Blog

  • अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २९ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ ।

    अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो  एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

  • सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    सोलुखुम्बु, २९ पुसः जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । 

    चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । 

    जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । 

    जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिनुभयो । 

    चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताउनुभएको छ । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो । 

    उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ ।” 

  • विदेशी बजारमा कर्णालीको अदुवा

    विदेशी बजारमा कर्णालीको अदुवा


    सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  ।

    अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो। कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो।

    कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ। किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ।”

    उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ ।

    चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ ।

    सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

    डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ ।

    उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ।

  • ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

    ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन


    काठमाडौँ, २९ पुस : वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो ।

    उहाँका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध उहाँ चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुनुहुन्छ ।

    केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।

  • राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

    राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


    राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

    प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

  • पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै

    पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै

    गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् । 

    बाढीपहिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबे किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनःस्थापना शुरु गरिएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताउनुभयो । “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गको अवस्था एकीनको विकल्प देखिएन”, उहाँले भन्नुभयो । उहाँका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ । 

    पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताउनसभयो । उहाँका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने जनाइएको छ । 

    पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ । 

  • नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

    नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

    सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ । 

    भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो । भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त ? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन् आउनुभएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुश गरें । यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुश गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।”

    उहाँले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिनुभयो । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उहाँले बताउनुभयो । 

    “चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत चलचित्रको छायाङ्कन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ”, उहाँले भन्नुभयो । 

    वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयाश गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।”

    उहाँले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर प¥ुयाउने गरेको बताउनुभयो । उहाँले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिनुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही चलचित्रलाई पुर्‍याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

    एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आउनुभएको थिय । 

  • पाँच महिनामा  छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

    पाँच महिनामा  छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

    चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु छ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार  नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो । 

  • यस्तो छ आजको विनिमय दर

    यस्तो छ आजको विनिमय दर

    काठमाडौँ, २७ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    यस्तै, अधिकांश विदेशी मुद्राको भाउमा आज वृद्धि भएको छ । विनिमयदर अनुसार,   युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको  छ ।

    निधौरित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो  एकको खरिदर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५  पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा,  चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा,साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा,े युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ  ०३ तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

  • व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ

    व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ

    धनकुटा, २७ पुसः धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा(होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो ।मगर जातिको बाहुल्य भएको तत्कालीन मुढेवास गाविसअन्तर्गत पर्ने यस लाफा गाउँमा अहिले एकल मगर जातिको मात्र ९५ घरधुरी रहेको छ । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर होम स्टे सेवा सञ्चालन गर्ने योजनासँगै प्रदेश सरकारको सहयोगमा यहाँ मगर जातिको कला संस्कृतिको प्रवर्द्धन गर्न मगर जातिको सङ्ग्राहलय बनेको छ ।

    त्यस समय बनेको होम स्टे सेवाको योजना भने स्थानीयबासीको ब्यस्तताका कारण कुरामा मात्र सीमित हुनपुगेको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गत साल होम स्टे चलाउन तालिमको लागि बजेट छुट्यायौँ तर कसैले नभ्याएकाले काम नै गर्न सकिएन ।’ यस पटक भने जिल्ला घरेलु कार्यालय धनकुटासँग सहकार्य गरेर होम स्टे सेवाको तालिम सञ्चालन गर्न लागिएको लिम्बूले जानकारी दिनुभयो । लामो समयदेखि यस मगर बस्तिमा होम स्टे सञ्चालन गर्न खोजे पनि ब्यवसायिकरुपमा सञ्चालनमा आउन नसकेको स्थानीय पुजन मगरले पनि जानकारी दिनुभयो ।

