
काठमाडौँ :
मलेसियास्थित एक उत्पादन कम्पनीले नेपालबाट ८ सय जना श्रमिकलाई शून्य लागतमा रोजगारीका लागि लैजाने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले ६ सय महिला र २ सय पुरुष गरी कुल ८ सय नेपाली श्रमिकलाई कुनै पनि शुल्क नलिई रोजगारी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत श्रमिकले पासपोर्ट, भिसा, हवाई टिकट, मेडिकल परीक्षण, बिमा लगायतका खर्च व्यहोर्नु नपर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित निकायका अनुसार शुन्य लागत भर्ती प्रणाली लागू हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिक आर्थिक बोझबाट मुक्त हुनेछन् । साथै यसले सुरक्षित र पारदर्शी वैदेशिक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल–मलेसिया बीच भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिक उत्पादन तथा औद्योगिक क्षेत्रमा रोजगारीका लागि जाने गरेका छन् । शून्य लागत प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन भए श्रमिक शोषण न्यूनीकरण हुने विश्वास लिइएको छ ।








