Category: Health

  • ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

    ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

    स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ ।

    यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।

    वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको हो । उहाँले भन्नुभयो, “८ नं वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।”

    स्वास्थ्य बिमा लागू भएका अस्पतालबाट बिमाअनुसार नै उपचार हुने र अन्य अस्पतालहरुमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उहाँले जानकारी दिनुभयो । यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ ।

  • पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

    पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

    झापा । नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका पत्रकार महिलाको पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ ।

    अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार समयमै क्यान्सर पहिचान गर्न पत्रकार महिलाका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष सहुलियत प्रदान गरिएको हो ।

    बुधबार र बिहीबार ३० जना पत्रकार महिलाले निःशुल्क सेवा लिएका छन् । उहाँले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिनुभयो ।

    पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा अन्जली प्रसाईँले झापाका पत्रकार महिलाहरुको स्वास्थ्योपचारमा थप सहकार्य गर्न अस्पताल इच्छुक रहेको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा सतर्कता र समयमै रोगको पहिचान गर्नसके क्यान्सर रोग पनि निको हुने बताउनुभयो ।

  • दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

    दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

    बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ ।

    फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ ।

    काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण पुष्टि भएपछि युद्धस्तरमा बिरामीलाई खोजेर उपचार थालिएको हो ।

    यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाइएको हो । रासस

  • अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बीमा सेवा, अनलाइन दर्ताको तयारी

    अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बीमा सेवा, अनलाइन दर्ताको तयारी

    काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ। अब नागरिकहरूले स्वास्थ्य बीमाका लागि छुट्टै कार्ड बोक्नुपर्ने झन्झट अन्त्य हुने भएको छ।

    ​बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग एक समझदारी–पत्रमा हस्ताक्षर गर्दै बीमा प्रणालीलाई राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित बनाउने तयारी गरेको हो। सम्झौतापत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

    सेवाग्राहीलाई के हुन्छ फाइदारु ?
    बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यस सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियालाई पूर्णतः अनलाइन प्रणालीमा लैजाने गृहकार्य भइरहेको छ।
    अनलाइन सेवा: बोर्डले यही चैत २५ गतेभित्र अनलाइनमार्फत नै नयाँ दर्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको छ।

    झन्झटमुक्त सेवा: भविष्यमा नागरिकले अस्पतालमा सेवा लिँदा कार्डको साटो राष्ट्रिय परिचयपत्र नम्बर वा बायोमेट्रिक प्रमाणीकरणमार्फत नै उपचार पाउनेछन्।

    त्रुटीमा कमी: हाल म्यानुअल प्रणालीका कारण हुने दोहोरो दर्ता, विवरण नमिल्ने र कार्डको दुरुपयोग हुने जस्ता समस्याहरू डिजिटल प्रणालीमा जोडिएपछि स्वतः नियन्त्रण हुने विश्वास गरिएको छ।

    ​हालसम्म करिब एक करोड नागरिक स्वास्थ्य बीमाको दायरामा आइसकेका छन्। राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएसँगै यो कार्यक्रम थप पारदर्शी र छिटो–छरितो हुने अपेक्षा बोर्डले गरेको छ।

  • आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ।

    क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

    क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ ।

    हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन् । अध्ययनअनुसार विश्वभर क्यान्सरका कारण हुने कुल मृत्युको करिब २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।

    यस्तै, १० प्रतिशत मृत्यु अत्यधिक खानपान, पोषणयुक्त आहारको कमी, मदिरा सेवन, नियमित व्यायामको अभाव तथा विभिन्न रोग र सङ्क्रमणबाट हुने क्यान्सरका कारण हुने बताइएको छ ।

    यस बाहेक विकिरण तथा अन्य सङ्क्रमण पनि क्यान्सरका प्रमुख कारण मानिन्छन्। विकासोन्मुख देशहरूमा हेपाटाइटिस बी, हेपाटाइटिस सी तथा ह्युमन प्यापिलोमा भाइरसका कारण क्यान्सरको जोखिम बढी रहेको पाइन्छ ।

  • दैनिक ३०० बिरामीको उपचार गर्दै  बूढानीलकण्ठको नगर अस्पताल

    दैनिक ३०० बिरामीको उपचार गर्दै  बूढानीलकण्ठको नगर अस्पताल

    काठमाडौँ, २६ मङ्सिर : बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।

    बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिनुभयो । “सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ”, अधिकारीले भन्नुभयो, “गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।”

    अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ”, लामाले भन्नुभयो, “यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुङ्गा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ ।”

    आम्दानी पनि बढ्यो

    सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले रु एक करोड १७ लाख आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको रु पाँच महिनामै रु एक करोड ८० लाख आम्दानी गरिसकेको छ ।

    “सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ”, पोखरेलले भन्नुभयो, “अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।”

  • कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

    कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

    कर्णाली, १ मङ्सिर : कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आज छलफल भएको छ ।

    सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताउनुभयो ।

    सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरेपनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।”

    उहाँका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकार्नुभयो । प्रदेश सरकारद्वारा स्वीकृत १५० शय्या भएपनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उहाँको भनाइ थियो ।

    प्रदेश अस्पतालका निर्देशक डा गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले चार/पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो ।

    समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

  • बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

    बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

    ढोरपाटन (बागलुङ), २५ कात्तिकः जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

    घिमिरेका अनुसार दसैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेको बताउनुभयो । “सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्”, उहाँले भन्नुभयो, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।”

    डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।

  • विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

    विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

    काठमाडौँ, २२ कात्तिकः ‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै  छ ।

    विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यसवर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस  मनाउन लागिएको हो ।

    सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाईँदै आइएको छ ।

    एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सक बताउँछन् ।

    वरिष्ठ रेडियोलोजिष्ट डा शर्मा पौडेल प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने पद्दतीको रूपमा विकास हुँदै गएको बताउनुहुन्छ । बिरामीको निदान र उपचारमा रेडियोलोजीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।

    डा पौडेल रेडियोलोजी विधामा विना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ र रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’ मार्फत विरामीको उपचार गर्दे आएको बताउनुहुन्छ ।

    विकिरण अर्थात् रेडिएसन आउने एक्स रेबाट सुरु भएको विधा भएकाले यसलाई रेडियोलोजी भनिएको डा पौडेलको भनाइ छ । उहाँ पछिल्लो समय रेडियोलोजी क्षेत्रमा धेरै प्रगति भएको र विकिरण प्रयोग नगरी गरिने धेरै प्रविधिपनि रेडियोलोजीमा पर्ने गरेको बताउनुहुन्छ ।

    रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड अर्थात्  भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।

  • पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको औषधी खुवाइयो

    पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको औषधी खुवाइयो

    वीरगञ्ज (पर्सा), ३ कात्तिक : हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । 

    स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म  छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात पाँच लाख ४७ हजार ३११ जनालाई खुवाइएको छ ।

    ‘‘अझै १६ प्रतिशत लक्षित समूह हैजा विरुद्धको औषधी खानबाट छुटेका छन् । उनीहरुलाई पनि छठ पर्व लगत्तै फेरि खुवाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको तथ्याङ्क हेर्दा हैजाविरुद्धको औषधी ख्वाउने (खोप) अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।’’ 

    स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत हैजा विरुद्धको औषधी खुवाइएको छ । त्यस्तै गरी जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी खाएका छन् । त्यसैगरी सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी लिएका छन् । त्यसैगरी छिपरमाई गाउँपालिका ९३ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले हैजा विरुद्धको औषधी लिएका छन् ।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्धको खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउनुभयो । ‘‘हामीले खोप केन्द्रहरुको नियमित अनुगमन र निरीक्षण गर्दै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धान भित्र्याउने समय र चाडपर्वको समय भएकाले पनि खोप अभियानको समय थपेर भएपनि अघि बढाउन निर्देश गर्दछु ।’’  

    जनस्वास्थ्य अधिकृत ठाकुरले हैजा महामारी विरुद्धको खोप पर्सा जिल्लाका एक वर्ष उमेर माथिका सबैलाई खुवाउन अनुरोध गर्नुभयो । ‘‘मुखबाट खुवाइने खोप भएकाले सुरक्षित र भरपर्दाे भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गर्दछौँ’,’  उहाँले भन्नुभयो । 

    यो खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।  यो खोपको औषधी एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधी दिन सकिने जनाइएको छ ।