Category: मनोरञ्जन

  • मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छालाई

    मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छालाई

    काठमाडौं। मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल भएकी छन्। सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरेकी छन्। हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का हुन सफल भए। विवाहित महिलाहरुको राष्ट्रियस्तरको सो सौन्दर्य प्रतियोगिता श्रृंखलाको छैटौं संस्करण भएको आयोजकले जनाएको छ। करिव डेढ दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, प्रस्तुतीकरण, फोटोसुटलगायतका विषयमा तालिम लिएका थिए। एकै रङको पोशाकमा ओपनिङ नृत्यमार्फत  कार्यक्रम सुरु गरेका प्रतियोगीहरुले परिचयात्मक चरण, पोशाक प्रदर्शनी, टप १०, टप ५ हुँदै क्राउनिङसम्म पुगेका थिए। 

    कार्यक्रममा विविध सवटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो। जसमा वेस्ट ट्यालेन्ट शुभेच्छा मेयाङ्बो, वेस्ट पर्सनालिटी सानी शेर्पा, मोस्ट कन्फिडेन्ट मनु लिम्बु, वेस्ट फोटोजेनिक सुष्मा कार्की, मोस्ट याक्टिभ सम्झना सुनुवार, मोस्ट डिसेन्ट पम्फा नेपाली, मोस्ट डेडीकेटेड निरु लामा, मोस्ट डाइनामिक अमिता अधिकारी, मोस्ट स्मार्ट सुनैना अर्याल, मोस्ट ग्रेसफुल कुमारी खड्का गुरुङ, मोस्ट डिलिजेन्ट देवकी कार्की खड्का, मोस्ट चार्मिङ पुनम थापा पौड्याल, मोस्ट पपुलर सुनैना अर्याल, वेस्ट मल्टिमिडिया सानी शेर्पा, पब्लिक च्वाइस भिडियो सुष्मा कार्की र वेस्ट ड्रेस मनु लिम्बुले जित्न सफल भए। 

    बीचबीचमा कलाकारहरुको आकर्षक नृत्य गरेको सो कार्यक्रममा  विवाहित महिलाहरुले  आफूलाई कोरियोग्राफर सुब्बाकै निर्देशन बमोजिम सकभर अब्बल सावित गर्न लागेको प्रष्ट देखिन्थ्यो।  कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराज, फेसन डिजाइनर सुक्निता चौलागाईं, नृत्य प्रशिक्षक राहुल साह, नायिका ऋचा थापा, मिसेस हिमालयन नेपाल २०२५ प्रनिता क्षेत्री र फेसन डिजाइनर तथामिसेस ग्लाेबल नेपाल २०२४ की विजेता सुनिता भुजेल रहेका थिए। 

    आफूभित्र निहीत प्रतिभा प्रस्फुटन गरी आफूलाई  हरेक क्षेत्रमा प्रमाणित गर्न विवाहित महिला पनि सक्षम छन् भन्ने सन्देशका साथ कार्यक्रम आयाेजना गरिएकाे इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए।

  • रहेनन् अभिनेता सुनिल थापा

    रहेनन् अभिनेता सुनिल थापा


    काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ ।

    आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो ।

    “बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भन्नुभयो ।

    अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । “उहाँको परिवारका सदस्यहरु भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भन्नुभयो ।

    लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    काठमाडौँ, २४ कात्तिक : अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ ।

    कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

    “मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भन्नुभयो ।

    पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गर्नुभएको छ । तर, उहाँ कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

    “अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहँे । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे ।  त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उहाँले भन्नुभयो ।

    अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गर्नुभयो ।

    ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उहाँलाई खोज्न थाले । तर, उहाँको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

    “म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भन्नुभयो ।

    आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उहाँले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गर्नुभयो । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उहाँलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किनुभएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गर्नुभयो ।

    “मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उहाँले भन्नुभयो । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गर्नुभएको छ ।

    मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गर्नुभएको छ ।

  • ‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

    ‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

    काठमाडौँ, ९ कात्तिकः टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।

    “कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ”, निर्देशक आचार्यले भन्नुभयो ।

    कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिनुभयो । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताउनुभयो ।

    “चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु”, निर्देशक आचार्यले भन्नुभयो ।

    चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उहाँ खुसी नै हुनुहुन्छ ।

    “मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ”, निर्देशक आचार्यले भन्नुभयो ।

    एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथासार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”

    अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न शतप्रतिशत मेहेनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताउनुभयो । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उहाँले धारणा राख्नुभयो ।

    परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गर्नुभएको छ । चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

  • मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न

    मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न

    काठमाडौं — राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ।
    सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो।

    कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन्। प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी थिइन्।
    विशेष अतिथिका रूपमा एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामा तामाङ उपस्थित थिए।

    निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, Mrs. Indigenous 2024 उपाधि प्राप्त समाजसेवी तथा उद्यमी सोनिया चाम्लिङ राई, गायक तथा र्‍यापर निर्णय श्रेष्ठ (NSK), र्‍यापर तथा राजनीतिज्ञ सिड वाग्ले, र समाजसेवी दिलसागर कटवाल रहेका थिए।

    मिसेस तर्फ चन्दु बलामीले शीर्ष उपाधि जितिन् भने सरु कार्की फर्स्ट रनरअप र डा. मीना प्रधान सेकेन्ड रनरअप बने।
    मिस तर्फ अधिका कुमारी थापा मगर विजेता घोषित भइन् भने प्रेक्षा श्रेष्ठ फर्स्ट रनरअप रहिन्।

    त्यसैगरी विधागत उपाधिहरूमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’, युनिसा राईले ‘भ्युअर्स च्वाइस अवार्ड’, र सानु शेर्पाले ‘मेनेजमेन्ट च्वाइस अवार्ड’ जिते।

    कार्यक्रममा कलाकार, समाजसेवी, उद्यमी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
    विशेष पाहुनामध्ये अजय अधिकारी सुशील, सागर कटवाल, लिजा राई, अर्जुन कार्की (अभिनेता) लगायतका चर्चित व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।

    कार्यक्रममा नविनाज ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर आधिकारिक ब्युटी पार्टनरका रूपमा रहेको थियो भने क्रिस्टल क्लियर बुटिक, पाम्फा कुट्युर, द क्लासी बुटिक र मथ डिजाइन ड्रेस पार्टनर थिए।
    त्यसैगरी डिजे स्कल स्टुडियो, स्वयम्भू प्रोडक्सन र द जग्वार प्रोडक्सनले फोटोग्राफी तथा भिडियो पार्टनरको भूमिका निर्वाह गरे।

    स्पोन्सरमा सेफ एसोसिएसन अफ नेपाल, एनके कोस्मेटिक्स (ओरा), देववान एग्रो, युनिक्याम्पस ग्लोबल र साझा पाना रहेका थिए।

    कार्यक्रमका आयोजक तथा सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले प्रतियोगिता महिलाको आत्मविश्वास र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको बताए।
    उनका अनुसार यस प्रतियोगिताले नेपाली महिलाको सौन्दर्यसँगै उनीहरूको सशक्तीकरण र सांस्कृतिक गौरवलाई विश्व मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ।

  • तीज गीत  ‘छड्के तिलहरी’को साथमा आइन सुधा मरहट्टा 

    तीज गीत  ‘छड्के तिलहरी’को साथमा आइन सुधा मरहट्टा 

    काठमाडौं – लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

    गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश  मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ। आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।

    गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन्।

     ‘छड्के तिलहरी’ सनराइज म्युजिक नामक युट्युबमार्फत सार्वजनिक भएको छ र सार्वजनिक भएको केही समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

  • गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ सार्वजनिक

    गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ सार्वजनिक


    काठमाडौं । गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ शीर्षकको गीत भिडियोसहित डिजिटल बजारमा सार्वजनिक भएको छ। शैलुङ्गे मेला भाग १ ले अपार सफलता पाएपछि बिहीबार अनिल लामा अफिसियल युट्युब च्यानलमार्फत भाग २ को औपचारिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

    शुक्रबार सार्वजनिक भएको भिडियोमा मंगोलियन हार्टका लोकप्रिय गायक राजु लामालाई फरक लुक्समा देख्न सकिन्छ। भिडियोले दुई प्रेमीको कथालाई प्रस्तुत गर्छ — जसले जीवनभर एक-अर्कालाई प्रेम गरे पनि परिस्थितिले टाढा बनाउँछ। अन्ततः मृत्युको क्षणमै उनीहरूबीच भएको भेटले दर्शकलाई भावुक बनाउँछ। भिडियोको कथा मर्मस्पर्शी भए पनि एकैचोटि सजिलै बुझ्न भने केही गाह्रो हुन सक्छ।

