काठमाडौँ, २७ पुस : टोखामा माघे सङ्क्रान्तिको पर्वका अवसरमा ‘चाकु दिवस’ मनाइने भएको छ ।नेपाः युवा क्लव टोखाको आयोजना तथा टोखा परम्परागत चाकु संरक्षण समाजको सहकार्यमा माघे सङ्क्रान्ति पर्वको अवसरमा अगामी माघ १ गते टोखाबजारमा ‘चाकु दिवस’ मनाउन लागिएको हो ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले टोखाभित्र उत्पादित चाकु र यसबाट बनेको परिकारलाई चाकु दिवसको अवसरमा प्रदर्शनमा राखिने जानकारी दिनुभयो । टोखामा माघे सङ्क्रान्ति पर्वको अवसरमा ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम हुनेछ ।
अध्यक्ष श्रेष्ठले टोखाभित्र उत्पादित सामग्रीसमेतलाई चाकु दिवसमा प्रदर्शन गरिने बताउनुभयो । टोखा उखु खेती हुने पुरानो बजार हो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकलाको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । टोखामा हाल चाकुका १४ उद्योग रहेका छन् ।
टोखा नगरपालिकाले टोखा क्षेत्रको पहिचानलाई कायम गर्नका लागि टोखाबजारमा उखु खेतीको कार्यक्रमलाई समेत अगाडि बढाउन लागेको छ । यस्तै टोखाको पहिचानको रुपमा रहेको चाकु स्तम्भसमेत टोखामा निर्माण गर्न लागिएको छ ।
काठमाडौँ, २७ पुस : आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
काठमाडौँ, २७ पुस : अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले सिफारिस गरेको छ । सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ एवं वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अघि बढाउन परिषद् बैठकले सिफारिस गरेको हो । श्रम सम्वन्धीमा नेपाल सरकारलाई परामर्श दिने उद्देश्यले श्रम ऐन २०७४ को दफा १०२ बमोजिम गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषदको शुक्रबारको बैठकले मन्त्रालयलाई यससम्बन्धी सिफारिश गर्ने निर्णय गरेको हो ।
परिषदका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय श्रम सल्लाहकार परिषदको अघिल्लो बैठकले गरेका निर्णयको कार्यान्वयनको अवस्थाको समीक्षा गरेको थियो । श्रम प्रशासन, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षा क्षेत्र सुधारका लागि पनि बैठकले निर्णय गरेको मन्त्रीको सचिवालयले जनाएको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरुको सूची, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन पनि बैठकले सिफारिश गरेको छ ।
बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनरावलोकनको कार्य अघि बढाउन र सामाजिक सुरक्षाको दायरा अभिवृद्धि गर्ने लगायतको विषयमा निर्णय गरेको छ । बैठकले आगामी फाल्गुन १६ र १७ गते काठमाडाँैमा आयोजना गरिने श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णताका लागि सुझाव दिएको छ । श्रम सम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्न पनि परिषद्ले सुझाव दिएको छ । बैठक सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न समेत मन्त्रालयलाई परिषद्ले सिफारिश गरेको छ ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् । योसँगै करिब ८४ दिन कास्की प्रहरी हिरासतमा रहेका लामिछाने थुनामुक्त भए ।
न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूमध्ये लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरुङसँग ५ लाख, मीना गुरुङसँग ५ लाख र कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो । स्रेस्तेदार राजन खनालले फरक–फरक कसुरमा प्रतिवादीहरूलाई पनि फरकफरक धरौटी माग गरिएको जानकारी दिए । उनले भने, ‘यो थुनछेक आदेश मात्र हो । मुद्दा टुंगिएको होइन । अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्रलगायत काम गर्नेछ । आदेशमा चित्त नबुझे सरकारी पक्षलाई पुनः पुनरावेदन गर्न पाउने हकदैया हुने कानुनी व्यवस्था छ ।’
