Author: Dwarika Pokhrel

  • पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

    पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

    कञ्चनपुर, ४ असोजः संविधान जारी भएको दशक वित्तिसक्दा पनि हलिया प्रथाबाट मुक्त भएका हजारौँ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् ।

    संविधानले सुनिश्चित गरेका अधिकारको प्रत्याभूति हुन नसक्दा दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्य भएको १७ वर्ष पुग्न लाग्दा पनि मुक्त हलियाको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको हो । विस २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।

    तत्कालीन सरकार र हलिया महासङ्घबीच भएको पाँच बुँदे सम्झौताको आधारमा पुनःस्थापनाकार्य अघि बढाइने सहमति भएको थियो तर समय सापेक्ष व्यवस्थापन र योजनाबद्ध कार्यान्वयन नहुँदा अपेक्षित परिणाम हासिल हुन सकेन ।

    मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार भन्नुहुन्छ, “सुरुवात राम्रै भए पनि पुनःस्थापनाकार्य अधुरो र अपुरो छ, संविधानले समानता र न्यायको अधिकार सुनिश्चित गरे पनि शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अझै न्यून छ ।”

    “विगतमा बजेट विनियोजन भए पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नहुँदा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन” उहाँले भन्नुभयो, “पहिले पुनःस्थापन समस्या समाधान समितिमार्फत काम अघि बढ्दा केही प्रगति भएको भए पनि पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि पुनःस्थापनको कार्यले गति लिन सकेको छैन ।”

    सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा तीन हजार ४०७ मुक्त हलिया परिवार अझै पुनःस्थापन हुन बाँकी छन् । सुदूरपश्चिमका दार्चुला बाहेकका सात जिल्ला र कर्णाली प्रदेशको सुर्खेतमा पुनःस्थापनाको काम सम्पन्न हुन बाँकी छ । 

    तथ्याङ्कअनुसार, प्रारम्भमा १९ हजार ५९ घरपरिवारको विवरण सङ्कलन गरिएको थियो । त्यसमध्ये सरकारले पुनःप्रमाणिकरण गरेका १६ हजार ९५३ घरपरिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवार मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् । अझै एक हजार १०४ परिवार अन्तिम किस्ताको रकम पाउनबाट बञ्चित रहेका छन ।

    कञ्चनपुरमा “क” श्रेणीका मात्रै १०६ जनाले जग्गा खरिद र घर निर्माणको रकम पाउन बाँकी छ भने “ख” श्रेणीका ७२३ जनाले घर निर्माणको दोस्रो किस्ता अझै प्राप्त गरेका छैनन् ।

    मुक्त हलियाको पुनःस्थापनामा ढिलाइ हुनुका कारणमा विभिन्न तहबीचको समन्वय अभाव प्रमुख कारण मानिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला वर्ष बजेट नै विनियोजन नगरेपछि समस्या थप गम्भीर बनेको मुक्त हलियाहरूको बुझाइ छ ।

    पूर्वसंविधानसभा सदस्य तथा हलिया आन्दोलनका अगुवा हरि श्रीपाइली भन्नुहुन्छ, “तत्कालीन समयमा लगतमा नाम छुटेका हलियाको पहिचान हुन सकेको छैन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सशक्तिकरणलगायतका मुद्दालाई सरकारले प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन गर्न नसक्दा सम्मानजनक जीवन पाउन सकिएको छैन ।”

    सङ्घीय सरकारले विसं २०७६ मा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ५८ स्थानीय तहमा एक हजार ५५ परिवारको पुनःस्थापन जिम्मेवारी हस्तान्तरण गरेको थियो । तर स्थानीय तहले त्यसलाई प्राथमिकतामा नराख्दा रकम वर्षेनी फिर्ता हुने अवस्था आएको सरोकारवालाको भनाइ छ ।

