Author: Dwarika Pokhrel

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    काठमाडौँ, २४ कात्तिक : अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ ।

    कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

    “मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भन्नुभयो ।

    पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गर्नुभएको छ । तर, उहाँ कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

    “अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहँे । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे ।  त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उहाँले भन्नुभयो ।

    अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गर्नुभयो ।

    ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उहाँलाई खोज्न थाले । तर, उहाँको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

    “म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भन्नुभयो ।

    आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उहाँले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गर्नुभयो । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उहाँलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किनुभएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गर्नुभयो ।

    “मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उहाँले भन्नुभयो । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गर्नुभएको छ ।

    मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गर्नुभएको छ ।

  • मतदाता नामावली संकलन उत्साहजनक : आयोग

    मतदाता नामावली संकलन उत्साहजनक : आयोग

    काठमाडौँ, २२ कात्तिक ः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

    आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ ।

    मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।

  • दुर्गम गाउँको विद्यालयमा स्मार्टबोर्ड खरिद गर्न आर्थिक  सहयोग

    दुर्गम गाउँको विद्यालयमा स्मार्टबोर्ड खरिद गर्न आर्थिक  सहयोग

    म्याग्दी(बेनी), २२ कात्तिकः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मङ्गलेखानी बस्तीका दिवङ्गत देविप्रसाद छन्त्यालको स्मृतिमा उहाँका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गर्नुभएको हो ।

    गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रुपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवङ्गत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गिता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

    भौगोलिक रूपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका सहयोगदाता गीता फगामी छन्त्यालले बताउनुभयो । उक्त अवसरमा विद्यालयले सहयोगदातालाई फुल माला र अविर लगाएर सम्मानसमेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।

  • जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

    जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

    काठमाडौं – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) सुरु गरेको छ।  नगरपालिकाले सुरु गरेको सम्भवत: यो नेपालकै पहिलो इनोभेशन सेन्टर हो।

    जेनेस सलुशनसँगको  सहकार्यमा सेन्टरमा शुक्रबार  स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच)  आयोजना गरियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे। उनले भने, “आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि।” ढकालले स्थानीय युवाको सीप विकासमा प्राथमिकता दिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे।

    कार्यक्रममा प्रस्तुति दिँदै जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताए। फुयाँलले जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा स्थापना गरेको जेनेस टेक्नोलोजी एण्ड एक्सलेन्स सेन्टर (G-TEC) अन्तर्गत पहिलो चरणको सफलता पछि दोस्रो ब्याच सुरु गरिएको पनि जानकारी दिए। उनले अहिले नगरपालिका आफैले इनोभेशन सेन्टर स्थापना गरेको र आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।  “यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई-उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ। हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान पनि हो,” उनले भने।

    यूके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (AWS) का एम्बासडर समेत रहिसकेका फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउडका अन्तरराष्ट्रिय प्रमाणपत्र कोर्सहरूसँग जोड्ने तथा तालीम प्राप्त युवाहरूको  प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारसँग पहुँच पुराउन मदत गर्ने योजना रहेको बताए। उनले थपे, “प्रविधि भनेको औजार मात्रै होइन, यो मानिसहरूको बारेमा हो। त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न सक्ने, अरूलाई उत्प्रेरित गर्न सक्ने र नेतृत्व लिन सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ।”

    कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइ टी हब बनाउने उद्देश्य लिएर इनोभेशन सेन्टर सुरु गरिएको बताए।

    उनले एसईई पास गरे पछि विद्यार्थीहरुले  पढ्दै कमाउँदै गर्न सकुन भनेर कक्षा ९ देखि नै आइटी विषय पढाउन सुरु गरिएको बताए।  उनले नगरपालिकाको सहयोगमा  कान्तिपुर एकेडेमीमा २४ जना विद्यार्थीहरुले आइटी इन्जीनियरिंग पढीरहेको पनि बताए ।  “पढेर  मात्रै नहुने रैछ।  सीप ठूलो कुरा रहेछ।  हामी अन्जनी फुयाँल जस्ता धेरै नेपाली युवा विश्वको आइटी एरेनामा पुगेको हेर्न चाहन्छौं।  त्यो सम्भावना , तर हुटहुटी चाहिन्छ,” मेयर अर्यालले भने।  उनले नगरपालिका जेन जी पुस्ता को लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताए।  उनले आइटी   तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएका र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए।

    त्यसैगरी, नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयालले धेरै युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको उल्लेख गर्दै समुदायमै बसेर सीप सिक्ने र रोजगारी पाउने अवसर सिर्जना गरिदिएकोमा जेनेस सलुशनलाई धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट यस अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

    यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।

    जेनेस सलुशनका अफिसहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआइ) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

  • तनहुँमा दैनिक ४० राहदानी वितरण

    तनहुँमा दैनिक ४० राहदानी वितरण

    जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०ः३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एकवटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

    राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरुबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ ।

    विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ ।

  • विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

    विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

    काठमाडौँ, २२ कात्तिकः ‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै  छ ।

    विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यसवर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस  मनाउन लागिएको हो ।

    सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाईँदै आइएको छ ।

    एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सक बताउँछन् ।

    वरिष्ठ रेडियोलोजिष्ट डा शर्मा पौडेल प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने पद्दतीको रूपमा विकास हुँदै गएको बताउनुहुन्छ । बिरामीको निदान र उपचारमा रेडियोलोजीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।

    डा पौडेल रेडियोलोजी विधामा विना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ र रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’ मार्फत विरामीको उपचार गर्दे आएको बताउनुहुन्छ ।

    विकिरण अर्थात् रेडिएसन आउने एक्स रेबाट सुरु भएको विधा भएकाले यसलाई रेडियोलोजी भनिएको डा पौडेलको भनाइ छ । उहाँ पछिल्लो समय रेडियोलोजी क्षेत्रमा धेरै प्रगति भएको र विकिरण प्रयोग नगरी गरिने धेरै प्रविधिपनि रेडियोलोजीमा पर्ने गरेको बताउनुहुन्छ ।

    रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड अर्थात्  भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।

  • म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

    म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

    म्याग्दी, २२ कात्तिक : गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।

    पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु. ६२ करोड बजेट बिनियोजन गरेको छ ।

    क्रमागत १७  योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।

    यसअघिका बर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण ब्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उहाँले बताउनुभयो ।

    धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।

    संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ-ताकम-शिवाङ-मुना-जलजला-ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो ।

    बिम-मराङ-मल्कवाङ-पाखापानी, जैसीखोर-खहरेखोला-रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु. एक/एक करोड बजेट बिनियोजन भएको छ ।

    म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धवलागिरि गाउँपालिका-१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु. ५० लाख बिनियोजन भएको जानकारी दिनुभयो । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उहाँले बताउनुभयो ।

    मङ्गला गाउँपालिका-१ को तुसारेपानी-कुहुँ, गैराखेत-मालिका मन्दिर र दरवाङ-लामेला-अल्काचौर, दूधखोला-तोलावाङ र सराग्दी सडकका लागि रु. ५०÷५० लाख र

    मालिका गाँउपालिकको खतेन-ओखरबोट झोलुङ्गे पुललाई रु. ३० लाख बजेट बिनियोजन भएको छ ।

    घारखोला-नेपाने र तिप्ल्याङ-बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा-२ र बगैचा रानीपौवा रिसिन चौतारी हुदै बेगखोला जोड्ने सडक र रघुगङ्गा -१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । ग्रामिण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उहाँले बताउनुभयो । सडक स्तारोन्नति भएपछि ग्रामिण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाईसराई घट्ने अपेक्षा गरिएको छ ।

    अन्नपूर्ण-५ पाउद्धारदेखि कुरिलाबगर हुदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा-भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा- हुदै ठारा, भगवती-डाडाबारी-पिप्ले एकघरे सडक, कोटगाउँ-रायखोर- घ्यासीखर्क र पाखापानी- कालावाङ -ठाडाखानी र ठूलोगैरा – खबरा- बन्चरेढुंगा-भकुण्डे र आनन्दबगर- लामबगर – ढोडेनी सडकका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको छ । 

    बेनी-दरवाङ-कल्लेनी-ताकम-मुना-जलजला, दरवाङ-अदिभारा-डाडागाउँ-सोले-तमान-बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक,  दरवाङ- मुना- ढोरपाटन, दरवाङ-बिम-दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल,  रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुबर्षीय योजनाहरु हुन् ।

    निर्वाचन क्षेत्र १(क) मा बेनी-तोरीपानी, हाँडेभिर-बगरफाँट -दूधेखोला- हल्लेगौडा- डोलेमुसुङ, गलेश्वर-पिप्ले – भगवति, गलेश्वर-पुलाश्रम, चित्रे- घोडेपानी, भगवति-सिजलगाउँ-बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधिन छन् ।

  • युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस मनाइँदै

    युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, २० कात्तिकः संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

    संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ । यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ ।

    युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुने भएकाले यस्ता गतिविधिले वातावरणमा गम्भीर असर पर्ने गरेको छ ।

    युएनइपीका अनुसार बितेका ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमा काठ, हीरा, सुन, तेलजस्ता बहुमूल्य स्रोतदेखि उर्वर भूमि जमिन र पानीका स्रोतको कम्तीमा ४० प्रतिशत दुरुपयोग भएका छन् ।

    यसै अवसरमा दिनुभएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अनिवार्य रहेको भन्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको दुरुपयोग विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको छ ।

    “हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन । युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो”, महासचिव गुटेरेसले भन्नुभएको छ ।

  • राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

    राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै


    काठमाडौँ, २० कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । 

    राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।

  • एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    म्याग्दी, १८ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

    अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

    नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

    निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताउनुभयो ।  

    “हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ ।”

    गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो ।

    जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर)मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ ।

    म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुुँदै हुुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

    रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन् ।

    कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् ।

    म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहनुभएका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो ।