
काठमाडौँ :
दुई दशकअघि सुरु भएर १० महिनामै बन्द भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा फेरि सुचारु हुने तयारीमा छ ।
हालै चीनमा सम्पन्न नेपाल—चीन वाणिज्य सचिवस्तरीय बैठकमा बस सेवा सञ्चालनमा ल्याउने सहमति जुटेको छ ।
बस सेवा २०६२ वैशाख १६ गते औपचारिक रुपमा सुरु भएको थियो, तर प्राविधिक, भू–राजनीतिक र व्यवहारिक कारणले १० महिनामै बन्द भएको थियो । त्यस पश्चात् २०६६ र २०७३ मा पनि पुनः सुचारु गर्ने प्रयास भए, तर सफल भएनन् ।
हाल, यातायात व्यवस्था विभागले रुट परमिट जारी गर्न तयार रहेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार बस सेवा केवल यातायातको साधन मात्र नभई, नेपाल—चीन कनेक्टिभिटि, पर्यटन, र व्यापार प्रवर्द्धनमा पनि सहयोग पुग्नेछ ।
पूर्वाधार, सुरक्षा, भिसा तथा पासपोर्ट प्रक्रियामा सहजता आएपछि सेवा नियमित रुपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