    मुक्त हलियामध्ये करिब ९७ प्रतिशत दलित समुदायका व्यक्ति रहेका छन । जातीय विभेद र छुवाछूतका कारण उनीहरूलाई स्थानीयस्तरमा होटल, पसल, डेरीजस्ता व्यवसाय सञ्चालनमा कठिनाइ हुने गरेको मुक्त हलिया लक्षी लुहार बताउनुहुन्छ ।

    “युवासँग सीप भए पनि पूँजी अभाव छ, सीप नभएका युवाले स्वदेश वा विदेशमा सस्तो श्रम बेच्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “परम्परागत व्यवसाय आधुनिक र प्रतिस्पर्धी बन्न नसक्दा रोजगारीको वैकल्पिक अवसर भेटिएको छैन ।”

    राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार, हाल सुदूरपश्चिम प्रदेश सरकारले विसं २०८० मा “मुक्त हलिया, कमैया, कम्लहरी पुनःस्थापना कार्यविधि” पारित गरी कार्यान्वयन चरणमा ल्याएको छ । चालु आर्थिक वर्षमा मात्र १०० परिवारका लागि आवास निर्माणमा तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    उहाँ भन्नुहुन्छ, “नीतिगत उपलब्धी भए पनि देखिने परिणाम आएको छैन, स्थानीय तहले कार्यविधि पारित गरे पनि तथ्याङ्क संकलन, प्रमाणिकरण र परिचयपत्र वितरणमा सुस्त गति देखिएको छ ।” अहिलेको राजनीतिक उथलपुथलले मुक्त हलिया पुनःस्थापनकार्यले गति लिनेमा उहाँ शङ्का व्यक्त गर्नु हुन्छ ।

    मुक्त हलियाका लागि छुट्टै नीति नहुँदा संविधान, श्रम ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायतका कानुनमा उल्लेखित अधिकार कार्यान्वयनको तहमा कमजोर भएको सरोकारवालाको ठहर छ ।

    संविधानले प्रत्येक नागरिकलाई समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता मौलिक हक सुनिश्चित गरेको छ तर दासत्वबाट मुक्त भएको डेढ दशकभन्दा बढी समय बित्दा पनि हजारौँ हलिया परिवार अझै सम्मानजनक जीवन व्यतित गर्न नसक्नु गम्भीर प्रश्न बनेको छ ।

    “परिचयपत्र पाएका तर अन्तिम किस्ताको रकम नपाएका परिवारलाई प्राथमिकतामा राखी प्याकेज दिनुपर्छ, पुनःस्थापन हुनबाट छुटेका परिवारलाई पुनःस्थापन गरिनु पर्छ” हलिया अधिकारको क्षेत्रमा कार्यरत हरि सिंह बोहरा भन्नुहुन्छ, संविधानले दिएको अधिकार कार्यान्वयन नभएसम्म मुक्त हलियाले वास्तविक अर्थमा स्वतन्त्रता र सम्मानित जीवन पाउँदैनन् ।”

    प्रदेश सरकार र स्थानीय तहले हलिया परिवारका लागि खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उहाँको माग छ ।  साथै परम्परागत व्यवसायलाई आधुनिकीकरण गरी सीपमूलक तालिम, रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउनुपर्नेमा उहाँको जोड रहेको छ ।

  • नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति


    काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

    संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिनुहँुदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्नुभयो ।

    राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि  नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उहाँले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गर्नुभएको छ ।

    विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    साथै उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

  • आज संविधान दिवस

    आज संविधान दिवस


    काठमाडौँ, ३ असोजः संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा


    म्याग्दी, ३ असोज : दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । 

    मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिनुभयो । 

    “दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो”, बीस वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आउनुभएका श्रेष्ठले भन्नुभयो, “तातोपानी र रसुवानाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।” 

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट चार सय ६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताउनुभयो । 

    “समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो”, उहाँले भन्नुभयो, “भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो ।”  

    डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा रु ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौँ पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताउनुभयो । 

    मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताउनुभयो । 

    चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताउनुभयो । उहाँले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताउनुभयो । मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङ्ग्राको खपत बढी हुने गरेको छ । 

    मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडाच्याङ्ग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

  • दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

    दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा


    खोटाङ, ३ असोज : राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका दुई सय ९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । 

    भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसका आधारमा उनीहरूलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोगलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सातदिने दाबी विरोधसम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ । वडाले जारीको सार्वजनिक सूचनामा कसैको पनि दाबी विरोध नपरेको खण्डमा नगरपालिकाको तर्फबाट लालपुर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाउँछौँ ।”

    नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरू आफ्नो नामको जग्गाको लालपुर्जा पाउनेमा आशावादी बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकामा दुई सय २३ घर अव्यवस्थित बसोवासी, ५८ घर सुकुम्बासी र १६ घर भूमिहीन दलित रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ । 

    जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी गरी सात सय ९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष निर्मल राईले जानकारी दिनुभयो । “भूमिहीन घरपरिवारलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थित गराउन तीव्रगतिमा काम गरिरहेका छौँ । सम्बन्धित स्थानीय तहले जति छिटो काम गर्यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्छन्”, उहाँले भन्नुभयो, “हामीले जग्गाको निस्सा वितरणको काम सुरु गरेसँगै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी उत्साहित बनेका छन् । उनीहरूको उत्साहलाई सम्बोधन गर्नेगरी जग्गा उपलब्ध गराउनेगरी काम सुरु गरेका छौँ ।” 

    आयोगले दिएको जानकारीअनुसार जिल्लाभर एक सय ५२ घर भूमिहीन सुकुम्बासी, ४९ घर भूमिहीन दलित र पाँच सय ९१ घर अव्यवस्थित बसोवासी रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्रवटा वडा रहेको) दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा यसअघि सुरेश राई नेतृत्वको आयोगले निस्सा वितरण सुरु गरेको थियो भने खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकाका लाभग्राहीको नाममा जग्गा छ÷छैन भनेर जग्गा प्रमाणीकरणको काम सम्पन्न गरेको थियो । 

    भूमिहीन दलित तथा सुकुम्बासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा परिवारको स्वामित्वमा जग्गा जमिन नभएको तथा आफ्नो आयआर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ  । यस्तै, अव्यवस्थित बसोबासीको हकमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (ग) बमोजिम उल्लेखित बसोवासी १० वर्षअघिबाट ऐलानी, पर्ति वा सरकारी अभिलेखमा वन जनाइएको ठाउँमा भए पनि घरटहरा बनाएर बसेको वा खेतीपाती गरिरहेको (अन्यत्र नम्बरी जग्गा जमिन र घर टहरो) भएकाहरू भन्ने उल्लेख छ । 

    भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर, अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ । भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि तीन सय ४० वर्गमिटर अर्थात् १० आना दुई पैसा ३.०९ दाम, खेतीपातीलाई तीन हजार वर्गमिटर अर्थात् पाँच रोपनी १४ आना एक पैसा १.६२ दाम जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगले जनाएको छ ।

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो ।

    नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ,  घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ ।

    खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आउनुभएको छभने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आउनुभएको छ । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उहाँ चर्चामा आउनुभएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्नुहुने जनाइएको छ ।

    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

    ‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, ३० भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ९३  पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १३ पैसा र बिक्रीदर १५ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ पैसा र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुयैयाँ ०८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

    पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

    काठमाडौँ, ३० भदौ : देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।

    एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिनुभयो ।

    “विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    एशोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत,  काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिनुभयो ।

    उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताउनुभयो । उहाँले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गर्नुभएको छ । 

  • फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

    फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

    सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । 

    जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो । उहाँले भन्नुभयो, “हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ भनेर ।”

    उहाँका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् । 

    खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । “फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम भने गोप्य राखिएको छ”, महतोले भन्नुभयो । 

    विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । उहाँका अनुसार यसको अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ । 

    खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’  लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ ।

    लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा  आगजनी गरिएको छ । खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ । 

    यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनःलुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् ।