
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही भदौ २३ गते सरकारले ‘जेनजी’ आन्दोलनमा गरेको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । डा. केसीले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु र सोको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु ।”
नवयुवाले जायज माग राख्दै गरेको विरोध प्रदर्शनमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बढीको मृत्यु हुनु सरकारलगायत सम्पूर्ण राजनीतिक नेतृत्वको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य भएको उनले बताएका छन् ।
“युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो,” डा. केसीले भनेका छन् ।
उक्त घटनापश्चात् मुलुकभरि नै गरिएका आगजनी, तोडफोड, लुटपाट र हिंसाजस्ता विध्वंसात्मक घटनाले सबैको शिर लाजले निहुरिएको उनले जनाएका छन् । “निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु,” उनले भनेका छन् ।
देशमा विधिको शासन स्थापित गर्ने पवित्र उद्देश्यले गरिएको नवयुवाको आन्दोलनलाई राजनीतिकलगायत विभिन्न गलत तत्त्वबाट निहित स्वार्थका निम्ति बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण भएको उनले जनाएका छन् ।
“देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नवयुवापुस्ताका नागरिक अधिकारका लागि स्वतःस्फूर्त रूपमा उठेका आवाजप्रति हाम्रो पूर्ण समानुभूति र ऐक्यबद्धता छ,” डा. केसीले भनेका छन् ।
आन्दोलनमा सहभागी नवयुवापुस्ताका प्रतिनिधिसहितको अन्तरिम सरकारले मात्र आन्दोलनको मर्मअनुरूप कार्य गर्न सक्ने उनले उल्लेख गरेका छन् ।
“लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएको दायित्व इमानदारीपूर्वक तोकिएको समयावधिभित्र आन्दोलनको मर्मअनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु,” डा. केसीले भनेका छन् ।
अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र हस्तक्षेप नहुने तथा दायित्व पूरा हुनेबित्तिकै ब्यारेक फर्कने अपेक्षा आफूले गरेको उनले जनाएका छन् ।