नेपालसँग कुवेत पराजित

काठमाडौँ, २३ असोजः आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१  मा आज  सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । 

कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६  तथा यासिन पटेलले १९ रन जोडे । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी  र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६  बलमा तीन छक्का र तीन चौकासहित  ६६ रन बनाए । यस्तै,  गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए । 

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई  विकेट लिए ।  मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *