Author: Dwarika Pokhrel

  • ‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

    ‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

    दमौली (तनहुँ), १३ कात्तिकः यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ ।

    जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ ।

    गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले संरक्षण केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताउनुभयो । दानी व्यक्ति तथा सङ्घसंस्थाले  विविध अवसर पारेर सहयोग गर्दा केन्द्र सञ्चालनमा सहज भइरहेको उहाँको भनाइ छ ।

    नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ ।

    समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “त्यतिखेर तीन सय रोपनी तारबार गर्ने सामथ्र्य पनि थिएन । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरण गरी तीन सय रोपनी जग्गा केन्द्र सञ्चालनका लागि संरक्षण गरेका छौ । केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याइन क्रम बढेको छ ।”

    गाईले दूध दिन छाडेपछि गाईलाई कहाँ लैजाने भनेर समस्यामा मानिस यसबाट लाभान्वित भइरहेका छन् । संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ । “गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धहरूको आहारका रूपमा प्रयोग गरिएको छ । छाला काडेर राखिदिन्छौँ, गिद्ध आएर खान्छन् । हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ । अब भने हड्डीबाट पनि आम्दानी लिने सोचका साथ अगाडि बढेका छौँ, त्यसका लागि उपकरण खरिद गर्ने तयारी छ”, सापकोटाले भन्नुभयो ।

    यही स्थानबाट दमौली बजारमा उत्पादित हुने कुहिने फोहरबाट बायोग्याससमेत उत्पादन गर्ने गरिरहेको छ ।  गाईको संरक्षणका साथै फोहर व्यवस्थापनरबाट ग्यास उत्पादन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ । 

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।           

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४  पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

    अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

    तुलसीपुर (दाङ), १३ कात्तिकः दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

    रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिनुभयो । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

    शारीरिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताउनुभयो । “विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित अध्यापन हुने गर्छ, तर अपाङ्गमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उहाँले भन्नुभयो । 

    बुधबार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताउनुभयो । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताउनुभयो ।

    उक्त विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिकालाई छात्रवासमा राखेर अध्यापन गर्ने गरिएको छ ।

  • छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

    छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

    काठमाडौँ, १० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । 

    छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

    छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । 

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।” 

  • पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    काठमाडौँ, १० कात्तिक : सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ ।

    पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छभने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सुक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

  • लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

    लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

    भोजपुर, ९ कात्तिकः जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो ।

    टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायत क्षेत्रमा किसानले सतुवाको व्यावसायिक खेती विस्तार गरेका छन् ।

    किसानको भनाइअनुसार सतुवा ‘यार्सागुम्बा’ जस्तै शक्तिवर्द्धक जडीबुटी हो । यो क्यान्सर, ग्यास्ट्रिक, पेट दुख्ने, पोल्ने, काट्ने वा पाकेको घाउ, बान्ता, पखाला तथा घाँटी दुख्ने रोगमा उपयोगी मानिन्छ । सर्पको टोकाइ वा विषसेवनका अवस्थामासमेत यसको उपयोग हुने बताइन्छ ।

    सतुवा करिब एक हजार ४०० मिटर उचाइभन्दा माथिका लेकाली भेगमा राम्रो फस्टाउने गर्दछ । चिस्यानयुक्त, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम मोहोडा भएको भूभाग यसको खेतीका लागि उपयुक्त हुने किसान बताउँछन् ।

    यस जडीबुटीको गानो अदुवाजस्तै देखिन्छ । प्रायः एउटा बोटमा एक डाँठ पलाए पनि राम्रो फस्टाएको बोटले धेरैवटा दिनसक्छ । किसानले यसको बिरुवा तथा गाना बिक्री गरेर आम्दानी लिँदै आएका छन् । 

    सतुवाखेती लेकाली भेगका किसानाको रोजाइको खेती बन्दै गएको षडानन्द नगरपालिका–१० भिरथाप्लाका निमा शेर्पाले बताउनुभयो । भदौ–असोजमा फुलेर डाँठ सुक्ने सतुवाको गानो माघ–फागुनमा पुनः पलाउँछ । दुईदेखि तीन वर्षमा फुल्ने सतुवाको एउटै बोटबाट ५० देखि १०० बिरुवा उत्पादन हुन्छ ।

    स्थानीय व्यवसायीका अनुसार सतुवा मुख्यतः भारत र चीन निर्यात हुने गर्छ । यसका बीउ र बिरुवाको माग सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङजस्ता पहाडी जिल्लाबाट पनि आइरहेको किसानको भनाइ छ । औषधीय गुण, बजार मूल्य र फाइदाका कारण सतुवाखेती भोजपुरका लेकाली भेगका किसानका लागि नयाँ सम्भावना बनेको छ ।

  • ‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

    ‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

    काठमाडौँ, ९ कात्तिकः टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।

    “कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ”, निर्देशक आचार्यले भन्नुभयो ।

    कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिनुभयो । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताउनुभयो ।

    “चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु”, निर्देशक आचार्यले भन्नुभयो ।

    चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उहाँ खुसी नै हुनुहुन्छ ।

    “मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ”, निर्देशक आचार्यले भन्नुभयो ।

    एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथासार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”

    अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न शतप्रतिशत मेहेनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताउनुभयो । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उहाँले धारणा राख्नुभयो ।

    परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गर्नुभएको छ । चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

  • चिसोले लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

    चिसोले लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण


    सिमकोट (हुम्ला), ९ कात्तिकः अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको  नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।

    लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको  र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् ।

    चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । तेइस जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ प्रहरी कार्यरत थिए ।

    प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपछि चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताउनुभयो ।  धारामा पानी जम्ने तथा तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उहाँले बताउनुभयो । 

  • द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन: सेना

    द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन: सेना

    काठमाडौँ, ७ कात्तिक: देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा  सडक आयोजना सम्पन्न गरेको छ ।

    त्यसक्रममा एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खेलामा बेलिबृज जडानपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यसमा पनि नेपाली सेनाको योगदान रहेको छ । नेपाली सेनाले हाल खाँदवारी–किमाथाङका, कर्णाली करिडो, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरणसहितका पाँच वटा सडक आयोजनाअन्तर्गत करिब २७४ किलोमिटरभन्दा बढी सडक निर्माण गरिरहेको छ ।

    राष्ट्रिय गौरवका ती आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्न सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको निर्देशक थापाले जानकारी दिनुभयो । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ–तराई मधेश द्रूतमार्ग सडक निर्माणको काम तदारुकताका साथ अघि बढिरहेको उहाँले बताउनुभयो ।

    विसं २०७४ वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी सेनाले लिएको थियो । जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कूल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३ दशमलव छ र वित्तीय प्रगति ४४ दशमलव ७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिनुभयो । द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् ।

    त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विस २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने झाले स्पष्ट पार्नुभयो । 

    यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत  र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    आयोजनाअन्तर्गतका सात वटा सुरुङमध्ये दुई वटा छिचोलिएको, दुई वटा निर्माणाधीन रहेका र तीन वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको निर्देशक झाले बताउनुभयो ।

  • गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

    गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

    काठमाडौँ, ७ कात्तिकः पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ । 

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो । गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ । 

    बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ । यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अघ्र्यदान गरिन्छ । कात्तिक ११ गते मङ्गलबार  बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । 

    गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ । छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताउनुभयो । 

    सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।