Blog

  • एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

    एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

    त्रिवेणी (रूकुम पश्चिम), ८ माघः रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । 

    यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् । 

    प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

    कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उहाँले उल्लेख गर्नुभयो । 

    गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताउनुभयो । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

    व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रू एक लाख आम्दानी गरेको बताउनुभयो । बीस वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दा मौसममा रू दुई लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो । 

    त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताउनुभयो । अदुवा गाउँबाटै प्रतिक्विन्टल रू पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रू १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिनुभयो । 

    “पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उहाँले भन्नुभयो । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आउनुभएको छ । 

  • ट्रम्पको घोषणा : अमेरिका–मेक्सिको सीमामा संकटकाल, ‘अपराधी आप्रवासी’ स्वदेश फिर्ता

    ट्रम्पको घोषणा : अमेरिका–मेक्सिको सीमामा संकटकाल, ‘अपराधी आप्रवासी’ स्वदेश फिर्ता

    अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पको ह्वाइट हाउसमा यो दोस्रो कार्यकाल हो।

    ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु ।’

    ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने बताए। उनले अमेरिकाको सार्वभौमसत्ता र सुरक्षा पुनर्स्थापित हुनेछ उल्लेख गर्दै न्यायको सन्तुलन पनि पुनर्स्थापित हुने बताए । उनले भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो ।’

    डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका छन् । उनले आज अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।

    ट्रम्पले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौँ ‘अपराधी आप्रवासी’लाई आफ्नो देशमा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने बताए।

  • बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

    बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै


    गलकोट (बागलुङ), ६ माघ : पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ ।

    रु १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त हुनुहुन्छ । उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिनुभयो । उहाँले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताउनुभयो । पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ ।

    मेला, महोत्सव तथा औपचारिक समारोहमा ढाकाटोपी र सल मायाको चिनोका रूपमा दिने चलन बढेको छ । ढाकाका कपडा उत्पादन गर्न श्रम र खर्च धेरै लाग्ने भएकाले बजारमा आएका तयारी कपडासँग प्रतिस्पर्धा गर्न मुश्किल भएको छ ।

    “मायाको चिनोका रूपमा ढाकाटोपी, सल र खादाका अहिले उच्च माग छ, सारी र ब्यागको माग कम छ, एउटै सारी बनाउन १८ दिन लाग्छ, कटन र रेसमको धागो महङ्गो छ”, केसीले भन्नुभयो, “अहिले उत्पादनको आधा रकममा छ जनाले दैनिक ढाकाको कपडा उत्पादन गर्दै आउनुभएको छ, हातले बुनेको कपडा स्तरीय हुन्छ, कोसेलीका रूपमा विदेश पाठाउने चलन छ, तर निकै कमले मात्र ढाकाको महत्व बुझेका छन् ।”

    बडिगाड गाउँपालिकाले ढाका उद्योग सञ्चालन रहेको कार्यालयको भाडा छुट गरेको छ भने यहाँ उत्पादन भएका सामग्री बडिगाड, जैमिनी नगरपालिका र उद्योग वाणिज्य सङ्घको कोसेली घरले नियमित खरिद गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले रु दुई लाख अनुदान सहयोग गरेको छ । स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिएमा ढाका उद्योग फस्टाउने महिला उद्यमी निर्मला थापाको भनाइ छ । ढाका उद्योगमा थापासहित यमुना काउचा, बेली थापा, तिर्सना भुजेललगायत ६ जनाले दैनिक ढाकाको कपडाबाट टोपी, सल, साडी, खादा, झोलालगायत सामग्री उत्पादन गर्दै आउनुभएको छ ।

    एउटा ढाकाको टोपीलाई रु सात सय, सारीलाई रु १२ हजार तथा सललाई रु सात सयसम्म पर्छ । बडिगाड गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन पालिकाले नै ढाकाको कपडा खरिद गर्ने, ढाका उद्योगको भाडा मिनाह गर्नेलगायतका काम गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको कोसेली घरमा समेत बडिगाडमा उत्पादन भएका ढाका कपडाका सामग्री बिक्रीका लागि राखिएका बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

  • जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन

    जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन


    काभ्रेपलाञ्चोक, ६ माघ : काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन । तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया ६ वर्षदेखि थन्किएको छ ।

    बनेपा नगरपालिका–७ मा साझेदार संस्था कृषि बजार मल्टिप्रपोजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माणको प्रक्रिया अघि नबढेको हो । बागमती प्रदेश सरकारद्वारा एक वर्षभित्र निर्माण सक्नेगरी २०७६ असारमा तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा शीतभण्डार निर्माणका लागि सम्झौता गरेको थियो । बनेपामा पहिलो चरणमा निर्माण गर्ने भनिएको शीतभण्डार निर्माणका लागि रु तीन करोड ६४ लाख ५६ हजारमा इजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

    बनेपामा निर्माण हुने शीतभण्डारका लागि जग्गा उपलब्धतामा कठिनाइ भएको भन्दै साझेदार संस्था बनेपाको कृषि बजार मल्टिप्रपोजका सञ्चालक एक वर्षदेखि सम्पर्कमा छैनन । यससँगै प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा प्रदेशका विभिन्न जिल्लामा रु एक अर्ब ६ करोडका विभिन्न १२ शीतभण्डार छ वर्षअघि निर्माण प्रक्रिया थालेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा बजेट वक्तव्यमार्फत ‘एक जिल्ला, एक शीतभण्डार’को अवधारणा ल्याएको थियो । सोहीअनुसार प्रदेश सरकारले काभे्रपलाञ्चोक, दोलखा, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, चितवन, रामेछाप र सिन्धुलीमा शीतभण्डार निर्माणका लागि बजेटसहित थालनी गरेको थियो । नुवाकोटमा दुई, दोलखामा दुई र अन्य जिल्लामा एक–एकवटा शीतभण्डार निर्माणको काम सुरु गरिएको हो ।

    काभ्रेपलाञ्चोक र दोलखामा शीतभण्डारका लागि जग्गा उपलब्ध नहुँदा अझै निर्माण कार्य अघि बढ्न सकेको छैन । किसानले उत्पादन गरेका तरकारी र फलफूलले लागत मूल्यसमेत नपाएर खेर फाल्नुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा शीतभण्डार निर्माणको योजना बनाएको हो । प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माण सुरु हुन नसकेका तथा निर्माण रोकिएका शीतभण्डारका विषयमा आवश्यक छानबिन भइरहेको बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका शीतभण्डार सञ्चालनमा ल्याउन भने कार्यविधि निर्माण भइसकेको छ ।

    किसानका उत्पादनलाई सुरक्षित राखेर बेमौसममा बेच्दा सजिलै बजार पाउने र उचित मूल्यसमेत पाउने उद्देश्यले बागमती प्रदेश सरकारले आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत ‘एक जिल्ला, एक शीतभण्डार’ अवधारणा ल्याएको सचिव भट्टराईले बताउनुभयो । मन्त्रालयका अनुसार साझेदार संस्थासँगको सहकार्यमा एक वर्षभित्र निर्माण सक्ने गरी प्रदेशको जिल्लामा पहिलो चरणमा आठ, दोस्रो चरणमा दुई र तेस्रो चरणमा दुई शीतभण्डार निर्माणका लागि सम्झौता भएको थियो ।

  • किसानलाई सुन्तला बिक्री गर्न सकस

    किसानलाई सुन्तला बिक्री गर्न सकस

    दमौली (तनहुँ), ६ माघ : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन ।

    देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ । देवघाट–३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पु¥याउन सकस भएको देवघाट–३ बाटकका हर्कबहादुर थापाले बताउनुभयो ।

    “यस वर्ष वडा नं ३ मा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्”, उहाँले भन्नुभयो ।

    लुङग्रिङमा एउटै परिवारले रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिनुभयो । लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौँ बिक्री गर्न लैजाने गरेका छन् ।

    नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ । पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ । दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताउनुभयो । पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने गरेको छ ।

  • यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

    यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण


    काठमाडौँ, ६ माघ : निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।”

    निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताउनुभयो । चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताउनुभयो ।

    “यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो । समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ । यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भन्नुभयो ।

    ‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गर्नुभएको छ । हिमाल कडरिया निर्माता रहनुभएको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ

  • पोखरामा आजदेखि दाइँ महोत्सव

    पोखरामा आजदेखि दाइँ महोत्सव


    कास्की, ६ माघ : पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।

    पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।

    “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उहाँले भन्नुभयो ।

    पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो ।

    पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेसाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ ।

  • भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

    भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

    थिम्पु, ५ माघ । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । 

    यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न दिगो योजना र स्रोत प्राथमिकतामा जोड दिएको छ ।

    सरकारले आवश्यक बजेट धान्न ८९ अर्ब ३५ करोड सङ्कलन गर्ने अपेक्षा गरेको छ । जसमा कर र देशभित्रको अन्य आम्दानीबाट प्राप्त हुने आन्तरिक राजस्वबाट प्राप्त हुने अनुमानित ६७.२८ अर्ब र अन्य देश तथा संस्थाहरूबाट उपलब्ध गराइने बाह्य अनुदानबाट २२ अर्ब ७ करोड रुपैयाँ समावेश छ।

    सरकारलाई अझै २० अर्बको कमी रहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय स्रोतबाट ऋण लिएर यो वित्तीय घाटा व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको योजना छ ।

    कुल बजेटमध्ये ५३ अर्ब ७९ करोड सडक, विद्यालय र अन्य पूर्वाधार निर्माणलगायत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने ५५ अर्ब ५६ करोडले तलब तथा सार्वजनिक सेवा सञ्चालनको दैनिक खर्चलगायत बेहोर्नेछ ।

    बजेट आह्वान सूचनामा अर्थ मन्त्रालयले विपद्बाट क्षतिग्रस्त पूर्वाधारको मर्मत, एम्बुलेन्स र स्कुल बसजस्ता अत्यावश्यक सवारी साधन खरिद गर्ने र दाताको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने गरी अर्थतन्त्र र जनतालाई फाइदा पु¥याउने आयोजनालाई प्राथमिकता दिन निर्देशन दिएको छ । । यसले बाह्य कोष र नयाँ कार्यालय भवनहरू मात्र स्वीकृत हुने बताएको छ।

    सूचनामा बजेट तयारीका लागि स्पष्ट समयसीमा पनि तोकिएको छ । एजेन्सीहरूले आफ्नो वार्षिक कार्य योजनाहरू अर्को सोमबार र अन्तिम बजेट प्रस्तावहरू मार्च १५ सम्म पेश गरिसक्नु पर्नेछ, जो निश्चित लक्ष्यहरूसँग मिल्दोजुल्दो हुनु पर्ने सर्त राखिएको छ ।

    खर्चलाई नियन्त्रणमा राख्न मन्त्रालयले १३ औं पञ्चवर्षीय योजनाको कुल बजेटको २० प्रतिशत मात्रै ठूला आयोजनामा ​​खर्च गर्न सकिने गरी रकमको सीमा तोकेको छ ।

  • हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला

    हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला


    काठमाडौँ, ५ माघ : पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

    ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट


    काठमाडौँ, ५ माघः ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

    अध्यक्ष पाठकले निफमा ७० देशका छ सयभन्दा धेरै चलचित्रले प्रदर्शनीका लागि दिएको प्रस्तावमा निर्णायक समितिले उक्त चलचित्र छनोट गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरिरहेका छौँ । चलचित्र प्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट र छलफल चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।”

    अध्यक्ष पाठकले निफमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने बताउनुभयो । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ  । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।

    नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिनुभयो ।

    ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।

    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

    नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।