काठमाडौँ, १० असोज : नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासङ्घको टोलीले सो आग्रह गरेको हो ।
युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसँगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासङ्घले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकामा जोड दिएको हो ।
सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब रु ८० अर्बबराबरको क्षति भएको जानकारी दिनुभयो ।
“देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासङ्घ सरकारसँग समन्वय एवं सहकार्य गर्न तयार छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ”, अध्यक्ष ढकालले भन्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदासयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताउनुभयो ।
उहाँले फरक परिस्थतिमा वर्तमान सरकार गठन भए पनि आमसर्वसाधारण र व्यावसायिक सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्रमाथि प्रहार हुने गरेकाले निजी क्षेत्रलाई हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । यस्तै उहाँले पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ, १० असोज : प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन् । प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ ।”
उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
गलकोट (बागलुङ), १० असोज : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ प्रदान गर्नुभएको छ ।
बागलुङको सृष्टि फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवका अवसरमा सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम कोषमा सहयोग गर्नुभएको हो ।
क्षतिग्रस्त सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । “देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सा–सानो सहयोग गरेर पुनर्निर्माण गर्नसके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ”, गौतमले भन्नुभयो, “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।”
गौतमले १५औँ वार्षिकोत्सवका अवसरमा रु पाँच करोड लगानीमा फर्निचर उद्योगको नयाँ शोरुम स्थापना गर्नुभएको छ । गौतमले फर्निचार र हार्डवेयरलगायत व्यवसाय गर्दै आउनुभएको छ । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पुनर्निर्माण कोषको खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ । सरकारले क्षतिग्रस्त संरचना निर्माणका लागि ‘भौतिक संरचना पुननिर्माण कोष’ स्थापना गरेको छ ।
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ । यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।”
आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अठोटसहित निर्वाचन प्रक्रियामा होमिएको वर्तमान सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।
सम्बोधनको पूर्ण विवरण यसप्रकार छः
“आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
१. २०८२ भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन र सोपश्चात् माग भएअनुसार मेरो नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने आह्वान गरिएअनुसार यही भदौ २७ गते गठन भएको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मेरा आफ्ना अभिमतहरू संविधान दिवसका अवसरमा यहाँहरूसमक्ष सार्वजनिक गरिसकेको छु । हाल समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू समावेश भएको मन्त्रिमण्डलको गठन भइसकेकाले नेपाली जनताले शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त र सुशासन, चुस्त र प्रविधिमैत्री सार्वजनिक सेवाप्रवाह, विकास र समृद्धिको आकाङ्क्षा राखी गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपश्चात्को जटिल परिस्थितिमा छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित म प्रधानमन्त्री भएको छु ।
२. युवापुस्ताले गरेको प्रदर्शन र आन्दोलनका क्रममा मृत्युवरण गर्न पुगेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै, सार्वजनिक संरचनाहरू, व्यावसायिक प्रतिष्ठान र निजी घर सम्पत्तिमा भएको अकल्पनीय र अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ ।
३. प्रदर्शनका क्रममा जीवन गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै, सरकारले घाइतेहरूको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरेको छ । यसको अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनु परेकामा यो सरकार सम्बद्ध दोषीउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
४. यस जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यकपर्ने जनशक्ति, बजेट, निर्वाचन सामग्री, सुरक्षा र कानुनी व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको छ । १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशका माध्यमबाट संशोधन गरिसकिएको छ ।
५. रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाटसमेत आगामी निर्वाचनमा मतदान गर्नसक्ने सम्भावनाका बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैरनेपाली नागरिकहरूले उठाएका संविधानसम्मत मागहरूप्रति वर्तमान सरकार सकारात्मक रहेको छ ।
६. प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकाङ्क्षाको प्रतिनिधित्व गर्नसक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गर्न चाहान्छु । स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागिसमेत आह्वान गर्दछु । निर्वाचन सम्पन्न हुनका निम्ति शान्तिपूर्ण वातावरण कायम हुनु जरूरी छ । तसर्थ, मुलुकका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्नुहुने दिदीबहिनी तथा दाजुभाईलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गर्दछु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
७. आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका भवनलाई शीघ्र पुननिर्माण गर्न सरकार, नीजि क्षेत्र तथा स्वयंसेवक नागरिकहरू जुटिसकेका छन्।् । त्यसैगरी सुरक्षा निकायलाई आवश्यकपर्ने सवारीसाधन, बन्दोबस्तीका सामान, फर्निचरजस्ता अत्यावश्यक सामग्रीहरूको शीघ्र व्यवस्थागरी सुरक्षा निकायलाई पूर्ववत् रूपमा कार्यस्थलमा परिचालन गर्नेगरी सरकारले कार्य प्रारम्भ गरिसकेको छ ।
८. छमहिने कार्यवधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्नसक्ने अवस्था छैन । तापनि हामी कतिसम्म गर्न सक्दछौँ त्यसको इमानदार प्रयास गर्नेछौँ । सरकारी निकायबाट प्रवाह हुने सेवामा सहजता महसुस हुनेगरीबिना झन्झट, कुनै रिसवत नदिइ सेवा प्राप्त हुने कुराको सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचारको न्यूनीकरण, विधिको शासन र सामाजिक न्यायको प्रत्याभूतिलगायतका क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ ।
९. सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी सुनी सोको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तिनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको छ ।
१०. नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहान्छु ।
११. नेपाल सरकारले उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानलाई राहत, कर, छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको छ ।
१२. निजी क्षेत्रको मनोबल वृद्धि गर्न तथा आन्तरिक र अन्तरराष्ट्रिय व्यापारको लागत कम गर्न प्रक्रियागत सुधार प्रारम्भ गरिसकिएको छ । नेपाल सरकारले औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको सुरक्षा व्यवस्था कायम राख्न उच्च प्राथमिकता दिएको छ ।
१३. सरकारले आन्दोलनका क्रममा क्षति हुन पुगेका संरचनाहरू पुनर्निर्माण तथा पुनःस्थापना र आमनिर्वाचन सम्पन्न गर्नका लागि अनुत्पादक खर्च कटौती गर्दै टुक्रे आयोजनाका लागि विनियोजित बजेट खारेज गरेको छ ।
१४. आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणसम्बन्धी कार्यका लागि पुनःस्थापना कोषको स्थापना गरिएको छ । पुनर्निर्माणमा योगदान गर्न चाहने सरकारी, निजी क्षेत्र, सङ्घसंस्था एवं मित्रराष्ट्रलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछु ।
१५. सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गरी सोको पुनर्निर्माण योजना तयारीको कार्य प्रारम्भ गरिएको छ । साथै, क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार, सवारीसाधन तथा अन्य मालसामान खरिद प्रकृयालाई छिटो र सरल बनाई नियमित काम र सेवा प्रवाह सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । दुर्गम हिमाली तथा पहाडी जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने कार्य प्रारम्भ गरिएको छ ।
१६. आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट, बलप्रयोगलगायतका घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ ।
१७. वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ, त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ ।
१८. सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै वर्तमान जेनजी आन्दोलनले उठाएका आवाजहरूलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था छ । मुलुकको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रको रक्षार्थ हामी सबै नेपाली एकताबद्ध भई विवेक पु¥याएर अगाडि बढनुपर्ने परिस्थिति छ । तसर्थ, यस विषम घडीमा मेरो नेतृत्वको अन्तरिम सरकारलाई दिएको जिम्मेवारी पूरा गर्न सबै राष्ट्रप्रेमी नेपाली नागरिकबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु ।
१९. गुणस्तरीय र सम्मानपूर्ण जीवन, आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र भ्रष्टाचारको अन्त्य जेनजी युवापुस्ता र हामी सबैको साझा एजेण्डा भएकाले यी लक्ष्य प्राप्तिमा कत्ति पनि समय खेर नफाली आम नागरिकले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने खाँचो देख्दछु ।
२०. युवा पुस्ताको सोच र भावनाबमोजिम सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भइ उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी बहन गर्न आह्वान गर्दछु । मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं गतिविधिमा संलग्न नभई आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने पक्षमा क्रियाशील हुन राष्ट्रसेवक एवं सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछु ।
२१. आसन्न चाडपर्वहरूमा खाद्यान्नलगायत उपभोग्य सामग्रीहरूको आपूर्ति, यातायातको सहज प्रबन्ध र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन राज्यका सबै संयन्त्रलाई सक्रिय बनाइएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
२२. अन्तमा, २०८२ सालको बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायतको पर्वको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
काठमाडौँ, ९ असोजः आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।”
नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।
प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ ।
दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।”
विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ ।
गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ । “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।”
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ चार पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिदर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ दुई पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुयैयाँ ८० पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
झापा, ९ असोजः अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् ।
प्रदर्शनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट रु ७० लाख बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताउनुभयो । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका नौका विहार, सहिद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।
आन्दोलनकारीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुङ्गा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, सहिद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड गरेको सुवेदीले जानकारी दिनुभयो । “केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ”, उहाँले भन्नुभयो, “यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।”
व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यहाँ अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेका छन् । ‘जेनजी’ प्रदर्शनपछि यहाँ प्रवेश बन्द गरिएको छ । पर्यटकमा निर्भर प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि हाल सुनसान छन् ।
सन् २०१२ मा उभयचर वैज्ञानिक डा केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिँदै आइएको छ ।
काठमाडौँ, ८ असोजः बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।
नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
काठमाडौँ, ८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९३ पैसा र बिक्रीदर २० रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६९ रुपैयाँ ६३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।