Category: शिक्षा

  • एआईद्वारा मानव बेचबिखनको नयाँ जोखिम उजागर गर्ने निबन्धलाई ‘प्रा सुवेदी निबन्ध पुरस्कार २०२५’ प्रदान

    एआईद्वारा मानव बेचबिखनको नयाँ जोखिम उजागर गर्ने निबन्धलाई ‘प्रा सुवेदी निबन्ध पुरस्कार २०२५’ प्रदान

    लन्डन – बेलायतको हल विश्वविद्यालयद्वारा प्रा सूर्य सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार यो वर्ष जोएल लेभेस्कलाई प्रदान गरिएको छ।
    लेभेस्कलाई ‘Synthetic Proximity: AI Facilitated Trafficking and the Collapse of Protective Distance’ शीर्षकको निबन्धका लागि सन् २०२५ को प्रतिष्ठित “प्रा सूर्य सुवेदी निबन्ध पुरस्कार” प्रदान गरिएको हो।

    लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीसँगको सहकार्यमा स्थापित उक्त पुरस्कार मानव अधिकारका जटिल र समसामयिक विषयमा नयाँ दृष्टिकोण, शैक्षिक कठोरता र व्यावहारिक सान्दर्भिकता प्रस्तुत गर्ने उत्कृष्ट निबन्धलाई प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।

    आफ्नो निबन्धमा लेभेस्कले कृत्रिम बुद्धिमत्ता (एआइ) ले मानव बेचबिखनको स्वरूपलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने विषयलाई गहिरो रूपमा विश्लेषण गरेका छन्। उनले ‘सिन्थेटिक प्रोक्सिमिटी’ (कृत्रिम निकटता) को अवधारणा प्रस्तुत गर्दै अपराधीहरूले वास्तविक सम्पर्क वा साझा सन्दर्भविना नै सम्भावित पीडितलाई धोका दिने र शोषण गर्ने सम्भावना बढेको तर्क गरेका छन्।

    उनका अनुसार यस्तो प्रवृत्तिले उत्तरदायित्व, अधिकार क्षेत्र (jurisdiction) र प्रमाणसम्बन्धी विद्यमान कानुनी संरचनालाई चुनौती दिइरहेको छ। त्यसैले एआईमार्फत हुने शोषणलाई समेट्ने गरी मानव बेचबिखनसम्बन्धी कानुनलाई पुनःपरिकल्पना गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

    निर्णायक मण्डलले निबन्धको मौलिकता र दूरदर्शिताको प्रशंसा गर्दै “सिन्थेटिक प्रोक्सिमिटी” अवधारणाले एआई प्रणालीले कसरी झुटो आत्मीयता र विश्वास सिर्जना गर्छ भन्ने विषयलाई नवीन र समयसापेक्ष तरिकाले प्रस्तुत गरेको टिप्पणी गरेको छ।

    बेचबिखनका नयाँ प्रवृत्ति

    १५ वर्षभन्दा बढी अन्तरराष्ट्रिय अनुभव भएका मानव बेचबिखनसम्बन्धी कानुन विशेषज्ञ लेभेस्कले अभियोजन, पीडित संरक्षण तथा न्याय प्रणाली सुधारमा काम गर्दै आएका छन्। उनी विशेषगरी प्रविधि तथा एआईद्वारा सहज बनाइने बेचबिखनका नयाँ प्रवृत्तिमा केन्द्रित छन्।

    पुरस्कार जितेपछि उनले भने, “यो उपलब्धिले मेरो तर्कको महत्त्व र आवश्यकता दुवैलाई पुष्टि गरेको छ। मानव बेचबिखनबारे हामीले गर्दै आएका केही आधारभूत मान्यताहरू अहिलेको अवस्थामा पर्याप्त नहुन सक्छन् भन्ने कुरा स्वीकार गर्नुपर्ने समय आएको छ।”

    प्रा सूर्य सुवेदीले उक्त निबन्धलाई समसामयिक र गहन विश्लेषण प्रस्तुत गर्ने कृतिका रूपमा प्रशंसा गर्दै यसले अनुसन्धानकर्ता र नीति निर्माता दुवैका लागि नयाँ बहसको ढोका खोल्ने विश्वास व्यक्त गरे। उनले भने, “यस निबन्धले नीति निर्माणका लागि महत्वपूर्ण सोचको आधार प्रदान गर्छ र यो क्षेत्रमा थप चासो बढाउने अपेक्षा गरिएको छ।”

    २०२६ का लागि निबन्ध प्रतियोगिता घोषणा
    आयोजक संस्थाले सन् २०२६ को “प्रा सूर्य सुवेदी निबन्ध पुरस्कार” आगामी अक्टोबर १८, अर्थात् दासता विरुद्धको दिवस (Anti-Slavery Day) का अवसरमा सुरु हुने घोषणा गरेको छ।

    प्रतियोगितामा आधुनिक दासत्वको अन्त्य वा मानव मर्यादाको संरक्षणसम्बन्धी विषयमा विश्वका जुनसुकै स्थानबाट निबन्ध पठाउन सकिनेछ। आवेदनको अन्तिम मिति डिसेम्बर ३१, २०२६ तोकिएको छ।

    प्रा सुवेदीले आफ्नो सन्देशमा नयाँ पुस्तालाई विश्वलाई अझ राम्रो बनाउन योगदान दिन आग्रह गरेका छन्। त्यसैगरी, लेभेस्कले आफ्ना विचारप्रति सन्देह भए पनि निबन्ध पेश गर्न हिच्किचाउन नहुने सुझाव दिएका छन्।

  • काठमाडौँमा डिग्रीधारी प्रहरी पनि तालिममा सहभागी

    काठमाडौँमा डिग्रीधारी प्रहरी पनि तालिममा सहभागी

    काठमाडौँ :
    आगमी निर्वाचनका लागि काठमाडौँमा ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये ६ जना स्नातकोत्तर (पोष्टग्राजुएट) र ३५ जना स्नातक उतीर्ण उत्तीर्ण रहेका छन् ।

    नेपाल प्रहरी प्रवक्ता डिआईजी अभि नारायण काफ्लाका अनुसार माघ १८ देखि भर्ना भएका प्रहरीहरुको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता प्रशिक्षण दिइँदैछ ।

    नेपाल प्रहरी अहिलेसम्म १ लाख ३३ हजार ९८० र सशत्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी छनौट गरिसकेको छ । देशभर कति डिग्रीधारीहरु भर्ना भएका छन् भन्ने विवरण संकल भइरहेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कौशल बुढाथोकीका अनुसार, काठमाडौँमा भर्ना भएका डिग्रीधारी प्रहरीहरुले तालिमपछि निर्वाचनको सुरक्षामा खटिने तयारीमा छन् । यस पटक कुल १ लाख ४९ हजार ९० प्रहरी निर्वाचनमा खटिने तयारीमा छन् ।

  • विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

    भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

    गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ  विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो ।

    “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भन्नुभयो, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”

    गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।

    शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ । मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

  • अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

    अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

    तुलसीपुर (दाङ), १३ कात्तिकः दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

    रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिनुभयो । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

    शारीरिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताउनुभयो । “विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित अध्यापन हुने गर्छ, तर अपाङ्गमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उहाँले भन्नुभयो । 

    बुधबार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताउनुभयो । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताउनुभयो ।

    उक्त विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिकालाई छात्रवासमा राखेर अध्यापन गर्ने गरिएको छ ।

  • शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

    शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

    देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१÷८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो ।

    केन्द्रीय बैङ्कका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

    आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।

    सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

  • जनप्रशासन क्याम्पसको स्थापना दिवस

    जनप्रशासन क्याम्पसको स्थापना दिवस

    काठमाडौँ, २२ साउनः त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’  शीर्षकमा आधारित कार्यक्रम आयोजना गरेको छ । 

    कार्यक्रममा सहप्राध्यापक डा नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पूर्वसचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा मुकेशकुमार बास्तोला, सञ्जय घिमिरे र डा सूर्य अधिकारीबाट उक्त विषयउपर महत्वपूर्ण मुद्दाहरू उठाउनु भएको थियो ।

    यसैगरी, उक्त कार्यक्रममा ‘सिमुलेटर’को भूमिका निर्वाह गर्नुहुने स्ववियु सभापति अनिकेत तिवारी, सचिव शङ्कर दुबे, सत्यम यादव, आसुतोषकुमार ठाकुर, बहिनीरोजा महर्जन, कृष्णमोहन सिङ तथा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको सङ्क्षिप्त नीति छिट्टै प्रकाशनमा ल्याइने जनाइएको छ ।

  • एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड

    एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड


    भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।

    आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

    त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

    १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।

  • कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासंघको निर्णय

    कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासंघको निर्णय

    काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको महासंघको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।

    चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासंघले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई पनि आन्दोलनमा बोलाएको छ ।

    ‘संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन प्याब्सन र एनप्याब्सनलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

  • आन्दोलनरत शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

    आन्दोलनरत शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेसहितका विभिन्न माग गर्दै विगत दुई सातादेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुई महामन्त्रीले आज छलफल गरेका छन्।

    कांग्रस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका महामन्त्री थापाको सचिवालयले जनाएको छ ।

    आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हडतालसहित आन्दोलन गरिहेका छन्।

    एक सातासम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि देशव्यापी शैक्षिक हडतालसहित आन्दोनल जारी राखेका छन्।

    सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने आन्दोलनरत शिक्षकको मुख्य माग छ। लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको आरोप लाग्दै आएको छ।

    संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ।

    शिक्षकहरुको हडतालले विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ। आज (वैशाख २ गते)देखि देशभरका विद्यालयमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका छ।

    गत वर्ष पनि यही माग राखेर शिक्षकहरुले आन्दोलन गरेका थिए। आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमती भएको थियो। तर एक वर्ष बित्दासमेत सरकारले सहमति कार्यान्वयन नगरेपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।

  • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    काठमाडौँ, २९ फागुनः नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । 

    कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर  मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो । 

    मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको  लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

    प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गर्नुभएको थियो । 

    कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभएको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिनुभयो ।  

    प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।