विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै


कञ्चनपुर, ३० असोज: लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । 


प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।


उहाँका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक कालोपत्र कार्यका लागि डुकुचु÷अनक÷जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ”, अध्यक्ष रानाले भन्नुभयो ।  


सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । 


सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ । 


प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *