         उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ ।

  • सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि ! 

    सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि ! 

    म्याग्दी, १६ कात्तिक : सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय  पर्यटकीय आकर्षक स्थल बनेको छ ।  अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।  यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताउनुभयो । 

    यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् ।  त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् । 

    अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण –६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।  “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।”

    यसैबीच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो । ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताउनुभयो । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो ।  समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । 

  • वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

    वैशाखयता चार हजार ६०० विपद्जन्य घटना


    काठमाडौँ, १६ कात्तिक : यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

    हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

  • आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    काठमाडौँ, १५ कात्तिकः वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । 

    प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । 

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । 

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । 

    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

    आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित  ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

  • निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

    निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की


    काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकत्तम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको तथा यसबीचमा जेनजी, राजनीतिक दलबीचमा छलफल भएको समेत सो अवसरमा जानकारी दिनुभएको थियो ।

    सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

    सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागनु २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । आफूले असहज अवस्थामा सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले आलोचनाबाट नडराउने बताउनुभयो ।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो ।

  • राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    राँझा (बाँके), १४ कात्तिक : बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

    बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आउनुभएको छ । राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

    किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो रु १० नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँतिहारको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ ।

    राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका खरिद बिक्री गरेको छ । यसबाट किसान महिलाले करिब रु १९ लाख आम्दानी गर्न सफल भएको संस्थाकी प्रबन्धक गुरुङको भनाइ छ ।

    बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन् । दसैँतिहारजस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी–७ का अगुवा लालबहादुर थापाले बताउनुभयो ।

    राप्तीसोनारी–७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँतिहारमा करिब रु ३२ लाखका दुई सय बढी खसीबोका किसानबाट खरिद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिनुभयो ।

    राप्ती सोनारी गाउँपालिकाको खासकुस्मा, कचनापुर, महादेवपुरी, बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आउनुभएको छ । बाँके जिल्लाभरिबाट यस वर्षको दसैँतिहारमा रु दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उहाँको अनुमान छ ।

    सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताउनुभयो ।

    हेफर इन्टरनेसनललगायतका सङ्घसंस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताउनुभयो ।

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्र भएको उल्लेख गर्नुभयो । बाख्रापालनमा किसानलाई आकर्षित गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

  • महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

    महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

    महेन्द्रनगर, १४ कात्तिक : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।

    बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिनुभयो ।

    “राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भन्नुभयो, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिनुभयो ।

    भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकरात्मक देखिएको छैन ।

    “मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहरसमेत निर्माण गरिएको छ”, पोखरेलले भन्नुभयो, “पानीका लागि पटकपटक ताकेता पनि भएको छ ।” उहाँले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा रु नौ अर्ब लगानी भइसकेको जानकारी दिनुभयो ।

    करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन”, उहाँले भन्नुभयो, “पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चादँनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ ।

    आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छभने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ ।

    महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा पुगेको थियो ।

  • मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले बन्धक रिहाइका लागि आफुले केही व्यक्तिसँग कुरा गर्न चाहेको बताएका थिए।

    प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्ति मानसिक रूपमा अस्थिर देखिएका थिए भने प्रहरीले परिस्थितिलाई सावधानीपूर्वक सम्हालेको छ। 

    अपहरणपछि तत्काल मुम्बई प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा घटनाको पुष्टि गर्दै भनिएको छ, “मुम्बईको पवई क्षेत्रमा रोहित आर्या नाम गरेका एक व्यक्तिले केही बालबालिकालाई बन्धक बनाएका छन् । उनले सार्वजनिक गरेको एक भिडियोमा उनी केही व्यक्तिहरूसँग कुरा गर्न चाहेको र त्यसो गर्न अनुमति दिइएन भने उनले सबै चीजमा आगो लगाइदिने र आफू र बच्चाहरूलाई हानि पुर्याउने चेतावनी दिएका थिए ।”

    समाचार तयारपार्दासम्म प्रहरीले सबै बालबालिकालाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको पुष्टि गरेको छ ।

    प्रहरीले अभियुक्तलाई हिरासतमा लिइएको र उनको कार्यको कारण पत्ता लगाउन र उनको मानसिक अवस्थाको परीषण गर्न सोधपुछ भइरहेको बताएको छ।

    प्रहरीद्वारा बालबालिकाको रिहाइपछि दिइएको जानकारीमा भनिएको छ, “घटनास्थलबाट सबै बालबालिकाको सकुशल उद्धार गरिसकेको छ। रोहित आर्या नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीसँग कुरा गरिरहेको छ । उनले किन यस्तो कदम चाले र के उनी वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् भनेर पत्ता लगाउने प्रयास पनि भइरहेको छ। 

    अधिकारीहरूले अगाडी भनेका छन्, थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्। 

    “सबै बालबालिका सकुशल छन् र उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अन्य विवरणहरू उचित प्रमाणीकरण पछि चाँडै साझा गरिनेछ,” मुम्बई प्रहरीले भनेको छ।

  • आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौँ, १३ कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।

    कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उहाँको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।