    गायक अनिल लामाका अनुसार शैलुङ्गे मेला भाग २ बुझ्नका लागि पहिलो भाग हेर्न आवश्यक छ। भाग १ को कथालाई आधार बनाएर तयार गरिएको यस दोस्रो भागमा भने अडियो र भिडियोलाई पृथक शैलीमा प्रस्तुत गरिएको छ। भावनाले भिजेको, सम्झनाले बगाएको र गुमाएको मायालाई मृत्युको क्षणमा भेट्दा बग्ने आँसुहरू नै यस गीतको मूल शक्ति बनेका छन्। यस्तै मार्मिक कथावस्तुमा आधारित शैलुङ्गे मेला भाग २ ले दर्शक-स्रोतालाई गहिरो भावनामा डुबाउनेछ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै यो गीतको भिडियो ७० हजारभन्दा बढी पटक हेरिसकिएको छ। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील अनिल लामा सेलो शैलीको गीतमा पनि सक्रिय देखिन्छन्। केही वर्षअघि सार्वजनिक भएको शैलुङ्गे मेला भाग १ हालसम्म १३.५ मिलियनभन्दा बढी पटक हेरिएको छ। अत्यधिक चर्चा कमाएको यस गीतले सर्जक अनिल लामालाई संगीत क्षेत्रमा छुट्टै पहिचान दिलाएको थियो।

    त्यसको सफलतालाई निरन्तरता दिँदै तयार पारिएको हो शैलुङ्गे मेला भाग २। यो गीतलाई नपाएको माया, गुमाएको साथ, र अन्तिम भेटको कथाका रूपमा पनि बुझ्न सकिन्छ। गीतको कथावस्तु एक युवक र एक युवतीको प्रेम वरिपरि घुम्छ — जो जीवनभर टाढा रहन्छन्, तर अन्तिमपल्ट मृत्युको क्षणमा मात्रै एक-अर्कालाई देख्न पाउँछन्। भिडियोमा प्रस्तुत गरिएको दृश्यले दर्शकलाई स्तब्ध बनाउँछ।

    त्यो पलको स्पर्श, नजर र नबोलेका शब्दहरूले गीतलाई अझ भावनात्मक बनाउँछ। गीतको शब्द र संगीत अनिल लामाकै रहेको छ भने आवाज राजु लामाको छ। चर्चित गायिका जितु लोप्चनको ब्याकिङ भोकल रहेको गीतमा सुमिना लो, रेश्मा बोम्जन र लक्ष्मी स्याङ्तानको कोरस आवाज सुन्न सकिन्छ। भिडियोतर्फ सर्जक अनिल लामाकै कथामा सोनाम पाख्रिनको निर्देशन रहेको छ। अभिनयमा गायक राजु लामा, एलिशा राई र कुईसाङ रुम्बा देखिएका छन्।

  • चलचित्र ‘मिरमिरे’को वर्कसप

    चलचित्र ‘मिरमिरे’को वर्कसप

    काठमाडौं । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो ।

    आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । “सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले भने, “यसले हामीलाई हाम्रो सिनेमा छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।”

    कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको चलचित्र ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुनेछ । चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुनेछ ।

    यही चलचित्रमार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दै छन् । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

    यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रमा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहने छ ।

    चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रको कथा बारे उनले केही खुलाउन चाहेका छैनन् ।

    निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

    ‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

  • रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी  

    रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी  

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।

    रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्ति सहितको एआई भिडियो छ ।

    अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।

    ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा निर्माणपक्षले सहजै बनाएर सिनेमाको प्रयोग गरिरहेको छ । यसले एआईको अधिकतम प्रयोग सिनेमाको प्रचारमा गर्न सकिने प्रष्ट पारेको छ ।

    निर्माणपक्षले सिनेमाको प्रचारमा यति किन राख्यो ? यतिजस्तै महत्वपूर्ण तर दुर्लभ सिनेमा हो ‘अभिमन्यु : च्याप्टर–१’ भन्ने अर्थमा हो ? अथवा संयोग मात्रै हो ? यसबारे निर्माणपक्षले केही बताएको छैन ।

    जे भए पनि निर्माणपक्षले चाहेको खण्डमा सस्तो र सरलमाध्यमबाट एआईको प्रयोग गरेर सिनेमाको प्रचार गर्न सक्छन् भन्ने चाहिँ यी दुई भिडियोबाट अनुशरण गर्न सकिन्छ ।

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को यसअघि नै काउन्ट–डाउन सुरु गरिसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट–डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।

    पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

    सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

    मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।

    ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

    जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

    यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

  • ‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री, बलियो देखिँदै लाइनअप

    ‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री, बलियो देखिँदै लाइनअप

    काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो ।

    सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । जहाँ उनको तारिफ भएको थियो ।  

    यसअघि पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् ।

    “मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,” मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन्, “यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु ।”

    उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन् ।

    ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन । 

    अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन । तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित देखिएको छ ।

    ‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । उनले सिनेमा राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए ।

    यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

    निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

    ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।