काठमाडौं । आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पु¥याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
सन् २०११ मा युनेस्कोले १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरका रेडियोकर्मी, सञ्चार संस्था र श्रोताहरूले आजका दिन विशेष कार्यक्रम, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधि आयोजना गर्ने गर्दछन्।
रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए । तारबिनाको माध्यमबाट ध्वनि प्रसारण गर्न सकिने प्रविधिले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएको थियो। समयक्रममा शर्टवेभ, मिडियमवेभ हुँदै एफएम र डिजिटल प्रविधिसम्म रेडियो विस्तार भएको छ ।
नेपालमा पनि रेडियोको आफ्नै ऐतिहासिक महत्व छ । रेडियो नेपाल स्थापना भएपछि देशभर सूचना प्रवाहको सशक्त माध्यमको रूपमा रेडियो विकसित भएको हो। राजनीतिक परिवर्तन, जनआन्दोलन तथा विपद्का समयमा रेडियोले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।
विशेषगरी वि.सं. २०७२ को भूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोमार्फत देशभर सूचना आदान–प्रदान गरी उद्धार तथा राहत कार्यलाई सहज बनाइएको थियो।
प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म विस्तार भए पनि रेडियो अझै विश्वसनीय, सुलभ र प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित रहेको छ ।
काठमाडौँ : दुई दशकअघि सुरु भएर १० महिनामै बन्द भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा फेरि सुचारु हुने तयारीमा छ । हालै चीनमा सम्पन्न नेपाल—चीन वाणिज्य सचिवस्तरीय बैठकमा बस सेवा सञ्चालनमा ल्याउने सहमति जुटेको छ ।
बस सेवा २०६२ वैशाख १६ गते औपचारिक रुपमा सुरु भएको थियो, तर प्राविधिक, भू–राजनीतिक र व्यवहारिक कारणले १० महिनामै बन्द भएको थियो । त्यस पश्चात् २०६६ र २०७३ मा पनि पुनः सुचारु गर्ने प्रयास भए, तर सफल भएनन् ।
हाल, यातायात व्यवस्था विभागले रुट परमिट जारी गर्न तयार रहेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार बस सेवा केवल यातायातको साधन मात्र नभई, नेपाल—चीन कनेक्टिभिटि, पर्यटन, र व्यापार प्रवर्द्धनमा पनि सहयोग पुग्नेछ ।
पूर्वाधार, सुरक्षा, भिसा तथा पासपोर्ट प्रक्रियामा सहजता आएपछि सेवा नियमित रुपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
रुकुमपूर्व : शुक्रबारदेखि परेको निरन्तर हिमपातका कारण रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्डमा बाक्लो हिउँ जम्दा सवारी साधन सञ्चालन हुन नसकेको हो ।
सडक बन्द हुँदा काठमाडौंबाट रुकुमपूर्व तथा रुकुमपश्चिमतर्फ गएका यात्रुबाहक बसहरू बाटोमै रोकिएका छन् । गाडी हिउँमा फसेपछि यात्रुहरू चिसो मौसममा समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सूचना प्राप्त हुनासाथ उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ ।
हाल पनि सो क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार तथा सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । सडक सुचारु गर्न स्थानीय तहसँग समन्वय गरी डोजर तथा स्काभेटर प्रयोग गरेर हिउँ पन्छाउने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयले फसेका यात्रुहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिइएको र मौसम अनुकूल भएलगत्तै सडक खुलाइने जानकारी दिएको छ । हिमपातका कारण रुकुमपूर्वका उच्च पहाडी क्षेत्रको जनजीवनसमेत प्रभावित बनेको छ ।
काठमाडौँ ।: काठमाडौँ महानगरपालिकाले नदी किनारमा निजी जग्गामा भवन निमार्ण गर्न लगाएको प्रतिबन्ध हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्दै महानगरले नक्सा पास तथा निमार्ण कार्यमा रोक नलगाइने जनाएको छ ।
यसअघि महानगरपालिकाले नदीको दायाँ – बायाँ थप २० मिटर जग्गा खाली गनुपर्ने भन्दै निर्माण अनुमति रोकेको थियो । तर अब मन्त्रिपरिषद्ले २०६५ सालमा तय गरेको मापदण्डभित्र रहेर भवन निर्माण गर्न पाइने भएको छ ।
महानगरपालिकाका अनुसार २०८२ माघ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पुरानो फैसालालाई आंशिक रुपमा सच्याएको छ । अदालतले २०६५ सालको मापदण्डबाहेक थप २० मिटर जग्गा छोड्नुपर्ने व्यवस्था कानुनसम्मत नरहेको उल्लेख गरेको छ ।
यस निर्णयपछि थप २० मिटर क्षेत्रमा संरचना नबनाउने तथा बनेको संरचना हटाउने अघिल्लो आदेश संशोधन भएको हो । त्यसअनुसार महानगरपालिकाले नदी किनारका जग्गामा निर्माणसम्बन्धी रोक फुकुवा गरेको जनाएको छ ।
महानगरले जारी गरेको सूचनामा अदालतको आदेशअनुसार निजी जग्गामा भवन निर्माण अनुमति नरोकिने स्पष्ट गरिएको छ । यससँगै नदी किनारमा जग्गा भएका हजारौँ जग्गाधनीलाई राहत पुगेको छ भने रोकिएका निर्माण कार्य पुन : अघि बढ्ने भएका छन् ।
मानौँ तपाईको शरीर पूर्ण स्थिर छ, मुटु चलेको छैन, दिमाग चलेको छैन वा केही पनि चलेको छैन । न हात चलेको छ, न खुट्टा चलेको छ, न आँखा चलाउनु भएको छ । त्यो अवस्थामा तपाईलाई विज्ञानले कतै तपार्इं हाइवरनेशसनमा हुनुहुन्छ कि भन्ने पनि सोच्न सक्छ । साधारणतया तपाई यस्तो मृत्यु भएको अवस्थामा मात्रै देखिनुहुन्छ तर हाइबरनेसन एउटा यस्तो अवस्था हो जुन बेला तपार्इंको मुटुको चाल लगभग स्थिर जस्तै हुन्छ भने खानेकुरा पनि खासै आवश्यक हुँदैन । धेरै चिसोमा बस्ने केही जनावरहरूले यस्तो स्थिति प्राकृतिक हिसाबले नै उनीहरूमा बाँच्नका लागि सिर्जना गर्दछन् ।
फ्रिक्वेन्सी भनेको चलायमान हुनु हो । प्रतिसेकेन्ड केही कुरा कति चलायमान हुन्छ भन्ने मापन गर्न हामी फ्रिक्वेन्सीको युनिट प्रयोगमा लेराउँछ । हर्ज भन्ने वैज्ञानिकले तरंगको मापन गर्न फ्रिक्वेन्सीको परिचय दिए भन्दा हुन्छ । त्यसो भए जीवनको सुरुआत नै फ्रिक्वेन्सीबाट भएको हुनुपर्छ, किनकि हामीले गर्ने हरेक क्रियाकलाप पनि चलायमान छन। सायद विगब्यांग, जसले ब्रह्माण्डको सिर्जना गरायो भन्छौँ त्यसमा पनि स्थिरतामा गतिले प्राण भरेको मान्दछौँ । बुवा र आमाको क्रीडामा पनि गति छ । अनि शुक्रकीट डिम्बसँग मिलन गर्न पनि एकदेखि दुई दिन लगाएर फ्यालोपियन ट्युबमा पुग्छ । हुन त स्पर्मले डिम्बलाई १५ मिनेट देखि ४५ मिनेटको बीचमा नै साक्षात्कार गर्दछ । करोडौँ स्पर्ममध्ये धेरै थोरै मात्र जीवनको खोजीमा आफ्नो फ्रिक्वेन्सीलाई सदुपयोग गर्न सक्छन् । स्पर्मका संख्या मध्ये ५ प्रतिशत मात्र यो जीवन यात्रामा आफूलाई जीवित राख्न सफल हुन्छन् । एउटै अण्डामा यदि बलशाली स्पर्महरूले जीवन खोजेमा दुई वा तीनवटा गरी धेरै बालकहरूले जन्म लिन सक्छन् ।
यसरी हेर्दा ब्रह्माण्डको जन्म मात्र होइन, यहाँभित्रका धेरै जीवनहरू पनि गति र संयमताबाट आफ्नो उत्पति गराउँदछन् । यति मात्र होइन, जीवनको समय समेत गतिमा नै निर्धारण गर्दछन् । छिटो छिटो श्वास प्रश्वास गर्नेले छिट्टै जीवनयात्रा टुंग्याउँदछन् पनि । मानिसको हटबिट ६० देखि १०० हुन्छ र जीवनको यात्रा पनि उस्तै हुन्छ भने जलचर कछुवा (पेन्टेड टर्टल)ले ३० मिनेट देखि १ घण्टासम्म सास रोकिरहन सक्छन् । यी कछुवा हाइबरनेसनको अवस्थामा ६ महिनासम्म सास रोकेर नै बाँच्न सक्छन् । मानिसले निदाएको बेलामा कम सास फेर्ने गर्छ । यसरी हेर्दा ब्रेनवेभका गामा, विटा, अल्फा, थिटा र डेल्टा वेभले हाम्रो मष्तिस्कको आवृत्ति (फ्रिक्वेन्सी) अवस्थावाट हाम्रो जीवनशैली र उमेर निर्धारण गर्न सक्ने क्षमता हामीभित्र नै दिएको प्राकृतिक यथार्थता पूर्वीय दर्शनमा भेट्न सक्छौँ ।
डेल्टाले ४ हर्जभन्दा कम फ्रिक्वेन्सीमा काम गरिरहेको अवस्था बुझाउँछ । हामी त्यस्तो ब्रेनवेभको अवस्थामा न सपना देख्छौँ न चेतनामा हुन्छौँ । थिटा फ्रिक्वेन्सीको अवस्थामा हाम्रो दिमाग ४ हर्जदेखि ८ हर्जसम्म चलायमान रहन्छ भने हामी मेडिटेसनको अवस्थामा हल्का निद्राको मुडमा रहन्छौँ । ९ हर्जदेखि १३ हर्जसम्म हामी अल्फा स्टेटमा हुन्छौँ भने हामी शारीरिक र मानसिक अवस्थामा आनन्ददायी भूमिकामा रहन्छौँ । १४ हर्ज देखि ३० हर्ज सम्मको बेटा अवस्थामा हामी नर्मल र कन्सियस अवस्थामा हुन्छौँ । ३० हर्जभन्दामाथि गामा अवस्थामा हामी गायत्री मन्त्रको उच्चारण शक्तिमा हुन्छौँ । ३० हर्ज देखि ८० हर्जसम्मको सीमामा हुने गामा वेभको अवस्थामा हाम्रो दिमागमा एकाग्रता, सर्तकता, सिर्जनात्मकता र सकारात्मक मनोभावनाहरू जागृत हुन्छन् । यसरी गति ब्रह्माण्डको उत्पत्तिदेखि ब्रह्माण्डका कुनै पनि ग्रह, उपग्रह वा सौर्यमण्डल जहाँकहीँ हुन सक्ने चेतनशील वा अन्य जो केहीमा फ्रिक्वेन्सी गाँसिएका धेरै कुराहरू हुन्छन् भने शून्य हर्जदेखि प्लानसिको फ्रिक्वेन्सीसम्मकाबारेमा आउँदो आलेखमा कुरा गर्दै जानेछु । क्रमश : (लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन्।)
सनातन पूर्वीय दर्शनमा सृष्टिको उत्पत्तिका विषयमा हामीबीच धेरै ग्रन्थहरू भेटिन्छन् । प्रायः यी ग्रन्थहरूले महत् तत्वको सिर्जनालाई प्राथमिकतामा राखेका छन् । महत् तत्वलाई हामी कास्मिक इन्टलिजेन्स भनेर बुझ्न सक्छौँ । महत् तत्वलाई नासदीय सूक्तमा तेस्रो मन्त्रमा वर्णन गरिएको छ । ऋग्वेदको नासदीय सूक्तले असत् र सत् पनि नहुँदा, कण पनि नहुँदा, अन्धकारभन्दा पनि गहिरो अवस्थादेखि इच्छाको कारण महत् तत्वको र सत् असत्को उत्पति भएको बताएको छ । यसरी कस्मिक इन्टेलिजेन्सको कुरा पनि प्राचीन ग्रन्थ ऋग्वेद हुँदै हिरण्यगर्भ सूक्त, छान्दोग्योपनिषद्, विष्णु पुराण, सांख्य दर्शन, योग दर्शनलगायत विभिन्न हिन्दु ग्रन्थहरूमा लेखिएको भेटिन्छन् ।
यी विविध ग्रन्थका विभिन्न खण्डमध्ये आज म ऋग्वेदको नासदीय सूक्तलाई विज्ञानसँगै जोडेर केही प्रसंग चर्चा गर्दै छु । नासदीय सूक्तका सात मन्त्रहरूमध्ये पहिलो मन्त्रले ‘न असत् आसित् न इति सत् आसित्’बाट सुरु हुन्छ जसमा न केही अस्तित्वमा थियो र न त अस्तित्व नै नभएको अवस्था थियो । न त तत्व थियो, न त केही थियो । त्यसो भए के थियो, कहाँ थियो त कोले संरक्षण गरिरहेको थियो त ? जस्ता प्रश्नहरू उठाइएका छन् । जसरी स्टेफेन हकिङ्सले भनेका थिए– सिंगुलारिटी यति सानो थियो र त्यहाँ हुने क्वान्टम इफेक्ट पनि बुझ्न सकिने अवस्थामा थिएन ।
यसैलाई प्रथम मन्त्रले वर्णन गरेको थियो । त्यसपछि दोस्रो मन्त्रले न जीवन थियो र मृत्यु थियो, न रात थियो न दिन थियो केही थिएन । त्यहाँ अनादि थियो र आफ्नै सत्तामा थियो भन्ने बताइएको छ । यसलाई हामी पोटेन्सियल ऊर्जा भएको परमतत्व थियो भन्न सक्छौँ । यसलाई अगाडि अन्धकारभन्दा गहिरो विज्ञानको भाषामा एउटा भ्वाइड थियो भन्न सक्दछौ । त्यो सर्वत्र व्याप्त थियो । यहीबाट कस्मिक इन्टेलिजेन्स् याने कि महत तत्व बन्यो । कस्मिक इन्टेलिजेन्सबाट नै इच्छाको सुरुवात भयो, जहाँबाट असत् र सत् आयो । अनि बिगब्याङ भयो । र चारैतिर प्रकाश फैलिन थाल्यो । प्रकाश फैलिँदा ताराहरू र स्पेससमय आदिको सुरु भयो । जब ब्रह्माण्डको विस्तार सुरु भयो, ती सबै ग्रह र ताराहरू एक–अर्कामा स्वयं बाँधिन थाले ।
यसभित्र नै ग्राभिटी र ग्राभिटीसँगै समय स्पेस सबै अस्तित्वमा आयो । तपाईं अब नै भगवान् भन्नुस्, सृष्टि भन्नुस्, प्रकृति भन्नुस वा मायामोह, स्नेह भन्नुस् सबैको जन्म भयो । त्यसैले छैटौँ र सातौँ मन्त्रले जिज्ञासा राख्ने सबैलाई बह्माण्डको उत्पत्तिलगायतको खोजी गर्न स्वतन्त्र बनाएको छ । किनकि त्यो सिंगुलारिटी नै द बिग क्रन्च वा यो ब्रह्माण्डको संकुचन वा मृत्युबाट वन्ने अत्यन्तै सूक्ष्म तत्वको साइकल कहिले फैलिने र कहिले खुम्चनेबाट हुने कुरामा आज विज्ञानले पनि प्रमाणित गर्दै गइरहेको छ । यसरी सिंगुलारिटीमा पुग्न र सिंगुलारिटीबाट फैलने प्रक्रियाको गणित बुझ्न हामीले युग, महायुग र कल्पलगायतको समय तालिकाको अध्ययन गर्नुपर्ने हुन्छ । क्रमश : (लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
पुरानो समयमा हामीहरूबीच गोत्र हेरेर विवाह गर्ने परम्परा थियो । हाम्रो पूर्वीय सभ्यतामा वंश, कुल, जाति र गोत्र जस्ता शब्दहरू प्रचलित थिए र आजसम्म पनि छ । हामी पुस्तौँपुस्तासम्म खोजतलास गर्दा कुल शब्द केही परिवार र केही पुस्ताका आधारमा व्याख्या गरेको पाउँछौँ । गोत्र शब्दचाहिँ अनादि कालदेखि चलिरहेको सभ्यता हो । तर यसमा पितृसत्तात्मक समाजमा कन्यादान गरेर महिलाको गोत्र विवाहमा परिवर्तन गराउने चलनले बिस्तारै उनीहरूको गोत्रमाथिको अधिकार हराउने वा कम हुने हुन सक्छ । यद्यपि बाबुपट्टिको सात पुस्ता र आमापट्टिको पाँच पुस्तासम्मको कुल हेर्ने प्रचलन देखिन्छ ।
यसमा जेनेटिक अध्ययनबाट विज्ञान सूत्र बनाइएको भेटिन्छ । यहाँ गोत्र र पितृकुल किन गाँसिन्छ भन्नेमा महर्षि पाणिनीका अनुसार गोत्र भनेको नाति नातिनी वा उनीहरूभन्दा तलको पुस्ताका लागि गोत्र मापन गर्नुपर्ने हुन्छ । जेनेटिक विज्ञानमा गाँसेर हेर्दा लुकेको क्रोमोजम पनि ती पुस्तामा देखिने हुनाले नारीको पनि जेनेटिक गुण प्रस्ट हुने भन्ने वैज्ञानिक आधार पुष्टि हुन्छ ।
गोत्र व्यवस्थाको सुरुवात सप्तऋषिहरूबाट सुरु भएको भनिए पनि हाल १०८ थरीभन्दा बढी गोत्र भेटिन्छ । हामी गोत्रलाई जातिसँग गाँसेर बुझिरहेका हुन्छौँ, तर जात भनेको कर्मलाई व्याख्या गरेको हुनाले यहाँ डीएनएको कुनै अर्थ हुँदैन । आजभोलि डाक्टरको छोराछोरी डाक्टर नै हुन्छन् भन्ने हुँदैन, सेनाको छोराछोरी सेना नै हुँदैनन्, त्यसैले पनि हामी जातपातभन्दा धेरै माथि उठिसकेका छौँ ।
हाम्रो शरीरका प्रत्येक सेलमा ४६ वटा क्रोमोजम हुन्छ । यही क्रोमोजममा हाम्रो अनुहार कस्तो हुनेदेखि लम्बाइ र जीवनशैली समेत निर्धारण गर्न सक्ने क्षमता रहेको हुन्छ । २३ जोडी क्रोमोजम मध्ये २२ वटा अटोसम क्रोमोजम हुन्छ र २३औँ क्रोमोजम सेक्स क्रोमोजम हुन्छ र यो एक्स एक्स वा एक्स वाई क्रोमोजम हुन सक्छ । यदि आमाबाट पनि एक्स आउने र बाबुबाट पनि एक्स क्रोमोजम आउने हो भने छोरीको जन्म हुन्छ भने यदि आमाबाट एक्स आउने र बाबुबाट वाई आउने हो भने छोराको जन्म हुन्छ ।
यहाँ प्रश्न के छ भने वाई क्रोमोजम फरक हुनाले र बाबुबाट आउने भएकाले बाबुतिरबाट विज्ञानको आधार खोज्न सहज हुन्छ । जेनेटिक इरर हुदा डीएनए आफैँले मर्मत सम्हार गर्न सक्ने क्षमता जिनभित्र नै हुने हुनाले पहिलो २२ जोडी क्रोमोजममा कुनै इरर देखिएमा आफैँले सूचना सही गराउन सक्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने आमा र बुबा यदि फरक गोत्रमा छन् भने यी २२ जोडी कोमोजमभित्र कुनै एकमा समस्या देखिएमा आफैँ समाधान खोजिन्छ ।
यदि बाबुआमा एउटै गोत्रका छन् भने जेनेटिक इरर भेटिँदा सूचना सही गर्न नसकिने पनि हुन सक्छ । जेनेटिक इरर मिलाउने हो भने जेनेटिक संरचना फरक भएको परिवारमा विवाह गर्नु उचित देखिन्छ । वाई क्रोमोजममा परापूर्वकालमा जस्तो थियो त्यही सूचना संयन्त्र अहिलेको वाई क्रोमोजममा भेटिँदैन । वाई क्रोमोजमा केही समस्या आएका आफैँ सुधार गर्न सक्ने क्षमता हुन अन्य वाई क्रोमोजम नभेटिने हुँदा ह्याम्स वर्ग जअ जस्ता समस्या आउन सक्छ ।
जेनेटिक विविधता कायम राख्न मानव सभ्यतामा मात्र नभई वनस्पतिहरूमा पनि फरक–फरक जिनसँग गर्भाधान गराउने गरिन्छ । कृषि आधुनिकीकरण यसैको उपज हो ।(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
म्याग्दी(बेनी), २२ कात्तिकः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मङ्गलेखानी बस्तीका दिवङ्गत देविप्रसाद छन्त्यालको स्मृतिमा उहाँका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गर्नुभएको हो ।
गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रुपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवङ्गत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गिता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
भौगोलिक रूपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका सहयोगदाता गीता फगामी छन्त्यालले बताउनुभयो । उक्त अवसरमा विद्यालयले सहयोगदातालाई फुल माला र अविर लगाएर सम्मानसमेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।
काठमाडौं – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) सुरु गरेको छ। नगरपालिकाले सुरु गरेको सम्भवत: यो नेपालकै पहिलो इनोभेशन सेन्टर हो।
जेनेस सलुशनसँगको सहकार्यमा सेन्टरमा शुक्रबार स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच) आयोजना गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे। उनले भने, “आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि।” ढकालले स्थानीय युवाको सीप विकासमा प्राथमिकता दिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे।
कार्यक्रममा प्रस्तुति दिँदै जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताए। फुयाँलले जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा स्थापना गरेको जेनेस टेक्नोलोजी एण्ड एक्सलेन्स सेन्टर (G-TEC) अन्तर्गत पहिलो चरणको सफलता पछि दोस्रो ब्याच सुरु गरिएको पनि जानकारी दिए। उनले अहिले नगरपालिका आफैले इनोभेशन सेन्टर स्थापना गरेको र आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। “यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई-उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ। हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान पनि हो,” उनले भने।
यूके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (AWS) का एम्बासडर समेत रहिसकेका फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउडका अन्तरराष्ट्रिय प्रमाणपत्र कोर्सहरूसँग जोड्ने तथा तालीम प्राप्त युवाहरूको प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारसँग पहुँच पुराउन मदत गर्ने योजना रहेको बताए। उनले थपे, “प्रविधि भनेको औजार मात्रै होइन, यो मानिसहरूको बारेमा हो। त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न सक्ने, अरूलाई उत्प्रेरित गर्न सक्ने र नेतृत्व लिन सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ।”
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइ टी हब बनाउने उद्देश्य लिएर इनोभेशन सेन्टर सुरु गरिएको बताए।
उनले एसईई पास गरे पछि विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न सकुन भनेर कक्षा ९ देखि नै आइटी विषय पढाउन सुरु गरिएको बताए। उनले नगरपालिकाको सहयोगमा कान्तिपुर एकेडेमीमा २४ जना विद्यार्थीहरुले आइटी इन्जीनियरिंग पढीरहेको पनि बताए । “पढेर मात्रै नहुने रैछ। सीप ठूलो कुरा रहेछ। हामी अन्जनी फुयाँल जस्ता धेरै नेपाली युवा विश्वको आइटी एरेनामा पुगेको हेर्न चाहन्छौं। त्यो सम्भावना , तर हुटहुटी चाहिन्छ,” मेयर अर्यालले भने। उनले नगरपालिका जेन जी पुस्ता को लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताए। उनले आइटी तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएका र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए।
त्यसैगरी, नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयालले धेरै युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको उल्लेख गर्दै समुदायमै बसेर सीप सिक्ने र रोजगारी पाउने अवसर सिर्जना गरिदिएकोमा जेनेस सलुशनलाई धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट यस अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।
जेनेस सलुशनका अफिसहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआइ) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ।
काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।
नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।
नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो ।