धौलागिरि अस्पताल १५ वर्षपछि १०० शय्यामा स्तरोन्नति

बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति भएको छ। विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पताल बनेको यो अस्पताललाई गण्डकी प्रदेश सरकारले हालै १०० शय्यामा स्तरोन्नति गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार स्तरोन्नतिपछि अस्पतालले विशिष्टीकृत सेवा प्रदान गर्न थालेको छ। यसअघि ५० शय्याको सीमित संरचनाका कारण दरबन्दी थप हुन सकेको थिएन। “हाल हामीले १२६ शय्यासम्म बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै मान्यता हुँदा सेवा प्रवाहमा कठिनाइ थियो,” डा. तिवारीले भन्नुभयो, “१०० शय्यामा स्तरोन्नतिपछि दरबन्दी थप हुने र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा छ।”

स्तरोन्नतिसँगै अस्पतालले नर्सिङ पढाइ सञ्चालनको बाटो पनि खुलेको छ। गत वर्ष गण्डकी प्रदेश सरकारले नर्सिङ पढाइ सञ्चालनको घोषणा गरे पनि अस्पतालको संरचनागत सीमाका कारण कार्यान्वयन हुन सकेको थिएन। अब नर्सिङ कक्षा सञ्चालनका लागि आगामी वर्ष बजेट व्यवस्थापन गरिने प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो।

हाल अस्पतालमा २२ विशेषज्ञ चिकित्सक र १० मेडिकल अधिकृत कार्यरत छन्। विसं २०१५ मा डिस्पेन्सरीका रूपमा स्थापना भएको यो अस्पताल २०१६ मा स्वास्थ्य केन्द्र र २०३३ मा जिल्ला अस्पताल बनेको थियो।

गण्डकी प्रदेश सरकारको जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले धौलागिरि अस्पतालसहित नौ वटा अस्पताललाई एकमुष्ट स्तरोन्नति गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै धौलागिरि अस्पतालको कर्मचारी दरबन्दी ९९ पुगेको छ।

यसैगरी, बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। स्वास्थ्यमन्त्री पाठकका अनुसार धौलागिरि आयुर्वेद अस्पतालले स्तरोन्नतिपछि सेवा सञ्चालनको तयारी गरिरहेको छ।

यो स्तरोन्नतिले धौलागिरि क्षेत्रको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार हुने र बिरामीहरूलाई गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *