Blog

  • दुई सय बढी बालबालिका विद्यालय जान छाडे

    दुई सय बढी बालबालिका विद्यालय जान छाडे


    जलेश्वर, ५ माघ : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

    मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।

    स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।

    खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।

    चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।

    नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।

    स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।

    यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।

    बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।

    वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।

    मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।

    पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।

    यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।

    यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् ।

  • अनलाइनबाट नागरिकता सिफारिस

    अनलाइनबाट नागरिकता सिफारिस


    म्याग्दी, ५ माघः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।

    यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

    “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्”, उहाँले भन्नुभयो, “सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।”

    अनलाइन प्रणालीबाट नागरिकता सिफारिससम्बन्धी सेवा प्रवाहका लागि विसं २०६० चैत ७ गतेभन्दा पछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ । विसं २०६० चैत ७ गते बेनी भीडन्तका क्रममा प्रशासनका कागजपत्र जलेका कारण अभिलेख नराखिएको हो ।

    राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ । अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो भएको प्रजिअ ढकालको भनाइ छ ।

    म्याग्दीका छवटै स्थानीय तहका ४५ वटा वडाका अध्यक्ष, सचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने प्रक्रियाको विषयमा तालिम दिइएको थियो । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले यसअघि सेवाका लागि निवेदन आवश्यक नपर्ने व्यवस्था मिलाएको थियो । सिफारिसकै आधारमा सेवा दिने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई सहज भएको छ ।

  • एक्टर एकै साथ ७० सिनेमा हलमा प्रदर्शन हुँदै

    एक्टर एकै साथ ७० सिनेमा हलमा प्रदर्शन हुँदै


    काठमाडौं । देशभरका झण्डै ७० वटा सिनेमा हलमा माघ ४ गते शुक्रवारबाट प्रदर्शनमा आउने युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर सफल टेलिभिजन पत्रकार मनोहरी थापाव्दारा निर्मित ‘एक्टर’ नायक प्रिन्स थापा मगरको डेब्यु चलचित्र हो ।

    विशेष शोहरुमा दर्शकहरुबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भएपनि उनिहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम नभएकोले आफु सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेको भनाई छ ।

    आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

  • हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

    हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

    हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । 

    उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भन्नुभयो, “आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढ्ेको हो ।”  

      “अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भन्नुभयो, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ”, “यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो”, उहाँले भन्नुभयो । 

    उत्पादन बन्द हँुदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताउनुभयो । 

    उहाँका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । “उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । 

    आर्थिक समस्याकै कारण विद्युत्् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थप्रिएको छ । “विद्युत्् उपभोग त ग¥यो तर महसुल बुझाउन सकिएनौँ”, उहाँले भन्नुभयो, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०÷४० करोड जति बक्यौता बाँकी छ होला”, त्यसैले पनि विद्युत्् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उहाँको कथन छ । 

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । “उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ”, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भन्नुभयो, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छाँै, त्यसमा मेकेनिक लगिरहनुभएको छ, धेरै कामहरु सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।” त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

      एकपछि अर्काे समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

    उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताउनुभयो ।

    “उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ ।” तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुचारु हुन अझै केही दिन लाग्न सक्ने उहाँको भनाइ छ । 

    उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उहाँले बताउनुभयो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउनुहुँदै अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्ररुपमा भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो । 

  • कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँ

    कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँ

    नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँछ ।

    सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

    संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहीबार बिहान ८ः०० बजे बस्नेछ । सो क्रममा बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।

    सो बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

  • बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता

    बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता

    पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन ।

    सैन्य सम्बन्धलाई अझ गहिरो बनाउने उपायहरू खोज्नमा दुवै देशको सुरक्षा प्रमुखहरू बिचमा सम्झौतासमेत भएको छ ।

    बंगलादेशको सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ अफिसर (पीएसओ) लेफ्टिनेन्ट जनरल एस. एम कमर उल हसनको पाकिस्तान भ्रमणका क्रममा यो सम्झौता भएको जनाइएको छ ।  उनले रावलपिण्डीस्थित जनरल हेडक्वार्टर (जीएचक्यू) मा सेना प्रमुख जनरल असिम मुनिरसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । सेनाका अनुसार भेटका क्रममा दुई पक्षबीच यस क्षेत्रको सुरक्षा चासो र द्विपक्षीय सैन्य सहयोग अभिवृद्धि गर्ने उपायहरूका बारेमा विस्तृत छलफल भएको थियो।

    पाकिस्तानी सेनाका अनुसार दुबै देशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन र साथै, दुई देशहरू बीचको स्थायी साझेदारी बाह्य प्रभावहरू विरुद्ध प्रभावकारी हुनुपर्छ भन्नेमा पनि सहमत भएका छन ।  दुई देशबीचको यो सम्झौताले पाकिस्तान र बंगलादेशले आफ्नो सुरक्षा साझेदारीलाई मजबुत बनाउने तयारी गरिरहेको संकेत गरेको टिप्पणी गरिएको छ । दुई देशबीचको यो सम्झौता सुरक्षा र क्षेत्रीय स्थायित्वको दृष्टिकोणबाट महत्वपूर्ण हुनसक्ने जनाइएको छ ।

    उल्लेखनीय छ कि गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार ढालिएको थियो। त्यसपछि मोहम्मद युनुस बंगलादेशको अन्तरिम प्रधानमन्त्री नियुक्त भएका थिए ।  माेहम्मद युनुस नियुक्त भएदेखि नै ढाका र इस्लामावादबीचको मित्रता गाढा हुँदै गएको देखिन्छ। भारतसँग टाढिदैँ गएको बंगलादेश क्रमशः उसैसँग युद्दमार्फत छुटिएको पाकिस्तानसँग भने क्रमशः नजिक हुदैँ गएको छ ।

    सोही क्रममा गत डिसेम्बरमा कायरोमा भएको सम्मेलनमा दुवै नेताबीच उच्चस्तरीय भेटबार्ता भएको थियो । सो भेटबार्तामा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र युनुसबीच आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोग सुधार गर्ने सहमति भएको थियो । चाँडै नै पाकिस्तानका बिदेश मन्त्री २४ बर्ष पछि बंगलादेशको औपचारिक भ्रमणमा पनि जाँदैछन् ।

  • विनिमय दर सार्वजनिक: डलर को भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

    विनिमय दर सार्वजनिक: डलर को भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

    नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर को भाउ ४३ पैसाले घटेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको थियो । 
    आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ २२ पैसाले बढेको छ । बुधबार यूरो एकको खरिददर १४१ रुपैयाँ ९० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।  

    यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५६ पैसा रहेको छ । 

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ । 

    उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
    राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा कायम गरेको छ ।

    यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। 
     

  • नेपाल लाइफ इन्स्योरेन्सकाे माघ २८ गते सभा, सेयरधनीहरुलाइ २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

    नेपाल लाइफ इन्स्योरेन्सकाे माघ २८ गते सभा, सेयरधनीहरुलाइ २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

    काठमाडौं, माघ ०३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 
    सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    जापानी येन १० को खरिदर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ १० तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ८५ पैसा तय भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

    निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

    काठमाडौँ, २ माघः निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उहाँले बताउनुभयो ।

    चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ ।”

    ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नुहुनेछ । चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।