हाल अदालत उपस्थित गराइएका ७ प्रतिवादीमध्ये लीला पछाईको हकमा माग गरिएको ३७ लाख धरौटी बुझाउन बाँकी छ । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन् । धरौटी बुझाएकाहरू बिहीबार नै हिरासतमुक्त भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मीलगायत सहकारीमा समेत प्रतिवादी बनाइएका लामिछाने कास्कीबाट थुनामुक्त भए पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । त्यहाँ लामिछानेसमेतका प्रतिवादीविरुद्ध १ अर्ब १९ करोड ४८ लाख बिगो मागदाबी गर्दै गत साता मुद्दा दायर भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की अदालतमा अभियोगपत्र दायर भएको थियो । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा उनीहरूविरुद्ध यस वर्ष गत ५ पुसमा जिल्ला सरकारी वकिल कार्यालयले थप अभियोगपत्र लगेको हो । त्यस्तै, ७ पुसमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसमेत थप ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दायर गरेको थियो । अभियोगपत्रमा ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको छ ।
अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि खुसीयालीमा रास्वपा कार्यकर्ता एवं रवि समर्थित । लामिछानेलाई सहकारीको रकम अपचलन तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यसअघि ८ असोजमा छविलाल जोशी पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा लामिछानेसमेत जोशी, सहकारीका संस्थापक जीबी राई, रामबहादुर खनाल र लीला पछाईविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत लगाइएको थियो ।
कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा लामिछानेसमेतलाई सहकारी ठगी प्रकरणमा विभिन्न जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै बयानका लागि रूपन्देही, चितवन, काठमाडौं र पर्सा जिल्ला लगिएको थियो ।
गत ४ कात्तिकमा पहिलोपल्ट कास्की जिल्ला अदालतले पक्राउको दिनदेखि लागू हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएकामा पटकपटक गरी आठौंपल्टसम्म लामिछानेलाई म्याद थप गरेको थियो । अन्तिमपल्ट गत २ पुसमा आठौंपल्ट म्याद थप गर्दा थप ४ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो ।
५ पुस र ७ पुसमा क्रमशः थप र पूरक अभियोगपत्र दायर भएको हो । ८ पुसदेखि प्रतिवादीहरूको बयान, सरकारी वकिलको बहस, प्रतिवादीहरूको तर्फबाट वकिलको बहस, सरकारी वकिलको जवाफी बहससँगै अन्ततः बिहीबार थुनछेक आदेश भएको हो ।
अदालतबाट रविसमेतको पक्षमा आदेश भएपछि रास्वपाका कार्यकर्ता तथा रवि समर्थितहरूले जयजयकार गर्दै अदालतको आदेशको सम्मान गरेका थिए । उनीहरूले ‘रवि दाइ हाईहाई’, ‘न्यायाधीश नीतिज राई हाईहाई’, ‘सत्यको जित भयो’ लगायत नाराबाजी गरेका थिए । रास्वपाका पदाधिकारी तथा केन्द्रीय नेता एवं सांसदहरू पनि पोखरामा छन् ।
रवि लामिछानेका सम्बन्धमा आदेशमा भनिएको छ, ‘…सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लिखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको धरौटी ६५ लाख नगदै वा सोबराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’
लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक भए पनि सो संस्थामा कहाँबाट कसरी रकम आएको थियो भन्ने विषयमा जीबी राईलाई नै थाहा भएको, सो कम्पनीसँग गरेको सम्झौताअनुसार वित्तीय कारोबारका ’bout जानकारी लिने दायित्व नरहेको, चेकमा हस्ताक्षर गर्ने मात्र गरेको, सूर्यदर्शन सहकारीबाट कुनै कर्जा नलिएको भनी बयान गरेको उल्लेख छ । निज लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८ सय १४ वटा चेकको कारोबार भएको देखिएको, निज गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात् पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको र प्रबन्ध निर्देशकजस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियतसमेत राखेको व्यक्ति रहेको देखिएको, सूर्यदर्शन सहकारीको नाममा सञ्चालन गरेको साविक मेगा बैंकको खाताबाट भएको कारोबार विवरणअनुसार सन् २०२१।१।१८ मा गितेन्द्रबाबु राईको स्ट्याडर्ड चार्टर्ड बैंकको खातामा २ करोड जम्मा भएकामा सोही रकममध्ये सन् २०२१।१।२१ मा चेकबाट रवि लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खातामा ७५ लाखको चेकमार्फत जम्मा भई लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्कको नाममा सञ्चालन गरेको ग्लोबल आईएमई बैंकको खातामा सन् २०२१।१।२२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम उनको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य भएको देखिएकाले तत्काललाई उनी कसुरदार रहेनछन् भन्न नमिल्ने अदालतको ठहर छ । लामिछानेलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको तथा रूपन्देही, चितवन र पर्सामा उनीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसकारण लामिछाने एउटा अदालतबाट रिहा भए पनि अर्को जिल्लाको अदालतको आदेशमा पक्राउ पर्नेछन् ।
अर्का प्रतिवादी छविलाल जोशीको सम्बन्धमा आदेशमा भनिएको छ, ‘…सहकारीको रकम निज प्रतिवादीको कार्यमार्फत हस्तान्तरण भएको देखिनुका साथै निजको अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्ज्याक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको र तत्काल प्राप्त माथि उल्लिखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी छविलाल जोशीबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको धरौटी ८८ लाख नगदै वा सोबराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’ अरू प्रतिवादीहरूको हकमा पनि कसुरको मात्राअनुसार त्यस्तै धरौटी माग गरिएको छ ।
गत ७ पुसमा ४४ जना प्रतिवादी बनाई दायर मुद्दामा सूर्यदर्शन सहकारीको रकम अपचलनका मुख्य अभियुक्त जीबी राई, लामिछानेसहित ५० जना व्यक्ति र ८ कम्पनी तथा थप ५ जनाबाट सम्पत्ति जफत गर्नुपर्ने रायसहित मुद्दा दायर गरिएको थियो । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो माग गरिएकामा हिनामिना एवं अपचलन भएको बिगोमध्ये मूल अभियोगपत्रमा खुलाइएको १ हजार ३५ जना बचतकर्ताहरूको जम्मा बिगो १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ १७ पैसा छ । यस्तै, थप अभियोग दाबीमा जम्मा १२१ बचतकर्ताहरूको थप बिगो ३ करोड ३३ लाख ९५ हजार ३ सय ४९ रुपैयाँ १७ पैसा छ । जसअनुसार कुल बिगो सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) (घ) बमोजिम पीडित जाहेरवालालाई दिलाईभराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोगपत्रमा माग गरिएको छ । सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये मुख्य अभियुक्त जीबीसहित अझै ३४ फरार छन् ।
सहकारी ठगी आरोपमा जीबी राई, रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाटलाई प्रतिवादी बनाइएको छ ।
बर्दिया । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नुपरेको बताएकी छन् ।
नेपाली कांग्रेस बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् । । कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख समेत रहेकी संग्रौलाले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै सुशासन र समृद्धिका लागि भ्रष्टाचार सम्बन्धि सबै फाइल खोल्नुपर्ने धारणा राखिन् । पार्टीको इतिहासलाई भजाएर मात्र होइन वर्तमानको आवश्यकता पुरा गर्नुपर्ने भन्दै उनले भनिन्,‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानविन हुनुपर्छ । सुशासनको को जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनिकरण मूल एजेन्डा बनाइनुपर्छ ।’
उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशिल सदस्यताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । कांग्रेस नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्का सहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा. संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।
चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो ।
यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभएको छ । “आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, सम्वर्द्धन र विकास लागि पहल भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या रहेको बताउनुभयो । माडी–१ का वडाअध्यक्ष अमितकुमार लामाले वडास्तरबाट हुने खानेपानी र शौचालयलगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरूरी रहेको बताउनुभयो । उहाँले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिनाअघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताउनुभयो । उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन् ।
काठमाडौँ, २५ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, २५ पुस: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
कञ्चनपुर, २५ पुसः एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।
उहाँका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।
गण्डकी, २५ पुसः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।
आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।
प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।