गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ सार्वजनिक


काठमाडौं । गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ शीर्षकको गीत भिडियोसहित डिजिटल बजारमा सार्वजनिक भएको छ। शैलुङ्गे मेला भाग १ ले अपार सफलता पाएपछि बिहीबार अनिल लामा अफिसियल युट्युब च्यानलमार्फत भाग २ को औपचारिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

शुक्रबार सार्वजनिक भएको भिडियोमा मंगोलियन हार्टका लोकप्रिय गायक राजु लामालाई फरक लुक्समा देख्न सकिन्छ। भिडियोले दुई प्रेमीको कथालाई प्रस्तुत गर्छ — जसले जीवनभर एक-अर्कालाई प्रेम गरे पनि परिस्थितिले टाढा बनाउँछ। अन्ततः मृत्युको क्षणमै उनीहरूबीच भएको भेटले दर्शकलाई भावुक बनाउँछ। भिडियोको कथा मर्मस्पर्शी भए पनि एकैचोटि सजिलै बुझ्न भने केही गाह्रो हुन सक्छ।

गायक अनिल लामाका अनुसार शैलुङ्गे मेला भाग २ बुझ्नका लागि पहिलो भाग हेर्न आवश्यक छ। भाग १ को कथालाई आधार बनाएर तयार गरिएको यस दोस्रो भागमा भने अडियो र भिडियोलाई पृथक शैलीमा प्रस्तुत गरिएको छ। भावनाले भिजेको, सम्झनाले बगाएको र गुमाएको मायालाई मृत्युको क्षणमा भेट्दा बग्ने आँसुहरू नै यस गीतको मूल शक्ति बनेका छन्। यस्तै मार्मिक कथावस्तुमा आधारित शैलुङ्गे मेला भाग २ ले दर्शक-स्रोतालाई गहिरो भावनामा डुबाउनेछ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै यो गीतको भिडियो ७० हजारभन्दा बढी पटक हेरिसकिएको छ। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील अनिल लामा सेलो शैलीको गीतमा पनि सक्रिय देखिन्छन्। केही वर्षअघि सार्वजनिक भएको शैलुङ्गे मेला भाग १ हालसम्म १३.५ मिलियनभन्दा बढी पटक हेरिएको छ। अत्यधिक चर्चा कमाएको यस गीतले सर्जक अनिल लामालाई संगीत क्षेत्रमा छुट्टै पहिचान दिलाएको थियो।

त्यसको सफलतालाई निरन्तरता दिँदै तयार पारिएको हो शैलुङ्गे मेला भाग २। यो गीतलाई नपाएको माया, गुमाएको साथ, र अन्तिम भेटको कथाका रूपमा पनि बुझ्न सकिन्छ। गीतको कथावस्तु एक युवक र एक युवतीको प्रेम वरिपरि घुम्छ — जो जीवनभर टाढा रहन्छन्, तर अन्तिमपल्ट मृत्युको क्षणमा मात्रै एक-अर्कालाई देख्न पाउँछन्। भिडियोमा प्रस्तुत गरिएको दृश्यले दर्शकलाई स्तब्ध बनाउँछ।

त्यो पलको स्पर्श, नजर र नबोलेका शब्दहरूले गीतलाई अझ भावनात्मक बनाउँछ। गीतको शब्द र संगीत अनिल लामाकै रहेको छ भने आवाज राजु लामाको छ। चर्चित गायिका जितु लोप्चनको ब्याकिङ भोकल रहेको गीतमा सुमिना लो, रेश्मा बोम्जन र लक्ष्मी स्याङ्तानको कोरस आवाज सुन्न सकिन्छ। भिडियोतर्फ सर्जक अनिल लामाकै कथामा सोनाम पाख्रिनको निर्देशन रहेको छ। अभिनयमा गायक राजु लामा, एलिशा राई र कुईसाङ रुम्बा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *