उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर : मुख्यमन्त्रीआचार्य

विराटनगर, १९ भदौ । कोभिड १९ को कारण उद्योगी व्यवसायीहरुले भोग्नु परेको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको मुख्यमन्त्री भीम आचार्यले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको कारण देखिएको यस्तो समस्या समाधान गर्न प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउनेसमेत बताए । आज सुनसरीको धरानमा उद्योग बाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा राजनीतिक प्रतिकुलता रहेको भन्दै अनुकुलता आउनसाथ सरकारले प्रदेश १ को आर्थिक क्षेत्रको लागि उपयुक्त योजनाहरु अघि बढाउने जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदको पहिलो बैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको उनले बताए । कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरि प्रदेश सरकारले काम सुरु गरिसकेको उनले बताए । प्रदेशको विकास र सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति रहेको भन्दै उनलाई प्रदेश सरकारसँग हातेमालो गर्न समेत उद्योगीहरुलाई आग्रह गरे । कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्वअध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याका विषयमा जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *