Author: Dwarika Pokhrel

  • फेरियो लोपोन्मुख राउटेको जीवनशैली

    फेरियो लोपोन्मुख राउटेको जीवनशैली

    दोधारा चाँदनी (कञ्चनपुर), ७ असोजः कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । 

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरु समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रुपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उहाँले भन्नुभयो । 

    जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उहाँको गुनासो छ । 

    “हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपथ्र्यो”, राउटेले भन्नुभयो, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”

    समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” 

    उहाँले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताउनुभयो । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उहाँले भन्नुभयो, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।” 

    करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरु परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् । 

    “हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भन्नुभयो, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”

    जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । 

  • दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

    दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

    ढोरपाटन (बागलुङ), ८ असोज: दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । 

    जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।

    गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ ।

    महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् ।

    यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताउनुभयो । आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।”

    वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताउनुभयो । 

    आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उहाँको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०÷२२ तिर झथ्र्यो अहिले त अलि छिटै प¥यो”, उहाँले भन्नुभयो, “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।”

    लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताउनुभयो । गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उहाँको भनाइ छ । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाउनुभयो । 

  • तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या

    काठमाडौँ, ७ असोजः नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् ।

    नेपाल-चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा आरोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल-चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताउनुभयो । गत असार २४ गते नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । मितेरी पुल नबन्दा अहिले पनि उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन ।

    साथै विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ । राजधानी काठमाडौँबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा उक्त बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीले बताउनुभयो ।

    राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चापदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताउनुभयो । उहाँका अनुसार हाल तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा एक हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राख्नुभयो । “जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेका छन्”, उहाँले भन्नुभयो ।

    दसैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ । समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परिरहेको ग्राहकले गुनासो गरेका छन् । 

    काठमाडौँको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आउनुभएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताउनुभयो । दसैँ अगाडि काठमाडौँको महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्दछ ।

  • पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा


    पर्वत, ६ असोजः गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् ।

    त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्षमनबहादुर कुँवरले जानकारी दिनुभयो ।

    कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्मपुगेको हो ।

    विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

    जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो ।

    विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उहाँले बताउनुभयो ।

  • वैदेशिक रोजगार विभागको भवन जले पनि सेवा निरन्तर

    वैदेशिक रोजगार विभागको भवन जले पनि सेवा निरन्तर


    काठमाडौँ, ५ असोजः ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागले श्रमसम्बन्धी सेवा निरन्तर दिइरहेको छ ।

    गत भदौ २३ र २४ गते भएको प्रदर्शनले आगजनी र तोडफोड भएको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षित रहेका केही कोठालाई व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको छ ।

    व्यक्तिगत श्रम स्वीकृति, वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष, प्रशासन शाखा, उद्धार तथा राहत समन्वय शाखा, आर्थिक प्रशासन शाखाबाट सेवा सञ्चालन भइरहेको श्रम मन्त्रालयका सह–प्रवक्ता तथा उपसचिव मेघनाथ रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै श्रमसम्बन्धी कार्य अनलाइनमार्फत हुने भएकाले विभागको भवन क्षतिग्रस्त भए पनि काममा अवरोध भएको छैन ।

    यस्तै, श्रमसम्बन्धी गुनासो र उजुरी लिने, राहत र उद्धार सेवालाई विभागले अत्यन्त महत्त्व दिएर काम गरिरहेको सह-प्रवक्ता रिमालले जानकारी दिनुभयो । “वैदेशिक रोजगार विभाग जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले यसको कार्यमा कुनै अवरोध नआउने गरी सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यद्यपि, भौतिक क्षति हुँदा कर्मचारीलाई व्यवस्थित रूपमा सेवा प्रदान गर्न भने कठिनाइ भइरहेको छ ।”

  • अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

    अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

    काठमाडौँ ५ असोज: जेनजी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको छ । जेनजी प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचार प्रचारका लागि बोर्डले प्रवर्द्धनका कार्यक्रमलाई अघि बढाएको हो । 

    सोही क्रममा बोर्डले जेनजी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजित १२औँ एसियन पर्यटन मेलामा सहभागी भई नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएको छ । 

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्रदर्शनका कारण पर्यटन क्षेत्रमा केही क्षति भए पनि ठूलो प्रभाव नपरेको उल्लेख गर्नुभयो । “प्रदर्शनपछि पर्यटन बजार सामान्य अवस्थामा फर्किएको छ, यो सन्देश हामीले अन्तर्राष्ट्रिय स्रोत बजारमा पुर्‍याउनु छ, सोही क्रममा बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गरेका हौँ”, उहाँले भन्नुभयो । 

    बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनका अवसरमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबिच पनि छिटो पुनरुत्थान भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल–बङ्गलादेशबिचको पर्यटन सहकार्य र जन स्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको दाबी गर्नुभयो । मेलामार्फत नेपाली कम्पनीहरूले नयाँ अवसरको पहिचान, पुराना सम्बन्धलाई नवीकरण गर्दै प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

    त्यस अवसरमा बङ्गलादेशी आगन्तुकहरूले नेपालमा भएको जेनजी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले बङ्गलादेशमा पनि विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए । 

    सन् २०२४ मा नेपालमा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको भनाइ छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमताका कारण नेपाल उनीहरूका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बोर्डको विश्वास छ । 

    मुलुकको पर्यटन प्रवर्द्धनका लागि बोर्डसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पनि पर्यटन पुनरुत्थानका लागि सक्रियता देखाएको बोर्डको बुझाइ छ । “आन्तरिक गन्तव्यमा मात्रै नभई अन्तर्राष्ट्रिय पर्यटन स्रोत बजारमा पनि नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देशसहित नेपाल भ्रमणका लागि आग्रह गरिएको छ”, सिइओ जोशीले भन्नुभयो । 

    बोर्डले आफ्नो वेबसाइटमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरूलाई उनीहरूको अनुभव लाइभ गरेर प्रवर्द्धनात्मक गतिविधिलाई निरन्तरता दिएको छ । बोर्डले पवित्र धार्मिक तीर्थस्थल, साहसिक गन्तव्यलगायतबाट पर्यटकको अनुभवलाई भिडियोमार्फत सार्वजनिक गरिरहेको छ ।

    सिइओ जोशीका अनुसार कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घलगायत माध्यमबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन लगायतसँग पनि सहकार्य गरिएको छ । 

  • महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो


    पर्वत, ५ असोजः सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।

    महाशिला–३ र वडा नं ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो । झण्डै रु पाँच करोडको लागतमा भवन निर्माण भएको हो । तीसवटा कोठा रहेको भवनबाट पालिकाका सबै शाखाको सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । साँघुरो र जीर्ण भवनबाट असहज रूपमा सेवा दिनुपरेकामा अब एउटै भवनवाट एकीकृत रूपमा सबै वडालाई पायक पर्नेगरी सेवा प्रवाह गर्दा नागरिक र कर्मचारी दुवैलाई सहज भएको प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ ।

    सेवा सुरु भए पनि भवन हस्तान्तरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा सानो पालिका महाशिलाका छवटै वडा कार्यालय भने बनिसकेका छन् । पालिकाको भौतिक पूर्वाधार तयार भइसकेकाले अब सडक र शिक्षामा जोड दिन थालिएको छ । पालिकाको १० शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । बढ्दो बसाइँसराइलाई रोक्न गुणस्तरीय सडक र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

    योसँगै पर्वतका छवटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न थालेका छन् । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बाहेक अन्य छ पालिकाले आफ्नै भवन निर्माण गरिसकेका छन् । मोदी, पैंयू, विहादी र जलजला गाउँपालिकाका आफ्नै भवन बनेका छन् । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १५ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३० पैसा र विक्रीदर ३६६ रुपैयाँ ८५ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

  • २० अर्ब ७० करोड बराबरको बीमा दावी

    २० अर्ब ७० करोड बराबरको बीमा दावी

    काठमाडौँ, ४ असोजः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ ।

    जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दावी परेको छ । त्यसको कूल दावी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दावी परेको छ । कूल दावी भने रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दावी परेको छ । सो कम्पनीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००  बराबरको बीमा दावी परेको प्राधिकरणले जनाएको छ ।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दावी छ । रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दावी परेको छ ।

    नेको इन्स्योरेन्समा ४० वटाको रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जिआईसीमा १२९ वटाको रु ७८ करोड ९३ लाख ७९ हजार बराबरको दावी छ ।

    राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको रु ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ ।

    युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दावी परेको छ ।

    एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको रु १९ करोड १८ लाख बराबरको बीमा दावी भएको छ ।

    नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको रु छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दावी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको रु ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको रु ४२ लाख बराबरको बीमा दावी भएको छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार ९८४ वटा बीमा दावी भएको छ ।

    नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ ।

    वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने सङ्घले स्पष्ट पारेको छ ।

    नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

    आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै सङ्घले बीमा कम्पनीलाई यस सङ्कटको समयमा दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

    सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाइ दावी प्रक्रिया सहज बनाउन अपिल गर्नुभएको छ । साथै, बीमा कम्पनीले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

    विसं २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीको सक्रियता सकारात्मक र आशाजनक देखिएको उहाँले बताउनुभयो । 

  • अविरल वर्षाले धानबालीमा क्षति

    अविरल वर्षाले धानबालीमा क्षति

    (नवलपरासी) ४ असोजः हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्‍याएको छ ।

    पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा  धान बाली सप्राएकोे थियो ।

    उहाँका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पुर्‍याएको हो ।  पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।

    वडासदस्य यादवले भन्नुभयो,“पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँदछन् । बाढीले खेतमै धान सडछ धान काटन पाउँदैनन् । यस वर्ष धान काट्न पाईन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो ।  केही प्रजातिका धान फलिरहेको थियो ।  अहिले धान काटने बोला बाढी आएर हामीलाई बर्बाद बनायो ।”

    बाढीले सरावलमा ७०० बढी बिघाहमा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारीदिनुभयो । 

    सरावल–६ मधवलीयाका किसान घनश्यामा चौधरीले डेढ बिघाहमा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रूपैयाको बराबर नोक्सान भएको जानकारी दिनुभयो । 

    जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्र नाथ चौबेले जानकारीदिनुभयो । उहाँका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पुर्‍याएको हो ।