काठमाडौँ, २८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही भदौ २३ गते सरकारले ‘जेनजी’ आन्दोलनमा गरेको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । डा. केसीले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु र सोको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु ।”
नवयुवाले जायज माग राख्दै गरेको विरोध प्रदर्शनमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बढीको मृत्यु हुनु सरकारलगायत सम्पूर्ण राजनीतिक नेतृत्वको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य भएको उनले बताएका छन् ।
“युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो,” डा. केसीले भनेका छन् ।
उक्त घटनापश्चात् मुलुकभरि नै गरिएका आगजनी, तोडफोड, लुटपाट र हिंसाजस्ता विध्वंसात्मक घटनाले सबैको शिर लाजले निहुरिएको उनले जनाएका छन् । “निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु,” उनले भनेका छन् ।
देशमा विधिको शासन स्थापित गर्ने पवित्र उद्देश्यले गरिएको नवयुवाको आन्दोलनलाई राजनीतिकलगायत विभिन्न गलत तत्त्वबाट निहित स्वार्थका निम्ति बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण भएको उनले जनाएका छन् ।
“देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नवयुवापुस्ताका नागरिक अधिकारका लागि स्वतःस्फूर्त रूपमा उठेका आवाजप्रति हाम्रो पूर्ण समानुभूति र ऐक्यबद्धता छ,” डा. केसीले भनेका छन् ।
आन्दोलनमा सहभागी नवयुवापुस्ताका प्रतिनिधिसहितको अन्तरिम सरकारले मात्र आन्दोलनको मर्मअनुरूप कार्य गर्न सक्ने उनले उल्लेख गरेका छन् ।
“लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएको दायित्व इमानदारीपूर्वक तोकिएको समयावधिभित्र आन्दोलनको मर्मअनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु,” डा. केसीले भनेका छन् ।
अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र हस्तक्षेप नहुने तथा दायित्व पूरा हुनेबित्तिकै ब्यारेक फर्कने अपेक्षा आफूले गरेको उनले जनाएका छन् ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा ‘जेनजी’ले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएका विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेकाले बालकेन्द्रित भएर अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्थालाई आग्रह पनि गरिएको छ ।
आन्दोलनमा भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनाका साथै विभिन्न अपराधको सजाय भोेगिरहेका १३ हजार व्यक्ति जेलबाट बाहिर निस्कनु जस्ता घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न सिजपले माग गरेको छ ।
“जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउने बालबालिकाको अधिकार हो । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुलगायत समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन् । बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ ।”
सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको छ ।
बाल अधिकार उल्लङ्घनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल ‘हेल्पलाइन’ सेवा १०९८ मा खबर गर्न पनि आग्रह गरिएको छ । साथै आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार र अनियमितताविरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधानभित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न पनि अपिल गरिएको छ । यसबीचमा बालबालिकाको राष्ट्रिय पर्वका रुपमा मानाइने राष्ट्रिय बाल दिवस भदौ २९ गते पनि ओझेलमा परेकामा सिजपले चिन्ता व्यक्त गरेको छ । रासस
प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव रहेको बताएका छन् । शुक्रबार पूर्वराष्ट्रपति यादवले प्रेस वक्तव्य जारी गर्दै युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासनजस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको बताए । उनले आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी हरेक नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रथम राष्ट्रपनि यादवले भदौ २३ गते सोमबार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरे । यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको उनले जनाएका छन् । वक्तव्यमा पूर्वराष्ट्रपति यादवले भनेका छन्, ‘सर्वप्रथम म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ–बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।’
देशको ऐतिहासिक धरोहरसमेत रहेको सिंहदरबार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वोच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३–२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा भनेका छन्, ‘यस आन्दोलनका क्रममा लाखौं नेपालीलाई रोजगारी दिने अनि राज्यलाई अर्बौं रुपैयाँ राजस्व तिरेर मुलुक र समाजको आर्थिक समृद्धिमा ठुलो योगदान गरिरहेका मूल्यवान औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड र आगजनीले देशको अर्थतन्त्रमा दूरगामी धक्का पुर्याएको छ । यस्तो घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति यसलाई गम्भीरतापूर्वक लिन म सबैलाई अपील गर्दछु ।’
काठमाडौँ, २६ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिनुभएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गर्नुभएको छ ।
काठमाडौं । आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।
हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन ।
विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो ।
जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् ।
यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए ।
काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।
काठमाडौँ, २४ भदौः प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारीको आकस्मिक बैठकले जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठनगरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।
सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौँ फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्ताको मागलाई हामीले सम्मान गर्नुपर्छ । त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न आह्वान गर्दछौँ ।”
केन्द्रले सोमबारको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ । माओवादी केन्द्रले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्न तथा मङ्गलबार साँझ ५ बजे देशभरका सबै स्थानीय तहमा श्रद्धाञ्जलीसभा आयोजना गर्न आग्रह गरेको छ ।
देशभक्त र परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न बैठकले आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौँ – उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेन जी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्।
जेन जी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा राज्यले दमन गर्दा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको छ। “राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेन जीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ,” घिसिङले भने।
सामाजिक सञ्जालमा प्रकाशित पोस्टमा नेपालमा दैनिक १८ घटना सम्म चलेको लोडसेडिङ हटाउन निर्णायक भूमिका निर्वाह गरेका घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नु पर्ने बताए।
“आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार , सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेन जी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्त गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु,” घिसिङले भने । “यो आक्रोश युवाहरूको सपना हो,नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जबाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।”
उनले सरकारी दमनमा परी ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
“जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै यस दुखद घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने बताए । राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले जेन जीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ । साथै यस संवेदनशील घडीमा सबै पक्षले संयमता अपनाउन समेत अनुरोध गर्दछु,” उनले भनेका छन्।