    निर्माणाधिन भेडेटार–रबी–राँके राजमार्गमा पर्ने यस क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा खान र बस्न समस्या हुने देखिएकाले निकट भबिष्यमा होम स्टे सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    यहाँका मगर जाति परम्परागतरुपमा कृषि पेशामा आवद्ध रहिआएको र कृषिबाटै मनग्य आमदानी हुने भएकाले यसतर्फ ध्यान नदिँदा होम स्टे सञ्चालन चर्चामा सीमित रहेको अर्का स्थानीय अमृत देव थापाको भनाइ छ ।योजनावद्ध होम स्टे नचलाए पनि यहाँ बस्न आउने पाहुनाहरुलाई सबैले घरमा लगेर राख्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

    लेकाली क्षेत्रमा पर्ने यस गाउँमा खानेपानी अभाव भएपनि चिस्यान रहिरहने भएकाले बर्खे सिजनमा यहाँ कोपी र आलुको प्रसस्त मात्रमा खेती हुने गरेको छ ।मगरका अनुसार यहाँका हरेक परिवारले कम मेहनेतबाट आग्र्यानिक तरकारी खेती गरेर वार्षिक तीनदेखि पाँच लाखसम्म सहजरुपमा कमाउने गरेका छन् । यसका साथै यहाँका प्रत्येक घरले कम्तिमा एकदेखि तीन वटासम्म उन्नत जातको गाईं, भैँसी, साथमा अनिवार्य बाख्रा, सुङ्गुर पाल्ने गरेका छन् ।

    पहिला यहाँका मान्छे आलु लिएर अन्नसँग साट्न बेंसीतिर जाने गर्दथे । तर बिस्तारै सडक सञ्चालले गाउँ जोडिएपछि बजारसम्म किसानहरुको पहुँच पुग्न थाल्यो । चालिस ४० वर्षीया मगरले भन्नुभयो, “अहिले त तरकारी बारीसम्म बाटो खनेर लगेको छ,ब्यपारि त्यही गाडि लगेर सब्जी उठाउँछन् ।’

    यसरी धेरै दुःखबाट अहिले वार्षिकरुपमा सबैले मनग्य आमन्दानी गर्नेभएकाले यहाँका मगर समुदायमा वैदेशिक रोजगार, ब्यपार साथै घरबास सेवामा पनि तुरुन्त आकर्षित नभएको मगरको भनाइ छ ।हिउँदभरी खेतबारी मलिलो बनाउन र बर्खामा खेती गर्न ब्यस्त भएकाले पनि अन्य क्षेत्रको स्वाद पाउन नसक्दा होम स्टे सञ्चालनमा नआएको तर अब भने विस्तारै सबैजना सञ्चालनको तरखरमा रहेको उहाँको भनाइ छ ।

    यस ठाउँमा घरबास सेवा नितान्त आवस्यक भएपनि समुदायका मानिस अत्यन्तै ब्यस्त भएकाले होम स्टे सञ्चालनमा ढिलाई भएको गाउँबासी तथा पालिकाकी उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरको पनि भनाइ छ ।होम स्टेमार्फत यहाँको पर्यटन बिकास तथा मगर जातिको संस्कृति प्रवर्द्धन गर्दै उनीहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा पनि जोड्न सकिने भएकाले यहाँ घरबास सेवा सञ्चालन कार्यान्वयनको तयारीमा रहेको मगरले जानकारी दिनुभयो ।

    ”होम स्टे सञ्चालन गर्न खेती किसानी नछाडि सँगसँगै गर्न सकिन्छ ।’“ उहाँले भन्नुभयो,‘ बरु त्यो सब्जी,दुध र मासु पनि यही बिक्छन् ।’यहाँका मगर जातिको उत्थानका लागि सम्भावनाको बाटो देखाउन अति आवश्यक भएकाले अब सामूहिक वा ब्यक्तिगतरुपमा जसरी भएपनि घरबास सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    होम स्टे सञ्चालनमा आएमा यहाँ उत्पादित आग्र्यानिक कृषि उपज बेचबिखनको बजार थप बढेर जानेछ भन्ने कुरा सबैले बुझ्नुपर्ने उहाँको सुझाव छ ।