Author: Dwarika Pokhrel

  • इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

    इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो


    इनरुवा (सुनसरी), २४ भदौः सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए ।

    मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • रमेश लेखकले दिए गृहमन्त्री पदबाट राजीनामा

    रमेश लेखकले दिए गृहमन्त्री पदबाट राजीनामा

    गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

    उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।

    सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

    उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

    त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

  • प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

    प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

    काठमाडौँ, २३ भदौः आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

    मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

    यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ । 

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

  • आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजका लागि विदेशी मुद्राको विनिमय दर


    काठमाडौँ, २३ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १२ पैसा र बिक्रीदर २२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन गर्‍यो आग्रह

    सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन गर्‍यो आग्रह

    काठमाडौँ –  गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति  चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।

    एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा एकाएक सामाजिक सञ्जाल बन्द हुँदा संसारभरि रहेका लाखौँ प्रवासी नेपालीहरूलाई प्रत्यक्ष असर परेको जनाइएको छ।

    विज्ञप्तिमा चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरूका लागि परिवारसँग सम्पर्क गर्ने सामाजिक सञ्जाल नै एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गरिएको छ। यसले गर्दा अहिले लाखौँ परिवारमा चिन्ता बढेको संघले जनाएको छ ।

    साथै, प्रतिबन्धका कारण  सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने र आफ्नो वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवाहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

    सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न  सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका  छन्  ।

  • अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

    सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो । 

    मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ । 

    नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।

    नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ । 

    सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो । 

  • चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

    चितवन । चेपाङ समुदायले सामूहिक रूपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् ।

    बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताए। सो अवसरमा चेपाङ झाँक्री (पान्दे) लगायत चेपाङ समुदायको संस्कृतिका आधारित सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

    नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले न्वाङ्गी पर्व चेपाङ समुदायले परापुर्वकालदेखि मनाउँदै आइरहेको पर्व रहेको बताए । पहिला गाउँगाउँमा भेला भएर मनाउँदै आए पनि बिस्तारै लोप हुँदै जान थालेपछि सङ्घको अगुवाइमा देशभरका चेपाङलाई भेला गरी २०६३ सालदेखि सामूहिक रूपमा मनाउन सुरु गरिएको जानकारी दिए ।

    चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाङ्गीका दिन घैया धानको चामल, कागुनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हो ।

    न्वाङ्गीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् । न्वाङ्गी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो । चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन् । गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए ।

    २०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ्को सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदाय देशको २६ जिल्लामा बसोबास गर्छन् ।

    चितवनमा मात्रै चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना छन् । न्वाङ्गीको अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

  • सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ


    काठमाडौँ, २२ भदौः सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।

    नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।

    “सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भन्नुभयो । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।

    अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।

    क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राख्नुभयो । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।

    सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ ।

  • विदेशी मुद्राको विनिमयदर

    विदेशी मुद्राको विनिमयदर


    काठमाडौँ, २२ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै


    भोजपुर, २२ भदौः जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपाया मरेका छन् ।

    तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताउनुभयो । भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । यो रोग महामारीका रूपमा फैलिने खतरा छ । रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ ।